आ-आफ्नै सगरमाथा

SAMSUNG
  • Get News Alerts

baleno
tata

निशा अधिकारी, नायिका /सगरमाथा आरोही। तस्बिरः चन्द्रशेखर कार्की 


‘ दुनियाँले चिन्छन् भनेर पहाड नचढ्नू। संसार हेर्न उक्लेको हो भने, कुरा अर्कै हो।’

ट्रेकिङबाट फर्केको तीन साता भयो। तर, ह्याङओभर बाँकीनै छ।

म कुनै हिमाल चढेर फर्केको होइन। मैले सक्ने कुरा पनि होइन। करिब १४ हजार फिटसम्म पुग्न सकेकोमा म आफैंलाई पटक पटक धाप मार्दै छु।

यस्तो लाग्दैछ, मानौं सगरमाथा चढेर फर्किएको हुँ। नलाग्नु पनि किन? हामी सबैको जीवनमा आ-आफ्नै निजी सगरमाथा हुन्छ।

पोलिस पर्वतारोही वाण्डा रूटकिविकका शब्द हुन् ‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

हो त नि, गहिरिएर हेरेँ-हामी सबैसँग आफूले आरोहरण गर्नु आ-आफ्नै सगरमाथा छ। लाङटाङ ट्रेकिङ जाँदा बाटोमा एक जना भाइसँग परिचय भयो। उसका निम्ति सगरमाथा भनेको आर्मीमा भर्ना हुनु हो। सके ब्रिटिस आर्मी, नसके ईन्डियन आर्मीसम्म पुग्ने सगरमाथा।  

१० हजार फिटमा चिया दोकान थापेर बसेकी पेमा शेर्पाका निम्ति सगरमाथाको शिखर भनेको हिमालको चुचुरो होइन, खाडीको मरूभूमी हो।

‘अब दुई महिनामा त कतार जाने भिसा आउँछ होला, यता बसेर त बच्चा पढाउनै गाह्रो,’ दुख: छिपाउन फिस्स हासिन् पेमा।

मैले वाण्डालाई सम्झेँ, ‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

**

वाण्डाको बारेमा थाहा पाएको धेरै भएको छैन। पर्वतारोहरणका पाना पल्टाउँदै जाँदा संयोगवश वाण्डासँग ठोक्किन पुगेँ।

उनी बाचेकी भए, एक झलक देख्न चाहन्थेँ। एक साँझ भरी उनलाई सुन्न चाहन्थेँ...

कहिलेकाही, मलाई पृथ्वीबाट हिँडिसकेकासँग पनि प्रित गास्न मन लाग्छ। उमेर र कालको सीमा नाघेर पनि मायाका गीत लेख्न मन लाग्छ।   

सन १९४३ मा जन्मेकी वाण्डा जम्मा ४९ वर्ष पृथ्वीमा रहिन्। विश्वमा रहेको आठ हजार फिटभन्दा अग्ला १४ शिखर मध्ये ८ शिखर आरोहरण गरेकी वाण्डा विश्व ईतिहासको महानतम् महिला पर्वतारोही हुन्।

सगरमाथा चढ्ने उनी तेस्रो महिला हुन् भने आरोहरणका दृष्टिले संसारमा सबैभन्दा मुस्किल पहाड मानिने माउण्ट केटु शिखर (जो विश्वको दोस्रो अग्लो पर्वत पनि हो) चढ्ने पहिलो महिला हुन्।

अन्नपूर्ण साउथ त उनले ‘सोलो’ चढिदिइन्। सन् १९९२ मा कन्चनजंघा अभियानबाट फर्कने दौरान उनले आफ्नो ज्यान गुमाइन्।

बिशाल हिमालयमा उनी एक्लै पनि हिड्थिन्, सहयोगीको लावा लस्कर साथ होइन।   

पर्वतारोहणमा लाग्नुभन्दा पहिला वाण्डाको रूची ‘हेभी मोटरसाइकल’ कुदाउँने थियो। सन १९६१ को गर्मी महिनाको एक दिन,  हाइवेमा दौडिरहेको उनको मोटरसाइकलको तेल सकियो।

उनले हात हल्लाएर सहयोग मागिन्। कुनै वाहन रोकिएन।

धेरै पछि एउटा मोटर साइकल रोकियो। जो रोकियो, त्यसको पछिल्लो सिटमा बसेको मानिससँग वाण्डाको मित्रता स्थापित भयो। पछाडि सिटको मान्छे पर्वतारोहरणमा रूची राख्थ्यो। त्यही मान्छेको मित्रताले  वाण्डालाई पर्वतारोहरणमा तान्यो।  

दुबैले मिलेर फाल्कन पर्वत चढे।

त्यसपछि पहाडसँग वाण्डाको यस्तो प्रित बस्यो, जुन प्रेमका लागि वाण्डाले आफ्नो ज्यानसमेत दिइन्। सन् १९९२ मा कन्चनजंघा आरोहरणबाट फर्कदै गर्दा उनले आफ्नो अन्तिम सास लिइन्।

वाण्डाको लाश आजसम्म भेटिएको छैन। हिमालयसँग उनको प्रेम थियो। आफ्नो प्रेमीकै काखमा, सदाका लागि विलिन् भइन् वाण्डा।

जुन युग र प्रविधिमा वाण्डाले आठ हजार फिट माथिका त्यतिका शिखर चुमिन्, त्यो युग पर्वतारोहरणका हिसाबले आज जस्तो सरल थिएन। पर्वतारोहरण, आज पनि सजिलो छैन तर वाण्डाको समयमा कयौं गुणा दुष्कर थियो। 

त्यसै कारण, वाण्डा रूटकिविकको नाम बेजोड-बेमिसाल छ।

अब आउने सुदूर भविष्यसम्म पनि, महिला पर्वतारोहीका रूपमा पर्वतारोहणका वाण्डा रूटविकका  किर्तिमानलाई छुन सजिलो छैन।   

कालजयी छ उनको अमूल्य वचन्- ‘चढ्नको निम्ति,  हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

***

वाण्डालाई  मैले भेट्न पाइनँ, तर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीसँग चाही टेलिभिजन वार्ताको अहोभाग्य मिल्यो। हिलारीका विषयमा केही समयअघि सेतोपाटीमा ‘पर्यटक होइन यात्रु हुँ म’ शीर्षक भित्र केही लेखेँ पनि।

आफूले लेखेका मध्ये, मन परेको अभिलेख हो त्यो।

अलि पुरानो हो। तर, ओइलाउने खालको होइन। नपढेको भए, फुर्सदमा त्यसको लिंक क्लिक गर्दा हुन्छ।

मलाई सारै छुने, जति चोटी पढ्यो नयाँ नयाँ अर्थ खुल्ने वाक्य छ एडमण्ड हिलारीको–

‘पहाड चढ्दा हामीले पहाडलाई जित्ने होइन, आफैं माथि विजय पाउने मात्र हो।’

पर्वतारोहण ईतिहासका यी दुई महान महिला र पुरूष, वाण्डा रूटविक र एडमन्ड हिलारीले भनेका दुई वाक्य जोड्यो भन्यो यस्तो अमूल्य बचन बन्छ- 

‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ। पहाड चढ्दा हामीले पहाडलाई जित्ने होइन, आफैं माथि विजय पाउने मात्र हो।’

***

जावेदले निक्कै जोड नगरेको भए, म ट्रेकिङ जाने थिइनँ।

१२ वर्षअघि जावेद असरफ काठमाडौंस्थित भारतीय दूतावासमा कमर्सियल काउन्सिलर थिए। उनीसँग मेरो परिचय कपन (गुम्बा) जाने उकालोमा भयो। हामी दुबै हिड्न भनेपछि हुरूक्कै। नेपाल पछि जावेदको पोस्टिङ वासिंटन भयो।   

कालान्तरमा जावेदले भारतीय प्रधानमन्त्रीको कार्यालयमा मनमोहन सिंह र नरेन्द्र मोदीसँग गरी ३ वर्ष विदेश मन्त्रालयबाट डेपुटेसन (काजमा) बरिष्ठ अधिकारीका रूपमा काम गरे।

भारतीय विदेश मन्त्रालयमा अमेरिका बिज्ञका रूपमा पनि चर्चित उनी हालै सिंगापुरका लागि भारतीय राजदूत नियुक्त भएका छन्। धेरैलाई थाहा छ आजको सिंगापुर, चीन-अमेरिका र भारतबीच रणनीतिक र आर्थिक सम्बन्धमा एक महत्वपूर्ण ‘हब’ हो।

जावेद असरफका साना वा ठूला ओहदा (वा अरू कसैका ओहदा पनि) मेरो रूची वा अरूचीको विषय कहिलै रहेनन्। १२ वर्षअघि उनी संयोगवश, मण्डिखाटारको एउटै इलाकामा नबस्ने भएका भए चिनजानसमेत हुने थिएन होला।

कयौं विषयमा हाम्रा मतभेद हमेशा रहन्छन्। तर, आफ्नै खुट्टाको बलमा गरिने यात्रा बारे भने हमेशा – ‘हिप हिप हुर्रे।’  

मेरो जीवनमा कतिपय साथी यस कारण मात्र आए किनभने मैले तिनलाई कुनै सेमिनार वा रिसेप्सनमा भेटिनँ। हिड्दा हिड्दै गर्दा फुटपाथ र गोरेटामा अनायास भेटियौं हामी।  

फुटपाथमा मित्रता गाँसिएका कयौं  मित्रले पनि  म कुनै मिडिया हाउसको ओहदावाल छु/छुइनँ अथवा टेलिभिजनमा कार्यक्रम चलाउँछु/चलाउन्न भन्ने आधारमा सम्बन्धलाई तातो/चिसो पार्ने काम गरेनन्।  

***

यस पटक काठमाडौं ओर्लेको केही घन्टा भित्रै जावेद मलाई लिन घरैसम्म आए, साथमा उनका भान्जा ‘जोएन’ पनि थिए। मण्डिखाटारको बाटो जावेदले बिर्सेका रहेनछन्। खुसी लाग्यो। होइन भने, शक्तिको संसारिक दौडमा अगाडि पुगेका प्रायः मानिस आफूले हिँडेका सानातिना गोरेटो बिर्सन्छन्।

मण्डिकाटरबाट हामी सिधै स्याफ्रुबेसी तर्फ लाग्यौं, जो हाम्रो पदयात्राको सुरूवाती बिन्दु थियो। राति त्यही बास बसियो।  

पहिलो दिनको हिडाइ सबैभन्दा मुश्किल।

एक त पहिलो दिन, दोस्रो उकालै उकालो।

७ घण्टा हिँडेपछि ‘लामा होटल’ मा बास बस्न पुगियो। लामा होटेल कुनै होटेलको नाम नभएर ठाउँको नाम रहेछ।

मेनुमा धेरै आइटम देखाइएता पनि, टेबुलमा खान पाइने तीन थोक मात्र। भात, दाल र तरकारी। र, खोर्सानी।

थाकेको शरीर, भोको पेट। यसरी मस्त खाइयो, के भनौं।

साँझ ८ नबज्दै हामी आ-आफ्नो कोठामा निदाइसकेका थियौं।

बिहानै उठ्यो , फेरि हिड्यो अनि साँझ ८ नबज्दै सुत्यो।

अर्को दिन पनि बिहानै उठ्यो, फेरि हिड्यो अनि साँझमा चाडै सुत्यो... एवम् प्रकारले  यो क्रम साता दिनसम्म चल्यो।

एकै घानमा लगातार सात दिन हिँडेको मेरा निम्ति यो पहिलो अनुभव थियो। तर, हिड्नु मात्र होइन रहेछ ट्रेकिङ। हिड्दै जाँदा धेरै अन्य कुरा  पनि सिकिने रहेछ।

नारायण वाग्लेले अजित बराललाई हालसालै अन्नपूर्ण पोष्टमा सुन्दर शब्दमा भनेका छन्, ‘गाडीका झ्यालबाट शहर चियाउनु टेलिभिजन हेरे जस्तै हो, खास दृश्य पैतालाको स्पर्शबाट अनुभूति हुन्छ।’

लाङटाङ त म धेरै वर्षअघि पनि पुगेको थिएँ। हिँडेर होइन, हेलिकप्टरमा। तत्कालिन अमेरिकी राजदूत जुलिया चाङ ब्लकसँग त्यहाँ दुई घन्टा लन्च खाएर सोही दिन काठमाडौं फर्केको।

सोच्दै छु- ‘गाडीको झ्यालबाट टेलिभिजन हेरे जस्तो हो’ भने हेलिकप्टरको झ्यालबाट हेरेकोलाई नारायणले के उपमा देलान्?

***

ट्रेकिङबाट काठमाडौं फिरेपछिका कयौं दिन म हिमालको ह्याङ ओभरमा रहे। ह्याङ उतार्न पनि केही नलेखि नहुने भएको थियो। 

निशालाई फोन गरेँ।

म यसै पनि केही अघि देखि निशा अधिकारी माथि एउटा फिचर लेख्न खोजिरहेको थिएँ। हो, तिनै नायिका निशा अधिकारी जसले करिब तीन वर्षअघि सगरमाथा चढेको समाचार आएको थियो।   

निशा अधिकारीमा मैले वाण्डा रूटकिविक खोजिनँ।

म कोही भित्र, कोही अर्को मानिस खोज्दिनँ। यो मुर्खता मैले धेरै वर्ष गरेँ। 

यस पटक म त फगत- निशा अधिकारी भित्रको निशा बारे लेख्न चाहन्थेँ। लेख्न अघि उनलाई बुझ्न चाहन्थेँ।

निशा अधिकारीले कफीको लामो सर्को तानिन्, लामै स्वास लिइन् र बोल्न सुरू गरिन्। 

‘ .... नजाने किन, यो  कुरा तपाईसँग शेयर गर्न चाहन्छु। सगरमाथा आरोहीका रूपमा होइन, एउटा नारीको रूपमा शेयर गर्दै छु है।

म संयुक्त परिवारमा हुर्किएकी हुँ। हाम्रो परिवारमा महिला महिनावारी बार्ने नियम हुँदाहुँदै पनि मेरो ममीले भान्छा पस्ने विषयमा चाही त्यो नियम स्वीकार गर्नु भएन। म पनि गर्दिनँ।

मलाई लाग्दैन कि महिनावारीको समयमा कुनै नारी अपवित्र हुन्छिन्।

जब म सगरमाथा आरोहरणको अन्तिम चरणमा थिएँ ...दुई दिनअघिनै मलाई मासिक पिरियड सुरू भयो। जब नारी त्यो अवस्थामा हुन्छे, स्वभावतः शारीरिक रूपमा अलि कमजोर, थकित र मानसिक रूपमा पनि उद्देलित हुन्छे।

एकातिर, मेरो जीवनको सबैभन्दा महत्वपूर्ण उकालो सुरू हुँदै थियो, अर्को तिर म त्यस्तो शारीरिक अवस्थामा थिएँ। त्यति मात्र होइन, सगरमाथालाई शेर्पाहरू ‘आकाशको देवी’ भनेर पुज्छन्।

तर, म आफू चाही यस्तो धार्मिक परम्परामा हुर्किए जसमा महिनावारी भएको नारीलाई अपवित्र मानिन्छ, छुन नहुने ठानिन्छ।

त्यस दिन...आकाशकी देवी मेरै अगाडि थिइन्। तर, उनले मलाई अपवित्र मानिनन्। 

देवीले मलाई अपवित्र ठानेकी भए, आफ्नो शिखरसम्म पुग्न दिने थिइनन्।’

यति भनि निशा चुप लागेर मलाई हेर्न थालिन्। म केही बोलिनँ। उनैले कुरा अगाडि बढाइन्।

‘तपाईँलाई मेरो अनुभव अर्थ न बर्थको क्रेजी जस्तो लाग्यो कि?’, भावुकताले अवरूद्ध स्वरमा निशाले मलाई सोधिन्।

‘होइन निशा होइन! प्रकृति र नारीबारे यस्तो संवेदनशिल अनुभव मैले विरलै सुनेको छु!’

‘प्रकृतिको उच्चतम् शिखरमा पुगेकी एउटा नारीका रूपमा मेरो लागि त्यो एउटा चमत्कारिक आध्यात्मिक अनुभव थियो। म जे जस्तो अवस्थामा थिएँ, त्यही अवस्थामा आकाशकी देवीले मलाई स्वीकार गरिन्।’

निशालाई सुनेर म निशब्द भएँ।

तर, भावुकताको क्षणमा पनि  मैले एउटा तथ्य बिर्सिनँ-एकातिर रूढिवादी अन्धविश्वास छ भने अर्कोतिर महिनावारी हुँदा त्यसलाई पवित्रता वा अपवित्रतासँग नजोडेर शारीरिक सरसफाईसँग मात्र जोडेर हेर्ने खुला दृष्टिकोण भएका अनेक जनजाति वा अन्य समुदायहरू पनि हाम्रै देशमा छन्। जस्तै शेर्पा समुदाय, जस्ले सगरमाथालाई आकाशकी देवी भनेर पनि पूजन गर्छ।

म  त्यो लेखकको नाम सम्झेर निशालाई बताउन चाहन्थेँ। तर, उसको नाम सम्झन सकिनँ। हो त्यही लेखक जस्ले भनेका छन्- 

‘आकाशकी देवीमा विश्वास त मलाई पनि छ; तर फरक यति मात्र हो- म उनलाई देवीको साटो प्रकृति भनेर बोलाउँछु।’ 

 ***

निशाले पुराना कुरा बताउन थालिन्- ‘म १६ वर्षको उमेरमा सगरमाथाको शिखर पुगेर रेकर्ड राख्ने सपना देख्थेँ। सगरमाथा यसकारण चढन चाहन्थेँ, किनभने म आफूलाई हदैसम्म परीक्षण गर्न चाहन्थेँ। आफ्नो क्षमताका सीमालाई बुझ्न चाहन्थेँ।’

‘साच्चिकै जीवनमा सगरमाथा शिखर पुग्न कति वर्ष लाग्यो?’

‘सपना देखेको दस वर्षपछि’

‘शिखर पुग्दाको थप अनुभव केही शेयर गर्ने हो कि निशा?’

‘अन्तिम चढाईको निम्ति हामी राति दुई बजेदेखि हिँडेका थियौं। शिखर दुई सय मिटर जति बाँकी हुँदो हो। सगरमाथाको शिखर नेरको दुई सय मिटर भनेको धेरै लामो दूरी हो। हर पाइला चाल्न थप मुस्किल हुँदै जान्छ।  

सूर्योदय भयो।

त्यस्तो सूर्योदय मैले कतै देखेको छैन। देख्ने कुरा पनि भएन। त्यस्तो सूर्योदय हेर्न त त्यही ठाउँ पुग्नुपर्छ... जहाँ म पुगेकी थिएँ।

हो त्यो ठाउँ, जहाँ हामी माथि थियौ। र, सूर्य तल थियो। 

वातावरणमा बिस्तारै, सुस्तरी- चारै तिर रंगहरू छरिदै गए। यस्तो लाग्यो, मानौं आकाशबाट रंगहरूको वर्षा हुँदैछ...’

यति भनेर निशा एक छिन सुनसान भइन्। सम्झनाले छोप्यो होला। मैले प्रश्न सोधेर डिस्टर्ब गरिनँ। एक छिन पछि फेरि बोल्न थालिन्...

‘सगरमाथा शिखर पुग्नै थाल्दा ध्वजाहरू देखिन थाल्छन्, पूजा र प्रार्थनाका ध्वजाहरू। अलि नजिक गएपछि नेपालको झण्डा झुल्कन्छ। पृथ्वीको सबैभन्दा अग्लो ठाउँमा आफ्नो देशको झण्डा फरफराएको देखेर मन रोमान्चित हुन्छ...

शिखरमा पुगेर हेर्दा आफ्नो  चारैतिर हिमालै हिमाल देखिन्छन्... हिमालको जंगल जस्तो लाग्छ... तर बाँकी सबै पहाडहरू होचा देखिन्थे, बादलहरू पनि तल... आफू उभिएको ठाउँभन्दा माथि आकाश बाहेक केही थिएन...

शिखरमा पुगेपछि, पहिलो काम - मैंले सगरमाथालाई ढोगेँ। जाङबु शेर्पा दाइलाई बेस्सरी अंकमाल गरेँ। म जिउँदै सगरमाथा पुगेर फर्कनुमा उहाँको सहयोग यो जुनीमा बिर्सने कुरा होइन। तलैदेखि हामी दुई जना सँगै थियौं। पर्वतारोहरणका दौरानमा दुबै जनाले एउटै टेन्ट शेयर गर्थ्यौ।’

‘टेन्टमा छँदा उनले तपाईँलाई केही त गरेनन् निशा?’

‘तपाईँले अनुमान गरे जस्तो केही भएन। उनले मात्र होइन, मैले पनि उनलाई केही गरिनँ। हामी यस्तो ठाउँमा छौं जहाँ ज्यान जोगाउनेबाहेक अरू कुनै कुराको फिक्री कसैलाई हुँदैन।’

‘म बुझ्छु निशा। तर, पुरूष मनको एउटा कुनामा हमेशा शंकाको फोहर थुप्रिएको हुन्छ। त्यसैले सफाइ गर्न मैले ठट्टा गरेको। तपाईँ आफ्नो शिखर अनुभव अगाडि बढाउन सक्नु हुन्छ।’

सगरमाथा शिखरमा पुग्दा म यति धेरै थाकेकी थिएँ, स्वास लिन पनि शक्ति थिएन। तर त्यती गल्दा गल्दै पनि, मेरो मन खुसी र सन्तोषले नाचिरहेको थियो। प्रायः मानिस थकित हुँदा खुसी हुन सक्दैन। तर शिखरमा सकिने रहेछ।’

‘शिखरमा कसैको याद आयो निशा?’

‘दुई जनाको आयो। ड्याडी र मम्मीको। म आज जहाँ छु, मेरो ड्याडीले गर्दा छु जस्तो लाग्छ।’   

‘कुनै पुरूष मित्रको याद आएन?’

‘सगरमाथाको टुप्पोमा तिनको याद कहाँ आउँछ र’

‘फेदमा छँदा नि’

‘फेदमा छँदा चाहि एक जना ‘एक्स’ मनमा एकै छिन आएको थियो। उसको मात्र होइन जीवनका धेरै तिता मिठा अनुभव याद आए। म ती सबै अनुभवबाट आफूलाइ पुरै खाली गरेर सगरमाथा चढ्न चाहन्थेँ। त्यही अनुसार गरेँ पनि। शरीरमा होस या मनमा, धेरै वेट (भारी) बोकेर सगरमाथा चढ्न सकिन्नँ,’ मस्त हाँसिन् निशा।

‘तपाईँ आफ्नो रिलेसनसिप बारे केही शेयर गर्न चाहनुहुन्छ भने...?’

‘हजुरले सोध्न खोज्नु भएको अर्थमा अहिले म सिंगल छु।’

***

‘सगरमाथा पछि काठमाडौं फर्कदा स्वागत र मिडिया कभरेज सुरू भयो। मिडिया कभरेजको दबाब मैले सोचेभन्दा धेरै थियो। मेरो ड्याडी-मम्मीका निम्ति त त्यो झनै धेरै थियो। म नायिका नभएकी भए शायद अलि कम हुन्थ्यो होला।

त्यस पछिको एक वर्ष मेरो लागि सुखद् रहेन। आज पहिलो पटक कसैलाई यो कुरा म शेयर गर्दै छु। कुन्नी किन हो तपाईँसँग म यो कुरा सजिलै सेयर गर्न सक्छु। काठमाडौं फर्केपछि  म ‘लो’ फिल गर्न थाले। डिप्रेस्ड।  

म शारीरिक र मानसिक दुबै तवरमा थाकेको थिएँ। उचाइँले कहिले काही मानिसलाई नराम्ररी थकाइ दिने रहेछ। उचाइ जुनसुकै किसिमको पनि हुन सक्छ। म अलिकति ‘डिप्रेस्ड’  फिल गर्न थाले भन्ने सुनेर  तपाईँ छक्क पर्नुहुन्छ होला होइन...’

‘छक्क बिल्कुलै पर्दिन निशा। किनभने मलाई थाह छ, हामी सबैको जीवनमा कुनै न कुनै बिन्दुमा यस्ता घुम्ती आउँछन्, जहाँ हामीले धेर-थोर डिप्रेसनबाट गुज्रनु पर्छ। यसमा नौलो केही छैन।’

‘सुनेर सन्तोष लाग्यो’ हाँस्दै उज्यालिइन् निशा र थप्न सुरू गरिन्।

‘मेरो जीवनमा मुभी र माउण्टेन त छँदै थिए। त्यसपछि थपियो मेडिटेसन। मेडिटेसनले मलाई त्यो ‘लो’ अवस्थाबाट बाहिर ल्यायो। बढी इन्टिग्रेटेड (एकतृत ‍) मान्छे बनाउन ठूलो काम गर्‍यो।’

‘मुभी, माउण्टेन र मेडिटेसन मध्ये प्राथमिकता अनुसार छान्नु परे?’

‘म त्यो गर्दिनँ, गर्न चाहन्नँ, उचित होइन। सबैको आ-आफ्नै महत्व छ। बरू एउटा कुरा भन्न सक्छु-हर मानिसको जीवन एउटा खोज हो। एक्सप्लोर गर्ने हो। आजको दिनमा म मेरो भागको खोजी  मुभी, माउन्टेन र मेडिटेसनका माध्यमबाट गर्दैछु।’

‘अनि भोलि?’

‘भोलिको कसले भन्न सक्छ र? मुभी, माउण्टेन र मेडिटेसन पछि अर्को एउटा ‘एम’ जीवनमा थप्न चाहन्छु – पोलिटिकल साइन्समा मास्टर्स गर्ने...’

***

ट्रेकिङ जाँदाको बिर्सनै नसकिने एक प्रसंग।  मैले केन्जे गुम्बामा आफूले रात बिताएको कोठामा कुनै पर्यटकले छाडेर गएको डायरी सम्झेँ। खाटमुनीको अन्ध्यारो कुनामा संयोगवश फेला परेको डायरी।

डायरी पुरै खाली थियो। सिवाय त्यसको अन्तिम पाना, जहाँ लेखिएको थियो–‘ दुनियाँले चिन्छन् भनेर पहाड नचढ्नू। संसार हेर्न उक्लेको हो भने, कुरा अर्कै हो।’

अंग्रेजीमा लेखिएका अक्षर मैले गहकिएर हेरेँ। लेखाइ सुन्दर र स्पष्ट थियो।

कसको होला कुन्नी? खाली डायरी फेरि फरफरर पल्टाए।

यसपटक पल्टाउँदा चाही बिचको एउटा पानामा लेखेको देखेँ- ‘अन्तिम पानामा लेखेका शब्द मेरा होइनन्। तर मेरै भावनाका निम्ति रचिएका हुन्। यस्तै भाव राख्ने कसैले यो डायरी भेटे मलाई इमेल गर्नू- ज्याकलिन्।’

म ज्याकलिनलाई इमेल गर्नेछु।

म अब दुनियाँले चिन्छन् भनेर पहाड चढ्न चाहन्नँ। संसार हेर्न मात्र उक्लन चाहन्छु। आफूले सक्ने हाइटमा मात्र उक्लन चाहन्छु। सबैले ‘त्यही’ सगरमाथा चढ्नै पर्छ भन्ने के छ र? हामी सबैको जीवनमा आ-आफ्नै सगरमाथा छँदै छ नि।

मलाइ वाण्डा रूटकिविकको धेरै याद आइरहेछ।

[email protected]

facebook.com/vijaykumarpanday.official

@vijaykumarko

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink