जसले एक्लो प्रयासमा ५५ घरको बस्ती बसाए

  • Get News Alerts

‘नराम्रा मान्छे पाइलैपिच्छे ठोकिन्छन्। तर, खोज्दै गए राम्रा मान्छे पनि अवश्य भेटिन्छन्। संसारमा राम्रा मान्छे अझै बाँकी छन्।’
 
उत्तरी धादिङको लापा–१, कपुर गाउँका ३६ वर्षीय दिनेश तामाङले त्यस्ता थुप्रै राम्रा मान्छे भेटेका छन्, जसले उनको सपनामा एक–दुई इँटा थपिदिए। 
 
तिनैले थपिदिएका इँटाको खापले धादिङको ढोलामा एउटा सुन्दर बस्ती बसेको छ, जहाँ वैशाख १२ को भुइँचालोले विस्थापित ५५ परिवार नयाँ जीवन सुरु गर्दै छन्। त्यही भएर त, अचेल दिनेशलाई लाग्छ, ‘खोज्यो भने राम्रा मान्छे पक्कै भेटिन्छन्।’
 
दुई वर्षअघि भुइँचालोलगत्तै भेट्दा दिनेशसँग पीडादायक कथा थियो। उनले आफ्नै आँखाअगाडि दुई जना साथी गुमाएका थिए। घाइते साथीले छट्पटाउँदै उनलाई भनेका थिए, ‘बरु इन्जेक्सन लगाएर मारिदेऊ, यो पीडा सहन सक्दिनँ।’
 
त्यतिबेला दिनेश साथीहरूसँग सिन्धुपाल्चोकको नवलपुर गाविसमा थिए। शिखरापुर एकेडेमीमा हेल्थ असिस्टेन्ट (एचए) पढिरहेका विद्यार्थीको त्यहाँ स्थलगत भ्रमण थियो। उनका साथीहरू अर्को दिनको कार्यक्रमका लागि होटलभित्र ‘प्रोजेक्ट वर्क’ गरिरहेका थिए।
 
एकछिनमै धर्ती काम्न थाल्यो। उनीहरू बसेको होटलै जमिनमा मिसियो। साथीभाइ जम्मै च्यापिए। दिनेश मात्र संयोगले होटलबाहिर परे।
 
‘दुई जनालाई बचाउन सकेनौं, बाँकीलाई तत्कालै उद्धार गर्यौं,’ दिनेशले सेतोपाटीसँग भने, ‘अर्को दिन आफैंले हेलिकप्टर बोलाएर उनीहरूलाई काठमाडौं ल्याएँ।’ 
 
दुई वर्षअघि नवलपुरमा  भएको घटनाको विवरण सुनाउँदै दिनेश (बीचमा)। फाइल तस्बिर
 
यता काठमाडौंमा श्रीमती र दुई छोराछोरीलाई सकुशल देखेर उनको आङ हलुंगो भयो। तर, लापामा आफ्नो गाउँ नै पहिरोले निलेको खबरले आँत भरंग भएर आयो। पहिरोसँगै उनका दाइ, भिनाजु, ज्वाइँ र भतिजी पनि पुरिएछन्।
 
बूढीआमासहित भुइँचालोमा जोगिएका गाउँलेहरू नजिकै डाँडोमा ओत लागेका थिए। दिनेशको मोबाइलमा बेलाबेला फोन आउँथ्यो– ‘हामीलाई अरू केही चाहिँदैन। अलिकति नुन ल्याइदेऊ। पानी तताएर त्यसैमा नुन घोलेर खान्छौं।’
 
दिनेश एक–दुई दिन रनभुल्लमा परे। के गर्ने कसो गर्ने भेउ पाउनै सकेनन्। 
 
‘न म सबैले चिनेको मान्छे, न कलाकार, न नेता, न मेरो पुख्र्यौली सम्पत्ति। सहयोग माग्दै हिँडे पनि कसले देला र जस्तो लाग्यो,’ उनले भने, ‘सोच्दासोच्दै चिनेका साथीभाइ र संघसंस्थाको सूची बनाएँ। कसलाई भन्दा सहयोग गरिदेलान् भनेर मार्क गर्न थालेँ।’ 
 
सूचीमा भएकामध्ये उनी सुरुमा डाक्टर जर्ज बर्गिजको अफिसमा गए। एसिया फाउन्डेसनका नेपाल प्रतिनिधि बर्गिजसँग दिनेशको पुरानो चिनजान थियो। भुइँचालोअघि एसिया फाउन्डेसनले लापाको कपुरगाउँमा स्वास्थ्य चौकी बनाइदिएको थियो। त्यहीँ दिनेशले बर्गिजलाई चिनेका थिए।
 
उनले बर्गिजलाई भेटेर आफ्नो गाउँ र गाउँलेहरूको हाल सुनाए।
 
बर्गिजले २५ वटा स्लिपिङ ब्याग, १५ वटा टेन्ट, औषधि र केही राहत साम्रगी दिए।
 
राहत त पाए, तर सदरमुकाम धादिङबेँसीबाट २६ कोस टाढा तीन दिन पैदलदुरीमा लापासम्म पुर्याउने पो कसरी? उनले बर्गिजलाई आफ्नो यो समस्या सुनाए। बोकेर लैजान नसकिने दुखेसो पोखे। आखिरमा बर्गिजले नै सरकारी अधिकारीलाई भनेर हेलिकप्टरको व्यवस्था गरिदिए। 
 
एक सातापछि शनिबारकै दिन हेलिकप्टरमा राहत सामग्री बोकेर दिनेश लापा पुगे। 
 
‘भीरको काखमा भए पनि आफू जन्मेको ठाउँ साह्रै सुन्दर लाग्थ्यो, तर म त्यहाँ पुग्दा एउटै घरको नामनिशान थिएन,’ उनले भने, ‘सबै जना रोइरहेका थिए। ९९ सय वर्षकी बूढीआमा पनि हामी यहाँ बाँच्न सक्दैनौं, अन्तै लैजाऊ बाबु भन्दै बिलौना गर्दै थिए।’ 
 
त्यो दिन उनले आफ्नी आमासहित अन्य घाइतेलाई हेलिकप्टरमा धादिङबेसी ल्याए। जिल्ला अस्पतालमा उनीहरूको उपचार भयो। त्यसपछि सूचीमा रहेका अरूसँग पनि सहयोगको याचना गरे। कसैसँग राहत सामग्री मागे त कसैसँग हेलिकप्टरको भाडा जुटाए। एमएमएफ भन्ने संस्थासँग मिलेर उत्तरी धादिङका तीन गाविस सेर्तुङ, लापा र तिप्लिङमा १८ पटक राहत सामग्री पुर्याए। 
 
बेलाबेला गाउँ जाँदा उनलाई लाग्थ्यो– यो ठाउँमा अब बस्न सकिन्न, गाउँ नै सार्नुपर्छ। 
 
गाउँको हाल देखेर सरकारले नै सुरक्षित ठाउँमा सार्छ होला भन्ने उनलाई आश पनि थियो।
 
दिन बित्यो, महिना बित्यो। बर्खा सुरु हुने बेला भयो। तै सरकारले गाउँ सार्ने सुरसार देखाएन। 
 
सरकारले किन बेवास्ता गरेको होला? गाउँको अवस्था थाहा नपाएर हो कि? दिनेशले यही सोचेर त्यहाँको भिडियो खिचे। पहिरोले बस्ती पुरिएको, मानिस खुला आकाशमा बसेको, डाँडामा ठूल्ठूला धाँजा फाटेको भिडियो तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाललाई देखाउने योजना बनाए। 
 
‘यो सबै हेरेपछि त उहाँहरूले केही गर्नुहोला भन्ने आश थियो,’ दिनेशले भने, ‘तर, खोज्यो भने भगवान बरु भेटिएला, हाम्रो सरकार भेटिन मुश्किल रहेछ। धेरै प्रयास गर्दा पनि उहाँहरूलाई भेट्न नसकेपछि मैले सरकारले केही गरिदेला भन्ने आशै मारेँ।’
 
सरकारबाट आशा मारे पनि हिम्मत भने हारेनन्। 
 
त्यो भिडियो चाइल्ड हेभन इन्टरनेसनलकी बोनी क्यापिचिनालाई देखाए। क्यापिचिना अनाथ बालबालिका र महिलाका क्षेत्रमा काम गर्ने क्यानडेली संस्थाकी निर्देशक हुन्। उनी बेलाबेला नेपाल आउजाउ गरिरहन्छिन्। नेपाल, भारत, बंगलादेश लगायत देशमा चाइल्ड हेभन इन्टरनेसनलले अनाथालय खोलेको छ। 
 
क्यापिचिनासँग दिनेशको चिनजान २०५४ सालताकै भएको थियो। 
 
दिनेश त्यतिबेला एसएलसी पास गरेर कलेज पढ्न खोजिरहेका थिए। तर, नौ जना भाइबहिनीको जिम्मेदारी र परिवारको कमजोर आर्थिक अवस्थाले उनलाई थिचेको थियो। त्यसमाथि गाउँमा नजिकै कलेज थिएन। 
 
उनी टाढाको कलेज जान सक्ने हैसियतमा थिएनन्। त्यसैले, बरु कलेज पढ्ने सपनालाई नै टाढा पठाइदिए।
 
उनी गाउँमै बसेर घरव्यवहार र सामाजिक क्षेत्रका काममा लागे। लापा स्वास्थ्य बिन्दु संस्था खोले। त्यो संस्थाले चन्दा उठाएर स्वास्थ्य चौकी भवन बनायो। उनले गाउँमै नमस्ते युवा क्लब गठन गरे। त्यो क्लब युनाइटेड मिसन टु नेपाल संस्थाको स्थानीय सहयोगी थियो। पछि त्यो नमस्ते ग्रामीण समाज संस्थाका रूपमा विकास भयो। त्यसले लापा लगायत उत्तरी धादिङका पाठेघर खस्ने समस्या भएका महिलालाई काठमाडौंसम्म ल्याएर उपचार गराउँथ्यो। 
 
यही कामको सिलसिलामा दिनेश र क्यापिचिनाको चिनजान भएको थियो। 
 
पछि उनै क्यापिचिनाले दिनेशलाई एचए पढ्न आर्थिक सहयोग गरेकी थिइन्।
 
आखिर उतिबेला सहयोगको हात बढाएकी क्यापिचिनाले भुइँचालोपछि पनि दिनेशको साथ छाडिनन्।
 
दिनेशले देखाउन ल्याएको १२ मिनेटको भुइँचालो भिडियो पूरा नसकिँदै क्यापाचिनाले सोधिन्, ‘अब मैले के गर्नुपर्छ?’
 
‘सरकारले सार्वजनिक जग्गामा बस त भनेको छ, तर पछि त्यो जग्गा छाड्नुपर्छ रे। त्यसपछि कहाँ जाने? आफ्नो थातथलो छाडेर आइसकेपछि त सधैंलाई बस्न पाउनुपर्छ, त्यसका लागि जग्गा किन्नुपर्यो आमै,’ दिनेशले प्रस्ताव राखे। 
 
दिनेश क्यापिचिनालाई आमा भन्छन्।
 
क्यापिचिनाले आफ्ना लेखापाललाई ‘कति पैसा दिन मिल्छ’ भनेर सोधिन्। र, तत्कालै १५ लाख दिन स्वीकृति दिइन्। 
 
त्यो रकमबाट दिनेशले धादिङको ढोला–७ तल्लो आलेमा प्रतिरोपनी डेढ लाख हालेर पहिलो प्लट जग्गा किने। 
 
‘गाउँमा दुःख पाएका धेरै थिए, तर आमै (क्यापोचिना) ले एकदमै दुःख पाएका २० घर मात्र छानेर ल्याउनु भन्नुभएको थियो,’ दिनेशले भने, ‘मैले छ घर बढाएर २६ घरपरिवारलाई ढोला आउन भनेँ।’
 
स–साना त्रिपाल टाँगेर उनीहरू ढोलाको जग्गामा बसे।
 
गाउँमा छुटेका अरूले गुनासो गरे, ‘उनीहरूलाई लैजान हुन्छ भने हामीलाई पनि लैजाऊ। हामी पनि जसोतसो गुजारा गरौंला बरु। यहाँ त कतिबेला मरिन्छ थाहा छैन।’
 
उनले फेरि क्यापिचिनालाई आग्रह गरे, ‘आमै, अस्ति आएकहरू एकदमै खुसी छन्। अझ अरू पनि आउने भन्छन्।’
 
उनले क्यानडा गएर पैसा उठाउने र जम्मा भएपछि पठाइदिने बचन दिइन्।
 
यता दिनेश ढोला आएका परिवारको तत्कालको बन्दोबस्तीमा लागे। 
 
एक सातापछि क्यानडाबाट क्यापिचिनाले १४ लाख रुपैयाँ पठाइदिइन्। उनले अर्को प्लट जग्गा किने र थप २९ परिवारलाई लापाबाट बोलाए। 
 
पुस्तौंदेखि बस्दै आएको थातथलो छाडेर गाउँलेहरू बिरानो ठाउँमा आए। तर, त्रिपाल टाँगेर मात्र जीविका चल्दैनथ्यो। खाना, पढाइ र स्वास्थ्यको व्यवस्था पनि हुनुपर्यो। 
 
दिनेश योजना बुन्न थाले।
 
‘मैले एउटा त्रिपालमा हेल्थ पोस्ट राखेँ। पाँच वर्षमुनिका बच्चालाई पढाउन अर्ली लर्निङ चाइल्ड सेन्टर खोलेँ। बेलुका बूढाबूढीका लागि प्रौढ शिक्षा चलाएँ,’ दिनेशले भने, ‘स्कुल जाने उमेरका छ कक्षा माथिका केटाकेटीलाई कालिका माध्यामिक विद्यालय र पाँच कक्षासम्मका बच्चालाई नजिकैको जागृत प्राविमा भर्ना गराएँ।’
 
उनले बस्तीका मान्छेलाई बिहान–बेलुकी छाक टार्नदेखि केटाकेटीका लागि कापी कलमको जोहो गर्न विभिन्न संस्था गुहारे। जसलाई भेटे पनि मनमा एउटै हुटहुटी थियो– ५५ परिवारलाई नै पक्की घर बनाउने। 
 
तर, कसरी? 
 
 
यही सिलसिलामा उनले स्याल्भेसन आर्मी भन्ने संस्थाका मान्छे भेटे। यो क्रिश्चियनहरूले चलाएको च्यारिटी संस्था हो। दिनेशले उनीहरूलाई घर बनाइदिन अनुरोध गरे। 
 
‘स्याल्भेसन आर्मीले एउटा घर बनाउन डेढ लाख रुपैयाँ दिन्छौं, सानो एकतले घर बनाऊ भनेको थियो,’ दिनेशले भने, ‘मेरो मनमा भने बस्ने घर पनि के एक तलेमात्र बनाउनु भन्ने लागेको थियो। हामीलाई गर्जो टार्नु थिएन, नयाँ जीवन सुरु गर्नु थियो।’
 
स्याल्भेसन आर्मीले सहयोगको बचन दिएको थियो, तर पैसा दिएको थिएन। 
 
राहत संकलनकै क्रममा दिनेशको अर्को संस्थासँग सम्पर्क भयो। 
 
स्पनेकी कीर्तिमानी आरोही इडुर्ने पासाबनको संस्था माउन्टेनर फर हिमालयज अर्गनाइजेसनले सुरुमा गोरखाको बारपाकमा काम गरिरहेको थियो। पछि  बारपाकमा धेरै संस्था भएपछि उनीहरू धादिङतिर आएका रहेछन्। उनीहरूले ढोलामा पनि राहत सामग्री दिएका थिए। त्यही बेला दिनेशले घर बनाउने योजना सुनाए। 
 
‘उनीहरूले १ लाख १० हजार युरो दिन्छौं भने,’ दिनेशले सुनाए, ‘त्यसपछि त ठूलो आशा पलायो, अब पक्की घरमा बस्न पाइन्छ भनेर।’
 
यसैबीच असोजमा देशको राजनीतिमा बदलाव आयो। संविधान जारी भयो। मधेसमा आन्दोलन चर्कियो। भारतले नाकाबन्दी गर्यो। अध्यादेशमार्फत् गठन भएको पुनर्निर्माण प्राधिकरण भदौमै भंग भइसकेको  थियो।
 
‘यता हामी घर कस्तो बनाउने भनेर डिजाइन बनाइरहेका थियौं, उता घर बनाउन पैसा दिन्छु भनेकाहरू देशको अन्यौलपूर्ण राजनीतिले अब के के न हुने भयो भनेर थाहै नदिई नेपाल छाडेर गइसकेछन्,’ दिनेशले भने।
 
ती दुवै संस्थाले नेपालमा स्थायी अफिस खोलेका थिएनन्। गइसकेका संस्थाको भर परेर हुँदैन भन्ने सोचेर दिनेश सहयोगका लागि सेतो गुम्बा गए। गुम्बाका रिम्पोछेले पुनर्निर्माणमा काम गरेको उनले थाहा पाएका थिए। 
 
‘एउटा लामाका माध्यमबाट सेतो गुम्बाका छोगिनिमा रिम्पोछेको दर्शन गरेँ र उनलाई फोटो देखाएर समस्या सुनाएँ,’ दिनेशले भने, ‘रिम्पोछेले मेरो कुरा सुन्नुभयो र अबको योजना के हो भनेर सोध्नुभयो।’ 
 
उनले घर बनाउने योजना सुनाए। 
 
रिम्पोछेले एक जना लामालाई बोलाएर भने, ‘जति सक्छ उनलाई सहयोग गर्ने।’
 
यो रिम्पोछेको आदेश थियो।
 
त्यसपछि केही दिनमै रड र सिमेन्टका बोरा बोकेका ट्रक ढोला पुग्न थाले। 
 
घर बनाइदिने दाता त भेटिए, तर त्यसको स्वीकृति पुनर्निर्माण प्राधिकरणसँग लिनुपथ्र्यो। ‘हामीले स्वीकृति लिन डिजाइन प्राधिकरणमा दियौं, तर कहिले के कहिले के भनेर अड्काइदिए,’ दिनेशले भने, ‘निवेदन प्राधिकरणमा थियो, हामी घर बनाउन थालिसकेका थियौं। आठ महिनापछि मात्रै उनीहरूले स्वीकृति दिए। त्यतिबेला हामीले ५० प्रतिशतभन्दा बढी काम सकिसकेका थियौं।’ 
 
घर बनाउन चाहिने सबै सामान सेतो गुम्बाले दियो। यसबीच पहिला प्रतिबद्धता गरेका दुई संस्था पनि फेरि सम्पर्कमा आए। उनीहरूले पनि पैसा दिए। बस्तीका सबै मान्छेले घर बनाउन श्रमदान गरे। जानेकाले नजानेकालाई सिकाए। केहीले गारो बनाए, केहीले पर्खाल लगाए। केहीले गिट्टी कुटे त केहीले सिमेन्ट घोले।
 
‘हामीले एक जना पनि बाहिरको मान्छे काममा लगाएनौं। सबै आफैंले ग¥यौं,’ दिनेशले भने, ‘हिजो लापामा हुँदा इँटासमेत नदेखेका दिदीबहिनी पनि अहिले हेड मिस्त्री बनिसकेका छन्।’ 
 
दिनेशको दौडधुप, सेतो गुम्बा लगायत संस्थाको पैसा र शिविरमा बसेकाको श्रमले गत चैतमा नेपाली शैलीका छाना भएका ५५ घर तयार भए। 
 
घरभित्र चारवटा कोठा छन्। बस्तीमा एउटा स्वास्थ्य केन्द्र छ, जहाँ एक जना एचए बस्छन्। एउटा बौद्ध स्तुप छ। सार्वजनिक भान्छा छ। काम गर्नेहरू त्यही भान्छामा खाना खान्छन्। दसवटा सामुदायिक शौचालय छन्। ट्रान्सफर्मर, बिजुलीको पोल र तार घरसम्म पुगिसकेको छ। बिजुली बाल्न हरेक घरमा मिटर राख्ने काम एक सातामा सकिने दिनेशले बताए।
 
‘केही काम त बाँकी नै थियो, रिम्पोछेले दिन राम्रो छ भनेकाले चैत १६ गते नै सबैलाई घर हस्तान्तरण गर्यौं,’ उनले भने। 
 
घर हस्तान्तरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि थिए। सहयोग गर्ने सबै संस्थाका प्रतिनिधि आएका थिए। राति जब भुइँचालोले विस्थापित गाउँलेहरू त्रिपाल छाडेर नयाँ घरमा सरे, उनीहरूले रातभरि नाचगान गरेर खुसियाली मनाए।
 
यो सारा उल्लास देखेर दिनेशका आँखा भिजेका थिए।  आखिर उनको २२ महिनादेखिको सपना जो पूरा हुँदै थियो।
 
‘त्यो दिन म कति खुसी भएँ शब्दमा वर्णन गर्न सक्दिनँ,’ उनले भने, ‘कति धेरै मान्छेले मैले भनेको पत्याए। मलाई यत्रो सहयोग गरे। म त यी सबैको ऋणी भएँ। यो ऋण कसरी पो तिर्ने होला? फेरि सोचेँ, यो ऋण तिर्न अब म सधैं अरूका लागि काम गर्छु, मेरो जिम्मेवारी अझै सकिएको छैन।’ 
 
हुन पनि काम धेरै बाँकी छन्। घरमा भर्याङ बनाउनुछ। झ्यालमा सिसा लाउनुछ। खानेपानीको ट्यांकी बनाउनुछ। हरेक घरलाई एउटा शौचालय र स्नानघर बनाउनुछ। स्वास्थ्य चौकीको पक्की भवन बनाउनुछ। बस्तीभित्र एउटा पुस्तकालय, सोलार बत्ती, बायो ग्यास र बौद्ध चलनअनुसार अन्तिम संस्कार गर्न घाट पनि बनाउने उनको योजना छ। 
 
‘योभन्दा ठूलो कुरा उनीहरूले घर मात्र पाएर भएन। आयआर्जनको काममा लगाउनुछ,’ दिनेशले भने, ‘अब त्यहाँ बस्नेलाई जीविकोपार्जनको व्यवस्था गर्न लागेको छु।’
 
साबुन, चाउमिन, अगरबत्ती, टमाटर–सस बनाउने साना तथा घरेलु उद्योग खोल्ने, हस्तकला उद्योग चलाउने,  जग्गा भाडामा लिएर बाख्रा, कुखुरा र बंगुरपालन गर्ने उनको योजना छ।
 
‘भुइँचालोपछि विस्थापितले जीवन कसरी चलाइरहेका छन् भन्ने अध्ययन गर्नेहरूका लागि यो राम्रो ठाउँ हो। हरेकका आफ्नै कथा छन्। एउटा घरमा हजुरआमा, आमा र छोरी पनि विधवा छन्,’ ‘दिनेशले भने, ‘त्यो बस्तीको अध्ययन गर्न आउनेका लागि होमस्टे पनि सञ्चालन गर्ने योजना छ।’ 
 
दुई वर्षअघि भेटिँदा साथीभाइका पीडादायक कथा सुनाएका दिनेशसँग अहिले ५५ परिवारका ३ सय १० जनालाई घर बनाउन सकेको खुसी छ। तर उनको कथा अझै सकिएको छैन। अहिले पनि उनीसँग नयाँ योजना छन्, तर यी सबै काम गरिरहेको लापा स्वास्थ्य बिन्दुको खातामा पैसा छैन।
 
बस्तीमा स्कुल जाने उमेरका १ सय ४५ जना केटाकेटी  छन्। तीमध्ये ४५ जनालाई गुम्बामा राखिएको छ। तिनलाई पढाउनुछ। लापामा अझै केही घर पहिरोको जोखिममा छन्। तिनलाई पनि सुरक्षित स्थानमा ल्याउनुछ। 
 
 
खातामा पैसा नभए पनि उनलाई आशा छ, बाँकी योजनामा पनि सहयोग गर्ने कोही न कोही भेटिनेछन्।
 
‘संसारका लागि हामी पाहुनाजस्तै हौं, हुनेले नहुनेलाई दिएर मिलिजुली बस्ने त हो,’ कुराकानीको बिट मार्दै दिनेशले भने, ‘अझै हिँड्छु, मान्छेहरू खोज्छु। मलाई आशा छ, खोज्यो भने राम्रा मान्छे पक्कै भेटिन्छन्। ससांरमा अझै धेरै राम्रा मान्छे बाँकी छन्।’
यो पनि पढ्नुहोस्

‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र’

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी