यो कविता मैले लेखेको होइन ...

  • Get News Alerts

हरपल यात्रा गर्ने भएता पनि पानीले उसको यात्रा संस्मरण कहिल्यै लेखेन। लेख्दो हो त सायद यस्तो लेख्थ्यो होलाः 

‘म समुद्रभरि ढकमक्क फुलेको थिएँ। आफू गहिरो छु भन्ने बिर्सिएँ, मान्छेले झैं। मलाई पनि उचाइमा पुग्न मन लाग्यो। उचाइमा पुग्न मैले आफ्नो रुप बदलें, मान्छेले झैं। र, बाफ बनें। जतिजति माथि जाँदै गएँ, उतिउति गह्रौं हुन थालें, चिसो हुन थालें। थाकें। आकाशमा ठूलो रुख भएको एउटा चौतारी रै’छ। त्यही चौतारीको रुखको हाँगामा सुतेर आराम गर्दै थिएँ, कसले हाँगा हल्लाइदिएछ कुन्नि, म टुक्रिएर झरें। झर्दै गर्दा त मेरो रुप बदलिसकेको रहेछ। झर्दा म आफ्ना असली रुपमा आएँ, मान्छेझैं। भुइँमा आएपछि मैले थाहा पाएँ, म फरकफरक ठाउँमा फरकफरक रुपमा टुक्रिएछु। मलाई सिङ्गो आफूलाई भेट्न मन लाग्यो। त्यसैले हतारिँदै बगें। भत्काउँदै बगें। भत्किँदै बगें। जब म फेरि ठूलो आकारको भएँ, तब म अर्कै भएँ। म पहिलेको म रहिनँ। मलाई मेरो औधी याद आयो। त्यसपछि त्यो सुरुको आफूलाई भेट्न म वर्षौंदेखि यही यात्रा गरिरहेको छु...।’

हरपल यात्रा गर्ने भएता पनि कविताले आफ्ना यात्रा संस्मरण कहिल्यै लेखेन। लेख्दो हो त कस्तो लेख्थ्यो होला?

मलाई लाग्छ, कविताले गर्ने यात्रा र पानीले गर्ने यात्रा जुम्ल्याहा यात्रा हुन्।

 

सायद उसले सुरुमा एउटा सिङ्गो कविता लेखेको थियो होला। सायद अस्तित्वमा त्यो सिंगो कविता ढकमक्क फुलेको थियो। सायद कवितालाई पनि उचाइमा पुग्न मन लाग्यो। कविताले पनि रुप बदल्यो होला। अनि, माथि पुग्यो होला। गह्रौं भयो होला। थाक्यो होला। आराम गरिरहेका बेला कसैले हल्लाइदियो होला र झ¥यो होला। टुक्रिएर फरकफरक ठाउँमा पुग्यो होला। उसलाई पनि सिङ्गो आफूलाई भेट्न मन लाग्यो होला। भेला भएर फेरि एउटा सिंगो कविता बन्यो होला तर सुरुको जस्तो बनेन होला। कवितालाई कविताको औधी याद आयो होला। त्यसपछि त्यो सुरुको आफूलाई भेट्न कविता वर्षौंदेखि त्यही यात्रा गरिरहेको होला।

टुक्रिएको त्यो कविताले यसरी फरक समयमा फर कफरक ठाउँबाट बग्ने क्रममा केही टुक्रिएका मान्छेलाई छोयो, भिजायो। त्यसैले फरकफरक समयमा फरकफरक ठाउँका कविहरुले फरकफरक भाषामा कविता लेखिरहेका छन्। र, यो यात्रामा हामी आज यहाँ आइपुगेका छौं। र, आज यो समयममा फरकफरक ठाउँमा बाँचेर, फरकफरक भाषामा हामी कविता लेखिरहेका छौं।

बाहिर फरक देखिए पनि यी सारा कविता त्यही एक विशाल कविताको अंश हो जस्तो लाग्छ मलाई।

त्यसैले मलाई लाग्छ, मैले लेखेका यी कविता मैले ले खेका होइनन्। मद्वारा लेखिएका हुन्। मैले कति ठाउँमा ‘मेरा कविता’ भनें हुँला, लेखें हुँला। मेरो यो अहङ्कारका लागि म सधैंभरिलाई माफी माग्छु।

यदि मैले चाहँदा कविता लेख्न सक्ने भए त म हरेक दिन कति धेरै कविता लेख्दो हुँ! हृदयमा नापेर नसकिने खालिपन छ, त्यो ठाउँ कविताले भर्दो हुँ। बाँचेर नसकेको विपना र बाँच्न नसकेको सपना लेख्न मन छ, त्यो लेख्दो हुँ।

तर, कविता त उसले लेखाउने रहेछ, जसले मेरो हुनु लेख्यो। हुनुजत्तिको सुन्दर कविता अरु के नै होला र?

हुनु पनि कहीँ नयाँ हुन्छ र?

दुखेर रोएको पहिलो मान्छे होइन म। खुसीले फुलेको पहिलो मुस्कान मेरो होइन। अहिले म कसैलाई पहिलो पटक प्रेम गरिरहेको छैन। मलाई छोडेर जानेहरुले मलाई पहिलोचोटि छोडेका होइनन्। जब यी कुनै अनुभूति नयाँ होइनन् भने तिनै अनुभूति लेख्न खोजेका मैजस्ता यी कविता कसरी नयाँ हुन सक्छन्?

हुनु पनि कहीँ पुरानो हुन्छ र?

यस्तरी त म कहिल्यै रोएको थिइनँ। यति खुसी पनि कहिल्यै भएको थिइनँ। यति धेरै प्रेम पनि कहिल्यै गरेको थिइनँ। मलाई यस्तरी कहिल्यै कसैले छोडेको थिएन। जब यी सबै अनुभूति नयाँ हुन् भने तिनै अनुभूतिलाई लेख्न खोजेका मैजस्ता यी कविता कसरी पुराना हुन सक्छन्?

ऊ आफूलाई भेट्न जाँदा म भएर हिँड्दो रहेछ, मलाई छोएर वा भिजाएर। कहिलेकाहीँ हिँडिरहँदा, मोटरसाइकल कुदाइरहँदा, हिँडिरहेको गाडीमा बसिरहँदा, गीत सुनिरहँदा, नाचिरहँदा, केही नगरिरहँदा मेरो दिमागमा केही वाक्य झुप्पाझुप्पामा आउँछन्। मलाई अचानक आनन्दको रंगले भरिएको तरङ्गले छुन्छ। म ती झुप्पालाई जे भेट्छु, त्यसैमा लेख्छु। केही नभेटे मोबाइलमा आफू तिनै वाक्य बोलेर रेकर्ड गर्छु। केहीबेर पछि त्यो तरङ्ग हराउँछ अनि म सोच्छु, मैले लेखेका वा मोबाइलमा रेकर्ड गरेका यी वाक्य कसका हुन्? यी शब्दलाई यस्ता वाक्यमा बुनेर कसले पठायो? फेरि मलाई नै किन पठायो? यदि यी वाक्य मेरा हुन् भने अब मैले त्यसमा अरु थप्न खोज्दा किन सक्दिनँ? यदि थप्न सकें भने पनि पछि थपेका किन प्रस्टै छुट्टिने गरी अर्कै रङ्गका देखिन्छन्? मैले ती झुप्पामा अरु त्यस्तै केही थप्नका लागि मसँग एउटा मात्र उपाय बाँकी रहन्छ : त्यही तरङ्ग पर्खिनु। जुन दिन फेरि त्यस्तै हुन्छ अनि मात्र म उस्तै स्वादका वाक्य लेख्न सक्छु। कहिले काहीँ यो दुई समयको बीचको फरक दुई वर्षभन्दा बढी पनि हुन्छ। अनि पो बुझ्छु म : कविता मैले लेख्ने होइन रहेछ, मद्वारा लेखिने पो रहेछ।

मेरो गाउँमा एक जना दिदी हुनुहुन्थ्यो, जो जन्मैदेखि बोल्न सक्नुहुन्नथ्यो। राम्ररी हिँड्न पनि सक्नुहुन्नथ्यो। उहाँको मुखबाट जतिखेर पनि ¥याल बगिरहन्थ्यो। एकदिन बिहानीपखको सपनीमा मैले तिनै दिदीलाई देखें। कस्तो अचम्म! सपनामा त उहाँ मेरो अघिल्तिर आएर केके बोल्नुभयो केके! म ब्यूझिएँ। कोठामा घाम आएर टुक्रुक्क बसेको रहेछ। उठेर कुर्सीमा बसें, दिदीले सपनामा भनेका कुरा सम्झिन खोजें तर केही याद आएन। एक्कासि मलाई करेन्ट लागेझैं भयो। पैतालामा नचिल्ने काला कमिला दौडिएजस्तो भयो। नजिकैको डायरी र पेन्सिल समातें। मेरा औंलाले करिब बीस मिनेटजति लगातार केही लेखिरहेँ। पेन्सिल रोकियो, जीउ हलुका भयो। त्यो बीस मिनेटमा एउटा लामो कविता उत्रेछ, जसलाई खुरुखुरु सार्न पनि करिब बीस मिनेट नै लाग्यो। त्यो दिन मैले फेरि बुझें, ‘च्याउ’ मैले लेखेको होइन, मद्वारा लेखिएको हो।

कहिलेकाहीँ दिमागमा आएका वाक्यका कत्ति झुप्पालाई म ‘पछि लेखौंला’ भनेर छोड्छु र पछि जति सम्झिँदा पनि याद हु“दैन। सम्झिन नसकेको बेला मलाई लाग्छ, ती कविताका लागि उसले मलाई झुक्किएर ‘मिस्ड कल’ हानेको थियो होला।

कहिलेकाहीँ एकचोटि मद्वारा देखाइसकेका तिनै कवितालाई भेट्न ऊ आउँछ। मलाई त्यही तरङ्गमा पु¥याउँछ र छाँटकाँट गरेर जान्छ। म कत्ति पनि झिँजो मान्दिनँ। यो जो अहिले लेख्दै छु, यो पनि एउटा न्यानो तरङ्गले छोएर लेख्दै छु। ‘कवितामाथि केही लेख्नूस् न!’ भनेर नीरज भारीले भनेका थिए। मैले ‘हुन्छ’ भनें। तर, लेख्न नसकेपछि मैले अजित बराललाई फोन गरेर ‘अजितजी, मैले सकिनँ, अब त्यसबाहेक नै किताब छाप्नुहोला, यसपालिलाई यस्तै भयो’ भनें। उनले पनि ‘ल हुन्छ नि त’ भने। तर, अहिले पनि एकाएक फेरि मेरा हातका औंलाका टुप्पा झमझमाएजस्तो भए, पैतालामा नचिल्ने काला कमिला दौडिएजस्तो भयो। र, यो उपहार पाएको डायरीमा उपहार नै पाएको पेन्सिलको टुप्पोबाट आफूलाई बगाइरहें। किनकिन मलाई लाग्छ, कविताले त्यो सुरुको आफूलाई कहिल्यै भेट्टाउने छैन। किनकिन मलाई लाग्छ, मैले त्यो सुरुको आफूलाई कहिल्यै भेट्टाउने छैन। यदि भेट्टाइहालें भने कविताको यात्रा बन्द हुनेछ। यात्रा भने को आफूलाई नभेट्टाउन्जेल मात्र न हो!

(सोमबार सार्वजनिक हुने कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ बाट।)

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट