श्रीमतीको पहिलोपटक भोट पाएका मेयर

  • Get News Alerts

दक्षिणकालीका नवनिर्वाचित मेयर मोहन बस्नेत विजय जुलुसका क्रममा आफ्नो परिवारसँग। तस्बिर: नारायण महर्जन/सेतोपाटी


चुनावमा उठेको उम्मेदवारलाई मौखिक आश्वासन र भावनात्मक समर्थनले मात्र पुग्दैन। यी त उम्मेदवारलाई ढाडस दिने माध्यम मात्र हुन्।

निःसर्त, जित्न त भोट नै चाहिन्छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत हालै मेयरमा निर्वाचित भए। यसअघि २०४९ र ०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष जितेका उनले आफ्नै घरभित्रको समेत भोट पाएका थिएनन्।

टुल्कु डुँडेचौरमा जन्मिएका बस्नेत बिहेपछि फर्पिङ सरेका थिए। मतदाता नामावलीमा उनको नाम टुल्कु डुँडेचौरतिरै भयो। उनकी श्रीमतीको नाम भने फर्पिङमा चढ्यो। ०४९ र ०५४ को स्थानीय निकाय निर्वाचनमा उनी आफ्नो जन्मथलोबाट गाविस अध्यक्षमा चुनाव लडे। श्रीमती ज्ञानी बस्नेतले श्रीमानलाई भोट दिन पाइनन्।

‘त्यतिबेला चुनावको अघिल्लो दिनसम्म खासै गाह्रो हुन्थेन,’ मनको छटपटीलाई गाह्रो शब्दमा अर्थ्याउने ज्ञानीले सेतोपाटीसँग भनिन्, ‘जब चुनावको दिन बिहान हुन्थ्यो, उहाँ पल्लो गाउँ जानुहुन्थ्यो। मलाई त अर्को गाउँबाट भोट दिनुपर्ने भयो भनेर बिहानैदेखि छटपटी हुन्थ्यो। चुनाव हो, के भन्न सकिन्छ र, एक भोटले पनि त हार्न सकिन्छ नि हैन र? एक भोटले मात्र पनि हार्नुभो भने? यस्तायस्तै सोचेर मेरो पेट पोलिरहन्थ्यो।’

ज्ञानीको यो भुटुभटी मेटिन २० वर्ष लाग्यो।

यसपालि स्थानीय निर्वाचनमा टुल्कु डुँडेचौर र फर्पिङसहित अरू गाविस गाभिएर दक्षिणकाली नगरपालिका बन्यो। बीस वर्षअघि आफ्नै श्रीमानलाई भोट दिन नपाएकी ज्ञानीले नगरपालिका घोषित भएपछि पहिलोपल्ट आफ्ना श्रीमानलाई भोट दिन पाइन्, त्यो पनि मेयरमा।

संयोगको कुरा, श्रीमती ज्ञानीको पहिलोपटक भोट पाएकै चुनावमा ६३ वर्षीय मोहन बस्नेत मेयर निर्वाचित भए।

श्रीमानले यसअघि जितेका दुई चुनावभन्दा यसपटक ज्ञानी बढ्तै खुसी छिन्। गाविसभन्दा ठूलो चुनाव जितेको भएर मात्र होइन, श्रीमानको जितमा आफ्ना र सन्तानको भोटसमेत मिसिएकोमा।

तिनै ज्ञानी बुधबार मेयर निर्वाचित हुने दिनसम्म पीडामा छट्पटिइरहेकी थिइन्। नगरपालिकाका आठवटा वडाका मत गन्दासम्म बस्नेत झन्डै चार सय मतले पछि थिए। उनी घरिघरि टिभी हेर्थिन्। जतिखेर श्रीमानभन्दा प्रतिद्वन्द्वी अगाडि परेको समाचार सुन्थिन्, उनको बेचैनी बढ्थ्यो।

जब नौ नम्बर वडाको मत गन्न सुरु भयो, उनी प्रतिद्वन्द्वीको मतलाई उछिन्दै अघि बढे। श्रीमती ज्ञानीलाई अझै विश्वास भइरहेको थिएन, आठवटा वडा गन्दासम्म पछाडि परेका श्रीमान एउटै वडाबाट कसरी अगाडि आउलान्? उनले लगमभग आश मारिसकेकी थिइन्। तर, मोहनको पक्षमा परेका मत थुप्रिँदै गए। प्रतिद्वन्द्वीलाई झन्डै ६ सय मतले पछाडि छोडिदिए।

श्रीमती ज्ञानीको हिक्का छुट्यो। धर्मप्रति आस्था राख्ने श्रीमती पूजा कोठा र दूध खान पालेको गाईको थलोमा पुगेर डाँको छाडेर रोइन्। अघिपछि दुःख र खुसीको रुवाईमा उनी सधैं यस्तै गर्ने रहिछन्।

‘मलाई उहाँले जित्नुहुन्छ भन्ने विश्वास त थियो, तर आठवटा वडाको गन्दासम्म पछि परेको मान्छे कसरी जित्नुहुन्छ होलाजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘घरमा कोही नभएको बेला म पूजाकोठामा गएर भगवानसँग प्रार्थना गर्थें र डाँको छाडेर रुन्थेँ। दूध खान पालेको गाई र मेरो भाषा नमिले पनि गाईले मेरो कुरा बुझ्छजस्तो लाग्छ। म गाईसँग पनि रुन्थेँ।’

यसरी रोएपछि ज्ञानीको बोझ हलुका हुन्छ। भारी टाउको आँशु झरेपछि एकाएक हलुंगो हुन्छ। स–साना पीडा पनि उनी कसैलाई सुनाउँदिनन्। सुनाउन खोजे पनि राजनीतिमा लागेका श्रीमानसँग त सुन्ने फुर्सद नै कहाँ हुन्थ्यो र? पूजाकोठा र गाईसँग रुनु नै पीडा घटाउने उपाय हो उनको।

यसपालि भने उनलाई पटक–पटक रुँदा पनि शान्ति मिलेन। आफ्नो श्रीमानभन्दा प्रतिद्वन्द्वी जहिल्यै माथि भइरहँदा अन्तिमतिर उनले आशै मारेर भनिन्, ‘अब त के जितिएला र हजुर?’

मतगणना हुँदा ज्ञानीले श्रीमानसँग सोधेको यत्ति हो। सुरुमा त उनलाई श्रीमानलाई यति पनि नभनौंजस्तो लागेको थियो रे।

‘देख्दा चिन्ता नपरेजस्तो देखिए पनि मनमा त साँच्चिकै छटपट भइरहेको थियो होला, तर हामीलाई पीर पर्छ भनेर नदेखाउनु भएको होला,’ ज्ञानीले भनिन्, ‘मलाई पनि पीर परेको देखाउन मन थिएन। उहाँलाई सुगर छ। फेरि तनाव बढेर जे पनि हुन सक्छ भन्ने डर थियो।’

यस्तो जान्दाजान्दै उनले खप्नै नसकेर मुख फोरिन्। तब श्रीमान मोहनले भने, ‘तिमी चिन्ता नलेऊ न। वडा नम्बर नौ मेरो गाउँ हो। त्यहाँ मेरो भोटको भकारी नै छ।’

मोहनको यस्तो विश्वासका कारण उनको आफ्नै मिहिनेत र समर्पण हो।

०४८ सालको चुनावपछि निकै मेहनत गरेर उनले चारवटा वडाका जनतालाई जग्गाको लालपुर्जा दिलाएका थिए। टुल्कु डुँडेचौरमा अध्यक्ष भएपछि उनले त्यो गाउँलाई नमूना गाउँ विकास समिति बनाएका थिए। त्यो बेला मोटर बाटो थिएन। बाटो ल्याए। बिजुली थिएन, त्यो पनि ल्याए। खानेपानी समस्या थियो, पानी जुटाए। यिनै सुधारले २०५२ सालमा जिल्ला विकास समितिले त्यो गाउँलाई नमूना गाविस घोषणा गरेको थियो।

यिनै उपलब्धिको बलले हो, मोहनको विश्वास धर्मराउन पाएन। वडा आठसम्म पछाडि परिरहेका उनी वडा नम्बर नौ अर्थात्, जहाँ उनी दुई पटकसम्म गाविस अध्यक्ष भएका थिए, त्यही वडाको भोटले उनलाई जित दिलायो।

‘भोट त साँच्चिकै भकारीमै रै’छ,’ ज्ञानीले हाँस्दै भनिन्, ‘यत्रो वर्ष राजनीति गर्दा मेरो श्रीमानले कमाउनुभएको चिज आफ्नै ठाउँमा पो जम्मा गर्नुभएको रहेछ। त्यो ठाउँ छोडेर अर्को गाउँ सर्दा पनि उहाँलाई पुरानै ठाउँको माया किन लाग्छ भन्ने बल्ल थाहा पाएँ।’

ज्ञानीमा अहिले खुसीको सीमा छैन। गाविस अध्यक्ष हुँदा गाउँको विकास गरेको भनेर कमाएको तारिफले त्यस्ता ६ गाविस गाँसिएर बनेको ठूलो ठाउँको मेयर पद दिलाएकोमा उनी गाउँलेहरूप्रति धन्य छिन्।

त्यसो त, उति धेरै नपढेकी ज्ञानीलाई मेयर पद कस्तो हो र यसले के–के गर्छ भन्ने थाहा छैन। पहिलेको गाविस अध्यक्ष र अहिलेको वडाध्यक्षभन्दा ठूलो पद भन्ने मात्र थाहा छ। उनलाई अहिले जितको खुसी छ, पदको वरियतासँग भने उति चासो छैन। यो उनको पहिलेदेखिकै स्वभाव रहेछ।

जति उनी दुःखलाई मनमनै दबाउन सक्छिन्, खुसी व्यक्त गर्ने तरिका पनि उस्तै छ उनको। उनी आफ्नै धुनमा चलिरहन्छिन्। फूलमालाको पसल छ, छोराहरू फूल ल्याइदिन्छन्। उनी उनेर बस्छिन्। उनलाई मनमनै खुसी हुन मात्र आउँछ रे। देखाउन स्वभाव छैन।

बिहीबार यस्तै अवस्थामा भेटिइन्। जुन ठाउँबाट उनले श्रीमानलाई भोट दिएकी थिइन्, त्यही ठाउँमा विजय सभा हुँदै थियो। अबिरले राताम्मे ढाकेका श्रीमानलाई कसैले अबिर त कसैले खादा पहिर्याउँदै अघिअघि ब्यान्ड बाजाको लस्करमा निस्किएको विजय जुलुस फर्पिङ नगर परिक्रमा गर्दै थियो। मेयरका आफन्तलाई समेत मतदाताले खादा र अबिर लगाउँदै गर्दा ज्ञानी भने त्यो भीडमा कतै थिइनन्।

हामीले परिवारका सबै सदस्यको फोटो खिच्नुपर्यो भनेपछि कान्छो छोरा ज्योति बस्नेतले आमालाई लिन मोटरसाइकल पठाए। सामान्य पहिरनमा टीका मात्र लगाएर ज्ञानी सभास्थल आइपुगिन्। नेतालाई कहिले पो फुर्सद हुन्छ र? अझ चुनाव लागेको नेतालाई! भाषणको पालो आउनै लाग्दा मञ्चबाट थुतेर सपरिवारको फोटो खिचियो।

श्रीमानको बेफुर्सदीको प्रसंगबाटै ज्ञानीसँग कुरा सुरु भयो। मेयर पद जितेपछि दोहोरो कुराकानी पनि हुन भ्याएको रहेनछ।

उनले ३५/३६ वर्षअघि श्रीमानले गाउँकै युवा क्लबको अध्यक्ष हुँदाको क्षण सम्झिइन्। यसैबेलादेखि मोहनले राजनीति सुरु गरेका थिए।

‘हाम्रो फूलमालाको पसल थियो,’ उनले स्मृतिका पुराना फाइल पल्टाउन थालिन्, ‘उहाँ मुखभरी अबिर दलेर म त युवाक्लबको अध्यक्ष भएँ नि भन्दै आउनुहुन्थ्यो। मलाई युवा क्लबको अध्यक्ष भनेको के हो भन्ने नि थाहा थिएन। पछि मात्र बुझेँ।’

गाउँको युवा क्लबबाट अध्यक्ष बनेका उनले अहिलेसम्मै अध्यक्षकै पदमा जितिराखेका छन्। कहिले गाविस अध्यक्ष भएर होस्, कहिले पार्टीको नगर समितिको सभापति भएर होस्, या कहिले मेयर भएर होस्।

बस्नेतले कांग्रेसको राजनीति गर्न थालेको ३२ वर्ष भयो। २०३४ सालमा पञ्चायती शासनविरुद्ध आफ्ना बाबु जेल परेदेखि नै आफू कांग्रेस भएको उनी बताउँछन्। बुवाकै प्रभावले कांग्रेस राजनीतिमा लागेका उनी सक्रिय सदस्य हुँदै महासमिति सदस्य भैसकेका छन्। राजनीतिमा सक्रिय उनलाई फुर्सद भने कहिल्यै भएन। श्रीमतीले फूलमाला पसल चलाउनेदेखि, बस्तुभाउ पाल्ने, खेतीपातीसम्मको काम भ्याइन्। पछि चार छोरा–छोरी हुर्किएर आमालाई काममा सघाए। मोहनले भने सायदै कुनै दिन घरलाई पूरा समय दिए।

ज्ञानीलाई यसको गुनासो भने छैन।

‘उहाँ जहिल्यै गाउँलेको पीरमर्का बुझ्नुपर्छ भनेर हिँड्नुहुथ्यो,’ ज्ञानी भन्छिन्, ‘कहिले महिनौंसम्म घर नआउने। महिनौंपछि घर आएको पहिलो दिन पनि सँगै बसौं न त भन्दा राति १२/१ बजे फोनको घन्टी बज्थ्यो। कसैले रक्सी खाएर श्रीमती कुट्योदेखि तास खेलेर चौकीमा मुद्दा मिलाउनसम्म पुग्नुपर्थ्यो। राति हिउँ परिरहेको बेला यति राति नजानुस् न त भन्दा पनि मान्नुहुन्थेन। कस्तो पेसा रोज्नुभयो नि हजुर भन्दै रुन्थेँ।’

मोहन भने श्रीमतीको रुवाईले रोकिन्थेनन्। ज्ञानी झन् डाँको छाडेर रुन्थिन्। तर, विस्तारै उनले चित्त बुझाउँदै गइन्।

‘त्यतिबेला गुनासो भए पनि अहिले जे गर्नुभएछ ठिक गर्नुभएछ जस्तो लाग्छ,’ उनले थपिन्, ‘नत्र त यति ठूलो पदमा गाउँलेले जिताउने थिएनन् नि।’

पसल चलाएर पैसा कमाउनुपर्छ कहिल्यै भन्नुभएन?

‘अहँ, कहिल्यै भनिनँ,’ उनले भनिन्, ‘मलाई पैसाको मतलब कहिल्यै भएन। अहिले पनि उहाँसँग पैसा छैन। पसल र खेतीपातीबाट घर चलायौं। खल्तीमा कहिलेकाहीँ मात्र पैसा भेटिन्थ्यो। अनि म पैसा राखिदिन्थेँ। कहिलेकाहीँ उहाँ आफैं माग्नुहुन्थ्यो।’

दुई छोरा र दुई छोरीका पिता मोहनसँग सन्तानहरूको भने उतिबेला भयंकर गुनासो रहेछ। कान्छी छोरी अहिले अस्ट्रेलियामा छिन्। जेठी छोरी बिहे गरेर भक्तपुर पुगेकी छन्। तर, उनको जागिर छैन। जेठा छोरा बाबुले खोलेको फूलमाला पसल चलाउँछन्। कान्छो छोरा बिहान बेलुका पसलको रेखदेख गर्छन् र दिउँसो बीस किलोमिटर टाढा प्रिन्टिङ प्रेसमा स्टोरकिपरको काम गर्छन्। खेतीपाती उनीहरूको अर्को मुख्य पेसा हो।

यी दुवै छोरालाई पहिले ठूलो पदको सरकारी जागिर खान मन रहेछ। बाबुलाई पटक–पटक भनेछन् पनि। जेठी छोरी त जागिरका लागि अझै पनि भनिरहन्छिन्। तर, मोहनले सुने/नसुनेझैं गरिरहेका छन् रे।

‘अरूलाई जागिर मिलाइदिएको सुनेको थिएँ,’ कान्छो छोरा ज्योति बस्नेतले भने, ‘तर, बुवाले हामीलाई जागिर मिलाउनुभएन। मैले आफैंले जागिर खोजेँ। अहिले उहाँले ठिक गर्नुभयो जस्तो लाग्छ। नत्र त आफ्नो खुट्टामा आफैं उभिन सक्ने हुने थिइनँ। अहिले गाउँलेले दिने सम्मानबाटै हामी खुसी छौं।’

उता, दुईपटक गाविस अध्यक्ष बनेका बस्नेत राजनीति र आफ्ना मतदाताप्रति कतिसम्म संवेदनशील छन् भने, मेयर पद सम्हालेपछि पहिलो साता नै आफू जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने तयारीमा छन्। ‘हुन त मैले यहाँका समस्या के हुन् बुझेको छु। तर जनताले मबाट के काम होस् भन्ने चाहेका रहेछन्, पहिला त्यो बुझ्ने छु,’ उनी भन्छन्।

२०७२ वैशाखको भूकम्पले ढलेका कयौँ जनताका घर उठ्न सकेका छैनन्। आफ्नो पहिलो काम त्यहीँबाट सुरु गर्ने उनले बताए। ‘अहिले मैले सोचेको पहिलो काम भूकम्पले ल्याएका समस्या समाधान गर्नु हो,’ उनले भने, ‘सरकारले भूकम्पपीडितलाई राहत लगायत व्यवस्थाका लागि ल्याएका नीति परिवर्तन गर्नुपरे नि म गर्ने छु। जसरी पनि स्रोत जुटाएर जनताको घरबास उठाउन मैले काम गर्ने छु।’

उनका अनुसार यो क्षेत्रको पहिलो र ठूलो समस्या भनेको शिक्षित बेरोजगारी हो। दक्षिणकालीमा पर्यटनको विकास गरेर रोजगारी सिर्जना गर्ने उनको प्राथमिकतामा छ। त्यसबाहेक खानेपानी र फोहोरमैला व्यवस्थापन पनि दक्षिणकाली क्षेत्रको प्रमुख समस्या भएको उनले बताए।

‘यी समस्या समाधानतर्फ मेयरका रूपमा मेरो प्राथमिक कदम हुने छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।