जसले 'ब्रेक' गरिन् दोस्रो विश्व युद्धको खबर

  • Get News Alerts

 
हावाको एउटा यस्तो झोँका आयो, जसले पत्रकार क्लार होलिङग्रोथलाई यो शताब्दीकै सबभन्दा ठूलो ‘स्कुप’ समाचार दिएर गयो।
 
युद्ध पत्रकारितामा निकै ख्याति कमाएकी होलिङग्रोथ त्यसबेला बेलायती अखबार ‘द डेली टेलिग्राफ’ की संवाददाता थिइन्। उनले आफ्नो यो पहिलो जागिर खान थालेको एक साता पनि भएको थिएन।
 
सन् १९३९ को त्यो दिन निकै ठूलो हावाहुरी चलेको थियो। होलिङग्रोथ जर्मनीको ग्लाइविचबाट एक्लै गाडी हाँकेर पोल्यान्डको क्याटोविस जाँदै थिइन्। बत्तीस किलोमिटर दुरीको यात्रा थियो। उनी लगभग जर्मनी र पोल्यान्डको सीमा हुँदै हुइँकिरहेकी थिइन्। जर्मन भूमितर्फको एउटा उपत्यकालाई चारैतिर त्रिपालले बारिएको थियो।
 
त्यही बेला जोडले चलेको हावाहुरीले त्रिपालको एउटा भाग उडाइदियो। त्यसभित्र जे दृश्य उनले देखिन्, त्यो एक पत्रकारको निम्ति हुटहुटी जगाइदिन पर्याप्त थियो।
 
त्यहाँ ठूलो संख्यामा जर्मन सेना तैनाथ थियो। सयौंको संख्यामा ट्यांकहरू थिए। हतियारबन्ध गाडीको लस्कर थियो।
 
त्यतिबेला जर्मनी कुनै ठूलो सैन्य कारबाहीको तयारीमा लागेको छ भन्ने होलिङग्रोथलाई थाहा थियो। उनको मनमा खुल्दुली जाग्यो। दिमागका तन्तुहरू सक्रिय भए। उनले तुरुन्तै पोल्यान्डको कुनै भू–भागमा गाडी रोकिन्। र, आफ्ना सम्पादकलाई फोन गरिन्।
 
सन् १९३९ अगस्ट २८ को त्यो दिन होलिङग्रोथले पोलिस सीमाबाट टिपाएको समाचार नै आखिरमा यो शताब्दीकै सबभन्दा ठूलो ‘स्कुप’ साबित भयो।
 
अर्को दिन ‘द डेली टेलिग्राफ’ मा प्राथमिकतासाथ छापिएको त्यो समाचारलाई अर्को बेलायती अखबार ‘द गार्जियन’ ले सन् २०१५ मा ‘आधुनिक समयको सम्भवतः सबभन्दा ठूलो स्कुप’ भनेको छ।
 
उनको स्कुपलाई सही साबित गर्दै सेप्टेम्बर १ मा जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्यो। यो नै दोस्रो विश्वयुद्धको सुरुआत थियो।
 
त्यसपछि झन्डै चार दशक टेलिग्राफ, गार्जियन, इन्टरनेसनल हेराल्ड ट्रिब्युन र वालस्ट्रिट जर्नलमा समेत लेखेकी होलिङग्रोथको यही मंगलबार हङकङमा निधन भएको छ। उनी १ सय ५ वर्ष पुगेकी थिइन्।
 
दोस्रो विश्वयुद्ध सुरु हुँदैछ भन्ने ‘स्कुप’ मात्र होइन, युद्ध सुरु भयो भन्ने ‘स्कुप’ समाचार लेख्ने पनि होलिङग्रोथ नै थिइन्। 
 
सेप्टेम्बर १ को झिसमिसे बिहानमा उनी पोल्यान्डको क्याटोविसस्थित आफ्नै क्वार्टरमा थिइन्। एक्कासि विस्फोटनको चर्को आवाज आयो। उनले झ्यालबाट बाहिर हेरिन्। जर्मन सैनिकबाट बमबारी सुरु भइसकेको र पर आगोका लप्काहरू उठेको उनले देखिन्।
 
होलिङग्रोथले तुरुन्तै राजधानी वार्सास्थित बेलायती दूतावासमा टेलिफोन गरिन्। 
 
‘युद्ध सुरु भयो,’ उनले चिच्याउँदै भनिन्।
 
‘साँच्चै हो?’ उताबाट सोधियो।
 
होलिङग्रोथले पछि यसबारे लेखेको समाचारअनुसार त्यसबेला बेलायती दूतावासका अधिकारीले उनको खबर पत्याएका थिएनन्। उनीहरू जर्मनीले आक्रमण गर्न अझै केही साता बाँकी छ भन्नेमा ढुक्क थिए। होलिङग्रोथलाई भने आफ्नो खबरप्रति कुनै शंका थिएन, किनकि उनकै आँखैसामु जर्मनीले पोल्यान्डमाथि धावा बोलिसकेको थियो। 
 
उनले बेलायती दूतावासका अधिकारीलाई विश्वस्त पार्न टेलिफोनको रिसिभर झ्यालनजिक लगिन्। र, बाहिर भइरहेको गोलाबारीको आवाज सुनाइदिइन्। 
 
दूतावासले त्यसपछि बल्ल युद्ध सुरु भएको खबर पत्यायो।
 
आफ्नो सम्पादकलाई पनि उनले यसैगरी विश्वास दिलाइन्।
 
अर्को दिन टेलिग्राफमा युद्ध सुरु भएको समाचार छापियो, जुन होलिङग्रोथको जिन्दगीको अर्को ठूलो ‘स्कुप’ थियो।
 
त्यसपछिको आफ्नो ४० वर्षे करिअरमा होलिङग्रोथले संसारका ठूल्ठूला युद्ध र गृहयुद्ध पछ्याएकी छन्। जुन देश संकट वा युद्धमा घेरिन्थ्यो, उनी त्यही ठाउँको समाचार संकलन गर्ने जिम्मा लिन्थिन्। उनले भनेकी छन्, ‘जोखिमपूर्ण ठाउँमा नै राम्रो समाचार भेटिन्छ।’
 
उनले सबभन्दा पहिला त आफ्नै ‘स्कुप’ समाचार पछयाउँदै पूर्वीयुरोप, बाल्कन्स र उत्तरी अफ्रिकाबाट दोस्रो विश्वयुद्धको रिपोर्टिङ गरिन्। त्यसपछि ग्रिक र अल्जेरियन गृहयुद्ध, अरब र यहुदीबीचको युद्ध, भियतनाम युद्ध लगायत थुप्रै द्वन्द्वबारे उनले समाचार लेखेकी छन्। उनले आफ्नो पत्रकारिताको करिअर नै सैनिकजस्तो युद्धभूमिमा बिताइन् भन्दा फरक पर्दैन। 
 
उनी सन् १९६५ मा भारत–पाकिस्तान युद्धको पनि रिपोर्टिङ गर्न चाहन्थिन्। तर, भारतीय सेनाले उनलाई युद्धग्रस्त क्षेत्रमा जान अनुमति दिएन। उनले आफ्ना पुराना मित्र इन्दिरा गान्धीसँग अनुरोध गरिन्। त्यतिबेला भारतका सूचना तथा सञ्चार मन्त्री रहेकी गान्धीले होलिङग्रोथका लागि सेनाबाट अनुमति दिलाइन्। 
 
भियतनाम युद्धको रिपोर्टिङ गर्दा गोली लागेर उनको झन्डै मृत्यु भएको थियो। गोली एक इन्चको दुरीमा उनको टाउको छलेर पार भएको थियो। त्यति ठूलो जोखिम मोलेर उनले आखिरमा त्यत्तिकै ठूलो ‘स्कुप’ पनि लेखिन्। 
 
भियतनाम युद्धकै क्रममा सन् १९६८ मा टेलिग्राफका लागि लेखेको समाचार त्यतिबेलाको निकै ठूलो ‘स्कुप’ बनेको थियो। उनले संयुक्तराज्य अमेरिका भियतनामसँग शान्तिवार्ता सुरु गर्दैछ भन्ने समाचार ‘ब्रेक’ गरेकी थिइन्। नभन्दै, त्यसै वर्ष पेरिसमा शान्तिवार्ता सुरु भयो, जुन १९७३ मा सकिएको थियो।
 
युद्ध समाचारका अतिरिक्त वैदेशिक मामिलामा पनि उनको विशेष दखल रह्यो। उनी चीनमै रहेर रिपोर्टिङ गर्ने पहिलो पश्चिमी पत्रकार हुन्। उनी द टेलिग्राफका लागि सन् १९७३ मा बेइजिङ ब्युरो प्रमुख भएर गएकी थिइन्। 
 
होलिङग्रोथले एक अन्तर्वातामा भनेकी छन्, ‘संसार घुम्नबाहेक अरू केही कुरामा मैले खुसी महशुस गरिन्।’
 
एउटा सानो झोला बोकेर यात्रामा निस्कन रुचाउने होलिङग्रोथले झोलामा रहने सामग्री पनि अन्तर्वार्तामा खुलाएकी छन्। उनको झोलामा टुथब्रस, टाइपराइटर र आवश्यक परे एउटा रिभल्भर मात्र हुन्थ्यो। उनले रिपोर्टिङका क्रममा धेरै रात ट्रकमा बिताइन्। सैनिकहरूले खनेको सुरुङमा पनि उनका कयौं रात बिते। एकचोटि जाडो याममा मरुभूमिको चिसोबाट बच्न उनले टाउकोबाहेक बाँकी सबै जीउ बालुवामुनि पुरिएर रात काटेकी थिइन्। रिपोर्टिङका ती कठिन समयका लागि आफूलाई अभ्यस्त तुल्याउन उनी सामान्य समयमा पनि सुविधाबाट टाढै बस्न रुचाउँथिन्। कतिसम्म भने, हङकङस्थित आफ्नो घरमा पनि प्रायः खाटको मुलायम ओछ्यान छाडेर भुइँमा सुत्थिन्।
 
करिब २० वर्षअघि आँखाको ज्योति नगुमेको भए जिन्दगीको अन्तिम घडीसम्म संसार घुमेरै बिताइदिने उनको विचार थियो। ‘मलाई युद्धभूमिमा जान र त्यहाँबाट समाचार लेख्न निकै चाख लाग्थ्यो,’ उनले सन् २०११ मा आफ्नो सयौं जन्मदिनको पूर्वसन्ध्यामा टेलिग्राफलाई दिएको अन्तर्वार्तामा भनेकी छन्।
 
चुनौतीपूर्ण काममा रमाउने स्वभाव भएकी होलिङग्रोथले सन् १९८९ मा ८० वर्षको उमेरमा जे गरिन्, त्यसले संसारकै ध्यानाकृष्ट गरेको थियो। चीनको तियानमेन चोकमा भएको नागरिक प्रदर्शनमाथि सरकारले गरेको दमनको विरोधमा उनी दुई हातखुट्टाले च्याप्प समातेर ल्याम्पपोस्टमाथि उक्लेकी थिइन्। समाचार संकलन वा अन्य कार्यक्रममा भाग लिँदा ६० वर्ष सफारी सुट मात्र पहिरिएकी होलिङग्रोथले त्यस दिन तियानमेन चोकको ल्याम्पपोस्टमा चढ्दा पनि त्यही लुगा लगाएकी थिइन्। त्यतिबेला तियानमेन चोकमा विरोध गरिरहेका नागरिक ठूलो संख्यामा मारिएका थिए।
 
मध्य–बेलायतको केनिङटनमा सन् १९११ अक्टोबर १० जन्मिएकी होलिङग्रोथ सानै उमेरमा आफ्नो बुबालाई पछ्याउँदै बेलायत र फ्रान्सका ऐतिहासिक युद्धभूमिहरू पुगेकी थिइन्। उनका बुबा जुत्ता कारखाना चलाउँथे। ती ऐतिहासिक युद्धभूमिको भ्रमणलाई उनले आफ्नो जिन्दगीकै अविश्वमरणीय क्षण भनेकी छन्। सायद त्यही भएर, उनले कुनै देशको सिपाही नहुँदा–नहुँदै पनि आफ्नो जिन्दगी नै युद्धभूमिमै बिताइन्। 
 
उनले जुन करिअर छानिन्, त्यसमा उनको परिवारको समर्थन भने थिएन। आमाबुबा त उनले घरजम गरेको हेर्न चाहन्थे। तर, होलिङग्रोथको मनमा अर्कै धून सवार थियो। परिवारकै करकापमा एक जना केटासँग बिहको कुरा छिनिसकेपछि उनले त्यो सम्बन्ध तोडेर घोषणा गरिन्, ‘म पत्रकार बन्छु।’
 
‘मेरी आमालाई पत्रकारिताप्रति एकरत्ति रुचि थिएन,’ उनले टेलिग्राफसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘उहाँलाई पत्रकारले सही कुरा लेख्छन् भन्ने विश्वास नै थिएन।’
 
छोरीले लेखेका समाचार पढेर र उनले पत्रकारितामा पुर्याएको योगदानले उनलाई पछि आफू गलत रहेछु भन्ने लाग्यो होला, सायद।
 
होलिङग्रोथले चारवटा किताब पनि लेखेकी छन्– ‘द थ्री विक्स वार इन पोल्यान्ड’ (१९४०), ‘देयर इज अ जर्मन जस्ट बिहाइन्ड मी’ (१९४२), ‘द अरब एन्ड द वेस्ट’ (१९५२) र ‘माओ एन्ड द म्यान एगेन्स्ट हिम’ (१९८५)।
 
होलिङग्रोथले आफ्ना पछिल्ला अन्तर्वार्ताहरूमा भनेकी छन्, ‘म वृद्ध हुँदै गए पनि संसारमा जहाँसुकै युद्धहरू भइरहेका छन्।’ तर, ती युद्धको रिपोर्टिङ गर्न बोलाइँदैन भन्ने उनलाई थाहा थियो। तैपनि, उनी जिन्दगीको अन्तिम घडीसम्म पासपोर्ट र जुत्ता आफू सुत्ने ठाउँ नजिकै राखेर तम्तयार बसिन्। के थाहा, जानै पो पर्ने हो कि!

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी