गाविस अध्यक्ष बन्ने रहर थियो, मेयर भएँ

  • Get News Alerts

samsung
tata

टोखा नगरपालिकाका नवनिर्वाचित मेयर प्रकाश अधिकारी आमा सरस्वती र पत्नी रेणुसँग। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


प्रकाश अधिकारीले २०५४ सालमै गोंगबु गाविसको अध्यक्ष बन्ने सुर कसेका थिए। उनको यो चाहना पूरा भएन। उनी गोंगबु गाविसको अध्यक्ष त बन्न सकेनन् तर उनले त्योभन्दा धेरै ठूलो अवसर पाए, टोखा नगरपालिकाको पहिलो मेयर बन्ने।

२०५४ को स्थानीय निर्वाचनमा उनी एमाले तर्फबाट गाविस अध्यक्ष लड्न चाहन्थे। पार्टीले उनलाई उपाध्यक्षको उम्मेद्वार बनायो। राम्रै मत ल्याएर उनी विजयी भए। अध्यक्षमा एमालेकै उम्मेद्वार मच्छेकाजी महर्जनले नेपाली कांग्रेसका सबुज बानियाँलाई ६ मतले हराएका थिए। सबुज अदालत गए। अदालतले प्रतिकूल फैसला सुनाएपछि महर्जनले अध्यक्ष पद बानियाँलाई जिम्मा लगाए।

महर्जन अध्यक्ष हुँदा होस् वा बानियाँ अध्यक्ष हुँदा, प्रकाश आफ्नो काममा लागिरहे। उपाध्यक्ष हुँदा राम्रो काम गरेर अर्को चुनावमा अध्यक्ष हुने उनको चाहना थियो।

'राजनीतिमा पसिसकेपछि केही गर्नुपर्छ भन्ने थियो,' बुधबार मतपरिणाम घोषणा हुनु केही घन्टाअघि ४८ वर्षीय प्रकाशले सेतोपाटीसँग कुराकानी गर्दै भने, 'मैले त्यो बेला जनताको विश्वास कमाउन सकेँ। अहिले त्यही कारणले पार्टीले मलाई टिकट दिएको हो। जनताले मलाई मेयर बनाएका हुन्।'

उपाध्यक्षको कार्यकाल सकिएसँगै २०५९ मा हुने चुनावबाट गाविस अध्यक्ष हुने उनको चाहना थियो। यहीबेला राष्ट्रिय राजनीतिले नयाँ बाटो लियो। देशमा संकटकाल लाग्यो। स्थानीय चुनाव हुन सकेन। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्थानीय चुनाव हुने कुनै सम्भावना थिएन। चुनाव भएको भए पनि उनको पार्टीले भाग लिने सम्भावना थिएन। राजाले गराएको नगरपालिका निर्वाचन दलहरूले बहिष्कार गरे।

२०६२/६३ को आन्दोलनपछि भने उनलाई स्थानीय निर्वाचन हुन्छ कि जस्तो लागेको थियो। आज होला, भोलि होला भन्दाभन्दै १० वर्ष चुनाव हुन सकेन। अघिल्लो चुनाव भएको २० वर्षपछि बल्ल चुनाव भयो।

यो चुनावले उनका सामुन्ने नयाँ अवसर लिएर आयो, गोगंबुको अध्यक्ष मात्रै होइन, गोंगबुसहित पाँच गाविस मिलेर बनेको बृहत टोखा नगरपालिकाको पहिलो मेयर बन्ने। सात आकांक्षीमध्ये उनले पार्टीबाट टिकट पाए। जनताले उनलाई मत दिए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार हरिहर अधिकारीलाई करिब १४ सय मतले हराउँदै उनी टोखाको पहिलो मेयर बने।

औपचारिक राजनीतिक जीवन सुरु गरेको २६ वर्षपछि उनी टोखाको मेयर बनेका हुन्। उनले २०४७ सालमा नेकपा एमालेको सदस्यता पाएका थिए।

उनको परिवारमै राजनैतिक वातावरण थियो। उनीहरू गोंगबुका रैथाने रहेछन्, ८-९ पुस्ताले यहाँको हावामा सास फेरिसकेका। उनीहरू धादिङबाट यहाँ आएका हुन् रे, वंशावलीअनुसार। तर, कहिले हो कहिले, ८-९ पुस्ता पहिले। गोंगबु र वरपरको गाउँमा उनका हजुरबुवाको राम्रो प्रभाव थियो। हजुरबुवालाई सबैले बेनबहादुर कप्तान भनेर चिन्थे। उनी २०१७ देखि २०३० सालमा गाउँका प्रधानपञ्च थिए।

प्रकाशका बुवा मदन अधिकारीलाई भने राजनीतिमा रस बसेन। उनले खेतीपाती गरे र परिवार चलाए। प्रकाशसहित तीन छोरा हुर्काए।

प्रकाशले स्थानीय मनोहर प्राविबाट पढाइ सुरु गरे र शिवपुरी माविबाट एसएलसी गरे। उनी पढाइमा कमजोर विद्यार्थी होइनन्, अर्थात् तेज पनि होइनन्। 'म कहिल्यै फेल भइनँ र कहिल्यै टप पनि भइनँ,' उनले आफ्नो स्कुले समय सम्झिए।

उनी अनुशासित विद्यार्थी भने थिए। फुटबल उनको सोख थियो। स्थानीय महेन्द्र श्री युवा क्लबबाट फुटबल खेल्न उनीहरू उपत्यकाका अनेकौं ठाउँ पुग्थे। कहिलेकाहीँ उपत्यका बाहिर पनि। आफ्नो जवानीको बेला क्लबले थुप्रै सिल्ड जितेको उनले बताए। तर, व्यावसायिक फुटबलर बन्ने सपना उनले कहिल्यै बोकेनन्।

उनकी आमा सरस्वती अधिकारीको सपना प्रकाशले धेरै पढेर सरकारी जागिर खाउन् भन्ने रहेछ।

'त्यस्तो ठूलो सपना थिएन,' आधा कपाल पाकिसकेकी आमा सरस्वतीले भनिन्, 'धेरै पढोस् र ठूलो मान्छे होओस् भन्ने थियो। सरकारी जागिर खाओस् भन्ने थियो।'

प्रकाशको आफ्नै रहर भने पुलिसमा जागिर खाने बन्दै थियो। उनको जीवन त्यसबेला विरोधाभासले भरिएको थियो। उनी पिपुल्स क्याम्पसमा आइकम पढ्दै थिए तर कमर्स पढेर के गर्ने भन्ने योजना उनीसँग थिएन। उनी साथीहरूको लहैलहैमा पुलिसमा जागिर खाने सुर कसिरहेका थिए। इन्सपेक्टर हुने, डिएसपी हुने सपना देखिरहेका थिए।

उनको सर्कलका साथीहरू नेविसंघको राजनीति गर्थे। साथीसंगतको असर उनलाई पनि परिरहेको थियो।

यी सबै कुराभन्दा फरक बाटोबाट उनको जीवन अघि बढ्यो। उनी सरकारी जागिरे भएनन्, पुलिस पनि भएनन् र कमर्सको पढाइलाई टुंगोमा पुर्‍याएर चार्टर एकाउन्टेन्ट वा अडिटर भएनन्।

पब्लिक क्यामपसको पढाइ सक्दानसक्दै उनी नेवि संघका साथीहरूबाट टाढिन थालिसकेका थिए। उनीहरूको चेतना र चाहना आफूसँग नमिलेजस्तो लाग्न थालेको थियो। आफूसँग मिल्दो सोच राख्ने साथीहरू उनले बिकम पढ्दा सरस्वती क्याम्पसमा पाए।

'यहाँ मैले आफ्नो वर्ग र वर्गीय चेतना भएका साथीहरू पाएँ,' उनले करिब ३० वर्ष पुरानो समय सम्झिए,'मैले कम्युनिस्ट दर्शन र राजनीतिबारे थाहा पाएँ। मार्क्सवादबारे थाहा पाएँ।'

यसैबेला उनले कम्युनिस्ट दर्शन र विचारबारे अध्ययन गरे। आफ्नो समाज अघि बढाउन चाहिने दर्शन यही हो भन्ने उनलाई लाग्यो। तत्कालीन नेकपा मालेका कार्यकर्ताहरूसँग उनको सम्पर्क बढ्यो। उनीहरूको प्रभावशाली व्यक्तित्व तर सरल जीवनबाट उनी प्रभावित नहुने कुरै भएन। खासगरी त्यसबेलाका विद्यार्थी नेता राम आचार्यसँग उनी निकै नै प्रभावित थिए। आचार्यकै कारण उनले कम्युनिस्ट पार्टीको राजनीति गर्ने निर्णय गरे। २०४६ सालको आन्दोलनमा ज्यानको बाजी थापेर वामपन्थी झन्डा बोकेर सडकमा ओर्लिने युवाहरूमा उनी पनि थिए।

उनले बिकम पूरा गर्न सकेनन्। बिकम पढ्दापढ्दै बुवाको देहान्त भएपछि घर-व्यवहारले उनलाई पूरै थिच्यो। पढाइ बीचैमा छोड्न उनी बाध्य भए। घर बसेर व्यवहार सम्हाल्न थालेपछि पार्टीले उनलाई गाउँमै बसेर काम गर्न आग्रह गर्‍यो। उनले २०४७ सालमा नेकपा मालेको गोगंबु गाउँ कमिटी उपसचिव बन्दै औपचारिक राजनीति सुरु गरे।

पछि दुई कार्यकाल एमाले काठमाडौं जिल्ला कमिटीको सदस्य पनि भए।

उनले यसअघि नै विवाह गरिसकेका थिए। किन कम उमेरमै बिहे गर्नु भएको त भन्ने प्रश्नको जवाफ दिन उनलाई अलि असजिलो भइरहेको थियो। उनी अलि लजाए र भने, 'त्यो बेलाको समय नै अर्कै थियो। १६ वर्ष पुगेपछि बिहे गर्ने बेला भयो भन्ने हुन्थ्यो। घरमा काम गर्ने मान्छे भएन भन्दै बुवाआमाले बिहे गर्नुपर्छ भन्न थाल्नु भयो। मैले हुन्छ भन्दिएँ।'

बुवाले उनलाई पछि लाएर केटी हेर्न लिएर गए।

थलीका रेमन्तराज थापाको घरमा उनीहरू पुगे। उनकी छोरी रेणुसँग प्रकाशको बिहे पक्का भयो। यतिबेला रेणु स्कुले विद्यार्थी नै थिइन्।

रेणुका बुवा पनि कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए। प्रकाशसँग सम्बन्ध गाँसिएपछि उनी पनि पार्टी-संगठनमा सक्रिय भइन्। एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको काठमाडौं जिल्ला कमिटी सदस्यसम्म भइन्।

सधैंभरी दम्पति नै राजनीतिमा लाग्न सम्भव भएन। 'छोराहरू हुर्किँदै थिए,' रेणुले सुनाइन्, 'उनीहरूलाई पढाउनु थियो। खर्च बढ्दै गयो। उहाँ गाविस उपाध्यक्ष भएपछि घरको काममा समय दिन सक्ने अवस्था थिएन।'

उनले प्रकाशलाई राजनीति गर्न र सार्वजनिक काममा समय दिन सजिलो होस् भनेर पूरै घरव्यवहार जिम्मा लिइन्। दुई छोरा हुर्काइन्।

जेठा छोरा प्रभातले लगनगाँठो कसिसके। उनी अस्ट्रेलिया गएको चार वर्ष भइसक्यो। कान्छो छोरा प्रशान्त अहिले स्नातक अन्तिम वर्षमा व्यवस्थापन पढिरहेका छन्।

छोरा केही हुर्किएपछि रेणु वैदेशिक रोजगारीमा पनि गएकी रहिछन्। उनी पाँच-छ वर्ष विदेश बसेपछि परिवारको आर्थिक अवस्था पनि बदलियो। अंशमा परेको पुर्ख्यौली सम्पत्ति थपथाप गरेर आफ्नो घर बनाउन सके। केही कोठा भाडामा लगाएर आम्दानीको बाटो पनि निकाल्न सके।

रेणु आफू विदेश गएको कुरा सुनाउन खोज्दै थिइन्, प्रकाशले आफ्नो कुहिनो हल्लाएर खुसुक्क उनलाई इशारा गरे। यसपछि उनले यो कुरा बिस्तारमा बताइनन्।

खासमा यही बेला नै रहेछ, प्रकाशले घरव्यवहारको काम गरेको।

'अरूबेला उहाँले घरव्यवहारको काममा कहिल्यै अल्झिनु परेन,' रेणुले भनिन्, 'यही बेला मात्रै हो अलि धेरै समय दिनु परेको।'

रेणु भन्छिन्, 'उहाँ घरको त्यति केयर गर्नुहुन्न।'

अनि फेरि थपिन्, 'हुन त राजनीति गर्ने सबैका श्रीमतीले यसै भनेको सुन्छु।' अनि हाँसिन्। श्रीमतीले पनि राजनीति बुझेको र गरेको भएर आफूलाई भने सजिलो भएको प्रकाश बताउँछन्।

'अब मेयर भएपछि त झनै केयर गर्नुहुन्न होला है!' मैले रेणुलाई सोधेँ।

'अब त जिम्मेवारी ठूलो छ,' उनले जवाफ दिइन्, 'जनताले विश्वास गरेर जिताएपछि त काम राम्रोसँग गर्नु पर्यो। घरव्यवहार मैले हेरेकै छु। उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुपर्छ।'

प्रकाशले रेणुको कुरा चित्त बुझेझैं गरी मुन्टो हल्लाए।

'मेयर भएपछि के-के गर्ने योजना बनाउनुभएको छ त ?'

नगरपालिकाभित्रका हिँडिनसक्नुका सडकलाई व्यवस्थित र चिल्लो बनाउने उनको रहर छ। स्कुलमा प्राविधिक शिक्षा पढाउन पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ। ऐतिहासिक टोखा नगरीमा धमाधम आधुनिक घर बन्न थाले, त्यसलाई प्राचिन वास्तुकलाको झल्को आउने घर भएको सहर बनाउन पाए हुन्थ्यो भन्ने छ। यस्ता अनगिन्ति कामको सूची उनीसँग छ।

'अब म सबै जनप्रतिनिधि लिएर जनताका घर-घरमा जान्छु,' उनले आफ्नो योजना सुनाए, 'नगरपालिकाले के गर्नुपर्छ भनेर सोध्छु। अनि योजना बनाउँछु।' अरू जित्नुअघि घरदैलो गर्छन्, उनले जितेपछि घर दैलो गर्ने योजना बनाएका छन्।

सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरेर नगरपालिकाको कार्ययोजना बनाउने उनको सोच छ।

'अबको नगरपालिका भनेको त सरकार नै हो, पहिलेजस्तो स्थानीय निकाय होइन,' उनले भने, 'हामीले राम्रोसँग सुझबुझ पूर्ण निर्णय गर्नुपर्छ। पहिलेजस्तो माथिबाट बनाइएका योजना कार्यान्वयन गर्नेमात्रै होइन।'

उपमेयरमा उनकै पार्टीकी ज्ञानीमाया डंगोल र बहुमत वडाध्यक्ष तथा सदस्यमा पनि उनकै पार्टीका उम्मेद्वारले जितेको हुनाले उनलाई काम गर्ने केही सजिलो नै हुनेछ। तै पनि नेपाली कांग्रेसका पाँच वडाध्यक्ष र केही सदस्यसहितको टिम अबको पाँच वर्ष उनले हाँक्नुपर्ने छ।

पाँच वर्ष गाविस उपाध्यक्ष भएर काम गरेको अनुभवले उनलाई यहाँ मद्दत पुर्‍याउने छ। आफ्नो अनुभवको आधारमा उनले भने, 'जनप्रतिनिधिले कसैलाई पेलेर जान खोज्नु हुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ। सबैलाई मिलाएर लैजानु पर्छ। जुनसुकै पार्टीको भए पनि काम गर्न गाह्रो हुँदैन।'

उनको स्वभाव पनि सबैलाई मिलाएर लैजान सक्ने किसिमको भएको स्थानिय एमाले कार्यकर्ता शम्भु पाण्डे बताउँछन्। ४७ साल देखि नै अधिकारीलाई चिनेका पाण्डेलाई अधिकारीको सबैभन्दा राम्रो गुण नै सुन्ने क्षमता लाग्छ।

'टोखाको विकासलाई नेतृत्व दिन सबैभन्दा उपयुक्त व्यक्ति भएकाले नै हामीले उहाँलाई उम्मेद्वार बनाएका हौं,' पाण्डेले भने, 'सबैलाई मिलाएर लैजान सक्ने गुण उहाँमा छ। उहाँ धेरै सुन्न सक्ने र कम बोल्ने मान्छे हो।'

अधिकारी धेरै बोलेर अरूलाई प्रभाव पार्ने व्यक्ति होइनन्, तर उनीबाट रूष्ट पनि हत्तपत्त कोही हुँदैन। उनी रिझाउन सक्ने खुबी भएका व्यक्ति हुन्।

त्यसैले त उनकी श्रीमती रेणु भन्छिन्, 'उहाँको स्वभाव राजनीति गर्ने खालकै छ।'

उनी उपाध्यक्ष हुँदा बनाएको प्रभावका कारण गोंगबु क्षेत्रकै मतदाताले उनलाई धेरै मत दिएका हुन्। यहाँको मतगणना वडा नम्बर १ बाट सुरु गरिएको थियो। वडा नम्बर ६ मा आइपुग्दासम्म उनी निकै पछि थिए। नेपाली कांग्रेसका हरिहर अधिकारीले अग्रता लिइरहेका थिए।

'तै पनि जित्छु भन्नेमा म ढुक्क थिएँ,' मतगणनाको समयको अनुभूति उनले बाँडे, 'मेरो घर भएको वडा ११ र वरपराका वडाबाट धेरै मत आउँछ र म जित्छु भन्ने निश्चितै थियो।'

भयो पनि यस्तै। सुरुमा देखिएको मतपरिणाम उल्टियो। उनले जिते।

'तर यो कुरा त चुनावका लागि मात्रै हो, अब सिंगो टोखाका जनतालाई समान व्यवहार गर्नुपर्छ,' उनले भने, 'हिजोसम्म म एमालेको कार्यकर्ता हुँ, तर मेरो जित सिंगो टोखाको जित हो। म अब सिंगो टोखाको नेता हुँ।'

पाँच वर्षमा 'वाह' भन्न लायक टोखा बनाउने उनको चाहना छ।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • राहत प्याकेज ल्याउने कृषिमन्त्री यादवको योजना

    कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन्।  मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्ष...

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • ओबामाको एक ट्वीटले रच्यो इतिहास

    ओबामाको एक ट्वीटले रच्यो इतिहास अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो। नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहि...

  • ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा

    ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ। ताइवानको स्थानीय सम...