मिठा बरफ

  • Get News Alerts

घाम अझै टन्टलापुर थियो। सिमरनले लामो जिब्रो निकालेर स्स्...स गर्दै बरफ चुसी। यो देखेर सुखी देवीको मुख भित्रदेखि रसायो। आँत हरहर भएर आयो। घुटुक्क थुक निली। उसका आँखा सिमरनको रसिला ओठतिर एकतमासले परिरहे। तर सिमरनलाई यसको कुनै वास्ता छैन। उ बरफ चाट्दै फुरफुर गरेर हिंडिरही। सुखी देवी उसको स्कुल ब्याग बोकेर टिठलाग्दोसँग पाइला सार्दै थिई। धुलोले फुस्रिएको अनुहार, कलेटी परेको ओठ, अनयास तिर्खाएको घाँटी, मिठा बरफका लागि लालायित आँखा। दृश्य हृदयस्पर्शी थियो। उनीहरु स्कुलबाट नहरको किनारै किनार घर फर्कदै थिए।

हेर्दै खाउँखाउँ लाग्ने त्यो रसिलो बरफ एकपटक मात्र चाट्न पाए नि हुन्थ्यो भन्ने सुखी देवीलाई लागेको छ। उसले बरफको स्वाद कहिल्यै अनुभव गरेकी छैन। निकै चिसो र मिठो हुन्छ भन्नेसम्म सुनेकि छे। बरफको सिन्को समातेर जिब्रो र ओठले सररर चुस्ने तिर्सनाले मन तड्पिन्छ। तर कयौँ दिन देखिको यो तिर्सना मेट्ने अवसर भने उसलाई जुरेको छैन। सिमरनको ब्याग बोकेर स्कुलतिर लाग्दा उसलाई हरेक दिन लाग्छ, ‘आज त एक पटक चाख्न पाउँछु कि।’ तर सिमरनले कहिल्यै त्यो मौका दिएकि छैन। सिन्कामा बरफ रहुन्जेल स्वाद लिई लिई आफैँ चाट्छे। अनि नहरतिर सिन्को मिल्काएर फुर्किदै कुद्छे। करिव नौ वर्षकि सिमरनलाई बाँडेर खाऊँ भन्ने ज्ञान नै नआएको होला, तर त्यस्तै उमेरकि सुखी देवीको मनमा भने हरेक दिन आशा पलाइरहन्छ। सायद संसारमा मानिसले सर्वप्रथम दिनभन्दा लिन नै सिकेका होलान्। जन्मिदै आमासँग दूध लिन्छन् र बदलामा लात हान्छन्।

शुरुमा त उसलाई लागेको थियो, अहिले म नयाँ छु, पछि त उसले मायाँ गरिहाल्छे। सधैँ उसको झोला बोकेर हिँडेपछि मलाई पनि बरफ चाख्न दिन्छे होला। यसरी सिमरनको झोला बोकेर हिंडेको तीन महिना जति भयो। तर पनि सिमरनले त्यो मिठा बरफ चाख्न दिएकि थिइन। स्कुलका केटाकेटीहरु छुट्टी हुनासाथ सधैँ गंगु चाचाकहाँ बरफ किन्न झुम्मिन्छन्। एक छिन त त्यहाँ भिडमभिड हुन्छ। केटाकेटी ठेलाठेल गरेर ‘गंगु चाचा, गंगु चाचा’ भन्दै कराउँछन्। आप्mनो हातमा बरफ पर्नासाथ संसार जिते जस्तै खुसी हुन्छन्। उनीहरु राता, पहेँला, सेता रंगका बरफहरु लिएर बातमार्दै चुस्न थाल्छन्। हातमा बरफ परेपछि उनीहरुलाई कुरा पनि थुप्रै आउँछ। उनीहरुको खुसी, निस्फिक्रीपन साँच्चिकै हेर्नलायक हुन्छ। बरफ चुस्दै गल्याङमल्याङ गरेर कराउँदै घरतिर लाग्छन्, सुखी देवी त प्रायः बुझ्दा पनि बुझ्दिन।

त्यो स्कुलका केटाकेटीको दैनिक जीवन प्रायः यस्तैगरी वित्छ। तर सुखी देवीको दिन भने निकै फरक छ। सिमरनको ब्याक बोकेर स्कुल आउँने र साँझमा स्कुल छुट्नासाथ फेरि ब्याग बोकेर घर पुर्याउने उसको दैनिक ड्युटी बनेको छ। स्कुल छुट्टीको घण्टी बजेपछि सुखी देवी बरफ दिने ठाउँ नजिकै आएर उभिन्छे र मुख मिठ्याउँदै यताउता हेर्छे। कसरी स्कुले केटाकेटी कक्षा कोठाबाट दौडिदै आउँछन् र गंगु चाचाको वरिपरि मौरी जस्तै गोलो पर्छन्, त्यो दृश्य उसलाई कण्ठ छ। राम्रा लुगा लगाएका आफू जस्तै केटाकेटीले बरफमा हारालुछ गरेको दृश्य उसलाई पनि रमाइलो लाग्छ। त्यो हुलमा धक्कमधक्का गर्दै जान उसलाई पनि रहर छ। तर आफूले त्यो गर्नुहुन्छ कि हुँदैन, उ अलमलमा पर्छे। किन भने उसले न कपाल कोरेकी छे , न रिवन बाँधेकी छे, न राम्रा लुगा लगाएकी छे, न खुट्टामा जुत्ता छन्। उसले आफूलाई निकै फरक र कमजोर पाउँछे। उसलाई ती केटाकेटीको जीवन निकै सुखी र रमाइलो लाग्छ।

पहिला त सुखी देवीलाई लागेको थियो, स्कुल गएपछि सवैले यो बरफ खान पाउँछन्। तर होइन रहेछ। त्यसका लागि अठनी पैसा दिनुपर्ने रहेछ। त्यो पैसा उसँग थिएन। त्यसैले सुखी देवीको देह सिमरनको जुठो बरफका लागि छटपटिन्थ्यो। तर उसको त्यो कुण्ठा मन भित्र गुडुल्किएर रह्यो, निकास पाएन।

बरफ बेचेको ठाउँभन्दा अलि पर उभिएर सधैँ आफूतिर अतृप्त आँखा तेस्र्याउने त्यो मायालाग्दी केटीलाई शुरुमा त गंगु चाचाले वास्ता गरेनन्। तर उ सधैँ आउँने र अलि पर उभिएर बरफ नलिई फर्किने गरेको दृश्यले एक दिन गंगु चाचाको हृदय छोयो। त्यो दिन पनि उ स्कुल छुट्टीको घण्टी लाग्ने वेलामा त्यहाँ पुगिसकेकी थिई। आफू अगाडि उभिएर टुलुटुल बरफको डब्बामा हेरेको देखेर गंगु चाचाले उसलाई बोलाए र एउटा मिठा बरफ दिए। पहिला त उसलाई विश्वासै लागेन। तर गंगु चाचाले ‘खाऊ बेटी खाऊ’ भन्दै ढाड थपथपाएर बरफ समाउन दिएपछि उसको खुसीको सीमा नै रहेन। उसले झटपट बरफ समाती। के गरौँ, के भयो। छुट्टीको घण्टी बज्यो। केटाकेटी दौडादौड गर्दै निस्किए। उ हातमा वरफ समातेर सिमरनलाई हेर्दै थिई। दौडिएर आएका केटाकेटीको धक्कम धक्काले समातेको बरफ उछिट्टिएर नालीमा खस्यो। उ हेरेको हेरै भई। अरुले त वास्ता पनि गरेनन्। उ हिक्कहिक्क गर्दै हुलबाट निस्की। भित्र देखि उम्लिएको खुसी एकैछिनमा चकनाचुर भयो। आज पनि उसले बरफ चाख्न पाइन।

बरफका लागि उसको मन कति छटपटिएको थियो, कसैले बुझेका थिएनन्। भाँडा माझेर गुजारा गरिरहेकि आमासँग पैसा माग्ने हिम्मत थिएन। वास्तवमा उसले आप्mनी आमाको हातमा पैसा परेको पनि देखेकि छैन। कहिल्यै बजार गएर केही किनेको पनि थाहा छैन।

सिमरनले अठनी झिकेर बरफ किन्दा, उसको मन केही वेर निकै फुर्किन्छ। तर जव सिमरनले आफू मात्र बरफ चुसेर हातमा सिन्को मात्र बाँकि राख्छे, तव उ निकै निरास बन्छे। त्यसपछि उ सोच्दछे, आज त आमासँग बरफका लागि अठनी माग्छु। तर कहिल्यै आँट पुग्दैन। एक दिन साँझ उसले बरफ किन्ने पैसाका लागि मुख खोली, तर गाली मात्र सुन्नुपर्यो। आमा रतियाले सानो निहुँ मात्र के पाएकि थिई, सारा दुःखका पन्तुरा फुकाएर कराउन थाली। निकैवेर एक्लै भुतभुताई। जीवन जीउनका लागि रतियाले भोगिरहेको पीडाका श्रृङखलाहरु निकै मर्मस्पर्शी थिए। तर सुखी देवीको माग पनि ठूलो चाहिँ थिएन। जम्मा अठनी। त्यो पनि नपाउँदा उसको मनमा आघात पुग्यो। भन्न केही नसके पनि मन निकै बेचैन बन्यो। उ निरास र हतोत्साही बनी। राती अवेरसम्म कोल्टो फेर्दै छटपट छटपट गरिरही। मनमा विद्रोहको भावना अंकुरित हुँदै थियो। धैर्यताका पर्खालहरुमा तिर्सनाका ज्वालामुखी विस्फोट हुँदै थिए।

उज्यालो भयो, वेलुकाका धेरै आवेगहरु सेलाईसकेका थिए, तर रित्तिएका थिएनन्। हृदयको कुनै कुनामा जमेर बसेका थिए। घामको झुल्कोसँगै उसका दैनिक नियमितता शुरु भए। सरसफाइ सकेर तयार भई। सिमरनको व्याग बोकेर नहर र उखुवारीको किनारै किनार स्कुलसम्म पुर्याउन गई। एक्लै फर्किएर घर आउँदा उसको मन निकै उथलपुथल भयो। उसको मस्तिष्कमा अतितका धमिला दृश्यहरु आए।

रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

त्यस दिन पनि स्कुल छुट्ने वेला भएपछि साहुनीले सुखी देवीलाई सिमरनलाई लिन जा भनिन्। उ स्कुलतिर लागी। उसको मनमा आज जसरी पनि बरफ चाख्छु भन्ने लागेको थियो। सिमरनसँग मागेरै खान्छु भन्ने सोच्दै थिई। उ पुग्दा स्कुलको घण्टी बजिसकेको थियो, केटाकेटी दौडिदै बाहिर आइरहेका थिए।

सधैँ झैँ सिमरनले अठनी दिएर बरफ लिई र खाँदै अगाडि बढी। आज पनि सुखी देवी मुख मिठ्याउँदै उसको अनुहारमा हेर्दै हिंडी। उसलाई बरफ मागेर खाने विचार छ। तर कसरी मागुँ, के भनुँ भइरह्यो। लम्किदा लम्किदै, सोच्दा सोच्दै उनीहरु नहरको पुलछेउ पुगे। सिमरनले वास्तै नगरेपछि सुखी देवीले, ‘ए सिमरन बरफ एकदम मिठो छ ?’ भनी। उसले एकदम मिठो छ भन्दै फेरि स्स्स्स गरेर चुसी। सुखीदेवीलाई अझ खाउँखाउँ भयो। ‘मलाई पनि एक पटक देउन’ उ असाध्य दविएको स्वरमा बोली। तर सिमरनले ठाडै ‘नाई’ भनी। उसले बरफ आधा भन्दा बढी खाइसकेकी थिई। सुखी देवीलाई के गरौँ के भयो। खप्न सकिन, रिस उम्लिएर आयो। उसले एक्कासी झम्टिएर बरफ खोसी र सिमरनलाई नहरतिर धकेलिदिई। सिमरन पल्टदै नहरको पानीमा डुब्न पुगी। उ एकैछिनमा गहिरो पानीमा बेपत्ता भई। सुखी देवी नहरको पुलमाथी बसेर ढुक्कसँग बरफ चुस्न थाली। तर उसलाई खासै मिठो भने लागेन।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट