कता गए सानासाना भँगेरा?

  • Get News Alerts

भँगेरा दिवस

जनवादी क्रान्ति सकिएको एक दशकपछि सन् १९५८ मा चीनमा एक अभियान चलाइयो–ग्रेट स्पारो क्याम्पियन। भँगेरा विरुद्धको त्यो अभियान चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङले घोषणा गरेका थिए। भँगेरा मार्न गाउँगाउँमा लाखौं मानिस खटाइए। गुलेली, बन्दुक, विष खुवाएर जसरी पनि भँगेरालाई मार्न उर्दी जारी गरियो। घरमा भँगेरा बस्ने ठाउँ पुरिए, अण्डा फुटाइयो, अनि भर्खरका बच्चा भँगेरालाई पनि मानिसहरुले निर्ममतापूर्वक मारिदिए। सबैभन्दा बढी भँगेरा मारेर ल्याउनेलाई इनाम दिइयो। 

१० हजार वर्षदेखि मान्छेको साथी रहेको फुच्चे भँगेराविरुद्ध अभियान छेड्नुको पछाडि आरोप थियो, यिनीहरुले अन्नबाली खाइदिए।

युरोपेली देश र अमेरिकी अर्थतन्त्रसँग प्रतिष्पर्धा गर्न माओत्सेतुङले देशको खाद्यान्न उत्पादन दोब्बर बनाउने योजना ल्याएका थिए। तर मौसमले साथ नदिएपछि बाली सोचेजस्तो राम्रो भएन। तर त्यसको दोष लगाइयो– झिंगा, लामखुट्टे, मुसा र भँगेरालाई। अनि चलाइयो तिनीहरुलाई निर्मूल पार्ने अभियान। यो अभियानमा करिब २ अर्ब भँगेरा मारिएको बताइन्छ।

त्यति भँगेरा मार्दा पनि अर्को वर्ष खाद्यान्न उत्पादनमा सुधार आएन, उल्टो भोकमरी लाग्यो। लाखौं मानिस भोकभोकै मरे।

दुई वर्षपछि १९६० मा मात्र भँगेराले बालीलाई नोक्सान गर्ने किरा खाइदिन्छ, भँगेराका कारण उत्पादन घट्ने होइन बरु बढ्छ भन्ने कुरा चिनियाँ नेतृत्वको दिमाग पस्यो। अनि माओत्सेतुङले भँगेराविरुद्धको अभियान रोक्न आदेश दिए।

७० वर्षअघि उत्तरी छिमेकी चीनमा भँगेराविरुद्ध अभियान छेडिदा काठमाडौं खाल्डोमा भने हरेक घरमा भँगेराका लागि पनि घर बनाइन्थ्यो। परेवा, भँगेरा, मानिस, कुकुर र बिरालो एउटै घरमा बास बस्थे।

८० वर्षिय वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ सानो हुँदा घरका प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झन्छन्। वीर अस्पताल पछाडिको उनको घरको आँगनमा साना भँगेरा चिरबिरचिरबिर गर्दै फुरुक फुरुक यताउति उड्दा उनलाई रमाइलो लाग्थ्यो। भँगेरा यताउति उडेर चिरबिर मात्र गर्दैनथें विपद् आइलाग्दा त्यसको जानकारी पनि दिन्थे। ‘एकदिन राति बाह्र बजे टोलभरिका सबै भँगेरा कराउँदै बाहिर आए, यति राति किन भँगेरा निस्के भनेर मान्छेपनि बाहिर निस्कँदा एक घरको धानको भकारीमा आगो लागेको रैछ’, श्रेष्ठले सम्झिए, ‘पछि सबै जना गएर आगो निभाए। भँगरा बाहिर ननिस्केको भए त्यो दिन धेरै ठूलो क्षति हुन्थ्यो।’ घर नजिकै सर्प आउँदा पनि भँगेरा बेस्सरी कराएर सचेत गराउने श्रेष्ठ बताउँछन्।

काठमाडौंवासीले आफ्नो घरमा फुच्चे भँगेरालाई पनि बस्ने घर बनाइदिने अर्को कारण थियो, त्यतिबेला धेरैले खेती गर्थे र भँगेराले खेतीलाई सहयोग पु¥याउँथे। १५ दिनको भएपछि भँगेराको बच्चाले किरा खान थाल्छ। तीमध्ये धेरै किरा बालीलाई नोक्सान गर्ने खालका हुन्छन्।

‘पहिला काठमाडौंका घरमा भँगेरा र परेवालाई पनि घर बनाइन्थ्यो, मान्छेहरुले खेतिपाती पनि धेरै गर्थे, त्यही भएर भँगेरा जताततै भेटिन्थे’, श्रेष्ठले भने।

त्यसो त भँगेरा हाम्रो साथी मात्र होइन, हाम्रा केही मान्यता र विश्वासको आधार पनि हो। भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा। भँगेराले धुलोमा नुहाएको दिन पानी पर्ने जनविश्वास छ। त्यस्तै भँगेरा कहिले पनि अरु चराको जसरी हिँड्दैन, बुरुकबुरुक उफ्रन्छ। ‘भँगेरो सात पाइला हिँडेको देखेमा अलच्छिन हुन्छ भन्थे पहिला’, श्रेष्ठले भने।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले भँगेराका बारे गीत नै लेखेका छन्–

कुरा गर्छन् कसरी

भँगेरा र भँगेरी

चुरचुर गर्छ भँगेरो

चिरचिर गर्छे भँगेरी

चारो चर्न हुन्न है

यताउति नहेरी

एउटा आँखो तँ हेरी

अर्को आँखो म हेरी...

हाम्रो घरको सदस्य हाम्रो साथी भँगेरा अचेल भने काठमाडौंमा देखिन छाडेका छन्।

नेपालमा भँगेराविरुद्ध कुनै अभियान त छेडिएको छैन। तर अघोषित रुपमा भँगेरालाई सहरबाट धपाउन थालिएको छ। उनीहरुलाई न बासको व्यवस्था छ न गासको नै। सहरी क्षेत्रमा अचेल मान्छेको फुच्चे साथी भँगेरा भेटिनै छोडेको छ।

भँगेरा दुई किसिमका हुन्छन्। घरमा बस्ने र रुखमा बस्ने। घरमा बस्ने भँगेराले गुँड बनाउँदैनन्। घरका भित्तामा, छानामा भएका प्वालमा बस्छन्। त्यहीँ अण्डा पारेर बच्चा कोरल्छन्। बनमा बस्ने भँगेरा घरतिर आउँदैनन्। काठमाडौंमा भेटिने भँगेरा अलि ठूलो खालको हुन्छ भने गाउँतिर भेटिने भँगेरा सानो हुन्छ।

सिमेन्टले बनेका आधुनिक घरमा न भँगेरालाई बस्ने ठाउँ छ, न बारीमा खाने चारो पाइन्छ, गास बास नभएपछि उनीहरु सहरबाट बसाइ सरेका छन्। उपत्यकाका काँठका साना झाडीमा बस्ने भँगेरासँग घरमा बस्ने भँगेरामा पनि मिसिएको श्रेष्ठ बताउँछन्। ‘तर उनीहरुले रुखमा कसरी घर बनाउँछन् भन्ने कसैले अध्ययन गरेको छैन,’ उनले भने।

उनका अनुसार भँगेरा सहरबाट हराउनुमा अर्को कारण प्रदुषण पनि हो। भँगेरालगायतका पक्षी हुन् वा बाघ जस्ता डर लाग्दा जनावर, उनीहरुले धुँवा सहन सक्दैनन्। पछिल्लो समय सहरमा धुँवा धुलो यति बढेको छ कि भँगेरा त के मान्छेलाई पनि बाँच्न कठिन भएको छ। ‘उनीहरुले आगो र धुँवा खप्न सक्दैनन्, भँगेरा मात्र होइन अरु पक्षी र जनावारका संरक्षणका लागि प्रदुषण कम गर्नुपर्छ’ श्रेष्ठले भने।

पछिल्लो समय नेपालबाट मात्र होइन संसारबाट नै भँगेराहरु हराइरहेका छन्। जंगलमा बस्ने अरु चरालाई शहरीकरणको धेरै असर नपरेपनि मान्छेकै घरमा बस्ने भँगेरालाई आधुनिक घरमा आफू बस्ने प्वाँल नहुँदा समस्या भएको हो। बढ्दो सहरीकरण, प्रदुषण र आधुनिक खेती प्रणालीका कारण विश्वभरि नै भँगेरालाई धेरै असर परेको छ। केही अध्ययनहरुले मोबाइल फोन र यसका टावरको ¥याडियसनका कारण भँगेराहरुलाई बाँच्न कठिन भएको निष्कर्ष निकालेका छन्। यी विविध कारणले पछिल्लो समय भँगेराको संख्या दिनदिनै कम भइरहेको छ।

कुनै समयमा आर्थिक उन्नति गर्न भँगेराविरुद्ध अभियान छेडेको चीन अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न लागेको छ। तर फुच्चे भँगेरा भने खतराको सूचीमा परेको छ।

भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना जोगाउन सन् २०१० देखि मार्च २०मा विश्व भँगेरा दिवस मनाउन थालिएको छ। भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हरेक वर्ष भँगेरा दिवस मनाइँदै आएको छ। केही वर्ष यता नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको छ। यसपालिको भँगेरा दिवसको नारा ‘भँगेरामै छ जे छ’ भन्ने राखिएको छ।

करिब तीन वर्ष बाँच्ने, ४० ग्रामसम्म तौल हुने भँगेरो हेर्दा त सानो देखिन्छ। तर पारिस्थितिक प्रणालीमा यसको ठूलो महत्व छ। त्यो महत्व इकोसिस्टमसँग मात्र छैन, हाम्रो जीवनशैलीसँग पनि जोडिएको छ।

‘भँगेरा इकोसिस्टममा चाहिने चिज त हो नै, खेतीबालीदेखि आपतविपद्को जानकारी दिन हामीलाई काम लाग्ने साथी हो, त्यसको संरक्षण गर्नुपर्छ,’ श्रेष्ठले भने।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी