बम्जनको मैत्री धर्म के हो, उनी प्रवचनमा के भन्छन्?- शृंखला-२

  • Get News Alerts

बाराका रामबहादुर बम्जन १४ वर्षको उमेरमा तपस्या गर्न भनेर घरबाट हिँडेका थिए। बाराकै जंगलमा केही महिना तपस्या गर्दै गरेको भेटिएका उनी त्यसपछि घरि एक्कासि हराउँथे त घरि गाउँलेसँग झगडा गरेर विवादमा तानिन्थे। कहिले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्थे त कहिले देश दौडाहामा निस्कन्थे।
 
एघार वर्षअघि तपस्वीका रूपमा जंगलमा भेटिएका उनै रामबहादुर बम्जन अहिले आफू नै ‘परमात्मा’ भएको दाबी गरिरहेका छन्। र, ललितपुरको चुनिखेलमा बडो तामझामका साथ विश्व मैत्री शान्तिपूजा गर्दैछन्। अबको यात्रा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने उनका अनुयायीहरूको भनाइ छ।
 
२०६२ जेठदेखि ६ वर्ष तपस्या गरेको भनिएका बम्जनको दाबी छ– ‘मैले सृष्टिको रहस्य बुझेँ। भगवान बुद्धको भन्दा बढी ज्ञान पाइसकेँ। अहिलेसम्मका सबै भगवान भनिएकाहरूभन्दा म माथि छु। अब यो जगतमा धर्मको शासन चलाउने जिम्मा मेरो काँधमा छ।’
 
रतनपुरी–५, बाराका २७ वर्षीय बम्जनले आफूले पाएको ज्ञान फैलाउन भन्दै सर्लाही, बारा, सिन्धुली, चितवन, लमजुङ, सिन्धुपाल्चोकमा शान्तिपूजा गरिसकेका छन्। दर्जनौं देशमा उनको नामका संघ खुलेका छन्। तीमध्ये कतिपय देशका अनुयायी ललितपुरमा जारी शान्तिपूजामा पनि सहभागी छन्।
 
आखिर बम्जनले ‘विश्वलाई बाँड्न चाहेको’ भनिएको ज्ञान के हो? उनले कसरी त्यो ज्ञान पाए?
 
बम्जन यी प्रश्नको उत्तर दिन स्वयं पत्रकारसँग कुरा गर्न मान्दैनन्। यसको निम्ति हामीले बम्जनले विभिन्न ठाउँमा दिएका प्रवचन (देशना) को भिडियो, उनको नाममा प्रकाशित पुस्तक र उनका अनुयायीसँग कुराकानी गर्यौं। 
 
बम्जनका अनुयायीमध्ये एक हुन्, पूर्व स्वास्थ्य राज्यमन्त्री मणि लामा। उनी बम्जनका विभिन्न कार्यक्रमको व्यवस्थापन र आर्थिक सहयोग पनि गर्छन्। चुनिखेलमा भइरहेको शान्तिपूजामा उनले खाना खुवाउने जिम्मा लिएका छन्। 
 
बम्जन तपस्यामा रहेका बेला २०६७ साउनमा लामा उनको दर्शन गर्न हलखोरिया नै पुगेका थिए, सन्तान प्राप्तिको मनोकामना बोकेर। 
 
‘एक त राजनीतिमा लागेर ढिला बिहे भयो, त्यसमाथि बिहे भएको नौ वर्षसम्म सन्तान नभएपछि मलाई अशान्ति थियो। स्वास्थ्य राज्यमन्त्री भइसकेको मान्छे म, सबैभन्दा राम्रा डाक्टरलाई देखाएँ, तर कसैले हुन्छ भनेका थिएनन्, मेरो मनमा अशान्ति थियो,’ लामाले मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘उहाँले टाढैबाट यसो हेरेर मुस्कुराउनुभयो, नभन्दै अर्को महिना गर्भधारण भयो।’ 
 
कयौं वर्षदेखि पूरा नभएको मनोकामना बम्जनको दर्शनले पूरा भएपछि उनको भक्त बनेको लामा बताउँछन्। अहिले लामाका जुम्लाहा छोराछोरी छन्।
 
त्यसपछि लामाले ललितपुरमा बम्जनको नाममा ‘बोधी श्रवण धर्म संघ’ दर्ता गरे। संघमा सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङ, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डिबी लामा, पूर्वप्रशासक ललितबहादुर थापा, क्याम्पियन एकेडेमीका पूर्वसञ्चालक कैलाश देवान र दुई जना स्थानीय सदस्य थिए। त्यसयता लामा निरन्तर बम्जनसँग जोडिएका छन्।
 
गत कात्तिकमा लामाले बम्जनको ७५ जिल्ला भ्रमणको व्यवस्थापन र आर्थिक स्रोत जुटाए। लामाले चलाएको गाडीले बम्जनको स्कर्टिङ गर्यो। ‘म बेलाबेला उहाँसँग धर्म र ज्ञानका बारेमा सोधिरहन्थेँ, त्यहीबेला गुरुले मलाई आफूले पाएको ज्ञानबारे बिहान–बेलुका देशना दिनुभयो,’ लामाले भने।
 
लामासँग बम्जनले ‘परमात्मासँग भेटेको’ गुत्थी पनि फुकाएछन्। 
 
सामान्य परिवारमा जन्मेका बम्जनले सरकारी स्कुलमा दुई कक्षासम्म पढेका थिए। त्यसपछि उनी लामा पढ्न भारतको देहरादुनको गुम्बामा गए। दुई वर्ष त्यहाँ पढेर छुट्टीमा घर आएपछि फर्केर गएनन्। बरु तपस्या गर्न भनेर जंगलतिर हिँडे। 
 
‘तपस्याका क्रममा सृष्टिको रहस्यबारे प्रश्न सोध्दासोध्दै उहाँ मैत्रीदेवसम्म पुग्नुभएछ,’ बम्जनको भनाइ उद्धृत गर्दै लामाले भने, ‘मैत्रीदेवले सृष्टिबारे आफूले जानेको जति उहाँलाई भन्नुभयो। तर, सबै प्रश्नको उत्तर दिनुसक्नुभएन। अनि सिधै परमात्माकोमा पठाइदिनुभयो। तपस्या थालेको २ सय ८० औं दिनमा उहाँको शरीरबाट आगो निस्कियो, त्यहीबेला मैत्रीदेव उहाँमा र उहाँ मैत्रीदेवमा विलिन हुनुभएछ।’ 
 
बम्जनले आफू परमात्माकहाँ पुग्दाको घटना पनि लामालाई सुनाएछन्। 
 
‘ध्यानकै क्रममा मैत्रीदेवलाई पनि आफूमा समाहित गरेर उहाँ परमात्माकहाँ पुग्नुभयो, जसले यो सृष्टि बनाए र चलाइरहेका छन्,’ लामाले बम्जनको भनाइ उद्धृत गरे, ‘परमात्माले उहाँलाई सृष्टिको रहस्य र भेद खोल्दै भन्नुभयो– अब यो संसारमा प्रलय हुँदैछ। सबै कुरा विनाश हुँदैछ।’ 
 
त्यसपछि बम्जनले सोधेछन्, ‘किन र गुरु?’
 
परमात्माले जवाफ दिए, ‘यो पृथ्वीमा पुण्य सकिएको बेला हो। धर्म नभएको पृथ्वीमा प्रलय गर्नुको विकल्प छैन।’
 
बम्जनले ‘परमात्मासँग प्रलय गर्न नहुने, बरु यसलाई सुधार्नुपर्ने’ राय राखेछन्।
 
परमात्माले चिन्ता व्यक्त गर्दै भनेछन्, ‘कसरी सुधार्ने? मान्छेले सबै नियम उल्लंघन गरिसके। शीलको पालना गर्दैनन्।’
 
‘अनि गुरुले संसारलाई धर्मको बाटोमा फर्काएर सत्ययुगमा लैजाने जिम्मा आफूले लिने सपथ खाएर आउनुभएछ,’ लामाले भने, ‘अहिले गुरु संसारलाई सत्य र धर्मको बाटोमा लिनुपर्ने परामात्माको जिम्मा ममा नै छ भन्नुहुन्छ।’
 
संसारलाई धर्ममा फर्काउन बम्जनले नयाँ भगवान, धर्म, भाषा, लिपी र संस्कृति चाहिने बताएका छन्। र, यसको नाम दिएका छन्, ‘मैत्रीधर्म’।
 
के हो मैत्रीधर्म भनेको?
 
बम्जनका अनुसार ३५ हजार वर्षअघि मैत्रीदेव भगवान पृथ्वीमा आएका थिए, बोधीश्रवण र महिमाका नाममा। यी दुई दिदीबहिनीमध्ये दिदी बोधीश्रवण दया र करुणाले भरिएकी थिइन्। उनले धेरै बुद्ध जन्माइन्। बहिनी महिमा रिद्धिसिद्धि र चमत्कार देखाउँथिन्। उनले वीर पुरुष जन्माइन्। यी दिदीबहिनीको  चोला सकिएसँगै मैत्रीको पहिलो रूप सकियो। 
 
गौतम बुद्धले निर्वाण पाउने बेला मैत्री भगवान दोस्रोपटक पृथ्वीमा आए। त्यतिबेला उनी बुद्धलाई दर्शन मात्र दिएर गए। तेस्रोपटक देहरादुनबाट फर्केका बम्जनलाई ध्यानमा जाऊ भन्न जलिरहेको शवको धुँवामा देखिएका थिए रे। 
 
‘रतनपुरीमा एउटा लास जलाइरहेको ठाउँमा गुरु पनि पुग्नुभएको रहेछ, त्यतिबेला त्यो लास जलेको धुँवाको मुस्लोमा मैत्रीदेव देखिनुभएछ,’ लामाले बम्जनको भनाइ सुनाए, ‘मैत्रीदेव मनुष्य लोकलाई प्रलयबाट बचाउन आउनुभएको हो। उहाँले गुरुलाई ध्यानमा जानुस् भन्नुभएछ।’ 
 
तपस्याकै क्रममा बम्जनको शरीरमा अग्नि निस्किएको दिन मैत्री भगवान चौथोपटक पृथ्वीमा आएको र बम्जनमै मिसिएको लामाको दाबी छ। अहिले ‘बम्जन नै मैत्री भगवान र मैत्री भगवान नै बम्जन भएको’ लामाले बताए।
 
बौद्ध ग्रन्थहरूमा भविष्यमा बुद्ध धर्मको पालना हुन छाडेपछि मैत्रीय नामको नयाँ बुद्ध संसारमा आउने भविष्यवाणी गरिएको छ। बम्जनले ‘आफू त्यो मैत्रीय बुद्ध नभएको बरु संसारको सबै धर्म र भगवानभन्दा माथि रहेको’ बताएका छन्। उनले मैत्री भगवानको नयाँ चित्र पनि बनाएका छन्, जुन पूजास्थलमा ७५ फिटको थांकामा झुण्ड्याइएको छ। 
 
यसअघि २०७० फागुन १० गते लमजुङको खुदीमा भएको कार्यक्रममा बम्जनले निलो, सेतो, पहेँलो, रातो र हरियो रङको बौद्ध ध्वजा गाडीमा लगाएका थिए। अहिले उनले निलो र सेतो रङ मात्र भएको झन्डा प्रयोग गरेका छन्। उनको पुस्तकमा गुरुलाई ढोग्ने, पानी, बत्ति, फलफूल अर्पण गर्ने, माला घुमाउने तरिका पनि दिइएको छ, जुन अहिलेका बौद्ध धर्मावलम्बीले गर्नेभन्दा फरक छ।
 
लामाले बम्जनको अर्को दाबी पनि सुनाए, ‘दुई हजार वर्षअघि उहाँले तिब्बत र नेपालको सीमामा तपस्या गर्नुभएको थियो। तपस्यामा बसेका बेला उहाँलाई दुई देशको लडाइँ चलेपछि सिपाहीले मारिदिएछन्। ध्यानमा बसेको आफ्नो देह नभएको कुरा ७५ दिनपछि मात्र उहाँलाई थाहा भयो। त्यही सम्झेर उहाँले मृत्युपछि गर्नुपर्ने किरिया कर्म ७५ दिनको बनाउनुभएको छ।’
 
आफ्ना बुवा बित्दा पनि बम्जनले ७५ दिनसम्म किरियाकर्म गरेको लामाले जानकारी दिए।
 
‘उहाँको उद्देश्य एक मैत्री भाषा, एक मैत्री धर्म, एक मैत्री संस्कृति, मैत्री लिपी बनाउने हो,’ लामाले भने ‘सम्बुद्ध लिपीमा २१ लोकका बारेमा ब्याख्या गरिएको पुस्तक लेखिसक्नुभएको छ, मैत्री लिपी पनि बनाउँदै हुनुहुन्छ। धेरै भाषा, धर्म र जात भएकाले अहिले संसारमा झगडा भयो भन्नुहुन्छ।’ 
 
लामाका अनुसार संसारका सबै भाषा, धर्म, सम्प्रदाय एकदिन मैत्रीधर्ममा समाहित हुने बम्जनको दाबी छ। यसको निम्ति बम्जनको पहिलो सर्त छ, शान्ति। 
 
‘संसारमा अशान्ति हुनुको मुख्य कारण मरेर गएका हाम्रा पूर्वजहरू हुन् जो मुक्ति नपाएर भुतप्रेत भएर बसेका छन्। उनीहरूले मागेको कुरा नपाएपछि हाम्रो शरीरमा प्रवेश गर्छन् अनि मनमा कुविचार उत्पन्न हुन्छ,’ लामाले बम्जनको भनाइ सुनाए, ‘तिनलाई कि त लोप दिने कि त मुक्ति दिनुपर्छ। तिनलाई मुक्ति दिन नै अहिले पूजा भइरहेको छ। कोही एक जनाले आर्शिवाद थाप्यो भने उसका माध्यमबाट उसका पुर्खाले मुक्ति पाउँछन्। यसरी जब संसार प्रेतरहित हुन्छ, हामी सबैको मनमा शान्ति हुन्छ। शान्त मनमा धर्म आउँछ। अनि सत्य युग आउँछ। त्यो नआई सुखै छैन।’
 
बम्जन अहिले त्यही सत्य युग ल्याउने अभियानमा रहेको लामाले बताए। 
 
‘उहाँले आफ्नो पुरानो नाम छाडेर नयाँ नाम राख्नुभएको छ– गुरु महासम्बोधि धर्म संघ। ठाउँठाउँमा देशना दिइरहनुभएको छ। आफूले दिने प्रवचनलाई उहाँ प्रवचन मान्नुहुन्न, किनकि प्रवचन अरूका कुरा सुनेर/पढेर दिने कुरा हो। आफूले बोल्ने कुरा स्ववचन भएको उहाँको भनाइ छ,’ लामाले सेतोपाटीसँग भने। 

राजधानीमा बम्जनको शान्ति पूजाको तामझाम - शृंखला १

 के भन्छन् त बम्जन, आफ्नो धर्मबारे? 
 
बम्जन आफूले पाएको ज्ञान गौतम बुद्धले पाएको ज्ञानभन्दा बढी भएको दाबी गर्छन्। संसारका अन्य धर्मगुरुले गरिरहेको धर्मको अभ्यास झुटको खेती भएको उनको आरोप छ। संसारमा मानव र पशु दुई जाति रहेको बताउने बम्जनले अहिलेसम्म आफूले पाएको ज्ञान के हो स्पष्ट खुलाएका छैनन्। विभिन्न कार्यक्रममा उनी मानव जाति लोभ, मोह, भौतिकता र खराब आचरणले दुःखमा परेको बताउँछन्। शान्तिपूजा सुरु हुने दिन उनी केही मिनेट देशना दिन्छन्, जसमा धर्म के हो र के होइन भन्ने बताउँछन्। चुनिखेलको शान्तिपूजाको पहिलो दिन सम्बोधन गर्दै उनले भनेका थिए, ‘धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एउटा अदृश्य सत्यतथ्य तत्व हो। धर्म ज्योति हो जुन सर्वप्रकाशवान महातेज छ।’
 
बम्जन पूर्वजन्म र परलोकमा विश्वास गर्छन्। कसैलाई भेदभाव गर्न नहुने, असत्य बोल्न नहुने, आदर सम्मान, विश्वास, भक्तिभाव हुनुपर्ने बताउँछन्। आफू सत्य गुरु भएको उनको दाबी छ। सुख र शान्ति चाहनेले मैत्रीधर्मबाहेक अन्तबाट मुक्ति र मोक्ष नपाउने उनको भनाइ छ।
 
उनको नाममा प्रकाशित ‘मैत्रीधर्म पुस्तक’ मा बम्जनले धर्म र सत्यबारे उल्लेख गरेका छन्। यो किताब आममानिसले बुझ्ने भाषामा बम्जनले पाएको ज्ञानको सारांश भएको लामा बताउँछन्। किताबमा बम्जनको जीवनी, उनी तपस्या बस्दाका तस्बिर, उनले विभिन्न ठाउँमा दिएका देशना, उनको मैत्रीधर्म, त्यो धर्मसम्म पुग्ने बोधीमार्ग, मानिसले जीवनमा ध्यान दिनुपर्ने कुरा र दैनिक पूजा, पाठ, जप, ध्यानबारे लेखिएको छ। 
 
‘उहाँले पाएको ज्ञान त कति छ कति,’ लामाले भने, ‘अहिले जम्मा एक प्रतिशत मात्रै भन्नुभएको रे। बाँकी भन्न त वर्षौं लाग्छ।’
 
बाँकी ९९ प्रतिशत ज्ञानमा के छ? त्यो अहिलेसम्म बम्जनबाहेक अरू कसैलाई थाहा छैन।
 
हेर्नुहोस् भिडियो
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी