‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र’

  • Get News Alerts

वैशाख १२ को भूकम्पपछि धेरैले व्यवसायिक धर्म निभाउन सकेनन्। केही बसवालाले राजधानीबाट घर फर्कने यात्रुसँग बढी भाडा लिए। केही पसलले कालो बजारी गरे। तिनको असली चरित्र भूकम्पले पर्दाफास गरिदियो। अर्काको पीडामा पनि पैसा कमाउने लालसाले व्यवसायिक धर्मबाट उनीहरू च्यूत भए।

त्यही भूकम्पले सिन्धुपाल्चोक नवलपुरका सुनबहादुर तामाङको असली चरित्रपनि पर्दाफास गरिदियो, साहस  र सहयोगीका पर्यायका रूपमा। ज्यानको प्रर्वाह नगरेर उनले आफ्नो होटलमा पुरिएका १४ जना विद्यार्थीलाई बचाए। शंकरापुर एकेडेमीका विद्यार्थी उनलाई जीवनदाता नै ठान्छन्।

४५ वर्षका तामाङले नवलपुरमा ६ महिना अघि होटल सुरू गरेका थिए। नामै नराखेको उनको होटलमा ६० जनासम्मलाई लजसहितको सुविधा थियो। वर्षको ४० हजार रुपैयाँमा उनले घर भाडामा लिएका थिए।

दुई छोरामध्ये जेठा मलेसिया छन्। कान्छा छोरा काठमाडौंमै घरजम गरी बसेपछि बाँकि जीन्दगी कटाउने मेसोको रूपमा तामाङ दम्पत्तिले होटल चलाएका थिए। बुढाबुढी दुवैले काम गरेर होटल चलाइरहेका थिए।

मलेसियामा काम गरिरहेका छोराले पनि घर फर्किएपछि होटल चलाउनमा सहयोग गर्ने वचन दिएका थिए।

होटल राम्ररी चलिरहेको थियो। चैत १५ गते शंकरापुर एकेडेमीका एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नवलपुरमा १ महिने प्राक्टिकल गर्न पुगे। कलेजले उनीहरू बस्ने होटलको प्रवन्ध सुनबहादुर कै होटलमा मिलायो। १९ जना पाहुना महिना दिनका लागि आएपछि तामाङ दम्पति पनि खुसी भए।

मिजासिला स्वभावका तामाङसँग विद्यार्थी घुलमिल हुन थाले। घुलमिलसँग ग्राहक र होटलवालामा आत्मियता बढ्यो। ‘बहिनीहरू होटल होइन यो घर हो हाम्रो भन्थे’ सुनबहारदुरले सम्झिए, ‘तपाईँहरूलाई छोडेर काठमाडौं कसरी जाने होला।’

विद्यार्थीहरू भान्छासम्मै पुग्थे। खाना बनाउन सघाउँथे।

वैशाख १२ गते पनि विद्यार्थीलाई बिहानको खाना खुवाएर तामाङ दम्पत्ति खाना खाने तरखर गर्दै थिए। जमिन हल्लिन थाल्यो। सुनबहादुर अलमलिए। हत्तपत्त श्रीमतीले हात समातेर उनलाई बाहिर निकालिन्। ‘उसले मैलेभन्दा पहिले नै थाहा पाई’, श्रीमतीतिर हेर्दै उनले भने।

बाहिर निस्कँदा सुनबहादुरको टाउको र खुट्टामा चोट लाग्यो। बाहिर निस्केकामात्र के थिए उनीहरुको होटल भूकम्पको झड्कासँगै जमिनमा मिसियो। कोठामा बसिरहेका १६ जना विद्यार्थी घरभित्रै पुरिए।

उनको होटलमात्र भत्किएको थिएन। आसपासमा घर पनि भत्किएका थिए। मानिसहरू चिच्याउँदै खुला ठाउँमा जम्मा भए। घरमा पुरिएकालाई बचाउन कोही तत्पर भएनन्। सबैलाई आफ्नो ज्यानको पीर थियो।

होटल भत्किएको भन्दा छोराछोरीसमानका विद्यार्थी आफ्नै होटलमा पुरिएकोमा सुनबहादुरलाई चिन्ता लाग्यो।

तर, सुनबहादुरले आफ्नो ज्यानको पीर भन्दा पुरिएका आफ्ना पाहुनालाई बचाउन प्रयत्न गरे। भित्र पुरिएका नानीहरू ‘अंकल बचाउनुस्, बचाउनुस्...’ भन्दै कराइरहेका थिए। सुनबहादुर त्यही आवाजलाई निशाना बनाउँदै माटो र ढुंगा पन्छाउन थाले।  साधन नभएपछि हात लागेको थालले नै भग्नावशेष हटाए। आफै रक्ताम्मे बनेका उनले पुरिएका १४ विद्यार्थीलाई बाहिर निकाले। २ दुई जनालाई भने बचाउन सकेनन्। ‘तपैंहरूलाई छोडेर कसरी काठमाडौं जाने होला भन्थे, दुई जना नानीहरूले यही घरमा हामीलाई सधैँका लागि छोडेर गए’, सुनबहादुर भावुक बने। 

अर्को दिन गम्भीर घाइते भएका विद्यार्थीलाई हेलिकोप्टरले काठमाडौं लग्यो। केही गाडीबाट काठमाडौं लागे। होटलमा पुरिएका एकजनाका नवलपुरमै दाहसंस्कार गरियो। उनको लास जलाउन सुनबहादुरले नै ६० जना मलामी डाके। अर्को शव पनि विद्यार्थीका आमाबुवालाई जिम्मा लगाए।

घरभित्र पुरिएका विद्यार्थीका सामान लत्ता कपडा निकालेर ५ दिनपछि उनी आफ्नो र श्रीमतीको उपचार गर्न राजधानी गए। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गरेपछि केही दिन छोरासँगै बसे।

भूकम्पको पीडा काठमाडौंमा पनि उस्तै थियो। कति घर भत्किएका थिए, थुप्रै चर्किएका। विपद्का बेला छोरासँगै  बस्ने मन त उनलाई पनि थियो। तर, होटलमा बसेका विद्यार्थीको सामान फर्काउने पीरले पोल्यो र उनी नवलपुर फर्किए।

***

नवलपुरमा भत्किएको होटलको छेउमा जस्ता पाताले छोपेर उनले टहरो बनाएका छन्। त्यही टहरोमा बुढाबुढी बस्छन्। सरकारी राहतका लागि सुनबहादुरले लाइन नलाग्ने बताए। ‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र!’ उनले भने। उदार दिलका उनको होटलमा धेरैले उधारो तिर्न बाँकि छ। उनलाई त्यो पैसा तिर्लान् भन्ने लागेको छैन्। ‘सबैलाई अहिले समस्या छ,  तिर्लान् भन्ने आस छैन’ उनले भने।

गाउँकाले उधारो नतिरेपनि शंकरापुर एकेडेमीका विद्यार्थी भने आफ्नो उधारो तिर्न मंगलबार नवलपुर पुगे। विद्यार्थी टोलीका संयोजक पवन न्यौपानेले हिसाब किताब गरेर उनलाई पैसा दिए।

विदा हुने बेलामा सुनबहादुरले पवनसँग भने,‘घाइते नानी बाबुहरुको राम्ररी ख्याल गर्नू। आफूपनि सुरक्षित बस्नू,’ बाबुले छोरालाई सम्झाए जसरी नै उनले भने।

पवनले बुझेको संकेतमा टाउको हल्लाए। अभिवादन गरेर विदा मागे।

हामी भने उनका जीवनका अरू रङबारे गफिदैं थियौं। आमाको हात भाँचिएपछि घरायसी कामधन्दामा लाग्नु पर्ने भएकाले २ कक्षापछि स्कुल जान छोडे। जम्मु कश्मिर पुगेर मजदुरी गरे। फेरि गाउँमै आएर ठेकापट्टा गरे।

जिन्दगीभरी सँधै उदार दिल लिएर बाँचेकाले सन्तुष्टि लागेको उनले बताए।

‘भूकम्पपछि मलेसियामा रहेको छोराले घर आउँछु बुवा भनेको थियो,’ उनले भने, ‘घर त आउला तर बस्ने घर त छैन्? बरु एक दुई महिना उतै बसोस्।’

कुराकानी चलिरहँदा उनको टहरो हल्लिन थाल्यो। धक्का ठूलै थियो। छानामा लगाएका काठ समातेर हामी भित्रै बस्यौं। केही छिनमा धरती हल्लिन छोड्यो। सँगै बाहिर निस्कियौं। उनले भत्किएको होटलको भग्नावशेष  हेरे। आज उनको छाप्रो भत्किएन, न कोही विद्यार्थी नै पुरिए। उनी निश्चिन्त देखिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी