बनावटी सुन्दरता

  • Get News Alerts

पारुललाई आफ्नो बनावटी सुन्दरतामा गर्व मात्र होइन घमण्ड पनि थियो, तर आज त्यही सुन्दरता उसको मृत्युको कारण बन्यो। बेहुलीको श्रृङ्गार गरेकै अवस्थामा उसको लास फेला पर्‍यो। जग्गेमा बस्न जान लागेका बेला उसको मृत्यु कसरी भयो?

घर परिवारले बुझ्न सकेका थिएनन्। बेलुका ६ बजेतिर ऊ घरबाट निस्केको हुनुपर्ने परिवारको अनुमान थियो। त्यसपछि नै उसको खोजी शुरु भयो। तर भोलिपल्ट बिहान उसको मृत शरीर बालाजु बाइपास माथिको खोल्सामा भेटियो। खोज्न त साँझदेखि नै सबै लागेका हुन् तर यतातिर कसैको ध्यान गएन। उसका साथीहरु र नातेदारहरुसँग सोधपुछ भयो, जानसक्ने ठाउँमा मान्छे पठाइयो, तर घर माथिको जंगलतिर भने कसैले विचार गरेनन्। बिहान पानी भर्न आएको ट्यांकरको ड्राइभरले रातो कपडा देखेपछि पो हल्लीखल्ली भयो। जंगली जनावरले चोक्टा लुछेर विकृत बनाएको अवस्थामा बेहुलीको शव भेटियो।      

हिजो साँझ राजीखुसीले नै पारूलको विवाहको तयारी भइरहेको थियो। साँझ करिब ६ बजेतिर बेहुलाले उसलाई फोन गरेर घरबाट जन्ति निस्केको खबर दिएको थियो। त्यसपछि पारुलले नै घरका अरुलाई खवर गरेकि थिई। जन्ती हिँडेको खबर आउनासाथ बेहुली पक्षका सवै तम्तयार बन्न थालेका थिए। हुनेवाला सालीहरुको उछलकुद शुरू भइसकेको थियो। दुलहीकी आमा मेकअपमा फाइनल टच गर्दै थिइन्। तर त्यसकै आसपास दुलही कतिखेरी बाहिर निस्की भन्ने चाहिँ कसैले पत्तै पाएन। त्यसको एकछिन पछि ‘बेहुली कोठामा छैन त’ भने पछि पो सवै झसङ्ग भए। त्यसपछि  सबैतिर नजर लगाईयो उसलाई कतै भेटिएन। आमा, बाबु, दाजु सवैको होसहवास उड्यो। बहिनी चाहिँ लगातार फोन गर्न थाली, तर उठेन।

बेहुली एकछिन अघि मात्र ब्युटी पार्लरबाट फर्किएकि थिई। त्यस बेलासम्म ऊ सवैसँग कुरा गरिरहेकी थिई। कसैलाई उसले कुनै समस्या सुनाएकि थिइन। तै पनि तीन चार दिनदेखि उसमा केही निरासा र छटपटी भने देखिन्थ्यो। विवाह तयारीको थकान र माइती छोडेर जानु पर्दा अनायासै आउने स्वभाविक उदासीपन होला भन्ने अनुमान थियो। आफ्नै ब्वाइफ्रेन्डसँग विवाह हुन लागेकोले केटाबारे उसको चित्त दुखाइ हुने स्थिति थिएन। त्यसैले पनि पारुलको अस्वभाविक छटपटीतिर कसैले महत्व दिएको थिएन। तर जन्ति हिँडेको खबर आएको केही क्षणमै ऊ किन हराई भन्ने सवैलाई परेको थियो। ऊ अचानक घरबाट गायव भएपछि सवै अक्क न बक्क परे। कतै ‘एक फूल दो माली’ त भएन भनेर कसैकसैले शंका पनि गरे। यस्तै शंकै शंकामा विभिन्न ठाउँमा खोजी गरियो।मध्य रातसम्म बेहुली कतै फेला नपरेपछि जन्ति त्यसै फर्कियो। दुवैतर्फबाट प्रहरीमा जाहेर भयो।

 जन्ति आउन लागेका वेला घरबाटै बेहुली गायव भएको कुरा शुरुमा त प्रहरी चौकीमा हँसीमजाकको विषय जस्तो बन्यो। तर विहानै वेहुलीको लास नै भेटियो भने पछि भने प्रहरी तात्तियो। हतारहतारमा इन्सपेक्टरको कमाण्डमा टोली खटाइयो। कडा विषको प्रयोगबाट उसको मृत्यु भएको पोष्टमार्टम रिेपोर्ट आयो। तर हत्या हो कि आत्महत्या हो भन्ने कुरा एकिन गरिएको थिएन। उसको मृत्युको पछाडि के कारण थियो भन्ने पनि पत्ता लागिसकेको थिएन।

प्रारम्भिक अनुसन्धानबाट प्रहरीको रिपोर्ट आत्महत्या हुनसक्ने निष्कर्षतिर ढल्किदै थियो। तर परिवार र स्थानीय बासिन्दाले ‘यो हत्या नै हो, छानविन गरेर कारबाही गर’ भनेर कडा दवाव दिन थाल। माथिबाट पनि दह्रै दवाव आए पछि हत्याको एंगललाई मेजर मानेर प्रहरीले अनुसन्धानमा तीव्रता दियो।

विहे हुने दिन साँझ तीन चार बजे देखि पारुल अस्वभाविक रुपमा पटक पटक बाथरुम गएको र मोवाइलबाट गुनगुन गरेर कसैसँग कुरा गरेको जानकारी पाए पछि प्रहरीले अनुसन्धानको पहिलो सूत्र यसैलाई बनायो। तर पारुलको मोवाइल कहाँ छ भन्ने कसैलाई थाहा थिएन। प्रहरीले घटनास्थल वरिपरि प्रहरी कुकुर समेत प्रयोग गरी अनुसन्धान गरे पनि  मोवाइल सेट भेटिएन।

फोन नम्बर र सेटको आइएमइआइ नम्बरका आधारमा ट्र्याक गर्दै जाँदा नयाँबजार छेउछाउमा सो मोवाइल प्रयोग भइरहेको पाइयो। त्यसपछि प्रहरी उत्साहित हुँदै सो ठाउँलाई घेरा हालेर  सेटसहित एक युवालाई समातेर ल्यायो। त्यस युवकले घटनास्थल छेउबाट मोवाइल उठाएर ल्याएको साविति बयान दिए पनि लासका वारेमा थाहा नभएको जिकिर गर्यो। उसले आफू त्रिशुलीबाट मोटरसाइकलमा फर्किदै गर्दा पानी पर्न लागेकोले त्यहीँनिर रेनकोट लगाउन रुखको छेउमा उभिएको र झाडीमा प्लाष्टिकको झोलाभित्र पिलिक पिलिक गरिरहेको देखेर हेर्दा मोवाइल भेटेकोले लिएर आएको बयान दियो। त्यसभन्दा बढी केही थाहा छैन भन्दै उसले हात जोड्यो।

उसलाई अँध्यारो कोठामा लगेर रामधुलाई गर्दा पनि यसभन्दा बढी केही बकेन। बरु उसले आफू त्यस ठाउँमा पुग्दा एउटा सेनाको जस्तो जीप त्यहाँ रोकि राखेको र आफू पुग्नासाथ त्यहाँबाट हिँडेको जानकारी दियो। साथै आफू बाइपास चोकतिर मोटर साइकलमा आइरहँदा त्यही गाडी पुनः घटनास्थलतिर गएको देखेको शंकास्पद बयान दियो। उसले गाडीको नम्बरका अन्तिमका दुई अंक पनि टिपायो। प्रहरीले त्यो युवालाई नियन्त्रणमै राखेर बाइपास चोकको सिसि क्यामेराका फुटेजहरू हेर्दा साँच्चै नै त्यही समयमा सो गाडी २५ मिनेटको फरकमा दुईपटक घटनास्थलतिरबाट चोकपटी आएको देखियो। अनुसन्धान गर्दै जाँदा त्यो गाडी सेनाको एकजना कर्णेलले प्रयोग गरेको र त्यस दिन पनि उसैले चलाएको पत्ता लाग्यो।

एउटा टोलीले आफ्नो अनुसन्धान सेनाको कर्णेलतर्फ सोझ्यायो भने अर्को टोलीले मृतकको मोवाइलमा भएका गतिविधि अध्ययन गर्न थाल्यो।

त्यस दिन पारुलले पटक पटक एउटा नम्बरमा फोन गर्न कोशिश गरेको तर कन्ट्याक्ट हुन नसकेको देखियो। त्यो नम्बरमा उसले त्यसअघि पनि बराबर फोन गर्ने गरेको पाइयो। त्यस नम्बरमा डि आर मात्र लेखिएको थियो। त्यो नम्बरमा त्यस दिन  ‘अर्जेन्ट छ भेट्नु पर्‍यो’ भनेर सन्देश पठाएको पनि पाइयो। तर त्यो नम्बर कुन लोकेसनमा छ भन्ने प्रहरीले कुनै सुईँको पाउन सकेन। साथै त्यो दिन अर्को एक नम्बरमा उसले धेरैपटक फोन गरेको पाइयो। त्यस नम्बरमा केही समय कुरा हुने गरेको देखियो।  त्यो नम्बर एउटा अस्पतालको रहेछ। तर अस्पतालको रिसेप्सनको नम्बर भएकाले कसले कुरा गरेको थियो भन्ने एकिन भइसकेको थिएन। अर्को एउटा मोवाइल नम्बरमा दुई तीन दिनदेखि लगातार कुरा भइरहेको पाइयो। प्रहरीले त्यसमा सम्पर्क गर्दा आयुषा नामकी पकनाजोलकी केटीले फोन उठाई। उसले आफू पारुलको साथी भएको बताई। प्रहरीले बोलाउनासाथ ऊ उपस्थित भएर बयान दिई। उसले भनी, ‘पारुल एक हप्तादेखि निकै चिन्तित थिई तर कारण थाहा छैन।’ पारुलले आफूसँग एक हप्ता अघि एक लाख रुपियाँ सापटी मागेको र दिन नसक्दा उसले पटकपटक फोन गर्ने गरेको बताई। तर उसले के प्रयोजनका लागि पैसा मागेकि  थिई भन्ने कुरा आफूलाई थाहा नभएको बताई। तै पनि उसले केही ढाँटिरहेकि छ भन्ने छनक प्रहरीलाई भइरहेको थियो। त्यसैले एक जना घुमुवालाई निगरानी गर्ने जिम्मा दिएर अनुसन्धानकर्ता प्रहरी अर्कोतिर मोडिए।

उनीहरुले पारुल पैसा जम्मा गरेर अरू कुनै केटासँग भाग्न लागेकि थिई कि भनेर पनि विचार गरे। तर फोनमा त्यसलाई सपोर्ट गर्ने कुनै जानकारी पाइएन। साथै पारुलसँग विहे गर्न लागेको केटासँग सोधपुछ गर्दा पनि पारुलको अरु केटासँग सम्बन्ध हुनसक्ने कुरा आफूले सोच्नै नसक्ने बतायो।

त्यसपछि प्रमुख अनुसन्धानकर्ता डिएसपीले घटनास्थलमा शंकास्पद रुपमा देखिएको गाडीको आधारमा सेनासँग समन्वय गरेर कर्णेलसँग सोधपुछको प्रयास गरे। शुरुमा कर्णेलले प्रहरीलाई बयान नदिने अडान लिए। तर त्यसो गर्दा उनै माथि शंका बढ्ने भएकाले स्वभाविक रुपमा बयान दिन उचित हुने सुझावका आधारमा आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिए।

आफूलाई हत्याको अभियुक्त बनाउन लागेको थाहा पाएर कर्णेल निकै झस्किए। प्रहरीको सिलसिलेवार प्रश्नको जवाफ दिनुको साटो घटनास्थल आफ्नो कार्य क्षेत्र भित्र पर्ने भएकाले जुनसुकै वेला पनि त्यहाँ ओहोरदोहर गर्न सक्ने तर बेहुली मृत्यु प्रकरणबारे आफूलाई केही थाहा नभएको भनेर टुङग्याउन खोजे। यसबाट बेहुली मृत्यु प्रकरणमा पक्कै पनि कर्णेलको  हात छ भन्ने अनुसन्धान टोलीलाई महसुस हुनथाल्यो। त्यसपछि प्रहरीले अनेक बहानाबाजी गर्दै उनको बयानको समय लम्ब्याउँदै लग्यो। प्रहरीले छोड्दैन, म झन फस्न सक्छु भन्ने भए पछि उनले आफ्ना केटाहरुलाई बाहिर पठाएर शान्तसँग जवाफ दिन थाले।

उनले भने, ‘त्यसदिन म मास्तिरबाट त्यता आउँदा हावासहित अलिअलि पानी पर्न लागेको थियो। त्यहाँनिर पुग्दा बाटोमुनी खोल्सामा कपडा हो वा अरु केही चिज हल्लिए जस्तो लाग्यो। अलि अँध्यारो हुन लागिसकेको थियो। मैले साइडमा गाडी रोकेर हेरेँ तर त्यहाँ थिएन। ढुंगामा छलियो वा हावाले उढायो म भन्न सक्तिनँ। त्यसपछि म हिंडेँ। तर मेरो मनले मानेन। त्यहाँ मैले केही देखेकै हो, त्यो के थियो होला भन्ने भयो। मान्छे नै थियो कि अरु नै केही थियो होला? मेरो मनमा खुलदुली बढ्दै गयो। जतिजति म टाढा पुग्दै गएँ मेरो मनको खुलदुली झन कडा हुँदै गयो। त्यहाँ के चिज थियो, एकिन गर्नुपर्छ भन्ने भयो। म बाइपास चोक हुँदै रिंगरोडनजिक निवासमा पुगेँ। मलाई अझै छटपटी भई नै रह्यो। घरपुग्नै लाग्दा मलाई सहनै नसक्ने गरी खुल्दुली भयो। त्यो के हो, हेर्नै पर्छ भन्ने भयो। सहयोगीले निवासको ढोका खोलिसकेको थियो, तर मैले भित्र नगई गाडी घुमाएर वाइपासतिरै हुँइक्याएँ।

त्यो ठाउँमा पुग्दा अँध्यारो भइसकेको थियो। गाडीबाट झरेर डिलमा गएर फेरि हेरेँ केही देखिएन। मोवाइलको टर्चलाइट बालेर हेरेँ रातो सल थियो। मैले तानेर हेरेँ। सलनै हो भन्ने एकिन भएपछि मेरो मन शान्त भयो। त्यसपछि मैले केही विचार गरिनँ। म घरतिर फर्किएँ।’

उनको कुरा त प्रहरीले ध्यानपूर्वक सुन्यो तर पत्याएन। घटनामा यही व्यक्ति सम्लग्न हुनुपर्छ भन्ने कुरामा प्रहरी अधिकृतहरुलाई लगभग एकिन भयो। तर कसरी प्रमाणित गर्ने भन्ने ठूलो चुनौती पनि थियो। ऊ सेनाको ठूलो अफिसर हो, सहयोग नगर्न सक्छ। फस्न लागे जे पनि गर्न सक्छ भन्ने शंका उनीहरुमा थियो।

प्रहरीले थप केही सोध्न नपाउँदै कर्णेलले भने, ‘तपाईँहरुलाई के सहयोग चाहिन्छ म तयार छु, नहिचकिचाउनु होला। तपाईँहरुको लागि मेरो ढोका २४ सै घण्टा खुला छ। तर यो घटनामा मेरो कुनै सम्लग्नता छैन। शंका लागेका वस्तु पटकपटक दोहोर्‍याएर हेर्नुपर्ने मेरो व्यक्तिगत समस्या हो, यो मेरो डिजिज नै हो, औषधि नै खाइरहेको छु। त्यसैकारण पनि म दोहोर्‍याएर त्यहाँ गएको हो। तपाईँहरुलाई यसमा पनि शंका लागेमा मेरो डाक्टरसँग पनि कुरा गर्न सक्नु हुन्छ, तर प्राइभेसी राख्नु होला।’ 

यो सुनेर प्रहरीहरु अलमलिए। अरुलाई भए यति जानकारी आइसकेपछि कर्यापकुरुप पारेर थुनिसक्थे। तर करसाव’लाई छुन सकेनन्, बाहिरसम्म पुर्‍याउन गए। त्यसवेलासम्म सेनातिरबाट कुनै हस्तक्षेप भएको पनि थिएन। तैपनि प्रहरीहरुको मनमा भारीपना आइरहेको थियो। प्रमुख अनुसन्धानकर्ता डिएसपीलाई त दाँतमा ढुंगा नै लागेको महशुश भयो। के गरौँ के गर्दै छटपटिए।

माथिल्लो निकायमा जाहेरी गर्दा अस्पतालसँग समन्वय गरेर अघि बढ्ने निर्देशन पाए। त्यसपछि उनले कर्णेलको मेडिकल फाइल मागे। साच्चि नै उनले विगत दुई महिनादेखि मानसिक रोगको औषधि खाइरहेको पाईयो। उनको फाइल हेरेपछि डाक्टरले भने, ‘कर्णेललाई अब्सेसिव कम्पलसिव डिसअर्डर (ओसिडी) को औषधि दिइराखेको रहेछ। यस्ता मानिस विरामी जस्ता देखिदैनन्, सामान्य रुपमा काम गरिरहेका हुन्छन्। तर उनीहरुको बानी व्यहोरा अलि फरक हुन्छ। घर वा अफिसको चावी वा सेफको चावी लगाए पछि दोहोर्‍याएर हेर्ने धेरैको बानी हुन्छ तर ओसिडी भएका मानिसहरु चाहिँ चार पाँच पटकसम्म फर्किफर्कि हेर्ने किसिमका हुन्छन्। कतै केही शंकास्पद बस्तु देख्दा पनि फर्किफर्कि हेर्छन्। यसरी नहेरेसम्म छटपटी भइरहने भएकाले टाढा पुगिसेपछि पनि फर्केर आउँछन्। यस्ता मानिस कोही हात धोइरहने, कोही पैसा, कम्प्युटर पनि धुने, कसैले छोयो भने घरमा गएर नुहाउनै पर्ने प्रबृत्तिका हुन्छन्। यस्तै रोगबाट कर्णेल पनि पीडित भएको देखिन्छ।’

डाक्टरको कुरा सुनेपछि अनुसन्धान अधिकृतहरु फेरि रनभुल्लमा परे। उनीहरुले नयाँ शिराबाट अनुसन्धान अगाडि बढाए। मोवाइललाई प्लाष्टिकमा बेरेर राखेकोले उसको मृत्युको रहस्य पनि त्यही मोवाइल भित्र नै हुनुपर्छ भन्ने मान्यता राखेर मोवाइलका सबै सूचनाहरु खोतल्न थाले।

पारुलले अस्पतालमा र डिआर नामको व्यक्तिलाई पटक पटक फोन गरेको पाइएको थियो। डिआर भनेको डाक्टर हुनुपर्ने अनुमान गरे। यसैको आधारमा उनीहरुले पारुल अरु कसैबाट गर्भवती भएर एवोर्सन गराउन पो खोजेकि थिइ कि भन्ने पनि शंका गरे। तर पोष्टमार्टम रिपोर्टमा यसवारेमा कुनै जिकिर थिएन।  

त्यो मोवाइलमा अटोमेटिक कल रेकर्डर एप प्रयोग गरेको पाइयो। यसबाट महत्वपूर्ण जानकारी हात लाग्ने देखेर उनीहरु निकै उत्साहित बने। त्यसमा उनीहरुले आयुषा र पारुलबीचको फोन कुराकानीका पछिल्ला रेकर्डहरु फेला पारे। यी रेकर्डहरु सुनेपछि  पारुलले किन त्यतिका पैसा मागेकि थिई भन्ने स्पष्ट भयो।

पारूलले एकातिरको इम्प्लान्ट फुटेर समस्या भएकोले जचाउन जाँदा डाक्टरले अर्को पनि फुट्न लागेको र दुवैको मेनेज गर्न दुई लाख जति खर्च लाग्ने भने पछि ऊ आँत्तिएर पैसा खोज्न थालेको थाहा भयो। विहेको दिन नजिकिई सकेको थियो, सार्न पनि नमिल्ने। डाक्टरले तपाईँ तयार हुनुहोस् जसरी पनि म ट्रिटमेन्ट गरेर मेनेज गरिदिन्छु भनेको तर विदेश गएको डाक्टर समयमा फर्केर आइनपुगेकाले समस्या परेको बुझियो।

इम्प्लान्ट कै  कारण अत्तालिएर विहे अघि पारुलले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगायो। यसबारे सोधपुछ गर्दा परिवारका कसैले थप जानकारी दिन सकेनन्। तर प्रहरीले मोवाइलमै सुसाइड नोटको भिडिओ रेकर्ड फेला पार्‍यो।

आफैंले खिचेको सो भिडिओ रेकर्डमा पारुलले भनेकि थिई, ‘म आफ्नै शरीरबाट सन्तुष्ट थिइनँ, बनावटी नै भए पनि सुन्दरता मेरो प्राथमिकतामा थियो। त्यसैले बढी आकर्षक हुन मैले खाइनखाइ जोगाएको पैसाले दुवैतिर इम्प्लान्ट राखेकी थिएँ। तर फ्रान्सेली कम्पनी पोली इम्प्लान्टका यी सिलिकनका डल्ला नक्कली परेछन्। दुई वर्ष नपुग्दै विवाहकै अगाडि फुटेर चुहिन थालेपछि मेरो सौन्दर्य पनि गयो, एलर्जिले बसी नसक्नु भो। परिवारमा कसैलाई थाहा थिएन, भनिहाल्न पनि सकिनँ।

मैले यसलाई हटाएर फेरि अर्को इम्प्लान्ट राख्न निकै कोशिस गरेँ। तर भन्नेवित्तिकै पैसा पुगेन, पछि डाक्टर नै फेला परेनन्। कोशिस गर्दागर्दै म अप्ठेरोमा फसेँ। समयमा उपचार गर्न नसक्दा विवाहकै रात मेरो ठूलो वेइज्जत हुन्छ भन्ने लाग्यो। म निकै आँत्तिएँ। मर्नुबाहेक केही उपाय थिएन। आफ्नै गल्तीले विष खाँदैछु, कोही दोषी छैन। बनावटी सुन्दरतामा रमाउनु मेरो भूल थियो। विदेशी मोडलको प्रभावमा परेर ठूलो र आकर्षक छाति देखाउन मैले राखेका सिलिकन इम्प्लान्ट नै मेरो मृत्युका कारण बने’ भन्दै विषको सिसि मुखमा खन्याएको देखियो। त्यसपछि अनुसन्धान गर्नुपर्ने बाँकि नै केही रहेन।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा