अजरा ब्युँझनुअघि

SAMSUNG
  • Get News Alerts

baleno
tata

बर्मामा ब्रिटिस शासन सुरु भएपछि भारतीयहरु, खासगरी ज्यादै गरिब भारतीयहरु, उन्नाइसौँ शताब्दीको अन्तिमसम्म हरेक वर्ष कम्तिमा ८ हजारका दरले बर्मा छिर्न थाले। सन् १९३१ सम्ममा बर्मामा भारतीयहरुको संख्या करिब १० लाख पुग्यो, जतिखेर पुरै बर्माको जनसंख्या १  करोड ४० लाख थियो। बंगालको चिटगाउँका बंगालीहरु १० लाखमा एक चौथाइ थिए र अधिकांश मुस्लिम थिए। ब्रिटिस स्वशासित बर्मामा दक्षिण एसियाली आप्रवासीहरु सहज रुपमा बसोवास गर्न थाले। १९४० सम्ममा बर्माको राजधानीका आधा जनसंख्या छिमेकी देशका थिए। भारतकै ब्रिटिस साम्राज्यको विस्तार बर्मामा पनि भएकोले बर्मामा भारतीयहरुको आवतजावत अत्याधिक र सहज थियो। 


दि चेन्जिङ फेस अफ बर्मा, रिचर्ड ककड


एक हप्तामा उसका अनुहारका दागहरु लगभग मेटिएका थिए।

साएथुरेनले अरुलाई भन्दा त्यस महिलालाई बढी ध्यान दिन थाल्यो। ऊ कुला (आप्रवासी) समुदायकी हो। र, कुलाहरुप्रति उसको धारणा आम बुद्धमार्गी बर्मेलीहरु जस्तै छ। साएथुरेनका सहकर्मीहरु पनि त्यस महिलालाई पर देख्ने बित्तिकै ‘ऊ कुला आई‘ भनेर मुसुमुसु हाँस्दै जिस्क्याउने गर्छन्। त्यहाँ काम गर्ने केटाहरु मध्ये ऊ सिनियर स्टाफ हो। उरन्ठेउला केटाहरुलाई नियन्त्रणमा राख्न पनि ऊ हत्तपत्त अरुसँग जिस्किँदैन। त्यसो त मनमा जे भए पनि सबै ग्राहकलाई समान व्यवहार गर्नुपर्ने उसको अफिसको नियम नै हो। उसलाई पनि लागेको हो, यंगुनका अरु ठाउँमा जस्तो ऊ काम गर्ने ठाउँमा कुलाहरुलाई नराम्रो व्यवहार गरिँदैन।

पाली भाषाबाट आएको कुला शब्दको अर्थ उपचार गर्ने अधिकृत भन्ने बुझिन्छ। पछि अपभ्रंश भएर गोरा कुला र काला कुला भन्ने भयो। बौद्ध धर्मावलम्बी बर्मेलीहरुले आप्रवासीहरुलाई चिनाउन यो शब्द प्रयोग गर्न थाले। शब्दको अर्थ अझै साँघुरिएर भारतीय मूलका नागरिकलाई लक्षित गर्दै बर्मेलीहरुले हेपेर सम्बोधन गर्ने झर्रो शब्द बन्यो, कुला। अझै साँघुरिएर अचेल रोहिन्या मुस्लिमहरुलाई सम्बोधन गर्ने पर्याय शब्द भएको छ यो।

दि सेल


‘अजरा तिमी नडराऊ, उहाँ तिम्रो चाचा जस्तै हो’, अजरा हलुसिद्धिक। काली केटीको खास नाम साएथुरेनलाई तेस्रो दिन मात्रै थाहा भयो जब, उसकी आमाले उसलाई खास नामले बोलाई। नत्र उसले आफ्नो नाम अर्कै भनेकी थिई, फ्यो। फ्यो हलुसिद्धिक। साएथुरेनलाई लाग्यो, यहाँ कुलाहरु (आप्रवासीहरु) सबैको दुईटा नाम हुने रहेछ। चाइनिज, इण्डियन, गोर्खाली सबैले यहाँ आएपछि म्यान्मा भाषाकै नाम राख्ने रहेछन्। स्कुल पढ्दा साएथुरेनको एउटा साथी थियो, गोर्खाली। साएथुरेन उसलाई सान्टो भनेर बोलाउँथ्यो। तर सान्टोलाई त उसको परिवारमा सबैले सन्तोष भन्दा रहेछन्। त्यो सुनेर साएथुरेनलाई खुब हाँसो उठेको थियो। सन्तोष भन्ने त बर्मेली भाषामा कुनै शब्द नै हुँदैन। अजराको बर्मेली अर्थ पनि साएथुरेनलाई थाहा भएन। अजरा छिनछिनमा आफ्नी आमाको छेऊमा गइबस्छे। एकछिन स्विमिङ खेल्छे। फेरि कुदेर गइहाल्छे। त्यस महिलाले उसलाई सम्झाएर पढाएको साएथुरेनले स्विमिङ पुलभित्रैबाट हेरिरहेको छ। अजरा मान्छेहरुदेखि ज्यादै डराउँछे।

साएथुरेनले स्विमिङ ग्लास लगाउन छोडेको धेरै भएको थियो। तर अचेल फेरि लगाउन थालेको छ। अरु केटाहरुलाई उसको चलाखी थाहा छ, तर सिधै जिस्क्याउन सक्दैनन्। साथीसाथी खासखुस गर्छन्, ‘साएले कुलालाई आँखा लाउँदैछ। त्यो पनि बढी दाल (भाऊ) दिइरहेकी छ।’

अजराकी आमाको कपाल निकै लामो छ। उसको जिउडाल हेर्दा बलिउड फिल्मकी अभिनेत्री जस्तो लाग्छ साएथुरेनलाई। सिधै हेर्न त सक्दैन, तर पौडी खेलिरहेको बहानामा पुलुक्क हेर्छ मौका छोपेर। बर्माका साना जिउडालका महिलाहरुभन्दा ऊ फरक लाग्छे साएथुरेनलाई।

कुलासँग आउने दुइटा छाउराछाउरीको बारेमा बुझ्न साएथुरेनलाई अप्ठ्यारो परिरहेछ। दुवै लगभग उस्तै उमेरका छन्। तर काली केटी निकै छिटो पौडिन्छे, ङाँ मोइडा (एकप्रकारको माछा) जस्तै। केटो मोटो छ। ऊ पनि राम्रैसँग पौडिन्छ। स्विमिङ पुल गहिरोतिर १० फिट छ, तर गहिरोमा पनि केटाकेटी दुवै सजिलै पौडिन्छन्। मोटे केटो निकै चकचके छ। कोहीसँग डराउँदैन। जिस्किरहन्छ। पुलपुलिएका म्यान्माका छाउराछाउरीहरु यस्तै हुन्छन्। पानीमुनि बसेर माथि हात झिकेर बोलाउँछ। ‘डुबेँ ...’ भनेर गुहार मागेजस्तो गर्छ। छेऊमा गयो ‘ङाँ मोइडा’ जस्तै भाग्छ। जो कोहीको ढाड माथि चढिदिन्छ। एकदिन त एउटी सिकारु केटीको ढाडमा चढेछ। पौडिन नसकेर केटी झण्डै डुबेकी थिई। साएथुरेन आफैं गएर त्यस केटीसँग माफी माग्यो। उसलाई थाहा छ, सिपालुहरुले मात्रै बच्चाहरु ढाडमा बोकेर पौडिन जान्दछन्। स्विमिङ पुलको नियमअनुसार उसले मोटे केटालाई गाली गर्न मिल्दैन थियो, सम्झायो। चो, नचिनेको मान्छेको ढाडमा चढ्नु हुँदैन रिसाउँछन्। त्यस दिनदेखि त्यो सिकारु केटी चोलाई देख्नेबित्तिकै किनार लागेर भित्तामा समाइहाल्छे।

यहाँ स्विमिङ सिक्न धनी बाउका छोराछोरी धेरै आउँछन्। सुन्दर आमाहरु स्वीमिङ पुलको किनारामा बसेर आफ्ना मोटामोटा छोराछोरीहरु पौडेको देखेर खुसी हुन्छन्। तर एक महिनामा पनि आफ्ना छोराछोरी नदुब्लाएको देखेर साएथुरेनलाई गनगन गर्छन्, ‘को साई (प्यारो भाइ) मेरो छोरी त उस्तै छ त। यत्रो दिन पौडिएर पनि घटिन। पैसा फिर्ता देऊ।’

साएथुरेन पनि जिस्किँदै भन्ने गर्छ, ‘पौडिन त ऐरावत हात्ती पनि पौडिन्छ आमा (दिदी) तर पौडेर मात्रै कोही दुब्लाउँछ? छोराछोरीलाई जथाभावी खानेकुरा नदिनु। जंकफुड धेरै नदिनु। धेरै सुत्न नदिनु।’

काला वर्णका कुलाहरु कम आउँछन् स्विमिङमा। गोरा वर्णका कुलाहरु फाट्टफुट्ट आउँछन्। प्रायः त बर्मेलीहरु नै हुन् आउने। स्कुल क्याम्पसका विद्यार्थीहरु हुल बाँधेर केही दिन आउँछन्, अनि फेरि हराउँछन्।

साएथुरेनलाई यंगुन एउटा गाउँ जस्तो लाग्छ। यहाँ गाउँलेहरु नै स्विमिङ गर्न आउँछन्। थाइल्याण्डमा यस्तो थिएन। उसले तीन वर्ष त्यहाँको होटलमा स्विमिङ कोचको रुपमा काम गर्यो। धेरै किसिमका विदेशीहरु आउँथे। तर त्यहाँ त स्विमिङ सिकाउने भन्दा पनि सुरक्षाको लागि बस्नुपथ्र्यो। केही सिकारुहरु पनि आउँथे। तर एकदम सहरीया मानिसहरु आउने। कति महिलाहरु त स्विमिङ गर्न आउँदा पनि महँगा पर्फ्युम लगाएर आउने। तिनीहरुका बिकिनी पनि कस्ताकस्ता स्टाइलका, आँखालाई नै सुन्दर लाग्ने हुन्थे। साएथुरेन ठान्थ्यो, महँगा पनि होलान्। थाइल्याण्डको स्विमिङ पुलमा त केटाकेटीहरु अनेक चमत्कार गर्थे। एउटा उभिँदा अर्को पानीमुनि जाने। फेरि अर्को उभिँदा एउटा पानीमुनि जाने। पानीमै ‘बद्मासी’ गर्थे उनीहरु। यहाँका केटाहरु त माया गर्नमा साह्रै लोसे। केटाकेटी दुबै खोँ (पान) खाँदै स्विमिङ गर्न आउँछन्। मानौँ, स्विमिङ पनि खोँ चपाउँदै गर्न मिलोस्। स्विमिङ पुलले कडा नियम बनाएको छ। मुख सफा गरेर मात्रै पुलभित्र छिर्न पाइन्छ। विमिङ पुल वरिपरिको नालामा खोँ थुकेर रातै हुन्छ। त्यही खोँको रङ देखेर साएथुरेन दिक्क मान्छ।

अठार वर्षको हुँदा ऊ फौँजी च्याउ (गुम्बा)बाटै भागेको थियो। उसलाई ध्यान गरेर बस्न मन लागेन। साथीहरुले भने, बाहिर धेरै रमाइलो छ। फकरफरक फिल्महरु हेर्न पाइन्छ। यहाँ त टिभीमा आउने त्यही म्यान्मा र चाइनिज फिल्म हो। बाहिर गोरा कुलाहरु (गोरो वर्णका), काला कुला (भारतीय वा कालो वर्णका) हरुको फिल्म पनि हेर्न पाइन्छ। मस्ती गर्न पाइन्छ। त्यही भएर यंगुनबाट भागेर थाइल्याण्ड बोर्डरसम्म पुगे उनीहरु। बोर्डरबाट २ दिन हिँडेपछि बैंकक पुगेका थिए। बैंककमा ऊ ७ वर्ष बस्यो। धेरैतिर काम गर्र्यो। रेष्टुरेन्टमा, कन्स्ट्रक्सनमा, सुंगुर फार्ममा धेरै दुःखले काम गर्र्यो उसले। म्यान्माको मान्छेलाई थाईहरुले धेरै हेप्ने रहेछ। धेरै म्यान्माहरु त त्यहाँ इलिगल रहेछन्। ऊ आफैंले वर्किङ भिजा पाउन गाह्रो भएको थियो। तर म्यान्मामा भन्दा धेरै पैसा कमाउने रहेछ। उसले अन्तिममा बैंककको एउटा फाइभ स्टार होटलमा स्विमिङ पुल सफा गर्ने काम पायो। दिनभरी उसले जालीको टोक्रोले स्विमिङ पुलमा खसेका पातहरु झिक्ने गथ्र्यो। त्यहीँ उसले स्विमिङ पनि सिक्यो र स्विमिङ गार्डको रुपमा काम गर्न थाल्यो। एउटै होटलमा उसले ३ वर्ष काम गर्र्यो। यो उसको लागि रमाइलो काम थियो। विदेशी फिल्म हेरे जस्तो। साएथुरेनलाई अहिले पनि लाग्छ, पुरुष स्विमिङ कोचहरु मनको चाहिँ ठुलो अपराधी नै हुन्। स्विमिङ खेल्न आउने महिलाहरुका बारेमा सबै कुरा सोच्न भ्याउँछन्।

अलिअलि पैसा कमाएपछि साएथुरेन म्यान्मा नै फर्कियो। उसको अमे अबा (आमाबुबा) को पनि उमेर ढल्किँदै गएकोले उसलाई घरमै बस्न मन लाग्यो। उसको अमे अबा त अझै उसलाई भिक्षु भएको देख्न चाहन्छन्, तर स्विमिङ कोचको काम भने उसलाई छोड्न मन लागेन। थाइल्याण्डबाट फर्किपछि ऊ यंगुनको केन्द्रमा रहेको कण्डोयोकी गार्डेन लेकको सरकारी स्विमिङ पुलमा कोचको रुपमा काम गर्छ। अचेल उसको अबा सु से बा ले उसलाई धेरै गनगन गर्दैन। उसलाई मन लागेको काम गर्न पाउँछ। त्यसैले घरमा बस्न सजिलो छ। ‘खाली एउटा बुहारी लिएर आइज। कुलाबाहेक जो लिएर आइज हुन्छ’ भन्छ। तर अहिलेसम्म साएथुरेनले बिहे गर्न मन मिल्ने केटी नै भेटेको छैन। बरु केही दिनदेखि उसको मन कुलातिर बसेको छ।

कुलाको नाम सोध्ने आँट उसलाई छैन। दोहोरो कुरा पनि भएको छैन। तर उसले अनुमान लगाउन सक्छ, फ्यो उसकी छोरी हो तर चो उसको को हो? हरेक दिन ४ः३० बजे ऊ केटाकेटीलाई लिएर आउँछे र ६ः३० बजे निस्कन्छे। साएथुरेनले कुलालाई पहिलो दिन देख्दा उसको अनुहारमा धेरै दाग थियो। ऊ धेरै निराश र मौन थिई। केही दिनमा उसको अनुहारको दाग विस्तारै मेटिँदै गयो। उसले अनुहारमा तनखा (अनुहारमा लगाउने काठको लेप) पनि लगाउन थालेकी छे। अचेल निकै राम्रिएर आउँछे ऊ। तर मौनता उसको उस्तै छ। बच्चाहरुलाई स्विमिङ कस्ट्युम लगाइदिएर ऊ स्विमिङ पुलको कुनाको कुर्सीमा बस्छे। उसको हातमा सधैँ सानो किताब हुन्छ।

एकदिनको घटना हो, ७ बजिसक्दा पनि ऊ त्यहाँ छ। स्विमिङ पुलको समय ७ बजेसम्म हो। सबै कर्मचारी लुगा फेरेर निस्कने तरखरमा छन्। त्यहाँ साएथुरेनका केही जिम्मेवारी छन्। जतिजति स्विमिङ पुलको पानी विस्तारै घट्दै जान्छ, अँध्यारो पनि बढ्दै छ। साएथुरेनले पुरानो पानी पुरै खन्याएर स्विमिङ पुलमा नयाँ पानी भर्न थाल्छ। पानी खसेको आवाज जोडले आइरहेको छ। अब त्यहाँ गार्ड र साएथुरेन मात्रै छन्। महिला २ बच्चाहरुसँग छे। ऊ किन अबेरसम्म त्यहाँ बसिरहेकी छ साएथुरेनलाई निक्कै उत्सुकता भइरहेको छ।

छेऊमा गएर ऊ सोध्छ ‘चो किन अहिलेसम्म घर नगएको?’

‘अबालाई कुरेको,’ चो भन्छ।

‘अनि तपाईंले श्रीमानलाई फोन गर्नुभएन?’ अजराकी आमालाई सोध्छ।

‘फोन उठेन।’ छोटो उत्तर दिन्छे। अजरा आफ्नी आमासँग टाँस्सिएर बसेकी छ। मानौँ उसलाई कसैले खोसेर लैजान खोजेको होस्।

‘चिन्ता नगर अजरा, तिम्रो अबा चाँडै आउनुहुन्छ। त्यतिन्जेलसम्म यहीँ कुरेर बसौँला।’ साएथुरेनले केटीलाई सुम्सुम्याउँदै भन्छ।

‘मेरो बाबा पनि आउनुहुन्छ?’ अजराले आमाको मुखमा हेरेर सोध्छे। महिला बोल्दिन।

‘मेरो अबा हो, उसको अबा छैन’, चोले इष्र्या गर्दै भन्छ।

सन् १९९० पछि हजारौँ रोहिन्या मुस्लिमहरु विस्थापित भएर बंगलादेश र भारत पलायन भएका छन्। परिवारहरु छिन्नभिन्न भएका छन्।

रोएटर्स

स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

सन् २०१६ को अक्टोबर ९ मा मुस्लिम अतिवादीहरुले बंगलादेश नजिकै रहेको उत्तरी राखिनेको सीमा सुरक्षामा खटिएका नौ जना पुलिस मारेपछि तनाव झन् बढेको छ। भर्खरै अज्ञात समूहले ३ जना राखिने बालबालिकालाई मारेको छ।

फ्रन्टियर, सितु आङ


अजरालाई एक हातले घिसार्दै उसकी आमा पनि त्यही गाडीतिर जान्छे। ऊ विलाप गरिरहेकी छे।

यतिखेर दुवै महिलाले बोलेको भाषा साएथुरेनले बुझिरहेको छैन। भाषा नबुझे पनि उसले परिस्थिति बुझिरहेको छ।

चोलाई लिएर महिला गाडीभित्र पस्छे। गाडी हुइँकिन्छ। अजरालाई समाएकी महिला साएथुरेनले नबुझ्ने भाषामा रोईरोई बिलौना गरिरहेकी छे। अजरा डराएर आमालाई जोडले समाइरहेकी छे। आँखाले सेतो गाडी देखुन्जेलसम्म अजराकी आमा कराइरहन्छे।

साएथुरेनले उसको विलौनालाई म्यान्मा भाषामा अनुमानमै अनुवाद गर्छ, ‘मलाई नछोड यो अन्जान ठाउँमा। यति राती। हामीलाई बचाऊ। यो सानी छोरीलाई लिएर म कहाँ जाउँ? यसको बाउको पनि पत्तो छैन।’ सेतो गाडी देखिन छोडे पनि महिला भुइँमा थचक्क बस्छे। कण्डोयोकी गार्डेनको पालेले अघिदेखि बाहिर निस्कन सुचित गर्दै घण्टी बजाइरहेको छ।

साएथुरेनले छेऊमा गएर महिलालाई सोध्छ, ‘तिमीहरु राखिने स्टेटबाट आएका हौ? के तिमीहरु रोहिन्या हौ?’

महिलाले एकै सासमा भन्छे, ‘गाउँमा दंगाफसाद चलिरहेको थियो। बौद्ध र मुस्लिमहरुको मेल थिएन। एक्कासी मेरा श्रीमानलाई खेद्दै एक हुल सेना घरभित्र छिरे। केहीले श्रीमानलाई घिसार्दै लगे। केहीले अरु छोराछोरीलाई लगे। सबैभन्दा कान्छी अजरा माथिल्लो तलामा सुतिसकेकी थिई। मलाई बन्दुक र बुटले कुटे र २ जना सेनाले बलात्कार गरे। त्यो दृश्य छोरीले माथिबाट हेरिरहेकी रहिछ। त्यस रात सारा बस्ती खाली भयो। बाहिर गोली चलेको थियो। कतिका घरमा आगो लगाए। गाउँलेहरु बीच काटमार चलिरहेको थियो। सक्ने भागे। नसक्ने मरे, घाइते भए। हामी ४ दिन हिँडेर बंगलादेश पुग्यौँ। त्यहाँ पनि बस्न दिएनन्। कति यतै लुके, कति इन्डियातिर गए। बाटोमा पुलिसले दुःख दियो। हामी केही महिला केटाकेटी त्यहाँ बस्न डर लागेर फेरि फर्कियौँ। मेरा श्रीमान र ६ जना छोराछोरी कहाँ गए थाहा भएन। हामी केही महिला र केटाकेटी फेरि फर्किएर म्यान्मातिरै छिर्यौँ। यहाँ बल्लबल्ल एउटा मस्जिद भेट्यौँ। त्यहाँ बस्ने ठाउँ थिएन। यही मान्छेले घरमा काम गर्न मलाई दिएर आएको थियो।’

रोहिन्याको बारेमा साएथुरेनले आजसम्म जे सुनेको थियो, योभन्दा फरक थियो अजराकी आमाको बयान। राखेनी बौद्धमार्गीहरु आफूलाई राखिने स्टेटका आदिवासी ठान्छन्। उनीहरु भन्छन्, रोहिन्या मुस्लिमहरु भारत र बंगलादेशबाट पछि आएका हुन्। उनीहरु आतंकवादी हुन्। उनीहरुले मान्मामा आतंक फैलाएका छन्। म्यान्माका अखबार र टेलिभिजनमा पनि रोहिन्याहरुले धेरै बौद्धमार्गी र नौ जना प्रहरीलाई मारेको कुरा देखाएको थियो। रोहिन्याहरु सशस्त्र हतियारसहित नागरिकता र आफ्नो प्रान्त माग्दैछन् भन्ने समाचारहरु म्यान्माका पत्रपत्रिकाहरुमा छापिइरहेका छन्। तर रोहिन्याहरु बलात्कृत भएको, मरेको वा विस्थापित भएको कुरा साएथुरेनले कहिल्यै सुनेको थिएन। अजरा र उसकी आमाको विजोग देखेर साएथुरेन उनीहरुलाई सहयोग गर्ने साहस बटुल्छ।

संयुक्त राष्ट्र संघ र अन्य मानवअधिकार संस्थाहरुको पहलमा बर्माका उपराष्ट्रपति यु मिन्टको अध्यक्षतामा गठित आयोगले राखिने प्रान्तमा कुनै मानवअधिकार हनन वा आपराधिक गतिविधि नभएको प्रतिवेदन २०१७ अगष्ट ६ मा सार्वजनिक गरेको छ। र संयुक्तराष्ट्र संघले राखिने प्रान्तमा गर्न चाहेको अनुगमनलाई भर्खरै बर्मा सरकारले अस्वीकार गरेको छ। बर्मा सरकारले भनेको छ, यस किसिमको अनुगमनले द्वन्द्वलाई झन् चर्काउन मद्दत गर्नेछ।

मिज्जिमा विक्ली

‘हाम्रो समुदायमा तिमीहरुलाई आतंकवादी भन्छन्। तर पनि एक रात तिमीलाई मेरो घरमा राख्न सक्छु। भोलि केही विकल्प खोजौँला’, महिला केही बोल्दिन। साएथुरेन अघिअघि अजरा र उसकी आमा पछिपछि छन्। ‘हामी खेती गरेर खाने मान्छे हौं। दंगा गर्ने मान्छे हैनौं। मेरा श्रीमान् पनि दंगा गर्ने मान्छे हैन। मेरो ४ जना छोराछोरी पनि दंगा गर्ने मान्छे हैन। तर सबै हराए। सेनाले सबैलाई मार्यो होला। जेठो छोरा अमिन र २ छोरीहरुको हाल के भयो होला।’ पब्लिक बस पाउने समय गुज्रिसकेको छ। करिब ४० मिनेट हिँडे पनि उनीहरु साएथुरेनको घरमा पुग्छन्। छोरासँग आएका मान्छेलाई देखेर सु से बाले कराउँदै भन्छ, ‘देखिस् बुढी, तेरो था (छोरा)ले जे नगर भनेको त्यही गर्दैछ। साउँब्याज सहित आयो कुलालाई लिएर।’ साएथुरेनकी आमा भुत्भुताउँदै बाहिर निस्कन्छिन्, ‘लौ देऊता रिसाउँछ। लामा रिसाउँछ। बुद्ध रिसाउँछ। मेरो था यस्तो नगर। उनीहरुलाई फिर्ता लगिदे।’

साएथुरेनले आमाबुवा दुवैलाई सम्झाउने कोसिस गर्छ। भन्छ, ‘उनीहरु संकटमा भएर ल्याएको। उसको घरमा सेना छिरेर खेदाएछ। यंगुनमा बसेको घरबाट पनि निकाल्यो।’ बुवा सु से बा झर्किन्छ ‘मुस्लिमहरु सबै दबौंन् (आतंकवादी) हो। यिनीहरुले बौद्ध धर्मलाई मास्छ। यसलाई राख्यो भने टोलको सबै मान्छेहरु हाम्रो दुश्मन हुन्छ। यसलाई निकाली हाल।’ साएथुरेन पनि रिसाएर कुरा गर्छ, ‘यस्तो महिला कसरी तयागान हुन्छ? के बुद्ध धर्मले यसै भन्छ? दुःख परेकोलाई घरबाट निकाल भन्छ? असहायलाई सहयोग गर। हिंसा नगर भन्दैन?’ सु से बा झन् जंगिन्छ, ‘फौंजी च्याउँ (गुम्बा) बाट भागेर थाइलेन पुगेको पापी अहिले बुद्धको ज्ञानको कुरा गर्छ? तँ पनि फेरि फौंजी (भिक्षु) हुन्छ भने यिनीहरुको पनि धर्म परिवर्तन गरेर तिलासीं (भिक्षुणी) हुन्छ भने यो घरमा छिर्न पाउँछ। त्यो कलेमा (सानी केटी) लाई पनि कोइन (भिक्षुणी हुनुभन्दा अगाडिको समय) बनाउनुपर्छ। नत्र भने पाउँदैन।’ त्यसपछि सु से बा भित्र पसेर घरको मुल ढोका लगाउँछ। साएथुरेनले बुढेसकालका आमाबुबालाई हेपेर जबरजस्ती गर्ने स्थिति छैन। निस्पट्ट अँध्यारो छ। उसले केही उपाय देख्दैन। अजराकी आमालाई निवेदन गर्छ, ‘सहरमा झन् अप्ठ्यारो छ। मैले भनेको मान।’ ऊ केही बोल्दिन। साएथुरेनले ढोकाको प्वालबाट भित्र साउती मार्छ, ‘अमे अबा, तपाईंहरुले भने जस्तै गर्छु। यो एप्यो (एक्ली महिला) ले पनि त्यसै गर्छ। ढोका खोली दिनुस्। आमाचाहिँले फत्फताउँदै ढोका खोल्छिन्, ‘होस् राखेर काम गर्नु है था (छोरा)। पछि भगवानले नसरापोस्।’

साएथुरेनले भित्रबाट कपाल काट्ने छुरा लिएर आउँछ। पहिला अजराको कपाल मुण्डन गरिदिन्छ। त्यसपछि उसकी आमाको कपाल मुण्डन गरिदिन्छ। कपाल खौरिइरहँदा ऊ सुँक्कसुँक्क रोइरहन्छे। दराजमा राखेको भिक्षुणीको लुगा ल्याएर महिलालाई दिन्छ। भिक्षुको लामो ओढ्ने च्यातेर अजरालाई पनि जिउमा बेरिदिन्छ। नयाँ किसिमको लुगा पाएर अजरा खुसी हुन्छे। त्यसपछि आमाबुबाले उनीहरुलाई भित्र छिर्न दिन्छन्। सु से बाले म्यान्मा भाषामा केही मन्त्रहरु भट्याइरहेको छ। बीचैमा रोकिएर भन्छ, ‘भोली बिहान ४ बजे उठेर उनीहरुलाई सुले पेया (सुले पगोडा) लगेर जप गराउनुपर्छ। अनि मात्रै उनीहरुलाई बुद्धले स्वीकार्छ। अनि उनीहरु फौँजी (भिक्षुभिक्षुणी) हुन्छ।

बर्मेलीहरु सबै कुरामा ठिक छन्, तर धर्ममा धेरै कडा छन्। उनीहरुको धर्म र समुदायलाई चलाउनु हुँदैन। धर्मको मामलामा बर्मेली बुद्धमार्गीहरु अतिवादी नै छन्।

एक गैर बौद्धमार्गी

साएथुरेनले अजरा र उसकी आमालाई सुत्न कोठा देखाउँछ। सबैजना आ–आफ्नो ओछ्यानतर्फ लाग्छन्। ‘कपाल काटेपछि अजरा कति सुन्दर देखिएकी छे। उसकी आमा झन् सुन्दर देखिएकी छे। अघि भर्खरी कुला अहिले आफ्नै जातकी जस्ती लाग्न थाली। कति सुन्दर तिलासीँ।’ साएथुरेनलाई उनीहरुप्रति झन् धेरै माया पलाएर आउँछ। साएथुरेन राती निक्कै अबेरसम्म निदाउँदैन। राती अचानक गरिएको उनीहरुको मुण्डनका बारेमा उसले केही सोच्नै सकेको छैन। उसले के गर्नु पर्ने हो, ठम्याउनै सकिरहेको छैन। कपाल खौरिँदा आमाचाहिँ रोइरहेकी थिई। उसले साँच्चै धर्म परिवर्तन गर्न मानेकी छ? भोलि बिहान उनीहरुलाई सुले पेया लगौँ कि मस्जिद? उसको घरबाट सुले पेया र मस्जिद झण्डै उस्तै दुरीमा छन्। कि त्यस्तो झन्झट केही नगरेर भोलि बिहान उनीहरुलाई घरबाट निकाली दिउँ? मुस्लिमहरुले थाहा पाए भने पनि ठूलो समस्या हुनेछ। दिनभरीको स्विमिङले थाकेको साएथुरेन मनमा अनेक कुरा खेल्दै गर्दा भुसक्कै निदाउँछ।

भोलीपल्ट बिहान उठ्दा अजरा र उसकी आमा सुतेको कोठाको ढोका खुल्लै छ। ओछ्यानमा अजरा मस्त निदाइरहेकी छे। अजराकी आमाले स्विमिङ पुलको किनारमा बसेर पढ्ने गरेको कुरानको सानो पुस्तक अजराको सिरानीमा छ। उसलाई लगाउन दिएको भिक्षुणीको लुगा पनि सिरानमा कुरानसँगै छ। तर, आफू कोठामा छैन। साएथुरेनले बाहिर खोज्छ। आमाबुबालाई सोध्छ तर अजराकी आमाको पत्तो छैन। सु से बा कराउन थाल्छ, ‘म भन्दै थिएँ नि, त्यसले धोका दिन्छे। अब यो केटीलाई के गर्छस्? लगेर मस्जिदमा छोडिदे।’

अजरा ब्युँझिएपछि उसले आमालाई खोज्छे। यो कुरा साएथुरेनलाई थाहा छ। किनभने एक्लै ऊ एकदमै डराउँछे। तर उसकी आमा फर्केर आउली भन्ने आशा कम छ। उसले तिलासीँको लुगा त्यहीँ फुकालेर गई। साएथुरेनलाई लागिरहेछ सहारा दिने नाउँमा उसले जबरजस्ती धर्म परिवर्तन गराउन खोज्यो। तर एउटी कलिली केटी जसलाई धर्म भनेको के हो थाहा छैन। उसका लागि मस्जिद, गुम्बा वा घर कहाँ राख्नु ठिक हो? साएथुरेन अलमलमा छ। ऊ आफैं पनि गुम्बामा बस्न नसकेर भागेको थियो। आफूलाई सहज नपरेको ठाउँमा अर्कोलाई कसरी लगेर राख्नु? ती तीनबाहेक अजराको लागि साएथुरेनसँग अरु विकल्प पनि छैन। तर तीनमध्ये एक विकल्प छान्न उसलाई सजिलो पनि छैन। उसले आज दिनभरीमा निक्र्यौल गर्नुछ। डरले उसको ओठ र तालु सुकिसकेको छ। ऊ आज काममा जान पाउनेछैन। ऊ सोच्दै छ, फौँजी च्याउबाट त्यस दिन नभागेको भए आज यस्तो संकट आउने थिएन। जीवन रमाइलो मात्रै रहेनछ। यहाँ त संकटैसंकट रहेछ। ओछ्यानमा अजरा चलमलाउँदैछ। सायद एकैछिनमा ऊ उढ्नेछे र आमालाई खोज्दै रुन थाल्नेछे।

रोहिन्या मुस्लिमहरुको समर्थनमा स्लामिक आतंकवादी संगठनले बर्मामा हस्तक्षेप गर्ने सम्भावना बढेको छ। रोहिन्या मुस्लिमहरु पनि सशस्त्र आन्दोलनमा छन्। राखिने आदिवासीहरु आफैं पनि सशस्त्र प्रतिकारका लागि तयार छन्। बर्मा सरकार पनि राखिनेमा आर्मी परिचालनको योजना बनाउँदैछ।

दि गार्डियन

 

 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink