अल्मलियो क्रान्ति, हराए कमरेड

  • Get News Alerts

सिमसिम पानी परिरहेको बेला म भौतारिदै छु सडकमा । एउटा गल्लीभित्रको चियापसलमा पसेँ।

दूध चिया मागेँ । बाहिरै टुल रैछ । बसौँ ? मान्छेको भिडमा पानी परेको हेर्नु कम्तिको मज्जा हुँदैन । रुझेका मान्छे बेपत्ता हतारमा देखिन्छन्।

म आकृति हुँ । मलाई कसैले चिन्दैनन् यो सहरमा ! खैर, म आफैं पनि घरिघरि अल्मलिन्छु । म को हुँ ?

यो त अध्यात्ममा लागेको सिकारुले सोध्ने खालको प्रश्न भयो । म अध्यात्मिक हुँ ? प्रश्नहरुले मलाई बौलाहा बनाउँछन्  । उत्तरहरु कहाँ छन्?

वेटर मेरो लागि दूध चिया लिएर आयो । मैले चुरोट मगाएँ । मेरो आइटम छैन रे । सधैंभरि आफ्नै स्वादका चिजमात्र कहाँ पाइन्छ त?

‘रेड छ र लाइट पनि छ,’ उसले फर्मायो।

रेड ? अनि लाइट ? म फिस्स भएँ।

रेड त म लिन्न । मलाई रेड फोबिया भएको होइन । रेड अर्थात रातोका धेरै थरि अर्थ हुन्छन् । मलाई क्रान्तिको अर्थ थाहा छ । त्यसले रातो रगतको माग गर्छ र राता उल्लासको रातै उन्मादको माग गर्छ । त्यसका परिणामको लामालामा व्याख्या नेताहरुले गर्ने छन्।

‘ए भाइ ब्ल्याक छैन ?’ मैले सोधेँ।

‘छैन’

‘त्यसो भए लाइट ल्याऊ।’

उसले दंग परेर ल्यायो । लाइटर पनि सँगै ल्यायो।

‘चाहिँदैन’

म आफैं सलाई बोकेर हिँड्छु । सडकमा सजिलै बम बोकेर हिँड्न सकिन्छ भने सलाई किन नबोक्ने ? मैले बम त बोकेकी छैन नि । हरे ! आफ्नै मनका सवालले हैरान बनाउँछन्।

भित्र चिया खान बसेका केटाहरु बाहिरै शितल छ भन्दै आए । उनीहरुले उभिएर मैलाई हेरिरहे घरि सिधै, घरि छड्के नजरले । नाथेहरु ! मेरो चुरोट सल्किएको देखेर उनीहरु चाहिँ किन सल्किन पर्‍यो? लोग्नेमान्छेको घुराइले म नर्भस भएँ।

उनीहरुले मेरो अनुहारको पिडा र बेहोसी पनि देख्लान् भन्ने डरले चुरोटको लामो कस तानेर अनुहार छोपिनेगरी धुवाँ फालेँ । यो धुवाँ, पानी र मान्छेका घुराइले मेरो आकृति बिग्रेला भन्ने डर भयो। त्यसो त मेरो आकृतिलाई जथाभावी चलाएर जाने आधार कता छ मलाई थाहा छैन।

लोग्नेमान्छेहरु त्यसरी झुम्मिएको देखेर मलाई अघि वेटरले भनेको याद आयो ‘रेड पनि छ, लाइट पनि छ।’

‘रेडलाइट रैछ केटाहरुको !’

मनमनै भनेँ र एक्लै मुसुक्क हासेँ ।

खासमा, म आधारलाई खोज्न निस्केकी थिएँ । खोज्न होइन यस्तो कामना गर्दै कि ऊ बाटोमा अकस्मात भेटियोस् र मैले उसलाई ‘आई मिस्ड यु’ भन्दै अंकमाल गर्न पाउँ । कति भयानक कामना हो मेरो?

यस्तो इच्छाको लगामले खिचिएर म तपाईंको सहरमा फन्का मारेँ, दिनभरि । अहँ भेटिएन आधार । उ कतै रातो क्रान्तिको भाषण गर्दै होला । म पनि रातो क्रान्तिले निर्माण गरेको एउटा भग्न आकृति हुँ । ए आधार तिमी मलाई चाहिँ किन बेवास्ता गर्छौ?

धुवाँमा के त्यस्तो रसायन छ ? यसले मेरो पिडा गाढा बनाइदिन्छ । म धुवाँसितै रंगमगिएँ  । पिडा मेरो निजी फ्लेवर हो । आजकाल यस्तो लाग्न थालेको छ, यो पिडा भएन भने जिन्दगी खल्लो हुने छ । तर खुसी हुन किन मन लाग्छ र आधारलाई खोज्दै भौतारिन्छु ? चिया र चुरोटको स्वादले मेरो भग्न मनलाई शान्त बनाउँदैन । आधार चाहिन्छ मलाई!

साँझमा, सिमसिम पानी र पहेँला ल्याम्पोस्टहरुले रोमान्टिक बनाएको सडकमा दुःखी मन लिएर म पानीमा रुज्दै हिँडेँ । पानी सिमसिम होइन झमझम परे हुन्थ्यो । भावनाको झरीमा रुझ्दै हिँडेको धेरै भयो । यो दुःखी जिन्दगीको अन्त्य कस्तो होला ? दुःखको अत्य कि जिन्दगीको ? आफैंलाई सोध्छु । मृत्यु कुरेर बसेकी छु झैँ लाग्छ । मैले आधारलाई कुरेको कि मृत्युलाई ? म जिन्दगी चाहन्छु कि मृत्यु ? होइन मलाई जिन्दगीको असाध्यै लोभ लागेको छ आजकाल । यसरी बौलाउनु बेग्लै कुरा हो।

स्याडिस्ट सहरको हिलो बाटोमा हिँड्दै आफ्नो सुनसान निवासमा आइपुग्छु एक्लै ।
...


प्रिय, आधार !

तिमीलाई कमरेड भन्न बिर्सिसकेछु । आजकाल कहिलेकाहिँ मलाई त्यही कमरेडको न्यास्रो लाग्छ । त्यो तिमीसँगै छ कि छैन ? मलाई किन यतिका वर्षपछि त्यहि कमरेडको लोभ लाग्यो ? किन म आफूलाई तिम्रो निम्ति बनाएर राखेकी छु ? मलाई थाहा छैन । तिमीलाई कमरेड भन्ने बेलाभन्दा धेरै नजिक भयौँ।

हामी यति नजिकियौँ, मलाई चाहिँ किन यस्तो लाग्न थाल्यो कि यही निकटतामा हाम्रो दूरी बढ्यो ? तिमीले मेरो दुःखी आत्मालाई छामेका छौ । तिमीले मलाई खुसी बनाएका छौ । तर तिमी किन यति टाढा छौ मैले भेट्नै सक्दिन ! मलाई लाग्छ तिमीले मलाई चिनेनौ। खासमा मैले पो तिमीलाई चिनेकी हुँदिन । तिमीलाई हाम्राबारे सोच्ने फुर्सद छैन त्यसैले मैले नै सोच्छु । मलाई त फुर्सदै फुर्सद छ । मलाई थाहा छ, तिमीलाई मेरो जरुरी हुँदैन । यो थाहा हुनुको पिडाले म कहिले रुन्छु त कहिले हाँसिदिन्छु पनि । जिन्दगीले पनि यहीँनिर कतै बढो व्यङ्ग्य गरेर हाँस्छ।

यतिबेला तिमी हाम्रो क्राान्ति जारी छ भनेर भाषण गर्दै हौला, सम्झेर समयले नियतिमाथि हो या नियतिले समयमाथि यति क्रुर ठट्टा गर्छ म छुट्याउन सक्दिनँ । नियतिका कुरा गरेको देखेर तिमीलाई अचम्म लाग्ला । तिमीलाई थाहा छ कि छैन संसार, मान्छे र जिन्दगी तिम्रो भाषणभन्दा अझ चर्को भएको छ।

युद्धमा, म मोर्चाको अघिल्लो पंक्तिमा हुँदा तिमीलाई क्रान्ति र युद्धप्रतिको विश्वास उठ्दै थियो । तिमीलाई क्रान्ति वाहियात लाग्थ्यो, मलाई महान । तिमीले जित्यौ, म बेखुसी छैन तर आस्थाहरु टुटेर यसरी खण्डहर होलान् भन्ने सोचेकै कहाँ थिएँ र?

मलाई क्रान्ति छाडेर जिन्दगीमा कुनै अर्को रहर थिएन । अहिले तिमीले मोर्चा सम्हालेका छौ । यति हो आफ्ना तमाम रहरसँगै तिमीले मोर्चा सम्हाल्यौ । मलाई भने यतिका वर्षपछि आजकाल बल्ल जिन्दगीको तिर्खा लाग्न थाल्यो । यो तिर्खालाई तिमीले अर्कै बुझ्छौ मैले अर्कै । जिन्दगी आइरोनी न हो । म तिम्रो र मेरो सम्बन्धको अर्थ खोज्छु र जिन्दगीको तिर्खा बुझाउन खोज्छु । तर मेटिँदैन । रहरहरु बस मृगतृष्णाझैं लोभलाग्दा हुन्छन ! आजकाल मलार्ई तिम्रो बेपत्ता खाँचो हुन थालेको छ । यो खाँचोले सुखभन्दा दुःख दिन्छ थाहा छ । खाँचोले डोराएर मलाई जिन्दगीका खुसी दिने छ भन्ने आस गर्छु । कुन्नी किन!

तिम्री आकृति

कमरेड आधारलाई सम्बोधन गरेर लेखेपछि केही मन समालियो ।

चुरोट कता परेछ ?
...


एकादेशको कथा हो । कथा होइन साँच्चै हो । म लामो बेहोसीपछि एउटा सेल्टरमा बिउँझिएकी थिएँ । त्यो बिरानो सेल्टर, एउटा घुमाउने घरमा थियो । पल्लोपट्टिको पिँढीमा कमरेड आधार पल्टिरहेको थियो । अरु कमरेड पनि थिए निदाइरहेका । रातभरि लडाइँ गरेर निदाउन नपाएका धेरै कमरेड काँचै आँखा लिएर गएछन् भन्ने थाहा पाएँ । यी घाइते कमरेड होलान् । जुरुक्क उठेर सोधेँ, ‘खै कमरेड चित्र?’

‘........ ’

‘आधार सुनेनौ?’

‘सुनेँ।’

उसले अघि जे भन्दै थियो मलाई उदेक लाग्यो।

‘कमरेड चित्र सहिद हुनु भो।’

क्रान्तिकारी शैलीमा उसको उत्तर एकदम सही थियो । तर मेरो जिन्दगीमा त्यो उत्तर कतै पनि अटाउँदैनथ्यो । मेरो टेम्पर हाइ भयो । कमरेडहरु मृत्युलाई हल्का बनाउँछन्।

‘तिमी ठट्टा नगर आधार ।’

‘मेरी प्यारी कमरेड ! मैले ठट्टा गरेको होइन । तिमीले बिस्र्यौ अन्तिमपटक कमरेड चित्रलाई पानी खुवाएकी थियौ!’

उसले पल्लो पिँढीबाट बिल्कुल सामान्य भएर मलाई सम्झायो । कत्ति विश्वास लागेन । हो मैले कमरेड चित्रलाई पानी खुवाएकी थिएँ । उनलाई गोलि अवश्य लागेको थियो । युद्धमा गोली लाग्नु सामान्य हो । तर गोली लाग्दैमा कोही मान्छे मरिहाल्छ भन्ने के छ र ? मैले उनी बाँच्लान भनेर पानी खुवाएकी हुँ ।

उठेर आधार छेउ पुगेँ र सोधेँ ‘भन न आधार चित्र कहाँ जानुभयो ।’

उसको अनुहार टिठलाग्दो भयो । मेरो अनुहारमा मायालाग्दो गरी हे¥यो । त्यसपछि उसले कुनै गुफाबाट निस्केको बिल्कुल अपरिचित लाग्ने आवाजमा भन्यो- ‘ऊ त्यो डाँडाको पल्लो पाखोमा हामीले उहाँलाई पार्टीको झण्डासहित गाढेर अन्तिम बिदाइ गरेका थियौँ । कमरेड चित्र हाम्रो मनमा सधैँ बास गर्नुहुने छ उहाँ हाम्रो क्रान्तिको महान योद्धा हुनुहुन्थ्यो । आकृति ! हामीले उहाँको सपना पूरा गर्नुपर्ने छ ।’

मलाई यस्तो लाग्यो आधारले मानौँ कुनै क्रान्तिबारे लेखिएको उपन्यासको अंश पढ्दै छ । त्यहाँ एउटा कान्तिकारी योद्धा पात्र मारिएको इम्प्रेसन दिन कथाकारले शब्दका बुट्टा भरेर मृत्युलाई कति महान बनाइदिएको छ । तर जिन्दगीमा मृत्यु भन्ने चिजको यति सजिलो ठाउँ हुँदैन । मोरो आधार चित्रको आरिस गर्छ झैं पनि लाग्यो । कैयौँ बेर आधारको मुख हेर्न मन लागेन ।

म के भ्रममा थिएँ भने हुन सक्छ मैले पानी खुवाएको घाइते कमरेडलाई, चित्र ठानेको होस् । हुन सक्छ चित्रलाई दुश्मनले पक्रेको होस् । हुनसक्छ मेरो होस नखुल्दै उनी अर्कै भेगतिर जान परेको होस्!

उफ !

त्यसपछि म पनि केही बोलिनँ । मैले चित्रलाई कुरेर बसेको आधारले थाहा पायो । मेरा आँखा परको नागबेली बाटोमा पुगेको पनि उसले ख्याल गर्‍यो ।

भोलिपल्टै आधारले भन्यो, ‘हिँड चित्रलाई हेर्न जाम ।’

सायद मान्छेहरुले मान्ने देववाणी यस्तै हुदो हो । सायद वर्षौँ तपस्या गरेको अभागी भक्तलाई ईश्वरले दिने बरदान यस्तै हुँदो हो । मेरो दिमागले लगभग काम गर्न छोडेको थियो । मलाई विपना र सपना उस्तै लाग्थ्यो । आधारको कुराले यत्ति खुसी भएँ, सपना–विपना, भ्रम र यथार्थ के हो, कुन मुर्खले छुट्टाइरहन्छ ?

कोदाली बोकेका स्थानीय कमरेड सूर्य, म र आधार हिँड्यौँ । एकपटक चित्रलाई भेट्न पाए छोडेरै जाने थिएँ ।

‘किनभने हामी क्रान्तिको मोर्चामा छौँ ।’ मैले बाटाभरि आफैंलाई सम्झाएँ ‘हामीले क्रान्तिको लागि जिन्दगी अर्पण गरेका छौँ भने प्रेम पनि क्रान्तिकै नाम ।’

डाँडामा बस्यौँ, ठूलो रुखको छहारीमा चिसो हावा चल्यो । हावासँगै कल्पनाको वेगमा मैले चित्रलाई भेटेँ । चित्रसँग यसपालि भन्ने छु– उनीबिना बाँच्न मलाई एकदम गाह्रो हुने छ ।

क्रान्ति सकिने छ । हाम्रो व्यवस्था आउला । हामी कावा खाइरहने चराझैं स्वतन्त्र उड्ने छौं प्रेमको आकाशमा !

मेरो कल्पनाका सुन्दर दृश्यहरु केही छिनमै टुक्रिँदै थिए, कहिल्यै नजोडिनेगरी  । म अतीत भइसकेका सपनाका अर्थहिन टुक्राहरुको सहारामै बाँच्नुपर्ने थियो ।

कमरेड सूर्यले पाखोमा खन्न थाले ।

आधारले भन्यो, ‘हामीले हाम्रा कमरेडहरुलाई यही गाढेका थियौँ ।’ उफ्, आधार तिम्रो मुटु कति पाषाण छ । सन्की कमरेडहरुको हर्कत देखेर मलाई खुब डर लाग्यो । रिस र घृणाले मेरो अनुहार बिग्रियो ।

माटो पन्छाइसक्दा पार्टीको झण्डा देखियो र त्यसमुनि थियो कमरेड चित्रको लास । उनले आफ्नो छातीमा हात राखेका थिए । झप्प बत्ति निभ्दा संसार कस्तो हुन्छ ? त्यस्तै भयो ।

‘तिमीले अब त पत्यायौ आकृति,’ आधारले भन्यो ।

मैले आफुलाई सम्हालेँ । ह्वारह्वारती बलेको आगोलेझैँ  चिसो बतासले पोल्न थाल्यो । जिन्दगी यति भयानाक पनि हुन्छ ? जे हुनुपर्ने थियो त्यही चाहिँ किन हुँदैन । उफ् ! लासको गन्ध हावाभरि फैलियो । त्यही थियो कमरेड चित्रको अन्तिम गन्ध ।

मैले अन्ततः चित्रको मृत्युलाई पत्याएँ । आँखाबाट आँसु झरेन । दिमागले केही सोचेन पनि । एकतमासको भयो मन । तीनैजना मिलेर चित्रलाई फेरि पुर्‍यौँ ।

चित्रलाई पुरेको माटोमा क्रान्तिकारी योद्धाहरुको रगत मिसिएको थियो ।

अब चित्रको सपना पूरा गर्नु मेरो कर्तव्य र बाँच्ने बहाना भयो । उनैले देखाएको बाटोमा हिडेँ । उनी सँगै हुँदा पनि नहुँदा पनि ! अब कहिलेकाहिँ हतास हँुदा सम्झाउने चित्र हुँदैनन् छेउमा । माया गर्ने र ख्याल गर्ने चित्र रहेनन् । तैपनि उनको गन्तव्यमा पुग्नु मेरो लक्ष्य थियो । मलाई जीवनको मोह थिएन । क्रान्तिको नसा भने थियो । तर कमरेड आधारलाई त क्रान्ति भ्रान्तिजस्तो केही लाग्न थालेको थियो । क्रान्ति गर्नु, दुश्मनविरुद्ध लड्नु, जनवादी गीत सुसेल्नुमा उसलाई आनन्द हुँदैनथ्यो । उसको नसामा राजनीति छ, क्रान्ति होइन ।
आधारले कामना गरेजस्तै क्रान्ति सकियो ।

म आफ्नै घर फर्किएँ । आमा हराएको धेरै भएको थियो । उनी गुम्बा पसेको थाहा पाएपछि मैले खोजिन । म निष्ठुर बनिसकेकी थिएँ । तर म आमालाई असाध्यै माया गर्छु ।

तपाईंहरुलाई लाग्ला आमाको मायाका लागि मैले औपचारिक शब्दहरु प्रकट गरेँ । बास्तवमा म कठोर भएकै रैछु । त्यस्तै लाग्यो । आफ्नी आमा जसले मलाई यो अस्तित्वमा लिएर आएकी थिइन् । उनले मलाई बाँच्न र हास्न सिकाएकी थिइन् । नाच्न पनि सिकाएकी थिइन् । उनले दुख्न चाहिँ कहिलै सिकाइनन् । दुःखमा मल्हम बन्नुपर्छ भन्ने सिकाएकी थिइन । त्यस्ती आमालाई चटक्कै छोडेर म दुःखको लामो यात्रामा निस्किएकी हुँ । र, संसारमा सबैभन्दा अभागी भएर फर्किएकी छु । नितान्त एक्ली !

क्यान्टोनमेन्ट र युएनको प्रमाणीकरण मेरा लागि महत्वपूर्ण थिएनन् । मलाई जिन्दगीको आफ्नै बाटो झुटो भन्ने लाग्दै थियो । मैले आफ्नो एक्लो र एकान्त जिन्दगी नै रोजेँ । तपाईंको देशमा भएको संविधानसभाको चुनावमा भोट हालेँ, प्रिय कमरेडहरु ! तपाईँहरुले हाम्रो आस्थामाथि गरेको खेलवाडलाई भोट हालेर मैले आफ्नो पश्चातापमा हस्ताक्षर गर्नु थियो गरेँ ।

मैले हाम्रो क्रान्ति भ्रान्ति मात्रै थियो भन्ने चिनेँ । जिन्दगीको अर्थ, सत्यहरुको उद्घाटनमा कति फरक फरक भेटिँदो रहेछ महसुस गरिरहेँ ।

बुर्जुवा शिक्षा पढाइने कति स्कुल र बेर्डिङहरुमा आगो लगाएको सम्झना आलै छँदा म लोकतान्त्रिक नयाँ नेपालको एउटा पुरानो कलेजमा भर्ना भएँ ।

कलेजका विद्यार्थीले राजनीति गर्ने शैली उस्तै थियो । कलेज र मास्टर उस्तै थिए । लामो युद्ध सकेर आएको पार्टीका नयाँ पुराना विद्यार्थी नेताले गर्ने लामा लामा भाषण मात्र केही नयाँ लाग्थे तर सत्य होइन । तर संसारचाहिँ उस्तै थिएन । चुपचाप एउटा कुनामा बसेर कुनै ट्रेजेडी नाटक हेरिरहेको अभागी दर्शकझैँ म हेरिरहन्थेँ । बुर्जुवा शिक्षाका कोर्सहरु पढ्नु, नयाँ नेपालका भाषणहरु सुन्नु र पुरानो क्याम्पसका कक्षा कोठामा कुनै अभागी लेक्चरको क्लास लिनु । यसरी मेरा केही वर्ष बिते । तैपनि यो संसारलाई मैले राम्रोसँग सम्हाल्न सकेकी छैन ।

आधार आउँथ्यो र त म आफ्नो लामो एकान्तबाट फुर्सद पाउथेँ ।

‘तिम्ले कलेज टप गर्छ्र्यौ होला ।’ उसले मलाई जिस्काउँथ्यो ।

‘जिन्दगीमा हारेपछि कलेजमा टप गरेर के हुन्छ आधार ?’

‘कसरी हार्‍यौं तिम्ले हामीले ?’

उसलाई लाग्थ्यो म निराश छु पार्टीप्रति, अनि भन्थ्यो ‘हाम्रो पार्टीले अब अर्कै ढंगले सत्ता कब्जा गर्ने छ ।’

‘आधार म त्यो मुर्ख कमरेड अब रहिन किन गफ दिन्छौँ ?’ म भन्थेँ, ‘यस्ता गफ विद्यार्थी संगठनका नयाँ कार्यकर्तालाई देऊ र भोट माग मैले त नमागे पनि तिमीलाई भोट दिन्छु ।’

मेरो व्यङग्य सहन नसकेर उसले मेरो भान्सामा चिया बसाल्थ्यो । अनि फेरि म उसको संगठन, राजनीति र सिद्धान्तका कुरा गर्दिन्थेँ । धेरै बेर गफ गरेर ऊ जान्थ्यो । अनि मेरो एकान्तको ढोका खुल्थ्यो त्यहाँ । अतित, वर्तमान र आधारका कुराले धेरैबेर हल्ला गर्थे ।

म एक्लै भएको देखेर आधारले सिनेमा जाने योजना बनाउँथ्यो । हामी घुम्न पनि जान्थेम । मेरो संसारमा किताब र आधार मात्रै थिए । उसलाई यो कुरा थाहा छ । मलाई बाँच्नुमा रस थिएन । बाँच्नु एउटा आदत न हो ।

आधार आउने बाटो हेर्न पनि मैले छोडिसकेकी थिए । एकदिन ऊ आयो । म कुनै उर्दु सुफी गीत बजाएर बसेकी थिएँ । ऊ मेरो घरमा आएर चिया आफैं बनाउँथ्यो । बनायो । त्यो दिन उसको आँखामा मेरा लागि अर्कै नौलो खालको छायाँ थियो । त्यही दिनदेखि हो, म उसलाई लिएर एकदम अलमलिएको । एकातिर संसारमा ऊ मात्रै मेरो नजिक  छ । अर्को तिर उ यत्ति नजिक पनि छैन । म उसलाई आफ्नो धेरै टाढा पनि देख्न सक्दिन । र आफ्नो धेरै नजिक पनि ल्याउन सक्दिनँ । मलाई थाहा पनि छैन ऊ के चाहन्छ । र, म पनि के चाहन्छु ?

ऊ अझै नजिक आउन थाल्यो । मैले रोकिन पनि । के मैले उसलाई प्रेम गर्न थालेँ ?

मलाई फेरि जिन्दगीको मोह जाग्दै थियो । तर मैले बाँच्न र हाँस्न राम्रोसँग जानेकै थिइन । कमरेड चित्र थिएनन्, आमा थिइनन्, बा पनि थिएनन् । साथीभाइका नाममा आधारमात्रै थियो । अरुसँग सम्बन्ध बढाउन मन थिएन । म यसरी गुप्तबास बसेको उसलाई किन मन पर्थ्यो र, थर्काउँथ्यो । उसका आँखामा मैले अर्कै मोह देख्न थालेकी थिएँ र एक्लै रमाइरहेकी थिएँ ।

सायद उसको बानी लागे होला मलाई । उसले हात समातेर हिँड्दा मैले कुनै प्रतिक्रिया जनाउँदिन थिएँ एकछिन तर कुन्नी किन केही सिमा नाघेझैँ हुन्थ्यो र छुटाउँथे । अकस्मात एकदिन उसको छातीमा मैले आफ्नो टाउको अड्याएँ । यो घटना जिन्दगीको सबैभन्दा अनौठो थियो । कति दिन म अनौठो खुसीमा रुमल्लिइरहेकी थिएँ । त्यही दिनदेखि हो आधार मेरो जिन्दगीबाट बेपत्ता भएको । के उसले बिस्र्यो म यहाँ कति एक्लै छु ? के उसलाई मेरा आँधीजस्ता चाहनाको केही मतलब छैन ?

सुख र दुःख अरुसँगै जोडिएको देखेर दिक्क लाग्छ । म एक्लै खुसी हुन किन सक्दिनँ ? अब फेरि विस्तारै मलाई विरक्त लाग्न थालेको छ । बेतुकको लाग्न थालेको छ जीवन । जीवनले देखाउने मृगतृष्णाजस्ता खुसीहरुको कुनै अर्थ छैन । खासमा जिन्दगी दुःखैदुःखले भरिएको नर्कजस्तै हो । मलाई यी सब कुरा आधारलाई भन्ने मन थियो, ऊ भेटिदैन कतै !

अब अघि आधारलाई सम्बोधन गरेर लेखेको चिठ्ठी उसलाई इमेल गरुँ की नगरुँ ?

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा