आफूकहाँ चौडा फुटपाथ राख्नेकै दूतावास नेपालमा पैदलयात्री छेकिरहेका छन्

SAMSUNG
  • Get News Alerts

baleno
पैदलयात्रीमाथि कारबाही शृंखला–२
tata

बालुवाटार नजिकै पैदलमार्ग छेकेर बनाइएको रुसी दूतावासको पर्खाल। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


लैनचौरबाट धमाधम पैदल हिँडेका यात्री अगाडि बढ्दै गर्दा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास पुगेपछि पर्खालसँग ठोक्किन पुग्छ।

त्यसै सडकमा जापानी दूतावास र अमेरिकी दूतावास पनि छन्। ठीक फ्रान्सेली दूतावासजस्तै ती विदेशी नियोगको पर्खाल पनि पैदलयात्री हिँड्दाहिँड्दै ठोक्किने गरी उभिएका छन्।

त्यसै सडकमा सेनाको भैरवनाथ गण पर्छ। त्यसको छेवैबाट सुरु हुने थिरबम मार्गमा रुस र चीनका दूतावास पर्छन्। अलिक पर ज्ञानेश्वरबाट सानोगौचरण जाने बाटोमा जर्मनी दूतावास पनि छ।

यीमध्ये फ्रान्सेली, रुसी, जापानीजस्ता दूतावासको अगाडि पुगेपछि पैदलयात्रीको बाटो थुनिन्छ र पर्खाल उभिन्छ। त्यहाँसम्म फुटपाथमा हिँडिरहेका यात्री त्यसपछि अचानक मोटरहरू बेतोडले कुदिरहेको सडकमा खुट्टा राख्न बाध्य हुन्छन्। यसबाहेक अमेरिकी, चिनियाँजस्ता दूतावासहरुले सडक थप साँघुरो बनाउँदै घुमाएर फुटपाथ बनाएका छन्।

नेपालमा पैदलयात्री भनेका यस्ता हुन्, जो कहिल्यै नीति निर्माताका प्राथमिकतामा पर्दै परेनन्। यति हुँदाहुँदै बनाइएका केही सडकपेटी पनि यस्ता मित्रराष्ट्रहरूको पर्खालमा पुगेर रोकिएका हुन्छन्, जसका आफ्नै मुलुकमा भने पैदलयात्रीहरूले फराकिलो र व्यवस्थित फुटपाथको सुविधा उपभोग गरिरहेको हामीले देख्दै आएका छौं।

किन यस्तो?

काठमाडौंका सडक फराकिलो पार्ने अभियानबीच उही क्षेत्रमा रहेका अस्ट्रेलियाली र स्विस दूतावासले आफ्ना पर्खाल भत्काएर सहयोग गरिसक्दा पनि माथि उल्लिखित दूतावासहरूले भने भियना सन्धिको धारा २२ उद्धृत गर्दै सडकमा रहेको आफ्ना पर्खाल हटाउन मानिरहेका छैनन्।

कूटनीतिक विषय भएकाले सरकारी निकाय पनि यसमा केही बोलिहाल्न हच्किन्छ। ‘मैले यसै सातादेखि मात्र काठमाडौंका सडकको जिम्मेवारी सम्हाल्न थालेकाले ती दूतावासमा परेका सडकको विषयमा वास्तविकता बुझ्न भ्याइसकेको छैन,’ सडक विभागका मध्यमाञ्चल क्षेत्रीय निर्देशक शिवहरि सापकोटा भन्छन्, ‘त्यसबाहेक कूटनीतिक नियोगहरूका बारेमा झट्ट बोलिहाल्न अलिक अप्ठेरो पनि हुन्छ।’

पानीपोखरीस्थित जापानी दूतावासको पर्खाल। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


सापकोटालाई विभाग मातहतकै उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलले उतिबेला उल्लेख गरेका जानकारीसमेत सम्झना रहेनछ। खरेलले उतिबेलै ‘दूतावासले पर्खाल भत्काउन नदिएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्दा पनि सफल हुन नसकेको’ जानकारी दिएका थिए।

यस विषयमा हामीले सम्बन्धित दूतावासहरूको धारणा जान्न खोज्दा जवाफ दिने सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क हुन सकेन। जापानी दूतावासका कर्मचारीले भने जवाफसहित ‘कलब्याक’ गर्ने जानकारी दिए पनि शुक्रबार दिनभरि त्यहाँबाट पनि जवाफ आएन।

नगर विकास योजनाले २०२९ र २०३४ सालमा कायम गरेको मापदण्डअनुसार काठमाडौंका सडक फराकिलो पार्ने काम २०६८ सालदेखि सुरु भएको थियो। त्यसयता मापदण्ड पछ्याएर उपत्यकामा बनेका सर्वसाधारणका घर भत्काउँदै सडक फराकिलो पार्ने काम सुरु भयो। यो अभियानको अगुवाइ गरेका थिए, तत्कालीन नगर विकास आयुक्त भाइकाजी तिवारीले। तिवारी यतिखेर अझ बढी दायित्वका साथ काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त छन्।

यसरी सुरु भएको अभियानमा नगर विकासले २ सय ८० किलोमिटर र काठमाडौं महानगरपालिकाले एक सय किलोमिटर गरेर अहिलेसम्म ३ सय ८० किलोमिटर सडक फराकिलो पार्ने काम सम्पन्न भइसकेको तिवारी बताउँछन्।

‘कतिपयले घर भत्काउन नमानेको र कतिपयका मुद्दा अदालतमा विचाराधीन रहेकाले यो काम अहिले पनि अघि बढिरहेको छ,’ तिवारी ढुक्कसँग भन्छन्, ‘जेसुकै भए पनि उपत्यकाका सबै सडकलाई मापदण्डभित्र ल्याउँदै फराकिलो बनाएरै छाडिनेछ।’

लाजिम्पाटस्थित फ्रान्सेली दूतावासको पर्खाल। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


भर्खरै निर्वाचित भएर आएका पदाधिकारीले पनि यो अभियानलाई रोक्न नसक्ने विश्वास तिवारीको छ। ‘मैले उहाँहरूको समेत विश्वास लिएर यो कामलाई अगाडि बढाउने तयारी गरिसकेको छु,’ उनी भन्छन्, ‘केही गरी काममा अवरोध उत्पन्न भएछ भने पनि के कति कारणले भयो भन्ने कुरा सार्वजनिक हुने गरी बन्दोबस्त मिलाउने छौं।’

यसरी सडक विस्तारको निम्ति सबैसँग जुध्न तम्तयार तिवारीले पनि नसकेको एउटै क्षेत्र यही विदेशी कूटनीतिक नियोगले ओगटेको जमिन नै हो।

‘सारा सडक फराकिलो भइसक्यो,’ तिवारी भन्छन्, ‘तर, दूतावासहरूको क्षेत्रमा पुगेपछि चाहिँ उही पुरानै हिसाबले साँघुरै राखिरहन हामी बाध्य छौं।’

दूतावासले ओगटेका जमिनभन्दा दायाँ र बायाँ फुटपाथसहितको सडक भए पनि दूतावासमा पुगेर भने पैदलयात्रीहरू हिँड्ने ठाउँ भेटिँदैन। यस्तो अवस्थामा फराकिलो सडकबाट घटाएर सानै भए पनि दूतावासको अगाडि फुटपाथ किन नराखिएको?

‘सडक इन्जिनियरिङको हिसाबले त्यो सम्भवै छैन,’ तिवारी भन्छन्, ‘दुवैतिर फराकिलो सडकमा मोटर हाँक्दै आइरहेका गाडीहरू दुतावास अगाडिको पेटीमा ठोकिएर दुर्घटना हुने सम्भावना अझ बढ्छ।’

यस्तो अवस्थामा सरकारले मात्र नभई आफूले पनि व्यक्तिगत हिसाबबाटै राजदूतहरूसँग अनुरोध गरेको तिवारी सम्झन्छन्।

‘यसै विषयलाई लिएर मैले व्यक्तिगत रूपबाटै जर्मनी, फ्रान्स, अमेरिका र रुसका राजदूतलाई भेटेको छु,’ उनले भने, ‘उहाँहरूले गम्भीरतापूर्वक लिइदिनुभएन।’

भाटभटेनीस्थित चिनियाँ दूतावासको पर्खाल। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


तिवारीले ती कूटनीतिज्ञहरूसँग उनीहरूका सरकारलाई एकपटक सोधेर भए पनि यस विषयमा निर्णय लिइदिन अनुरोध गरेका रहेछन्। नेपालमा व्यवस्थित सडक तयार पार्न ती विकसित मुलुकहरूबाट सहयोग मिलोस् भनेर पनि तिवारीले आग्रह गरेका थिए।

तिवारीका अनुसार ती दूतावासमध्ये केहीले आफ्नो पर्खाल सारेर अर्को ठाउँमा उभ्याउन निकै ठूलो खर्च लाग्नेसमेत बताएका रहेछन्।

‘तपाईंको मुलुकले नेपाललाई दिन्छु भनेको सहयोगको रकम प्रयोग गरेरै तपाईंहरूको पर्खाल सारिदिनुभए पनि त हुन्थ्यो,’ तिवारीले भनेका रहेछन्, ‘पैदल यात्रीहरूले फुटपाथमा हिँड्न पाउँदा तपाईंका मुलुकले सर्वसाधारणको मन पनि जित्ने थियो।’

के जवाफ दिए त?

‘के दिनु?’ तिवारी भन्छन्, ‘उल्टो हाँसेर टारे।’

तर, त्यसपछि पनि तिवारी थामिएका रहेनछन्।

महाराजगन्जस्थित अमेरिकी दूतावासको पर्खाल। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक फराकिलो पार्ने विषयलाई लिएर बसेको एउटा बैठकमा तिवारी पनि उपस्थित थिए।

‘यहाँका राजदूतहरूले हामीलाई सुन्दै सुनेनन्,’ तिवारीले बैठकमा यसरी कुरा राखेका रहेछन्, ‘ती मुलुकमा रहेका हाम्रा आवासीय राजदूतहरूलाई भनेर भए पनि त्यहाँका सरकारसम्म यो कुरा पुर्याइदिनुपर्यो।’

त्यतिबेला आफूले राखेको प्रस्ताव पनि अगाडि बढ्न नसकेपछि तिवारी दुःखी भए।

‘एउटा कानले सुनेर अर्को कानले उडाइदिए जस्तो लाग्छ,’ उनी भन्छन्, ‘अब योभन्दा बढी के गर्ने?’

फुटपाथमा हिँड्ने आमनेपालीको मन जित्न सकिने यस्तो कुरा कसैगरी ती मुलुकका सरकारसम्म पुगिदिएछ भने यहाँका दूतावासले जे जस्तो गरे पनि उतैबाट समस्या समाधान हुने विश्वास अहिले पनि तिवारीमा छ।

‘उहाँहरू आफैं पैदलयात्रीका बारेमा कति संवेदनशिल हुनुहुन्छ भन्ने त उहाँहरूकै मुलुकमा रहेका चौडा फुटपाथहरूले बताउँछ,’ तिवारी भन्छन्, ‘हामीकहाँ भने उहाँहरूकै कारण पैदल हिँड्ने बाटै थुनिएको छ भन्ने कुरा उता पुर्याउन पनि हामी सकिरहेका छैनौं।’

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink