विपन्न मिर्गौला बिरामी मण्डलको उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

  • Get News Alerts

मिर्गौला बिरामीले सरकारबाट पाउने सुविधा के हो? कहाँ कहाँ छ डाइलासिस सेवा?
आर्थिक अभावमा उपचार गराउन नसकेका जनकपुर–१७ का मिर्गौला बिरामी पवनकुमार मण्डललाई तत्काल उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री गगन थापाले मानव अंग प्रत्यारोपण केन्द्रलाई निर्देशन दिएका छन्।
 
सेतोपाटीमा प्रकाशित मण्डलको खुलापत्रप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री थापाले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई निर्देशन दिएका हुन्।
 
‘स्वास्थ्यमन्त्री निःशुल्क भन्नुहुन्छ, अस्पतालले पैसा छैन भनेपछि बेडबाटै निकाल्छ’ शीर्षकमा प्रकाशित उक्त खुलापत्रमा दुवै मिर्गौला फेल बिरामी मण्डलले उपचार क्रममा वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा भोग्नुपरेका समस्या वर्णन गरेका छन्। 
 
स्वास्थ्यमन्त्री थापाले मण्डलले भोग्नुपरेका सबै विषयमा छानबिन गर्न र त्यस्ता अवाञ्छित क्रियाकलाप रोक्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। उक्त समितिले अस्पतालहरूमा भइरहेका अप्ठ्यारा हटाउने उपायबारे सुझाव दिनेछ।
 
मण्डलले स्वास्थ्य मन्त्री थापालाई सम्बोधन गर्दै लेखेको खुलापत्रमा ‘आफू गरिब रहेको र उपचार खर्च बेहोर्न नसक्नेबारे पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको’ उल्लेख गरेका छन्। कतिसम्म भने, अस्पतालको पैसा तिर्न नसकेपछि ‘डोरीले बाँधेर बेडबाट निकाल्ने’ धम्कीसमेत दिइएको उनको गुनासो छ। सरकारद्वारा घोषित निःशुल्क उपचार सुविधाबारे सुनेका मण्डलले अस्पतालसँग सोधपुछ गर्दा ‘कसैले प्रचारको निम्ति गरेको कुराको भरमा कहाँ निःशुल्क सेवा पाइन्छ’ भन्ने जवाफ सुन्नुपरेको थियो।
 
चिकित्सकहरूबाट डाइलासिस गर्नुपर्ने भनी सिफारिस गरिएका बिरामीका लागि दुईपटक निःशुल्क डाइलासिस सेवाको व्यवस्था यसअघि नै भइरहेकोमा स्वास्थ्य मन्त्रालयले कात्तिकदेखि आवश्यकताअनुसार सम्पूर्ण डाइलासिस निःशुल्क गरेको छ। डाइलासिस गर्दा लाग्ने औषधि तथा सर्जिकल सेवा पनि निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ। 
 
‘डाइलासिस गर्नु छ साताअघि नै फिस्टोला गर्नुपर्छ वा तत्काल डाइलासिस गर्नुपर्ने हो भने घाँटी वा काखीमा प्वाल पारेर पाइप हाल्नुपर्छ। कहिलेकाहीँ डाइलासिस गर्ने बेला रगत बढाउनुपर्ने हुनसक्छ। एन्टिबायोटिक औषधि दिनुपर्न हुनसक्छ। त्यसका लागि केही रकम लाग्छ। तर, डाइलासिस सेवा पूरै निःशुल्क हो,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
 
यसका लागि सरकारले हरेकपटकको डाइलासिसबापत अस्पताललाई २ हजार ५ सय रुपैयाँ तिरिदिने गरेको मन्त्रालयले जनाएको छ। डाइलासिका लागि औषधि, पाइप, डाइलासिस सेवा यही २ हजार ५ सयअन्तर्गत पर्छ। यो सेवा लिन बिरामीले अस्पतालमा गरिब तथा विपन्नसम्बन्धी कागजपत्रसहित सम्पर्क गर्नुपर्छ। डाइलासिसपछि अरू औषधी प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि छुट्टै पैसा लाग्छ। त्यो डाइलासिस सेवाअन्तर्गत पर्दैन। 
 
‘त्यो रकम पनि तिर्न नसक्ने मण्डलजस्ता बिरामीका लागि हरेक अस्पतालमा सामाजिक सेवा इकाई बनाइएको छ। त्यसमार्फत् उपचार सेवा लिन सकिन्छ,’ मन्त्रालयले भनेको छ, ‘गरिब तथा विपन्नका लागि सेवा दिन हालै गठन गरिएको यस्तो इकाईबारे धेरैलाई थाहा नहुन सक्छ।' 
 
मन्त्रालयले विपन्न सेवाग्राहीलाई उक्त इकाईमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
 
मन्त्रालयका अनुसार डाइलासिस सेवा देशभरका ३९ अस्पतालमा उपलब्ध छन्। डाइलासिस सेवाका लागि काठमाडौं धाउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सबै अञ्चल अस्पताललाई कम्तीमा दुईवटा डाइलासिस मेसिन किन्न पुग्ने गरी रकम पठाइएको र थप ६० भन्दा बढी मेसिन मन्त्रालयले नै किनेर बढी चाप हुने ठाउँमा पठाउने तयारी गरेको पनि जनाइएको छ।
 
मन्त्रालयका अनुसार डाइलासिस सेवा दिइरहेका अस्पताल निम्न छन्ः
 
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, महाबौद्ध, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुर
४) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
५) मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर
६) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा, कास्की
७) नारायणी उप–क्षेत्रीय अस्पताल, वीरगन्ज, पर्सा
८) कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ्ग
९) जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा
१०) सेती अञ्चल अस्पताल, धनगढी, कैलाली
११) नेपाल मेडिकल कलेज, जोरपाटी,  काठमाडौं
१२) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
१३) युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, रुपन्देही
१४) चितवन मेडिकल कलेज, भरतपुर,  चितवन
१५) कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन
१६) मणिपाल मेडिकल कलेज, टिचिङ हस्पिटल, पोखरा, कास्की
१७) नेपालगन्ज मेडिकल कलेज, बाँके
१८) राष्ट्रिय मृगौला रोग उपचार केन्द्र, बनस्थली, काठमाडौं
१९) विराटनगर अस्पताल प्रालि, विराटनगर, मोरङ
२०) धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे
२१) गोल्डेन अस्पताल, प्रालि, विराटनगर, मोरङ
२२) बिएण्डबी अस्पताल प्रालि, ग्वार्को, ललितपुर
२३) आरोग्य स्वास्थ्य प्रतिष्ठान, कुपण्डोल, ललितपुर
२४) वीरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाण्डौ
२५) सुमेरु सामुदायिक अस्पताल, धापाखेल, ललितपुर
२६) अल्का अस्पताल प्रालि, जावलाखेल, ललितपुर
२७) चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा, कास्की
२८) हिमाल अस्पताल प्रालि, ज्ञानेश्वर, काठमाडौं
२९) ग्राण्डी इन्टरनेसनल हस्पिटल प्रालि, धापासी, काठमाडौं
३०) बयोदा अस्पताल, प्रालि, बल्खु, काठमाडौं
३१) नेशनल डाइलासिस सेन्टर, एकान्तकुला, ललितपुर
३२) गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल, रुपन्देही
३३) सिद्धार्थ सिटी अस्पताल प्रालि, बुटवल, रुपन्देही
३४) नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्था लि, विराटनगर, मोरङ
३५) क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही
३६) नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, विराटनगर, मोरङ
३७) ओम अस्पताल एण्ड रिसर्च प्रालि, चाबहिल, काठमाडौं
३८) भेनस अस्पताल प्रालि, मध्यबानेश्वर, काठमाडौं
३९) जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालि, जनकपुर, धनुषा
 
मिर्गौला बिग्रिएका बिरामीका लागि डाइलासिस दीर्घकालीन उपचार भने होइन। दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण नै हो। यसका लागि स्वास्थ्य मन्त्रालयले वैशाख १ देखि निःशुल्क सेवा गरेको छ। यस्तो निःशुल्क सेवा मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा सुरु भइसकेको मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक कार्यविधि र बजेट व्यवस्था गरेर अस्पतालहरूमा पठाइसकेको जनाइएको छ।
 
कार्यविधिअनुसार प्रत्यारोपण गर्ने बिरामीका लागि शल्यक्रिया, त्यसका लागि आवश्यक औषधि, शैया शुल्क लगायत निःशुल्क छ। प्रत्यारोपणभन्दा अगाडि दिने र लिनेको मिर्गौला ‘क्रस–म्याचिङ’ गर्न ५० हजार र प्रत्यारोपण गरिसकेपछि औषधिका लागि एक लाख रुपैयाँ गरी कुल १ लाख ५० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ। 
 
मन्त्रालयका अनुसार मिर्गौला प्रत्यारोपण गर्ने हरेक बिरामीका लागि सरकारले साढे पाँच लाख रुपैयाँ खर्च गर्ने गरेको छ। त्यसबाहेकका अन्य खर्च बिरामी आफैंले गर्नुपर्छ।
 
यसबीच मानव अंग प्रत्यारोपण केन्द्रले पनि बिरामी मण्डलको खुलापत्रबारे प्रतिक्रिया दिँदै घाँटी वा काखीमा पाइप हालेर डाइलासिस गराउनुपर्ने भएकाले त्यसका लागि पाइप ल्याउन अनुरोध गरेको जनाएको छ। 
 
केन्द्रद्वारा जारी विज्ञप्तिमा दिनको सय जनादेखि १ सय २० जनाको डाइलासिस गराइएको र प्रत्यारोपण भइरहेको उल्लेख गरेको छ।
 
‘सरकारको निःशुल्क डाइलासिस र प्रत्यारोपण कार्यक्रममा हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्यधिक बिरामीको चापले सबै बिरामीले तत्काल भर्ना हुन सम्भव नहुने र केही समय लाग्ने हुँदा सेवा विस्तारका लागि पहल भइरहेको छ।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।