कान्छीको सगरमाथा यात्रा

  • Get News Alerts

‘अब कतिबेर लाग्छ?’

‘एकैछिन।’

‘अब कति टाढा छ?’

‘अलिकति मात्र।’

बारम्बार उस्तै प्रश्न, उस्तै उत्तर।

आरोहीहरूको सबैभन्दा अघिल्लो पंक्तिमा पेम्बा शेर्पाको अघि–पछि लागेर चौथो दिनमा कान्छीमाया तामाङ सगरमाथाको चुचुरोमा टेक्दै थिइन्। उनका लागि त्यो हिउँ र चट्टानको थुप्रो हैन, आँट–हिम्मत–सपनाको चुचुरो थियो।

हिउँ र चट्टानमा सपनाको पाइला बिछ्याउँदै सगरमाथा आधारशिविरबाट २, ३ र ४ नम्बरका क्याम्पमा तीन रात गुजारेर अन्तिम क्याम्पसम्म पुग्दा उनलाई त्यस्तो अत्यास लागेको थिएन। खुट्टा फतक्क गल्थे, डोरी समाउने हात लुला हुन्थे, तर अदम्य साहसले उनलाई घचेटिरहन्थ्यो। उनलाई यो पनि भान पर्थ्यो, पछाडिबाट हजारौंले धकेलिरहेका छन्। चिच्याइरहेका छन्, ‘तिमी सक्छौ कान्छीमाया। हाम्रो ऊर्जा तिमीलाई।’

जब उनले चौथो क्याम्प पार गरिन्, मुखमा अक्सिजन लगाइरहे पनि स्वाँस्वाँ झन् बढ्न थाल्यो। हिउँमा टेक्न लगाएको काँडेदार जुत्ता भारी भयो। थुप्रै हिँडेजस्तो लागे पनि मुस्किलले तीन–चार पाइला मात्र चलेका हुन्थे। थुप्रै समय बितेजस्तो लागे पनि मिनेट पनि बितेको हुँदैनथ्यो।

‘त्यतिबेला मेरो दिमागमा सिर्फ सगरमाथाको चुचुरोसम्मको दुरी र समय मात्र चल्थ्यो,’ कान्छीमायाले बुधबार सेतोपाटीसँग आफ्नो सगरमाथा आरोहणको अनुभव बाँडिन्, ‘अनि, म पेम्बा सरलाई सोधिरहन्थेँ, ‘अब कतिबेर लाग्छ?’

सबैभन्दा छोटो समय (आठ घन्टा १० मिनेट) मा सगरमाथा चढेर विश्व रेकर्ड राखेका पेम्बा एकदमै सहज पारामा भन्थे, ‘एकैछिन।’

‘अब कति टाढा छ?’ कान्छी एकैछिनमा सोधिहाल्थिन्।

‘अलिकति मात्र,’ सत्रौंपटक सगरमाथा चढ्दै गरेका पेम्बा उस्तै सहज उत्तर दिन्थे।

लोथ परेको शरीरलाई सकी–नसकी धकेल्दै चुचुरोतिर लम्किरहेकी कान्छीमायालाई जब पेम्बाले औंला तेर्स्याउँदै शिखर देखाए, तब चस्माले ढाकेका कान्छीमायाको आँखा एक्कासि भरिए। शरीरमा ऊर्जा सञ्चार हुन थाल्यो। लत्रक्क परेको आङ तनक्क तन्काइन् र अघिभन्दा छिटो गतिमा चुचुरोतिर लागिन्।

शनिबार बिहान ६ बजेर २० मिनेटमा उनले सगरमाथाको चुचुरोमा टेक्न सफल भइन्।

‘चुचुरोमा पाइला टेकेपछि ‘म सफल भएँ’ भनेर चिच्याउँला भन्ने सोचेकी थिएँ,’ सगरमाथा आरोहण सकेर हालै काठमाडौं आइपुगेकी कान्छीमायाको चिसोले डढाएर कालो बनेको अनुहार एकाएक उज्यालियो, ‘म त बोल्नै नसक्ने पो भएछु। आँशुले आँखा ढाक्यो र सफा हिमाल धमिला देखिए। मलाई चस्मा निकालेर आँशु पुछ्न मन थियो। पेम्बा सरले हिउँले आँखा खान्छ, चस्मा ननिकाल्नु भन्नुभएको थियो। मलाई त डाँको छोडेर रुन मन थियो। धक फुकाएर रुन पनि पाइनँ।’

उनले सगरमाथा आरोहणमा सहयोग गर्ने मुख्य संस्था ‘युएनवुमन’ सहित अन्य प्रायोजक र नेपालको झन्डा देखाउँदै फोटो खिचाइन्। आरोहण सहयात्री पेम्बा दोर्जे शेर्पा करिब १५ मिनेट कान्छीमायाको फोटोग्राफर बने।

कान्छीमायाको सगरमाथा आरोहण केवल एउटी युवतीको आरोहण थिएन। उनी त देशको उच्च पहाडी भूभागको एउटा ठूलो हिस्सा ओगटेको तामाङ जातिकी पहिलो महिला प्रतिनिधिका रूपमा उक्लिएकी थिइन्।

सिन्धुपाल्चोक हिमाली जिल्ला हो। अहिलेसम्म त्यहाँका एक जनाले पनि सगरमाथा चढेका थिएनन्। त्यस हिसाबले उनी सिन्धुपाल्चोककै पहिलो आरोही हुन्। अझ उनको गाउँलाई त ‘छोरी बेच्ने गाउँ’ को दाग लाग्दै आएको छ। उनी त्यही दाग हटाउन सगरमाथा चढेको बताउँछिन्।

कान्छीमाया काठमाडौं ओर्लेको भोलिपल्टै संयुक्त राष्ट्र संघसम्बन्धि संस्था ‘युएनवुमन’ ले राजधानीको पर्यटन बोर्डमा सम्मान कार्यक्रम राखेको थियो। खचाखच भरिएको सानो हलमा माइती नेपालकी संस्थापक अनुराधा कोइराला पनि थिइन्। चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएकी ‘सिएनएन हिरो’ कोइरालाले कान्छीमायाको आँटलाई सम्मान गर्दै हालसालै भारतबाट उद्धार गरिएका चेलीहरूको कथा सुनाइन्। ती चेलीहरू कान्छीमायाकै गाउँ वरपरका थिए। वैदेशिक रोजगारीलाई समेत बेचबिखन भन्दै आएकी कोइरालाले कान्छीमायाको प्रभावबाट कम से कम उनको गाउँ चेलिबेटी बेचबिखन मुक्त रहोस् भन्ने कामना गरिन्।

‘रोजगारीमा लैजाने भनेरै बेचबिखन हुने गर्छ,’ अनुराधाले भनेकी थिइन्, ‘तेरी छोरीलाई वेश्या बनाउने भनेर त कसैले तेरो छोरी दे भन्दैन। यति पैसा आउने काममा लगाइदिन्छु भनेर विदेश लैजान्छन्। जे उद्देश्यले लगे पनि बेचबिखन नै त हो। पहिले पहिले मैले वैदेशिक रोजगारी पनि बेचबिखन हो भन्दा आलोचना हुन्थ्यो। पछि सत्य सबैले थाहा पाए।’

सिन्धुपाल्चोक, नुवाकोटजस्ता चेलिबेटी बेचबिखन उच्च रहेका जिल्लाका गाउँहरूमा छोरा पाएभन्दा छोरी पाउँदा खुसी हुन्छन् भन्ने चर्चा सुनिन्छ। कारण हो, वैदेशिक रोजगारीका लागि छोरीहरू चाँडै तयार हुन्छन्। कान्छीमायाको गाउँ पनि ठ्याक्कै यस्तै गाउँ हो।

‘अहिले त निकै फेरियो,’ कान्छीमायाले भनिन्, ‘कति त ६/७ वर्षमै इन्डिया जान्थे। आठ कक्षा पुग्दा त एउटी पनि केटी हुँदैनथे। सबै भारत जान्थे। छोराहरुले भन्दा बाबुआमाको स्याहार छोरीहरुले राम्रो गर्ने भएकाले होला, छोरी पाउँदा खुसी हुन्छन् हाम्रा गाउँतिर।’

कान्छीमाया सानै थिइन्, उनका गाउँका तीन दिदीहरुलाई बम्बईबाट सल्किएको एचआइभी एड्सले खायो। अलि बुझ्ने भएपछि नजिक घर–छिमेकमा त्यसरी बेचिएका चेलीहरु त उनले देखिनन्, पर–परका गाउँका दिदीहरु बेचिएको खबर भने निकै सुन्थिन्।

उनका गाउँका चेलीहरू आफन्तकै साथ लागेर भारत पुग्थे। मजदुरीका लागि भारत गएका दाइ, काकाको साथ लागेर घरको काम गर्न सानै उमेरमा उनीहरुलाई लगिन्थ्यो। तीन/चार कक्षामा पाँच/सात जना देखिने चेलीको संख्या आठसम्म पुग्दा दुई/एकमा झर्थ्यो। कुनैबेला त शून्यमै।

कान्छीमाया आठमा पुग्दा झन्डै आधा दर्जन छात्रा थिए। नौ पढ्न अलि टाढा जानुपर्थ्यो। उतै डेरा बसेर पढ्नुपर्थ्यो। कान्छीमायाकी आमाले नपठाउने अड्डी कसिन्। ‘आमाले बासँग भन्नुभएको याद छ, अर्को गाउँ जाँदा धेरै केटा भेट हुन्छ, छोरी बिग्रिन्छे,’ कान्छीमायाले सुनाइन्, ‘तर, बा र दाइहरूले पढाउनुपर्छ भन्नुभयो र मैले पढ्न पाएँ।’

नौ कक्षासम्म पनि उनले सजिलै पढ्न पाएकी भने होइनन्। गाउँकै स्कुल भएकाले तीनसम्म त जोकोही पनि पढ्थ्यो। तर, डेढ घन्टा पर चार कक्षा पढ्न पल्लो गाउँ जाँदा नै उनले झन्डै पढ्न पाएकी रहिनछन्।

‘घरमा पहिलो स्कुल जाने मै हो,’ उनले भनिन्, ‘घरमा पचास रुपैयाँ नहुँदा मैले पनि झन्डै पढ्न पाएकी थिइनँ। मभन्दा अघिका तीन दाइ र तीन दिदी कोही स्कुल जानुभएन। त्यसैले पढ्नुपर्छ भन्ने कसैलाई भएन। माइलो दाइले चाहिँ प्रौढशिक्षा पढ्नुभएको थियो। चार कक्षा पढ्दा उहाँले छिमेकीसँग ५० रुपैयाँ सापटी मागेर भर्ना गराइदिनुभयो। उहाँले नै कापीकलम किन्न र पढ्न प्रेरित गरिरहनुभयो। मलाई पढाउन उहाँले नै परिवारलाई दबाव दिनुहुन्थ्यो।’

डेरा बसेर पढ्नुपर्ने माध्यमिक विद्यालय आउँदा उनको साथमा थिइन्, गाउँकै गंगामाया तामाङ। गंगामाया र कान्छीमाया दुवैले एसएलसी पास गरे र गाविसभरीकै एसएलसी पास गर्ने पहिलो महिला बने। यी दुईले एसएलसी पास गर्दा सँगै घाँसदाउरा गरेका, प्राथमिक स्कुलमा सँगै पढेका सबै साथीहरू कोही बच्चा जन्माएर घरधन्दा गर्दै थिए। कोही श्रम खोज्दै कुवेत या भारतका विभिन्न ठाउँ पुगिसकेका थिए।

पछि कान्छीमायालाई पनि भारतले तान्यो। जबकि, उनले सानैदेखि सोचेकी थिइन्, विदेश जानै नपरोस्। भारत त झन् टेक्नै नपरोस्।

उनलाई त नर्स बन्न मन थियो। गाउँनजिकैको हस्पिटलमा काम गर्ने नर्सलाई सहयोग गर्दागर्दै उनी औषधि चिन्ने भइसकेकी थिइन्। केही परे गाउँलेहरू उनैलाई गुहार्ने भइसकेका थिए। उनी पनि प्राथमिक उपचार गराउँथिन्। परिस्थितिअनुसार अस्पताल लैजाने÷नलैजाने सल्लाह दिन्थिन्। त्यतिबेलैदेखि उनले सपना हुर्काउन थालेकी थिइन्, नर्स बन्ने।

एसएलसीपछि साथीहरूसँग घुम्न र नर्सिङबारे बुझ्न काठमाडौं आइन्। घरिपरिवारले पनि सजिलै काठमाडौं पठायो। नर्सिङबारे बुझ्दा अत्यन्तै खर्चिलो थियो। अर्को कुरा, काठमाडौंमा एक्लै बसेर पढ्न परिवारले अनुमति दिएन।

परिवारले सजिलै काठमाडौं जाने अनुमति दिनुको भित्री खेल रहेछ, भारत पठाउनु। उनका दिदी–भिनाजु र दाइहरू मजदुरीका लागि भारतको नयाँ दिल्ली बस्थे। काठमाडौं आएका बेला भिनाजुले फकाए, ‘पढ्न मन भए उता पनि पाइन्छ।’

‘खर्चिलो र एक्लै बसेर पढ्न नपाइएपछि सपना पालिरहनुको अर्थ पनि भएन,’ उनले भनिन्, ‘त्यसपछि म भिनाजुसँग दिल्ली गएँ।’

दिल्ली पुगेर पढ्न पनि खोजिछन्। तर, भाषिक समस्याले गाँज्यो। त्यसपछि उनको ‘मजदुरी पाठशाला’ सुरु भयो। जहाँ उनले मान्छेले मान्छेलाई गर्ने फरक–फरक व्यवहारबारे ज्ञान पाइन्।

सुरुमा उनले एउटा घरमा बच्चा हेर्ने काम पाइन्। त्यहाँ उनको मन रमाउन सकेन। ‘तीनवटा बच्चाको सरसफाइदेखि सबै काम गर्नुपथ्र्यो,’ उनले दुःख सुनाइन्, ‘तर, मालिकले हामी काम गर्नेलाई मान्छे नै नगन्ने।’

उनीहरू सँगसँगै खान त परको कुरा, कतै हिँड्दा कुइनो ठोकियो भने पनि हात झट्कार्थे उनका मालिक। कहिलेकाहीँ घुम्न जाँदा बच्चाको हेरविचार गर्न उनलाई पनि सँगै लैजान्थे। तर, उनका लागि अलग्गै सिट हुन्थ्यो। रेस्टुरेन्टमा पनि अलग्गै टेबुलमा बस्नुपर्थ्यो। कान्छीमायाका लागि मालिकले खाना त अर्डर गर्थ्यो, तर उनी नखाई उठ्थिन्। मन दुख्दा पेट यसै भारी हुँदो हो सायद!

त्यही घरमा नेपालका एक दम्पती पनि काम गर्थे। बाहिर गएका बेला कान्छीमायाका लागि खाना लुकाएर राखिएको हुन्थ्यो। कान्छीमाया ती दम्पतीलाई सम्झिरहन्छिन्।

करिब चार वर्षका बीचमा तीन–तीन वटा बच्चा स्याहार्दा पनि उनलाई कहिल्यै मान्छेको व्यवहार नभएपछि उनले त्यो ठाउँ छाडिन् र अर्को ठाउँमा काम थालिन्। त्यहाँ उनको काम बच्चा हैन, वृद्धा स्याहारको थियो। अधिकांश समय तास खेलेर बिताउने ती वृद्धाको शरीरका सबै भाग दुख्थ्यो। उनका लागि खानादेखि औषधि खुवाउने, ज्यान मालिस गरिदिनेसम्मका काम कान्छीमायाको हुन्थ्यो।

त्यही घरमा एक बंगाली युवती काम गर्थिन्। उस्तै आर्थिक अवस्थाका कारण घर छाडेर अर्काको घरमा काम गर्नुपर्दाको दुःखले नै उनीहरूलाई नजिक बनायो। चाँडै घुलमिल भए। आफ्ना कथाव्यथा सुनाउन थाले।

एकदिन आफ्ना सुखदुःख सुनाउने क्रममा ती बंगाली युवतीले सकेसम्म गोप्य राख्न खोजेको कुरा लुकाउन सकिनन् र डाँको छाडिन्।

कारण थियो, ती वृद्धाका छोराले ती बंगाली युवतीलाई हरेक दिन यौनशोषण गर्थे। केही पैसा दिएर कुरा गोप्य राख्नु नत्र मारिदिने धम्की दिएका थिए। कान्छीमायालाई भाउन्न छुट्यो। त्यस रात उनको निद्रा परेन। भोलिपल्ट बिहानै टाप कसिन्।

सस्तो ज्यालादरका शारीरिक मजदुरी गर्नेलाई कामको के खडेरी! उनले भोलिपल्टै अर्को काम पाइहालिन्। एक फ्रेन्च र चिनियाँ दम्पतीको घरमा भान्छाको काम थालिन्। ‘त्यो ठाउँ त अघिल्ला दुई घरको तुलनामा ‘स्वर्ग’ जस्तै थियो,’ उनले सुनाइन्।

उनका गाउँले साथी तथा आफन्तहरू कोही कुवेत, कोही ओमान पुगिसकेका थिए। कोही इजिप्ट पनि पुगेछन्। दिल्लीमा ६ वर्ष बिताएपछि इजिप्ट पुगेका आफन्तको सहयोगमा उनी पनि उतै हान्निइन्।

त्यहाँ पनि उनको काम बच्चा हेर्ने नै थियो। तर, भारतको भन्दा निकै सजिलो। तलब पनि बढी। दिल्लीमा ६ हजार भारू तलब थाप्ने उनले इजिप्टमा सुरुमै तीन सय डलरभन्दा बढी पाएकी थिइन्।

इजिप्ट पुगेपछि कान्छीमायाले अंग्रेजी सिकिन्। एसएलसी दिँदा ‘ह्वाट आर यु वेरिङ नाउ?’ को उत्तर फर्काउन नसक्दाको क्षण सम्झिइन्। बोल्न सक्ने भएपछि उनलाई एक्लै बजार डुल्ने हिम्मत आयो। समुद्री किनार घुम्न जान थालिन्। फुर्सदको समयमा पढ्ने, डकुमेन्ट्री हेर्ने गर्थिन्। डकुमेन्ट्री हेर्दा उनले सुनेकी थिइन्, पेम्बा दोर्जे शेर्पाको नाम। पेम्बाले फरक फरक समुदायका १० महिलालाई समेटेर पहिलोपटक समावेशी सगरमाथा आरोही दलको अवधारणा तयार पार्ने तथा नेतृत्व गरेका थिए।

स्कुल पढ्दा पहिलो सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको नाम सुनेकी उनलाई समावेशी दलले झनै आकर्षित ग¥यो। उनको मनमा प्रश्न उब्जियो, आफूजस्ता गरिब तथा पिछडिएको समुदायका महिलाले सगरमाथा चढ्दा के सन्देश जाला?

कान्छीमायाको गाउँमै हिउँ पर्थ्यो, त्यसैले हिउँ उनका लागि आकर्षक चिज थिएन। गाउँबाट देखिने हिमाल भने उनका लागि रहस्य थियो। इजिप्टका कसैले पनि नेपाल नचिन्ने तर सगरमाथाको देश भन्दा त्यहाँका नागरिकले हेर्ने दृष्टिकोण नै फेरिन्थ्यो। उनले आफैं सगरमाथा चढ्न आँट त जुटाउन सकिनन्, तर, एउटा अठोट भने बनाइन्, एक न एक दिन जरुर बेसक्याम्पसम्म पुग्छु।

सगरमाथा चढेर तीनवटा विश्व रेकर्ड बनाइसकेका पेम्बा त्यतिबेला अमेरिकामा थिए। पेम्बा र कान्छीमायाका ‘म्युचुअल’ साथीमार्फत् एकअर्काका कुरा आदानप्रदान भए।

एकदिन पेम्बाले भाइबरमा फोन गरे। पहिलो फोन कुराकानीमै पेम्बाले आफ्नो बारेमा सबै भन्न भ्याएछन्।

‘मलाई उहाँको लगभग कुरा थाहा भइसकेको थियो,’ कान्छीको हाँसो फुत्कियो, ‘तर, आफ्नोबारेमा आफैं भन्दा त राम्रो सुनिँदैन नि। इम्प्रेस पार्न खोजेको जस्तो लाग्यो।’

त्यसपछि यी दुईको कुराकानी बाक्लियो। कान्छीले हिमालबारे सोधखोज गरिन्। यी दुईको नेपाल फर्किने समय पनि एउटै पर्यो। काठमाडौंमा भेट भयो। हिमाल आकर्षणबारे आफ्नो मन खोलिन्। आधारशिविर पुगेर सगरमाथा हेर्ने धोको सुनाइन्। तब पेम्बाले भने, ‘सगरमाथा नै किन नचढ्ने?’

‘सकिन्छ र?,’ कान्छीले अलिकति आँट, तर शंका जताइन्।

‘किन नसक्नु नि,’ पेम्बाले सहजै उत्तर दिए।

पेम्बाले समावेशी दलको नेतृत्व गर्दा ठूलो संख्यामा रहेका जनजाति समुदायका त लगभग थिए। नुवाकोटकी एक तामाङ युवती पनि उक्त समूहमा थिइन्। तर, तालिम लिँदै गर्दा परिवारले जबर्जस्ती बिहे गराइदिएपछि तामाङ समुदायबाट पहिलो सगरमाथा आरोही महिला बन्ने उनको धोको यत्तिकै सेलायो। तामाङ समुुदायका महिला समेट्ने पेम्बाको धोको पनि अधुरै थियो।

यसपछि पेम्बाले भने, ‘तामाङ समुदायबाट अहिलेसम्म कसैले सगरमाथा चढेको छैन। तपाईं पहिलो हुन सक्नुुहुन्छ।’

हिमाल पर्यटनका लागि प्रचुर सम्भावना रहेको सिन्धुपाल्चोकबाट अहिलेसम्म कोही आरोही नभएको पनि पेम्बाले सुनाएपछि कान्छीमायाको सगरमाथा आरोहण अठोटले जरा गाड्यो।

सगरमाथा चढ्ने निष्कर्षमा पुगेपछि उनको मनमा कुरा खेल्न थाल्यो, ‘सिन्धुपाल्चोकको तामाङ समुदायको महिला भएर चढ्दैमा के अर्थ? एउटा ठ्याक्कै उद्देश्य त चाहियो!’

उनको मनमा झट्ट एउटा विचार पलायो, ‘चेलिबेटी बेचबिखनको दाग मेटाउने।’

‘फेसबुकमा च्याट हुँदा ठेगाना सोध्थे,’ कान्छीमायाले आफ्नो उद्देश्यको स्रोत खोलिन्, ‘तामाङ भएर पनि हुन सक्छ, सिन्धुपाल्चोक भन्नेबित्तिकै रिप्लाई आउँथ्यो– ए त्यहाँ त बाबुआमाले आफ्नै छोरी बेच्छन् रे है? आफ्नै दाइले बहिनी बेच्छन् रे है?’

उनले यो दाग हटाएर सिन्धुपाल्चोकबाट एउटी हिम्मतिली महिलाको परिचयमा आफूलाई उभ्याउने मेसोका रूपमा सगरमाथा आरोहणलाई जोडिन्।

त्यसो त, अनुराधा कोइरालाले वैदेशिक रोजगारीलाई बेचबिखन भनेजस्तै कान्छीमायाको गाउँका अधिकांश महिला श्रमको खोजीमा विदेश छन्। ती निरक्षर महिलाहरू भारत, कुवेत, ओमान, दुबईजस्ता देशमा बन्धक बनाइएका छन्। यी देश गएका उनका गाउँका कतिपय महिला वर्षौंदेखि बेखबर छन्। उनी आफैं पनि दस वर्ष वैदेशिक रोजगारी भोगेकी महिला परिन्। उनलाई आफूजस्तै वैदेशिक रोजगारीमा गएका महिलाले देश फर्किएर उदाहरणीय काम गर्न सक्छन् है भन्ने उदाहरण दिनु थियो।

पेम्बा शेर्पाको सहयोगमा उनले सगरमाथा चढ्न आफूलाई तयार पार्न ६,५०० मिटर उचाईको मेरा पिक चढिन्। त्यतिबेला उनले बुझिन्, चुचुरोमा पुग्नु मात्र ठूलो कुरा हैन, सकुशल झर्नु पनि ठूलो कुरा हो। यसबीच पेम्बाले उनलाई शारीरिक तथा मानसिक रूपमा तयार हुन धेरै अभ्यास गराए।

र, उनले आफ्नो अठोट पूरा गरिछाडिन्। त्यो पनि टोलीको सबैभन्दा अगाडि पुगेर।

सगरमाथाको चुचुरोबाट फर्किनु उत्तिकै जटिल छँदै थियो। त्यसैबेला नसोचेको भइदियो। फर्किंदा आवश्यक पर्ने अक्सिजन ठाउँ–ठाउँमा राखिएको हुन्छ। सगरमाथाभन्दा केही तल राखिएको दुई सिलिन्डर अक्सिजन नै कसैले चोरिदिएछ।

सगरमाथा आरोहणका अनेक किस्सा छन्। त्यस्तै एउटा किस्सा अक्सिजनको छ। चढिरहेकाहरूलाई त परिस्थितिअनुसार अक्सिजनको मिटर घटबढ गर्ने तरिका थाहा हुन्छ। कतिखेर सकिन्छ उनीहरू जानकार हुन्छन्। कतिलाई त सकिएको पनि थाहा हुँदैन। अरू कसैले तेरो अक्सिजन सकियो भने अघिसम्म ठिकठाक रहेको मान्छे एक्कासि छाती छाम्न थाल्छ रे।

कान्छीमायाको नाकमा जोडिएको अक्सिजन सकिइसकेको थिएन। तर, अक्सिजन हराएपछि उनको मन भास्सियो। एक्कासि स्याँ–स्याँ बढेजस्तो भएछ। तै सगरमाथाको इत्रा–इत्रा कुरा थाहा भएका गाइड पेम्बा साथै थिए, उनले सम्हाले।

तल्लो क्याम्पसम्म डोहो¥याएर सकुशल झारे। त्यसपछि रेस्क्यु गर्ने हेलिकप्टर बोलाए र बेसक्याम्पसम्म हेलिकप्टरमा ओर्लिए।

बेसक्याम्प आएर उनले आफ्नी आमा–बाबुलाई फोन गरिन्। आमासँग कुरा गर्दैगर्दा उनको हिक्का छुटेको थियो। किनकि, उनले सगरमाथाको डाँडो चढ्दै गर्दा सबैभन्दा धेरै आफ्नो भोताङलाई सम्झिएकी थिइन्, जहाँ उनी जन्मिइन्, हुर्किइन्, बढिन्, पढिन्।

बिहानदेखि झमक्क साँझ नपरुञ्जेल हाँसिरहने गणेश हिमाल हेरेर, गाउँकै पाँचपोखरी ताल र त्यसमाथि टाकुराको चिसो हावा खाएर हुर्किएकी उनले पटक–पटक भोताङका डाँडाका खोँच–टाकुरा–अक्करमा सेलो गाउँदै हिँडेको याद उनीसँग सगरमाथा उक्लिएको थियो। आफ्ना साथीहरु– जो अक्करको घाँस काट्न, फल टिप्न या रुख चढ्न प्रतिस्पर्धा गर्थे। भीरको घाँस पोषिलो मानिन्छ, गाईभैंसीले धेरै दूध दिन्छ। भीरको फल पनि मिठो हुन्छ। जसले पोषिलो घाँस काट्न सक्यो, जसले अप्ठ्यारोको फल टिप्न सक्यो, उही नै त्यस दिनभरी साथीहरूमाझ चर्चाको पात्र बन्थ्यो। पोषिलो घाँस खान पाए वस्तुभाउ पनि खुसी! आमाबाबु पनि खुसी।

कान्छीमायाले अहिलेसम्म बाँचेको जीवनमा खुसीका त्यस्ता दिन थोरै मात्र अनुभूत गर्न पाएकी छन्। ती खुसी– उनी औंलामै गनेर सुनाउन सक्छिन्। स–साना खुसी त थुप्रै आए, तर ती क्षणभंगुर थिए, खोचे पारेको पातमा सजिवनको चोब जम्मा पारेर सुइरोले उडाएका फोकाजस्ता। त्यस्ता फोका उडाउने झोल, अहिले सहरबजारका खेलौना पसलमा पाइन्छन्, जसलाई बालबालिकाहरू ‘बबल’ भन्छन्।

कान्छीले हालै सगरमाथा चढेर पाएको खुसी छोयो कि फुटिजाने ती ‘बबल’ जस्ता होइनन्। यो खुसी त उनी जहाँ जन्मिइन्, जहाँ हुर्किइन्, जहाँ-जहाँ पुगेर तीता-मिठा भोगाईहरु सँगालिन्- यी सबै अलिअलि मिसिएर बनेको चट्टान हो। जसलाई तिखो सियोले त के ह्याम्मरले पनि हत्तपत्त फोर्न सक्दैन! बरु, यही खुसीले कान्छीमायाको जीवनमा त्यस्ता थुप्रै खुसीका बबल उड्न थालेका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी