के गर्छन् नेपालका बौद्धिकहरु?

  • Get News Alerts

नेपालका बुद्धिजीवी शृंखला-१

प्राध्यापक कमलप्रकाश मल्ल हक्की बौद्धिक थिए। विश्वविद्यालयमा जागिर खाएर पनि पञ्चायती नीतिको कडा आलोचना गर्ने स्वभाव थियो उनको।

कसैको आलोचना गर्नुपरे उनी नामै लेखेर हाकाहाकी बोल्थे। घुमाउरो शैली कहिल्यै उनको छनोटमा परेन। उनले आफ्नै 'मेन्टर' र गाइडसमेत रहेका प्राध्यापक यदुनाथ खनालमाथि तीखो व्यंग्य कस्दै सिङ्गै लेख लेखे- 'एन इन्टेलेक्च्युअल इन पावर करिडोर'।

यो लेख मल्लको 'रोड टु नोह्वेर' नामक पुस्तकमा संकलित छ।

प्राध्यापक खनाल विश्वविद्यालयको जागिर छाडेर सिंहदरबार पसेको मल्ललाई चित्त बुझेको थिएन। खनाल प्रध्यापन छाडेर सार्वजनिक प्रशासनतिर गएका थिए। तत्कालीन श्री ५ को सरकारका सचिव बनेका थिए। उनी राम्रो समालोचकसमेत थिए, तर उनले राजा महेन्द्रको एउटा कविताको प्रशंसा गरेर लेखे। मल्लले यसैलाई समातेर खनालको आलोचना गरे।

उनी भन्ने गर्थे, 'नेपाली बुद्धिजीवीहरूको मुख्य प्रवृत्ति नै सत्ताको गुणगान गाउने र चाकरी गर्ने किसिमको छ।'

बुद्धिजीवी वर्गको यो प्रवृत्तिबारे उनले अर्को लेख 'इन्टेलेक्चुअल्स इन नेपाली सोसाइटी' मा चर्चा गरेका छन्। प्राध्यापक खनाल पनि यही पथमा लागेको उनको लेखको निष्कर्ष थियो।

यो पनि पढ्नुहोस्:

पञ्चायतका आलोचक, दरबारका शिक्षक

यो लेख पहिलोपटक २०२७ सालमा अंग्रेजी पत्रिका वसुधामा छापियो। यसले नेपाली बुद्धिजीवी वर्गमा तरंग ल्यायो। अर्का विद्वान हर्क गुरूङले तत्कालै वसुधामै प्रतिक्रियात्मक लेख लेखे। त्यसको सात वर्षपछि २०३४ सालमा जगदिश घिमिरेले रूपरेखामा 'को बौद्धिक' शीर्षकमा अर्को लेख लेखे। घिमिरेको यो लेख पनि मल्लकै लेखको वरिपरि घुमेको छ।

मल्लको यो लेख अहिलेसम्म नेपाली बुद्धिजीवीबारे छलफल गर्न उपयुक्त सन्दर्भ सामग्री बनेको छ। दर्जनौंपटक यो लेख उद्धृत भएको छ। दुवै लेखको नेपाली अनुवाद मार्टिन चौतारीको जर्नल 'समाज अध्ययन ११-२०७३ मा समावेश छ।

यी लेखको अनुवाद प्रसिद्ध साहित्यकार शंकर लामिछानेले गरेका हुन्। मल्लको लेख 'नेपाली समाजमा बुद्धिजीवी' शीर्षकमा त्यही सालको नेपाली साहित्यिक पत्रिका रूपरेखाको पूर्णांक १०८ र १०९ छापियो। लामिछानेले रूपरेखाका लागि हर्क गुरूङको प्रतिक्रिया पनि अनुवाद गरे।

बालमुकुन्द देव पाण्डे र उत्तमजंग कुँवरको सक्रियतामा प्रकाशित हुने रूपरेखाले त्यसबखत बौद्धिकता नामको स्तम्भ नै राखेर बहस चलाएको थियो। सबै अंकमा यो स्तम्भ नछापिए पनि अधिकांश अंकमा बौद्धिकताबारे कुनै न कुनै लेख समेटिएको हुन्थ्यो।

