चुनाव

  • Get News Alerts

सन्तबहादुर तामाङले ट्याक्सीचालक संघ पोखरा शाखाको चुनावमा ‘आफैं लड्ने’ अठोट गर्यो। 

‘आँफै लड्ने’ भनेर किन भनेको? पाठकहरू सोध्नुहोला, यहाँको सोधार्इ जायज छ! 

चुनाव घोषणा भएलगत्तै जताततै चुनावी सरगर्मी बढेको थियो। नयाँ सदस्यता वितरण गर्ने, को उम्मेद्वार हुने, को को मिलेर प्यानल बनाउने, कसलाई अगाडी बढाउने, कसलाई पछाडी पार्ने आदि आदि। यस्तै सरगर्मीमा सन्तबहादुरलाई पनि धेरै पक्षबाट दिउसो र साँझको चियापानमा आउन निमन्त्रणा आएको थियो। चुनावमा सघाउन अनुरोध आएको थियो। एक दुईवटा कार्यक्रममा ऊ नगएको पनि होइन तर जहाँ पनि व्यवसायको कुरा भन्दा को को आफ्ना हुन् रु तिनलाई कसरी अगाडी पार्ने र को कोलाई छिर्के हान्ने भन्ने मात्रै कुरा भए पछि उसलाई मोहभङ्ग भएको थियो। एउटा भेलामा गएपछि एकथरी साथी नबोल्ने अर्को भेलामा गएपछि अर्काथरीले गर्दन घुमाउने गरेको पनि उसलाई चित्त बुझेको थिएन। यस्तै तानातानमा परेर नै उसले चुनावमा ‘आफैं लड्ने’ निश्चय गरेको थियो।

सन्तबहादुर तामाङको घर धादिङमा पर्दथ्यो। परिवार पाल्ने पीडाले ऊ ट्याक्सी चलाउन भनेर पोखरा आएको थियो। शुरु शुरुमा राम्रै कमाइ हुन्थ्यो तर पछि कमाइ हुन छाड्यो किनभने चल्तीका चोकमा बस्न सजिलो थिएन। ठूलै भनसुन वा कमिशन लाग्दथ्यो। कपाल जगल्टा पालेर मुन्द्रा लगाएकालाई देखि कपाल सिनित्तै पारेर सुकिला कपडा लगाएका सम्मलाई नजराना दिनुपर्दथ्यो बेला बेलामा ट्याक्सीमा मिटर राख्ने लगायतका व्यवसायलाई व्यवस्थित गर्ने कुरा उठ्दथ्यो तर त्यसै सेलाउँथ्यो राम्रो अनुगमन पनि हुँदैनथ्यो। कारण प्रष्ट थियो। सम्बन्धित पक्षलाई आम्दानी भैरहेकै थियो।

सन्तबहादुरलाई यो सबै व्यवस्थित होस्, मर्यादित होस् र ट्याक्सीचालक भन्दा हेय भन्दा सम्मानित होस् जस्तो लाग्थ्यो तर ऊ एकजनाले मात्रै यसो सोचेर केहि हुने थिएन। तैपनि यी सबै कुरामा झक्झक्याउने उद्देश्यले उसले आफैंले उम्मेद्वार हुने निर्णय गरेको थियो। 

चुनावको प्रक्रियाको शुरुमै उसलाई समस्या पर्यो। उम्मेद्वारी दिनलाई एक जना प्रस्तावक र एकजना समर्थकको आवश्यकता पर्दो रहेछ। सन्तबहादुरको मनमा कुनै नाम आएन। उसका सबै साथीहरू कुनै न कुनै संगठनमा लागेका थिए। कसैलाई पनि भन्न सन्तबहादुरलाई मन लागेन। अन्ततः उसले एक जना बूढा चालक ओमबहादुर थकालीलाई सम्झ्यो। ओमबहादुर थकाली तिनै थिए जसले दशवर्ष पहिले सन्तबहादुर पोखरा आउँदा सहयोग गरेका थिए। धादिङको सन्तबहादुर अन्यथा पोखरामा टिक्न सक्दैनथ्यो होला। ओमबहादुरले उसको प्रस्तावक बन्न सहमति मात्रै जनाएनन् बरु ट्याक्सी चलाउन छाडेर मलेशिया जान हिँडेको आफ्नो छोरा राज गौचनलाई समर्थकमा हस्ताक्षर पनि गराइदिए। हकी स्वभावका ओमबहादुरको छोरा राज पनि सानै देखि चलाख थियो। बाह्र कक्षा सम्म राम्रै पढेको उसले क्याम्पस पढ्न भने त्यति मेहेनेत गर्न सकेन। जसो तसो बीबीएस् पास गरेर पनि उसले बाबुकै बिँडो थाम्दै ट्याक्सी चलाउन थालेको थियो भने यो पेशामा पनि धरै कमाई हुन नसकेकाले विदेश जान लागेको थियो। अब सन्तबहादुरलाई वैधानिक उम्मेद्वार बन्न कसैले छेक्न सकेन। उसको उम्मेद्वारी दर्ता भयो। सन्तबहादुर धेरै उत्साहित थियो। 

‘सन्तबहादुर, तिमी धेरै साहसी र प्रष्ट विचारका रहेछौ, मलाई धेरै मन पर्यो, तिमीले माग्नै पदैन, एक भोट पक्का भयो।’ 

‘हामी तिमी जस्तै उम्मेद्वारको खोजीमा थियौँ, हाम्रो खोज आज अन्त्य भयो।’ 

‘तिम्रो जीत सुनिश्चित छ, तिमी जत्तिको स्वच्छ छविको उम्मेद्वार हामीले अहिलेसम्म देखेकै छैनौँ।’

उसलाई चिन्दै नचिनेकाहरू समेत आएर उसलाई बधाई दिए। 

उनीहरू सबैले ऊ जस्तै उम्मेद्वारको पक्षमा रहेका बताए। सन्तबहादुर उत्साहित भयो। जित्छु पो क्यारे१ ट्याक्सीचालकमा पनि यतिका स्वतन्त्र र सहृदयी मान्छे रहेछन्। उसैलाई पो थाहा रहेनछ त १
उम्मेद्वारी दर्ताको समय सकिए पछि भने सहमतिको लागि प्रयास शुरू भयो। 

‘एकै व्यवसायमा रहेकाहरू बीच यसरी चुनाव गर्दा राम्रो सन्देश जाँदैन। मनमुटाव समेत हुन्छ’

एक जना वरिष्ठले भने।

‘हो हो सहमति गर्नुपर्छ, सहमति गर्नु पर्छ’ धेरैले भने। त्यसै अनुरूप धेरै उम्मेद्वारहरूले नाम फिर्ता लिए। सन्त बहादुरलाई नाम फिर्ता गर्न अनुरोध गरियो। 

वास्तवमा तीन संगठनका तीन तीन सदस्यगरी नौ जना सदस्यमा सहमति गर्न सन्तबहादुरको उम्मेद्वारी बाधक बनेको थियो।

‘सन्त बहादुरजी एकजना कर्मठ चालक हुनुहुन्छ, वहाँको विचार एकदम जायज छ, वहाँको मुद्दालाई हामी अगाडी लिएर बढ्छौँ, वहाँले नाम फिर्ता लिनुहुन्छ’

एक जना वरिष्ठ चालकले भने। उनले सन्तबहादुरलाई व्यक्तिगत रूपमै पनि सम्झाए। तर सन्तबहादुर मानेन। 

‘तपाईं जेलाई सहमति भन्दै हुनुहुन्छ, त्यो भागबण्डा हो, सहमति नै गर्ने भए मलाई पनि राखेर सहमति गर्नुहोस्’ सन्तबहादुरले भन्यो। तर उसको कुरा कसैले सुनेन। 

‘सन्तबहादुरजी, तपाईंको सदस्यता नै अवैधानिक हो। तपाईंले म्याद नाघिसकेपछि सदस्यता लिनुभएको थियो।’

अर्को संगठनका नेताले भने। कस्सो सन्तबहादुरलाई थाहा थियो कि चुनाव गराउने समिति पनि म्याद नाघेपछि गठन भएको थियो। उसले त्यो कुरा उठाए पछि ती नेता चुप लागे। 

‘तिम्रो साँचो कोसँग छ मलाई थाहा छ, हामीले भन्नै पर्दैन, तिमी आफैंले नाम फिर्ता लिनेछौ।’ 

अर्को संगठनका नेताले कडा बोलीमा प्रष्ट्याए। 

व्यावसायिक हक हितका मुद्दामा यति प्रष्ट हुन नसके पनि सबै संगठनका नेताहरू सन्तबहादुरको स्वतन्त्र उम्मेद्वार हुनु सांकेतिक रूपकै भए पनि सांगठनिक सिण्डिकेटको गालामा थप्पड भएको कुरामा सबै प्रष्ट थिए।

एक मन त सन्तबहादुरलाई नाम फिर्ता लिउँ लिउँ नलागेको हैन तर एक छिन सोचे पछि उसले नाम फिर्ता नलिने अठोट गर्यो। कम से कम सबै व्यवसायी त व्यवसायलाई भन्दा संगठनलाई महत्त्व दिने छैनन् भन्ने उसको सोच थियो अनि अधिवेशनको सत्रमा सबै व्यवसायीका बीच कम से कम एकपटक बोल्न त पाउँछु भन्ने उसको आशा थियो।

अधिवेशनको खुला सत्रमा नेताहरूका भाषणहरू भए, अधिकार र सुविधाका कुरा भए। विभिन्न कार्यकालमा भएका राम्रा र नराम्रा कुराका बारेमा चर्चा भए। तर सभामा उपस्थिति धेरै कम थियो। सदस्य मध्ये एक चौथाइ पनि उपस्थित थिएनन्। सन्तबहादुरले उम्मेद्वारको रूपमा आँफूले पनि पनि बोल्न पाउने आशा गरेको थियो तर उपस्थिति कम देखेर उसको उत्साह मरेर गयो। 

‘अब एकछिन खाजाको समय हुनेछ त्यसपछि उम्मेद्वारहरूको मन्तव्य र अन्त्यमा चुनाव हुनेछ।’

मञ्चबाट घोषणा भयो।

सन्तबहादुरले सोच्यो ठिकै छ, भाषण त सबै आए पछि गरेकै राम्रो भोट हाल्ने बेलामा त सबै आउलान्।

तर खाजापछिको कार्यक्रम भएन। शायद कसैलाई पनि कसैको विचार वा योजना सुन्न आवश्यक नै थिएन। उनीहरु त विभिन्न ठाउँमा आ आफ्नो समूह गोलबन्द भएर कसरी मतदान गर्ने भन्नेबारे प्रशिक्षण गरीरहेका थिए। एकल संक्रमणीय प्रणालीमा वरियता अनुसार मत दिनुपर्दथ्यो। धेरै यो प्रणालीबारे अनभिज्ञ थिए। उनीहरूलाई आ आफ्नो समूहमा प्रशिक्षित गरिँदै थियो। अझ स्पष्ट भन्नुपर्दा क कसले कसलाई कुन कुन वरियतामा मत दिने भनेर स्यास्यानो चीटमा लेखेर वितरण गरिँदै थियो। त्यहाँ विचार र व्यक्तित्व भन्दा पनि नितान्त गुटबन्दी मात्र थियो। 

केन्द्रबाट पर्यवेक्षकको रूपमा काठमाण्डौँका वरिष्ठ ट्याक्सीचालक धनबहादुर तामाङ आएका थिए। खाजाको समयमा सन्तबहादुरलाई धनबहादुरसँग भेट गराइयो। धनबहादुरले सन्तबहादुरलाई एकान्तमा लगेर तामाङ समुदायको सांगठनिक झुकावको बारेमा सम्झाए। सन्तबहादुरलाई उदेक लाग्यो।

सन्तबहादुरलाई एक मन त आफ्नो भाषण नभएको ठिकै लाग्यो किनकि उसको कुरा सुनेर परिवर्तित हुने कोही थिएनन् तर आफ्नो कुरा आफ्नै साथीभाईलाई भन्न नपाएको पीडा भने उसले भुल्न सकेन।

साँझ परेपछि मतदानको समय भयो। उम्मेद्वारका प्रतिनिधिहरू मतदानकेन्द्र बाहिर मतदाता पहिचान गर्न बसे। सन्तबहादुरको कुनै प्रतिनिधि थिएन। ऊ आँफै बस्यो। उसको गाउँले साथी हर्कबहादुरले उसलाई एकछिन पालो दियो। बिहानको कार्यक्रममा कतै देखा नपरेका मतदाताहरू खुरु खुरु आएर मतदान गर्न लागे। सन्तबहादुरले ढोकैमा उभिएर सबैलाई नमस्कार गर्यो। ‘म पनि उम्मेद्वार छु है’ भनेर उसले सबैलाई भन्यो। उसलाई सबै हँसिला लागे। उसलाई सबैले आफूप्रति प्रेम र सहानुभूति राखेजस्तो पनि लाग्यो। तर तीमध्ये सबैजसोले ककसलाई भोट दिने भनेर लेखेर दिइएको चीटलाई आ आफ्ना हातमा मचक्कै च्यापेको देख्दा यी कसैले पनि उसलाई भोट दिँदैनन् भन्ने उसले प्रष्ट थाहा पायो।

अभूतपूर्व मतदान भयो। दुर्घटनामा परेर अस्पताल भर्ना भएकाहरू पनि सलाइनको बोतल समेतै रातबिरात मगाइए। खाडीमा मजदूरी गर्दै गरेका विदामा आएकादेखि लिएर ट्याक्सी चलाउन छाडेर कुखुरा पाल्न थालेका सम्मले भोट हाले। दुई चार जना बाहेक कोही छुटेनन्। छुट्नेमा सन्तबहादुरका प्रस्तावक ओमबहादुर बुढा र उसका समर्थक तिनकै छोरा थिए। ओमबहादुर बिरामी परेर आउन सकेनन् भने तिनका छोरा विदेश उडीसकेकाले आएनन्।

मतदान सकिएपछि मध्यरातमा मतगणना प्रारम्भ भयो। मतगणनास्थलमा उम्मेद्वारलाई निषेध भनिएकाले ऊ जान पाएन। वरिष्ठ ट्याक्सीचालक रुद्रमान श्रेष्ठ उसको प्रतिनिधि बनिदिए। मतगणना सकियो। चुनावको नतीजा सार्वजनिक भयो। सन्तबहादुरले दुई मत पाएछ। 

‘चुनाव लड्ने इच्छा पूरा भयो हैन सन्तबहादुर!’ उसलाई धाप मार्दै कुनैबेला ऊसँगै पृथ्वीचोकमा ट्याक्सी राख्ने बलराम न्यौपानेले भने।

रातिको एक बजे मत परिणाम घोषणा सभा शुरु भयो। जहाँ उम्मेद्वार र चुनाव समिति बाहिरका मुस्किलले एक दुई जना थिए। सबै उम्मेद्वारले पाएको मत पालैपालो घोषणा भयो। विजयी उम्मेद्वारहरू हर्षित थिए। 

‘अब आजको हाम्रो ऐतिहासिक निर्वाचनलाई प्रजातान्त्रिक बनाउन ठूलो योगदान गर्नुहुने श्रीसन्तबहादुर तामाङज्यूबाट मन्तव्य हुनेछ’ 

मञ्चबाट घोषणा भयो। दिनको उज्यालोमा सबैको अगाडी मौका नपाए पनि रातको अँध्यारोमा दश पन्ध्रजना अगाडी सन्तबहादुरले बोल्न पायो। 

‘हामी सबै एकै व्यवसायमा रहेर पनि व्यवसाय भन्दा पनि संगठनिक प्रतिबद्धतालाई महत्त्व दिँदा रहेछौँ। सबै आफ्नो काममा यति दक्ष र एक आपसमा यति सहयोगी हुँदा हुँदै पनि स्वतन्त्र रूपमा निर्णय भने लिन सक्दा रहेनछौँ भविष्यमा त्यो पनि सकौँ’

सन्तबहादुरले भाषण टुङ्ग्यायो। 

रात धेरै भैसकेकाले उसलाई नजिकै घर भएका नवनिर्वाचित सदस्य बमबहादुर थापाले आफ्नो घर सुत्न लगे। पल्टिँदै उसले सोच्यो। उसले पाएको दुई भोटमा एउटा भोट त ऊ आफ्नै थियो , तर दोस्रो भोट कसको थियो? धेरै सोच्दा पनि उसले भेउ पाएन।

 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा