प्रिय किशोरजी,
सर्वप्रथम त तपाई काठमाण्डौ महानगरपालिकामा मेयरको रुपमा खडा हुन लाग्नु भएको सुन्दा खुशी लाग्यो। हुन त हाम्रो व्यक्तिगत परिचय छैन तर तपाई नेपाल सरकारको विभिन्न पदमा आसीन हुदा गर्नु भएको राम्रा कामहरुबारे मैले जानकारी राख्ने गरेको छु। शायद नेपाल सरकारमा तपाई जस्तो काबिल र स्वच्छ छविको व्यक्तिको खडेरी नै छ भन्दा हुन्छ।
तपाईले बेलाबखतमा आफुलाई काम गर्दा राजनैतिक दबाबले गर्दा पूर्ण व्यवसायिकतामा रहेर काम गर्नु कठिनाई भएको कुरासंग म शत प्रतिशत सहमत छु। पछिल्ला समयमा तपाईले बागमती सफाई अभियानमा पुराउनु भएको योगदानबाट पनि म अनभिज्ञ छैन। असाधारणीय वौद्धिक क्षमताका धनी र तपाई जस्तो अनुभवी व्यक्ति राजनीतिमा प्रवेश गरेर काठमाण्डौको अवस्थामा सुधार ल्याउने तपाईको लक्ष्यलाई म शतप्रतिशत सर्मथन गर्छु।
कान्तिपुर टि.भी. को ‘‘सरोकार’’ कार्यक्रममा तपाईले व्यक्त गर्नु भएको स्पष्ट विचार र सोचबाट म ज्यादै नै प्रभावित भएको छु। मलाई विश्वास छ उक्त कार्यक्रम हेर्ने अधिकांश दर्शक तपाईको प्रस्तुतीकरणबाट प्रभावित भएका छन्। तपाईको विचार सुन्दा तपाई पद र शक्ति भन्दा पनि केही गरौ भन्ने भावनाले बढी पे्ररित हुनु भएको जस्तो लाग्छ। नेपाल सरकारको सचिव भइ निवृत भएका व्यक्तिलाई पद ठूलो कुरा होइन। मलाई लाग्छ तपाई समाज बदल्न चाहनु हुन्छ। आफ्नो ज्ञान र अनुभवबाट काठमाण्डौको मुहार फेर्न चाहनु हुन्छ। यसमा तपाईलाई मेरो शुभकामना छ।
उक्त ‘‘सरोकार’’ कार्यक्रम हेर्दा मेरो मनमा के विचार पनि आयो भने तपाईसंग चुनाव लड्ने तपाई र मेरो उमेरको हिसाबले छोरीको उमेरकी रन्जु पनि छिन्। मैले व्यक्तिगत रुपमा रन्जुलाई भेटेको पनि छैन र मेरो विवेकशील नेपालीसंग कुनै सम्बन्ध पनि छैन। सरोकार कार्यक्रमको प्रस्तोताले रन्जु र तपाईको भोट काटिने संभावना बारे प्रश्न गर्दा तपाईले आफू मेयर र उनलाई उपमेयरको प्रस्ताव गरेको खुलासा गर्नु भयो। मेरो विचारमा यो पनि त्यति नराम्रो प्रस्ताव होइन तर खोई विवेकशील किन मानेन, मलाई यसबारे जानकारी छैन।
तपाईको स्वच्छ छवि, अनुभव र ज्ञानलाई हामी सबैले आदर गरेको छौ। अब तपाई एक कदम अघि बढेर आफू उपमेयरमा अनि रन्जुलाई मेयरमा उठ्न राजि हुनु भयो भने यो जस्तो ऐतिहासिक काम नेपालको राजनितिमा अरु कुनै हुने छैन। यसो गर्दा तपाईको कद मात्र बढ्ने होइन की हाम्रो राजनितिज्ञहरुलाई गतिलो झापड पनि हुनेछ। राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।
तपाईको हितेषीको रुपमा यी सुझावहरु दिएको छु। यसलाई ग्रहण गर्ने वा नगर्ने तपाईको व्यक्तिगत निर्णय हो। अन्तमा तपाईले जे निर्णय गर्नु भए पनि तपाईको सफलताको कामना गर्दछु।
तपाईको सुभेच्छुक
शैलेन्द्र सिग्देल
काठमाण्डौ
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४, ०७:००:०३