यो लेखमा मल्लले नेपालको बौद्धिक इतिहासको जरैसम्म पुग्ने प्रयास गरेका छन्। भारतमा मगधकालसम्म नेपाली बौद्धिक वर्गले तुलनात्मक ठूलै प्रगति गरेको उनको आँकलन छ। यसका लागि भारतका नालन्दा विश्वविद्यालय र विक्रमशील महाविहारमा नेपाली बौद्धिकहरूको बलियो उपस्थितिलाई उनले उदाहरण लिएका छन्।

'दसौं-एघारौँ शताब्दीको उत्तरभारतको मगधकालमा रत्नकीर्ति, विरोचन रकनकश्रीजस्ता नेपाली विद्वानहरूको विक्रमशील महाविहारमा समेत ठूलो इज्जत गरिन्थ्यो। एघारौँ शताब्दीको नेपालमा विद्वताको स्तर निकै माथि पुगेको हुनुपर्दछ, किनभने वागेश्वरकीर्तिजस्ता व्यक्तिले विक्रमशील महाविहारको द्वारपण्डित (विभागीय प्रमुख) बन्नु साधारण कुरा होइन,' मल्लले लेखेका छन्।

भारतमा मुगलहरुको आक्रमणपछि विक्रमशील महाविहारका महासांघिक संघका प्रमुख, नेपाली पण्डित बुद्धश्री आफ्ना शिष्य र पुस्तकको ठेली लिएर नेपाल फर्किएको उदाहरणसमेत उनले पेस गरेका छन्।

त्यसपछि काठमाडौं उपत्यकाको बौद्धिक इतिहास राजदरबारनिकट ब्राह्मणहरूको हातमा गएको उनको विश्लेषण छ। दरबारभित्र रहेका नेपालका पहाडी ब्राह्मण, नेवारी ब्राह्मण र मैथिली ब्राह्मणहरूले बौद्धिक सत्ता लिच्छवीकालदेखि शाहकालसम्म सम्हालेको मल्लले निष्कर्ष निकालेका छन्।

२००७ सालपछि बल्ल सल्बलाउन थालेको नेपाली बौद्धिक अभ्यास फेरि शिथिल भएको र थला परेको उनले उल्लेख गरेका छन्। पञ्चायतमाथि स्पष्ट आरोप नलगाए पनि २००७ सालको परिवर्तनले बौद्धिक जगतका निम्ति सिर्जना गरेको स्वतन्त्रता २०१७ सालपछि कुण्ठित भएको उल्लेख गरेका छन्।

नेपाल बुद्धिजीवीको यति लामो इतिहास केलाएर मल्लले एउटै निचोड दिएका छन्- नेपाली बुद्धिजीवी वर्गले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन।

यसका दुई कारण उनी देख्छन्- एउटा, परम्परादेखि लिएर आएको सत्ताको चाकडी गर्ने प्रवृत्ति र अर्को, आर्थिक दारिद्रय।

आर्थिक दारिद्रयकै कारण केही बुद्धिजीवी सरकारी जागिरमा प्रवेश गरेको तर्क स्थापित गर्न उनले हर्क गुरूङको उदाहरण दिए। गुरूङलाई नवब्राह्मण भन्दै नामै तोकेर भनिदिए, 'सन् १९५० दशकमा जुन प्रकार बेमनसहित खनाल एवं पन्तजस्ता व्यक्तिहरू यस भुलभुलैमा पसे, उसै प्रकार १९६० दशकमा डा. बीपी (बद्रीप्रसाद) श्रेष्ठ, डा. हर्कबहादुर गुरुङ जस्ताहरू नव-ब्राह्मणका रूपमा योजनाका आसनमा तानिए तथा डा. मोहम्मद मोहसिनपछि डा. जगदीशप्रसाद शर्माजस्ता चम्किला युवकहरू भने व्यवस्थाको राजकीय आदर्श निर्देशन गर्ने स्थानमा राखिए।'

जवाफी लेखमा गुरूङले आफ्नो बचाउ गरेका छन्, 'नेपाली बुद्धिजीवी वर्गको आर्थिक दारिद्रयमाथि मल्लज्यूले ध्यान आकर्षित गर्नुभएको त उचित देखिन्छ, तर जागिरे आत्मविलयनमा बाँच्नेहरूप्रति उहाँको ग्लानी युक्तिसंगत देखिन्न। के साँचो हो भने संस्थागत थिचोमिचोको विरोध गर्नु एक प्रमुख बुद्धिवादी कर्तव्य हो तर शून्यतामा सक्रिय रहने क्षमताको पनि त सीमा हुन्छ।' सरकारले नै बुद्धिजीवी उत्पादनमा भूमिका निर्वाह गर्ने हुँदा बुद्धिजीवीको उपभोग गर्नु सामान्य भएको उनको तर्क छ। उनले लेखेका छन्, 'जसले मह काट्छ, उसले हात चाट्छ।'

गुरूङको अर्को तर्क छ, बौद्धिक हुन कुनै विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र लिनु अनिवार्य छैन। जगदिश घिमिरेले आफ्नो लेखमा निकै विस्तारपूर्वक व्याख्या गरेका छन्। मल्लले आधुनिक शैक्षिक प्रणाली, छापाखाना तथा प्रकाशनलाई जोड दिएका छन् तर शैक्षिक डिग्री अनिवार्य हुन्छ भनेका छैनन्।

घिमिरेका अनुसार मल्लले उक्त लेखमा नाम लिएका प्राय: सबै बुद्धिजीवी पिएचडीधारी हुन्। उनको मतमा मल्लको परिभाषालाई मान्ने हो भने सबै शैक्षिक प्रमाणपत्रधारीलाई बुद्धिजीवी मान्नुपर्ने अवस्था आउँछ। मल्लको लेख गहिरिएर हेर्ने हो भने उनले शिक्षित वर्गलाई बुद्धिजीवीका कर्मको उपभोक्ताका रूपमा लिएको देखिन्छ।

उनीहरूले झाँक्री, लामा र पुरोहित वर्गको चर्चा गरेका छन्। यद्यपि मल्लले आफ्नो लेखको सुरूमै आफूले आधुनिक बुद्धिजीवीको बारेमा चर्चा गर्न खोजेको प्रस्ट पारेका छन्।

गुरूङ र घिमिरेबाहेक अन्य थुप्रै लेखकले मल्लको यो लेखमा प्रतिक्रिया दिएका छन्।

इतिहास संशोधन मण्डलका महेशराज पन्तले मल्ललाई लेखेको २९ पृष्ठ लामो चिठीमा यो लेखको समेत प्रसंग निकालेका छन्। यो चिठी संशोधन मण्डलको पत्रिका पूर्णिमामा प्रकाशित भएको थियो।

गुरूङ र घिमिरे प्राध्यापक मल्लको एउटा तर्कसँग सहमत छन्- नेपालमा बुद्धिजीवीले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेका छैनन्। यो विषयमा उनीहरूको प्रस्तुति मल्लझैं आलोचनात्मक नभएर केही नरम छ।

मल्लले नेपाली बुद्धिजीवी वर्गको भूमिकाबारे भनेका छन्, 'यसको परम्परा पनि धार्मिक सूत्रहरूको श्रुति परम्पराजस्तै छ, भनौं न सिर्जनात्मक, अनास्थापूर्ण, शंका उमार्ने र समालोचनात्मक प्रवृत्तिको सट्टा चिरन्तनकै प्रथा र विधान कायम गर्ने र संरक्षणको परम्परा। नेपाली विद्वताको परम्पराको चारित्रिक विशिष्टता हो – आलोचनात्मक प्रवृत्तिको सट्टा सूत्रीय पूर्व-चिन्तन, भौतिकको बदला आध्यात्मिक, साकारको सट्टा उपदेशात्मक प्रवृत्ति अपनाउनु।'

यो आजभन्दा ४६ वर्षअघिदेखि ३९ वर्षअघिसम्म चलेको बहस हो। यसबीच नेपाली समाजमा उल्लेख्य परिवर्तन भएका छन्।

पञ्चायतको निषेधपूर्ण राजनीतिको ठाउँ गणतन्त्रको खुला राजनीतिले लिएको छ। शैक्षिक स्तर, विश्व बौद्धिक बहसमा पहुँच, सहरी वातावरण सबैमा मुलुकले फड्को मारेको छ।

यी अनुकुलतामाझ अहिले नेपाली बुद्धिजीवी वर्गले आफ्नो भूमिका निर्वाह गरिरहेको छ त?

सेतोपाटीको यो श्रृंखलामा हामी बौद्धिकतामाथि लेखिएका मल्ल, गुरूङ र घिमिरेका तीनै लेख क्रमश: प्रकाशन गर्ने छौं। त्यसपछि समकालीन बुद्धिजीवी वर्गको अहिलेको भूमिकाबारे केही लेख प्रकाशन गर्ने छौं।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी