नेपाली कसरी लेख्ने?

नेपाली कसरी लेख्ने?

SAMSUNG
  • Get News Alerts

baleno
tata

नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु जरूरी छ।

प्रश्न उठ्छ, नेपाली कसरी लेख्ने? जवाफ सजिलो छ– जसरी बोलिन्छ, त्यसरी। हामी भन्छौं– म पुस्तक पढ्छु। भाइ खेल्न नपाएर ठुस्केको छ। आफू पास भएको सुनेर बहिनी खुशीले नाची। यसैगरी लेख्ने। शब्दको क्रम नबिगार्ने। सबैले बुझ्ने, प्रचलित, सजिला शब्द प्रयोग गर्ने। एउटा वाक्यमा एउटा कुरा मात्र भन्ने। धेरै कुरा जोडेर वाक्य लामो नपार्ने। आफूलाई लागेको कुरा साथीलाई भनिरहेको छु भन्ठानेर लेख्ने। यसो गर्दा लेख्न सजिलो हुन्छ। लेखाइ सरल र स्वाभाविक हुन्छ। यसरी लेखेको धेरैले बुझ्छन्। त्यसले धेरैको मन छुन्छ। अनि के चाहियो?

कुनै पनि भाषा लेख्ता वा बोल्दा मूलतः दुई कुरामा ध्यान दिनुपर्छ– शब्द र वाक्य। हरेक शब्दको निश्चित अर्थ हुन्छ। त्यसैले आफूले प्रयोग गर्न लागेको शब्दको अर्थ के हो भन्नेबारे सबैभन्दा पहिले आफैं स्पष्ट हुनुपर्छ। अर्थ नै राम्ररी नबुझी शब्द प्रयोग गर्न हुँदैन। त्यसो गरियो भने कुरो बिग्रन्छ। शब्दको अर्थ थाहा छैन भने शब्दकोश हेर्ने गर्नुपर्छ। शब्दको प्रयोगमा प्रायः कस्ता खालका असावधानी र गल्ती हुन्छन् अनि तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे ‘शब्द’ खण्डमा बताइएको छ।

शब्दहरू मिलेर वाक्यको निर्माण हुन्छ। शब्दको अर्थ अवश्य हुन्छ तर वाक्यको अंग नबनेसम्म त्यो सक्रिय हुँदैन। ‘चरो’ मात्रैको पनि अर्थ छ, परन्तु त्यो निष्क्रिय छ। वाक्यमा उनिएपछि मात्र त्यसले भूमिका पाउँछ र सक्रिय हुन्छ। त्यो उड्न सक्छ, बस्न सक्छ, खस्न सक्छ, देखिन सक्छ, चिर्बिराउन सक्छ, आउन वा जान सक्छ, राम्रो वा नराम्रो हुन सक्छ, भेटिन सक्छ, हराउन सक्छ, मर्न वा मारिन सक्छ। शब्दलाई सामान्यतः नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियाका रूपमा वर्गीकरण गर्ने गरिएको छ। विभक्ति आदिले तिनीहरूबीच सम्बन्ध कायम गर्छन्। क्रियाले वाक्यको मियोका रूपमा काम गर्छ; त्यसलाई केन्द्र बनाएर शब्दहरूले आआफ्नो भूमिका सम्हाल्छन्। भावना, कल्पना, विचार, विश्लेषण, सूचना– सबैको अभिव्यक्ति वाक्यबाटै हुन्छ। वाक्यमा प्रायः के–कस्ता कमजोरी हुन्छन् र तिनलाई कसरी सुधार्ने भन्नेबारे ‘वाक्य’ खण्डमा स्पष्ट पारिएको छ। यसै मेसोमा अनुच्छेदबारे पनि चर्चा गरिएको छ।

बोलेको शब्द सुनिन्छ भने लेखेको शब्द देखिन्छ, र पढिन्छ। लेखिने शब्दको निश्चित ढाँचा हुन्छ जसलाई हिज्जे भन्छन्। त्यस ढाँचाले शब्दको दृश्य रूप र व्यक्तित्व प्रकट गर्छ। हिज्जे बिग्रियो भने शब्दको व्यक्तित्व बिग्रन्छ र त्यो विरूप हुन्छ। त्यसको अर्थ, आशय र प्रभाव फरक पर्छ। श–स, इकार–उकार र अन्य हिज्जे फरक पर्दा कसरी अनर्थ हुन्छ भन्नेबारे शुरूमै ‘हिज्जे’ खण्डमा ध्यानाकर्षण गरिएको छ। विभिन्न कारणवश नेपाली हिज्जेको भद्रगोल बढ्दै गएकाले सही हिज्जे के हो भन्नेबारे अलमल नपरोस् भनेर हिज्जे सम्बन्धी सरल नियम पनि दिइएको छ। साथै, पुस्तकको अन्त्यमा, प्रायः गलत हिज्जे लेखिने २७ सय शब्द र तिनको शुद्ध रूपको सूची समावेश गरिएको छ। त्यहींनिर छुट्टै ‘शब्दानुशासन’ खण्ड छ, जसले नेपाली व्याकरणका आधारभूत कुराहरू सरल एवं संक्षिप्त रूपमा जान्न वा आफ्नै पूर्वज्ञानको स्मरण किंवा सिंहावलोकन गर्न जिज्ञासुहरूलाई सघाउनेछ।

हामीले प्रयोग गर्ने शब्द शुद्ध त हुनैपर्छ, वाक्यमा त्यसको अर्थ र आशय ठीकसँग खुलेको पनि हुनुपर्छ। सँगसँगै लेखाइमा नेपालीपन, नेपाली पारा समेत झल्किनुपर्छ। हिजोआज हाम्रो भाषामा कृत्रिमता थपिंदै गएको छ जसले यसलाई बोधो, भद्दा र बिरानो बनाउँदै लगेको छ। ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा सबै शब्द नेपालीकै छन्, वाक्य र व्याकरण पनि मिलेकै छ तर यसमा नेपाली पारा छैन। त्यसैले यो बोधो, भद्दा र निष्प्राण छ। दिमागमा ठोकिन्छ तर मनसम्म पुग्दैन; पराईले पराईलाई भनेजस्तो लाग्छ। यसको सट्टा ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्ने हो भने त्यो तिक्खर, झरिलो र जीवन्त हुन्छ अनि सहजै मनसम्म पुग्छ। आफन्तले भनेजस्तो लाग्छ। किन भने यसमा नेपालीपन खुलेको छ, नेपाली पारा झल्केको छ। हाम्रा वाक्य सरल, सहज र नेपाली पाराका हुन थालेपछि मात्र स्वादिला हुन्छन्; नेपाली मनमा बस्न र नेपाली जिब्रामा झुण्डिन थाल्छन्। त्यसवेला हाम्रो भाषाको रौनक नै अर्को हुनेछ। ‘शैली’ खण्डका साथै विभिन्न उपशीर्षकमा यसबारे ध्यानाकर्षण गरिएको छ।

भाषा भनेपछि व्याकरणका सूत्र र नियम सिकाउने चलन छ, हामीकहाँ। यसमा त्यसो गरिएको छैन। न पारिभाषिक शब्दहरूले तर्साइएको छ, न त कर्ता एकवचन हुँदा क्रिया पनि एकवचन हुन्छ जस्ता पाठहरू नै पढाइएको छ। यो पुस्तक त्यो बोझ र त्यो टाउको दुखाइबाट मुक्त छ। यसमा त हामीले पढ्ने–लेख्ने गरेको नेपाली कस्तो छ र त्यसलाई कसरी राम्रो, मीठो, छरितो, तेजिलो बनाउन सकिन्छ भन्ने कुरा उदाहरण मार्फत देखाइएको छ, सम्झाइएको छ। सामान्यतः ख्याल नगरिने तर ख्याल गरेपछि देख्न र देखेपछि निराकरण गर्न सकिने कमजोरीहरूबारे छलफल गरिएको छ। यो आफूले आफैंलाई हेर्न, आफ्ना गुणदोष थाहा पाउन र आफ्नो लेखाइ आफैं सुधार्न सघाउने पुस्तक हो। भाषाप्रति संवेदनशीलता जगाउनु र बाटो देखाउनु यसको अभीष्ट हो। भाषाको बाटोमा तपाईं आफैं हिंड्नुपर्छ। पुस्तकले यस यात्रालाई रमाइलो, रोमाञ्चक र आनन्ददायी बनाउन सघाउनेछ।

(शिक्षक मासिकले हालै बजारमा ल्याएको पुस्तक ‘नेपाली कसरी लेख्ने’ बाट)

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink