काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

SAMSUNG
  • Get News Alerts

baleno
tata

विद्यासुन्दर शाक्यले १५ वर्षअघि नै मेयरमा प्रतिस्पर्धा गर्ने योजना बनाएका थिए। स्थानीय चुनाव नहुँदा उनको चाहना स्थगित भयो। तर, यो डेढ दशक उनी अविचलित र निरन्तर आफ्नो सपनाको पछि लागिरहे।

डेढ साता लामो मतगणनापछि आइतबार बिहान घोषित नतिजामा ६४ हजार ९ सय १३ मत ल्याएर विजयी नेकपा एमालेका विद्यासुन्दरको मेयर-सपना पूरा भएको छ। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन्।

विद्यासुन्दरको जित २५ वर्षदेखिको निरन्तर राजनीतिको उपलब्धि भएको उनका निकट सहयोगीहरु बताउँछन्।

काठमाडौंको लगनटोलमा २०२० जेठ ९ गते जन्मिएका शाक्य २०४९ सालमै वडा नम्बर २१ को अध्यक्ष निर्वाचित भएका थिए। २०५४ सालमा पनि उनले यो जित दोहोर्‍याए। अर्को चुनाव २०५९ मा हुनुपर्ने थियो। उनी त्यसमा मेयर लड्ने तयारीमा थिए। महानगरपालिकाका कर्मचारी र एमाले काठमाडौंका हैतिसीहरू उनलाई मेयर भनेर जिस्क्याउन थालिसकेका थिए।

'हामीले उहाँलाई २०५९ सालमै मेयर बनाउने सोच राखेका थियौं, उहाँलाई भनेका पनि थियौं,' काठमाडौं क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका एमाले नेता रामवीर मानन्धरले सेतोपाटीसँग भने, 'आखिर १५ वर्षपछि बल्ल त्यो पूरा भयो।'

काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी शान्तराम पोखरेल त २०५४ का वडाध्यक्षमध्ये कर्मचारीहरूले धेरै रूचाउने विद्यासुन्दर नै भएको बताउँछन्।

'एमालेबाट मेयर भयो भने उहाँ नै आइदिनु भए हुन्थ्यो भन्ने हाम्रो चाहना थियो,' दुई वर्षअघि सेवानिवृत्त पोखरेलले भने, 'सबै कर्मचारीसँग राम्ररी घुलमिल भएको, कर्मचारीहरुको कुरा ध्यान दिएर सुन्ने, मनन गर्ने र कर्मचारीहरूबीच विभेद नगर्ने भएकाले उहाँलाई प्राय: सबैले मन पराउँथे।'

विद्यासुन्दर स्वयं पनि आफ्ना यी चर्चाबारे अनभिज्ञ थिएनन्।

'मेरो लक्ष्य पनि यही थियो,' शाक्यले भने, 'अब मेयरमा लड्ने हो भन्ने मैले निश्चय गरिसकेको थिएँ।'

दोस्रोपटक वडाध्यक्ष भएपछि नै उनले आफूलाई महानगरभरी सक्रिय बनाउन थालेका थिए। यो उनको योजनाबद्ध प्रयास थियो। उनले दस वर्ष वडाध्यक्षको कार्यकालमा केही सम्झनलायक काम पनि गरे। वडानम्बर २१ का सबै भित्री बाटोमा ढुंगा बिछ्याएको स्थानीय गणेश युवा क्लबका अध्यक्ष अष्टनारायण महर्जन बताउँछन्। उनकै पहलमा लगनटोलमा जमिनमुनिबाट पानी निकाल्ने व्यवस्था गरियो। यसले टोलमा रहेको पानीको हाहाकार कम गर्‍यो। 

'यहाँ टोलमा जे जे विकास भएको छ, ती सबैमा उहाँकै सक्रियता छ,' महर्जन भन्छन्, 'केही पर्‍यो भने सबैले भन्ने उहाँलाई नै हो।'

यही लोकप्रियताले वडा नम्बर २१ उनको पक्षमा एकछत्रजस्तै भयो। निकट प्रतिस्पर्धी राजुराज जोशीले ५११ मत पाउँदा उनले ३२८७ ल्याए।

यहाँ वडाबासीले चाहेर पनि उनले गर्न नसकेको काम सडक फराकिलो पार्ने हो। बसन्तपुरबाट लगनटोल आउने बाटो फराकिलो बनाउने लगनवासीको चाहना थियो। लगनचोकमा रहेको भीमसेन थापाको दरबारको पर्खाल भत्काउने अनुमति पुरातत्व विभागले दिएन। २०७२ सालको भुइँचालोमा पर्खाल आफैं भत्कियो। त्यसपछि उनले बाटो बनाउन अग्रसरता लिए। विभागको अनुमतिपछि अहिले बाटो फरकिलो भएको छ।

स्थानीय अष्टनारायणका अनुसार टोलको विकास निर्माणसँगै यहाँका सबै जात्रा, पर्व र भोजमा उनी सहभागी हुने गरेका छन्। टोलमा १५-१६ वटा क्लब छन्। सबै क्लबमा शाक्य नै संरक्षक छन्।

काठमाडौंको मेयर लड्न भनेरै दुवै संविधानसभा निर्वाचनको उम्मेदवारीमा दावी नगरेका विद्यासुन्दरका पक्षमा यसपालि एमाले जिल्ला कमिटी एकमतजस्तै थियो। तर पार्टीको गुट विवादले वैशाख १९ गते मात्रै उनको उम्मेद्वारी टुंगो लाग्यो। मेयरमा कृष्णगोपाल श्रेष्ठ, सानुराज श्रेष्ठ, जीवनराम श्रेष्ठजस्ता वरिष्ठ नेताहरूले आकांक्षा राखेपछि विद्यासुन्दरलाई केही अन्योल भएको थियो। यो दौडमा पूर्वमेयर केशव स्थापित पनि थपिए। उनी दोस्रोपटक काठमाडौंको मेयर बन्ने आकांक्षा बोकेर तेस्रोपटक एमाले प्रवेश गरेका थिए। यता केही नेताहरू मानवअधिकारकर्मी गौरी प्रधानलाई मेयर बनाउनुपर्ने बताइरहेका थिए। जिल्ला कमिटीले शाक्यसहित पाँच जनाको नाम महानगरपालिकाको मेयरका लागि सिफारिस गर्‍यो।

वैशाख १९ गते उम्मेद्वारी दर्ता गर्ने अघिल्लो दिन बसेको स्थायी समिति बैठकले अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई दियो। १९ गते बिहानसम्म श्रेष्ठ, केशव स्थापित र शाक्यको नामबारे छलफल भइरहेको थियो। अध्यक्ष ओली सुरुदेखि नै विद्यासुन्दरलाई नै उम्मेद्वार बनाउने पक्षमा थिए। तैपनि स्थापितले ओलीलाई 'कन्भिन्स' गर्न प्रयास गरिरहेकाले उनको मन फेरिने पो हो कि भन्ने डर शाक्यलाई थियो। माधवकुमार नेपाल भने जीवनरामलाई उम्मेद्वार बनाउनुपर्ने पक्षमा थिए। 

बिहानैदेखि आकांक्षीहरू र अध्यक्ष ओली तथा नेता नेपालबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक चल्यो। ओलीले सुरुमै भने, 'कसैले मलाई म जित्छु भनेर लेखेर दिन्छ भने म उसैलाई उम्मेद्वार बनाउँछु, नभए विद्यासुन्दर नै उम्मेद्वार हुन्।'

विद्यासुन्दरले मेयरको टिकट पाए।

उनको मेयर सपनाको एउटा खड्गो कट्यो।

दिउँसो १ बजे अध्यक्ष ओलीले विद्यासुन्दरलाई उम्मेद्वार बनाउने निर्णय गरे। यससँगै राप्रपासँगको तालमेलको निर्णय पनि गरे। यही क्षणबाट विद्यासुन्दरको चुनावी दौड सुरू भयो।

'यो टिकट मैले वडाध्यक्ष हुँदा काम गरेर आर्जन गरेको हुँ,' शाक्यले भने, 'जिल्ला कमिटीले मेरो नाम सर्वसम्मतजस्तै सिफारिस गरेको हो।'

टोलबाटै सुरु राजनीति

काठमाडौं- २१, लगनटोलमा सिलखाना भनेर चिनिने पुरानो महल छ। यो महल भीमसेन थापाको पालामा उनका भाइ रणवीरसिंह थापाले बनाएका हुन्, जसले संन्यासपछि आफ्नो नाम स्वामी अभयानन्द राखेका थिए। स्थानीय उनलाई अभयानन्द भनेर नै चिन्छन्।

रणवीरसिंहको महल बनेको ठाउँमा पहिले शाक्यहरूको घर थियो। थापाले त्यहाँ महल बनाउने रूचि राखेपछि उनीहरूलाई नजिकै जमिन उपलब्ध गराएको विद्यासुन्दरका दाजु सुवर्णमान शाक्य बताउँछन्।

विद्यासुन्दरको राजनीति पुर्खादेखि बस्दै आएको यही टोलबाट सुरु भएको हो।

'पहिले हाम्रो घर त्यहीँ थियो रे,' लगनटोलको चिया पसलमा बसेर उनले सिलखाना देखाउँदै भने, 'त्यहाँ दरबार बनाउने भनेपछि हाम्रा बाजेहरूलाई यताको जमिन सट्टामा दिएको थियो रे।'

उनका पुर्ख्यौली जग्गाजमिन भने काठमाडौका विभिन्न ठाउँमा छरिएका छन्। अहिलेसम्म सबै जमिन अंशबण्डा भइनसकेको सुवर्णले बताए। सुवर्ण विद्यासुन्दरका बडाबाका छोरा हुन्।

विद्यासुन्दरका बुवा हिरारत्नले पुर्ख्यौली सम्पत्तिमा निकै ठूलो हिस्सा थपे। हिरारत्न तिब्बतको ल्हासाका व्यापारी थिए। लामो समय ल्हासामा व्यापार गरेर उनले प्रशस्त सम्पत्ति कमाएका थिए। ल्हासाबाट फर्किएपछि उनले लरी किनेर चलाए। केही समय बस पनि चलाए।

जीवनको पछिल्लो कालखण्डमा भने हिरारत्न चाँदीका मूर्ति कुँदेर बेच्ने गर्थे। मिलाएर खर्च गर्ने हो भने अझै दुई-तीन पुस्ताले सम्पत्तिका लागि चिन्ता गर्नु नपर्ने विद्यासुन्दर आफैं बताउँछन्।

'हामीलाई सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्न पर्‍यो?' वडाध्यक्ष र सर्वदलीय संयन्त्रमा रहँदा एक पैसा तलमाथि नगरेको दाबी गर्दै उनले भने, 'मिलाएर खर्च गर्ने हो भने अझै दुई-तीन पुस्तालाई पुग्ने पुर्ख्यौली सम्पत्ति छ।'

हिरारत्न र सुवर्ण एउटै घरमा हर्किएका हुन्। सुवर्णका चार दाजुभाइ र विद्यासुन्दरका दुई दाजुभाइ गरी छ जना एकै परिवारमा हुर्किए। २०७२ सालको भुइँचालो नजाँदासम्म उनीहरू सगोलमै थिए। भुइँचालोले घर भत्काएपछि भने नयाँ घर बनाएर आफू अलग बस्न थालेको विद्यासुन्दर बताउँछन्।

काठमाडौंको सम्पन्न नेवार परिवारमा हुर्किएका विद्यासुन्दरले आमाको माया भने कहिल्यै महशुस गर्न पाएनन्। उनी डेढ वर्ष नपुग्दै उनकी आमाको निधन भयो। विद्यासुन्दर र उनका दाजु विद्यामान बुवाकै माया र स्नेहमा हुर्किए। छोराहरूका लागि हिरारत्नले आमाको पनि भूमिका निर्वाह गरे। विद्यामान पहिलेदेखि नै युरोपमा छन्।

विद्यासुन्दरसँगको कुराकानीमा आफ्नो व्यक्तिगत जीवनका बारेमा उनी केही बोल्न चाहेनन्। उनी यी विषयमा हत्तपत्त खुल्दैनन्। उनीसँग एउटै कमिटीमा वर्षौं काम गरेका व्यक्तिलाई पनि उनको व्यक्तिगत र पारिवारिक जीवनबारे थाहा हुँदैन।

उनी मेयरमा निर्वाचित हुने करिब पक्का भएपछि हामीले उनीसँग कुरा गरेका थियौं। उनले पहिले नै भने, 'राजनीतिक कुरा मात्रै गरौं, व्यक्तिगत कुरा अहिले नगरौं है।'

केहीबरेपछि उनले आफैं आफ्नो स्वभावबारे टिप्पणी गरे, 'म त्यति मिडिया फ्रेन्डली छैन।'

विद्यासुन्दरको पढाइ नजिकैको इपिएस (इंग्लिस प्रिपेरेटोरी स्कुल) स्कुलबाट सुरु भयो। चारदेखि १० कक्षासम्म उनले त्रिपुरेश्वरको विश्वनिकेतन स्कुलमा अध्ययन गरे र यहीँबाट एसएलसी गरे। उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका छन्।

विद्यासुन्दर पढाइमा तीक्ष्ण त छँदै थिए, फुटबल खेल्न झन् सिपालु। ८-१० वर्षको हुँदैदेखि फुटबलमा उनको रस बस्यो। यही बेला लगनटोलका युवाहरूको फुटबल टिम बन्यो। टुँडिखेलमा हुने सानातिना प्रतियोगितामा भाग लिन थाल्यो। अलि ठूलो भएपछि विद्यासुन्दरले पनि टिममा ठाउँ पाउन थाले।

२०२८ सालमा स्थानीय शिक्षक उदयचन्द्र शर्माको सक्रियता र अध्यक्षतामा श्री गणेश युवा क्लब खुल्यो। युवा क्लबमा विद्यासुन्दरले पनि ठाउँ पाए। फुटबल खेल्न गठन भएको यो क्लबले तुरून्तै सामाजिक काम पनि सुरु गर्यो। जात्रा-पर्व आयोजना, सांस्कृतिक कार्यक्रमदेखि टोलको सरसफाइमा क्लबले नै अगुवाइ गर्न थाल्यो। केही वर्षभित्रै युवा क्लब लगनको एउटा अपरिहार्य संरचना बन्यो। विद्यासुन्दर क्लबका सचिव भए।

सानै उमेरमा क्लबमा आबद्ध भएकाले यसको प्रभाव उनको स्वभावमा पनि पर्‍यो। उनी सामाजिक काममा खट्न रूचाउन थाले। टोलमा परेका समस्या समाधानमा अगुवाइ गर्न थाले। क्लबको अगुवाइ थालेदेखि नै उनी टोलको नेता भइसकेको क्लबका वर्तमान अध्यक्ष अष्टमान महर्जन बताउँछन्।

टोलमा वा साथीभाइसँग उनले त्यति झगडा गरेनन्। फुटबल खेल्दा भने विपक्षी टिमसँग प्रशस्तै झगडा भएको अष्टमान सम्झन्छन्।

'विद्यासुन्दर र म धेरै समय क्लबको टिममा रहेर खेल्यौं, ' उनले हाँस्दै सुनाए, 'धेरैपटक झगडा भएको छ। हामी लडाकु थियौं त्यो बेला।'

यस्ता विद्यासुन्दर राजनीतिमा होमिएपछि भने एकदमै शान्त र धैर्यवान बने। उनी जस्तोसुकै कठोर कुरा मुसुमुसु हाँसेर सुनिरहन्छन्। पालो आएपछि हाँसीहाँसी आफ्नो कुरा राख्छन्।

काठमाडौं महानगरपालिकाका केही बैठकको अनुभव सुनाउँदै शान्तराम पोख्रलले भने, 'उहाँ भन्नलाई पुग्ने गरेरै भन्नु हुन्छ, तर हाँसेर भन्नुहुन्छ। अनि जस्तोसुकै कुरा पनि सुनिरहनुहुन्छ। झनक्क रिसाएको मैले एकपटक पनि देखेको छैन।'

विद्यासुन्दरको व्यक्तित्वबारे मान्छेले याद गर्ने पहिलो कुरा नै उनको शालिनता, मीठो बोली र सदाबहार मुस्कान हो।

नेता रामवीर मानन्धर भन्छन्, 'विद्यासुन्दरका केही अचम्म लाग्ने गुण छन्। उहाँ थोरै तर असाध्यै मिठो बोल्नु हुन्छ। मुसुक्क हाँसेर बोलेको हेरिरहुँ लाग्छ। अर्को कुरा उहाँ रिसाउनुभएको आजसम्म थाहा पाएको छैन।'

राजनीति गर्न थालेपछि नै लडाकु विद्यासुन्दर सहनशील र शान्त भएको अष्टमान बताउँछन्।

२०३६ सालको विद्यार्थी आन्दोलन र लगत्तै जनमत संग्रहले राजनीतिप्रति उत्सुक बनेका विद्यासुन्दर २०४६ को जनआन्दोलनसम्म आइपुग्दा राजनीतिक रुपले सक्रिय भइसकेका थिए। 'हामी कांग्रेस-कम्युनिस्ट केही नभनी आन्दोनलनमा सहभागी भयौं,' उनले भने, 'एउटा हातमा कांग्रेस अर्को हातमा कम्युनिस्टको झण्डा बोकेर नारा लगाउँथ्यौं।'

जनआन्दोलनको समयदेखि नै उनको वामपन्थी नेताहरूसँग सम्पर्क हुन थाल्यो। सम्पर्क सूत्र थिए, माले कार्यकर्ता कुलभक्त शाक्य। त्यसपछि सानुराज शाक्यसँग पनि उनको सम्पर्क भयो।

२०४७ सालमा श्री गणेश युवा क्लबमा आबद्ध सबै नेकपा मालेको प्रजातान्त्रिक युवा संघमा समाहित भए। यहाँबाट नै विद्यासुन्दरको औपचारिक राजनीतिक जीवन सुरु भएको हो। त्यसको दुई वर्षपछि २०४९ मा भएको स्थानीय तह निर्वाचनमा उनले वडाध्यको टिकट पाएका थिए।

अष्टमानका अनुसार शंकरदेवको पढाइ सकेपछि उनले लगनमा औषधि पसल सुरू गरेका थिए। वडाध्यक्ष हुँदासम्म उनले पसल चलाइ नै रहे। जनप्रतिनिधिका रूपमा काम गर्न थालेपछि भने पसल बन्द गरे।

२०५१ सालमा सुजिता शाक्यसँग उनको विवाह भयो। छोरी पालिस्ता ८ कक्षा पढ्दैछिन् भने छोरा सुविदले स्नातकसम्मको पढाइ सकिसकेका छन्।

यसबीच पार्टीमा पनि उनले आफ्नो हैसियत बढाउँदै लगे। २०४९ मा नै जिल्ला कमिटी सदस्य बनेका उनी सात वर्षअघि भएको जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भए। अहिले पनि जिल्ला कमिटी सचिवका रूपमा क्रियाशील छन्।

चुनावी संग्राम

मेयर विद्यासुन्दर ठूलो महत्वकांक्षा बोकेका नेता होइनन्। उनी स-साना काम परिपक्व ढंगले गरेर खारिएका नेता हुन्।

भाषण गरेर मात्र धेरै मानिसलाई प्रभाव पार्नेमा उनी विश्वास गर्दैनन्। उनी बिस्तारी बोल्छन्, र बिस्तारी काम गर्न रुचाउँछन्। हरेक कामको परिपक्व योजना बनाउँछन् र जसरी भए पनि पूरा गर्छन्। 

यो चुनाव पनि उनका लागि यस्तै एउटा परीक्षा थियो। उनले यसको निम्ति ठूला सभा गर्नेभन्दा धेरै मतदातालाई भेट्ने रणनीति अपनाए।

'हामीले तामझामवाला ठूल्ठूला सभा गरेनौं,' चुनावी रणनीतिबारे उनले भने, 'धेरैभन्दा धेरै मतदातालाई भेटेँ, उनीहरूका कुरा सुनेँ र आफूलाई मतदान गर्न 'कन्भिन्स' गरेँ।'

अब मेयर भएर आइसकेपछि उनले योभन्दा चुनौतीपूर्ण परीक्षा दिनुपर्नेछ।

उनको पहिलो चुनौती सकेसम्म चाँडो काठमाडौंको सडकमा उडिरहेको धूलोको समस्या समाधान गर्नु हो। यसका लागि महानगरपालिकाले अहिले गरिरहेको प्रयासलाई उनले चाँडो र प्रभावकारी बनाउनुपर्ने छ।

पोखरेल भन्छन्, 'यसका लागि उहाँले अरू निकायसँग कसरी समन्वय गर्नुहुन्छ र महानगरका कर्मचारी कसरी परिचालन गर्नुहुन्छ भन्नेमा भर पर्छ।'

सार्जनिक सवारी व्यवस्थापन उनका लागि अर्को चुनौतिपूर्ण हुनेछ।

एमाले घोषणापत्रमा उपत्यकामा दुई वर्षमा मोनो रेल र तीन वर्षमा मेट्रो रेल सञ्चालनमा ल्याउने भनिएको छ। महानगरका पूर्वकर्मचारी पोखरेल यो सम्भव हुने कुरा जस्तो नलाग्ने बताउँछन्।

'झट्ट सुन्दा यो सम्भव हुन्छ जस्तो लाग्दैन,' उनले भने, 'उहाँले कसरी काम गर्नुहुन्छ, केही दिनको काम हेरेपछि नै सम्भव हुन्छ कि हुन्न थाहा भइहाल्छ।'

स-साना गाडी काठमाडौंबाट हटाएर ठूला र सुविधायुक्त बस सञ्चालन गर्नेमा जोड दिनुपर्ने पोखरेलको सुझाव छ।

'म महानगरमा हुँदै हामीले साझामा लगानी गर्ने निर्णय गरेका थियौं, त्यो प्रभावकारी देखियो,' उनले भने, 'रेल दीर्घकालीन कुरा हो। यस्ता बसका लागि तत्काल काम गर्न सकिन्छ।'

सबै भूकम्पपीडितले अहिलेसम्म घर बनाउन सरकारले दिने भनेको रकम पाएका छैनन्। स्थानीय निर्वाचनमा मत खसाएका महानगरका भूकम्पपीडित चाँडै नै उनको ढोका ढक्ढक्याउन पुग्नेछन्। उनीहरूलाई सम्बोधन गर्नु पनि उनको चुनौति हुने पोखरेलको भनाइ छ। भूकम्पमा भत्किएका पुरातात्विक सम्पदा पुनर्निर्माणलाई गति दिनु पनि उनको दायित्व हुने छ।

'अहिलेसम्म धरहरा बनाउन सुरु भएको छैन,' उनले भने, 'वरपरका सबै सम्पदा पुनर्निर्माण भएको छैन। पुननिर्माणको कामलाई गति दिनु उहाँको अर्को चुनौति हो।'

समयमा मेलम्चीको पानी आयो भने खानेपानी व्यवस्थापनको चुनौति उनका लागि कम हुनेछ। समयमा आएन भने अर्को चुनौति थपिने छ।

यी चुनौति सामना गर्न ठूला निर्णय र ठूला सपनाको खाँचो हुन्छ। विद्यासुन्दरले महानगरलाई कसरी नेतृत्व गर्लान् त?

लगातार २५ वर्ष उनीसँग नजिकबाट संगत गरेका पोखरेल भन्छन्, 'उहाँको राजनीतिक क्षमता खारिँदै आएको छ। उहाँ महत्वाकांक्षी व्यक्ति होइन, तर परिपक्व र अनुभवी मान्छे हो।'

शाक्यसँग प्रत्येक योजनाबारे सबै कुरा बुझ्ने र समयमा ठीक निर्णय लिने क्षमता भएको हुँदा महानगरले राम्रो काम गर्न सक्ने पोखरेलको बुझाइ छ।

'कर्मचारी भएर हेर्दा विद्यासुन्दरको कमजोरी के छ त?'

'उहाँको त्यसरी औंल्याउनै पर्ने कमजोरी त छैन,' पोखरेलले भने, 'बहुदल आएदेखि बीचमा कर्मचारी कुनै न कुनै पार्टीमा लागेकै छन्। परिस्थिति त्यस्तै छ। उहाँले आफ्ना र अर्काका कमर्चारी छुट्याउनुभयो भने चाहिँ समस्या हुनसक्छ।'

जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।