कुपन नम्बर ४००

  • Get News Alerts

दसैं विशेष
केही दिन अघिको कुरो हो, भाइवरमा प्रतिष्ठाले ग्रम्पी बनाएर सन्देश पठाएकी थिई, “ड्याडको बाइकबाट लिएको २ लिटर पनि सकिइसक्यो । अफीस जान पनि नसक्ने भएँ । लौ न, पेट्रोलको केही बन्गदोबस्त गर्न सकिन्न भन्या?”
 
प्रतिष्ठाले मिर्गौला मागेकी भए पनि एउटा त झिकेर उसको पाउमा राख्नु अघि सन्देशले दुइपटक पनि सोच्दैनथ्यो होला । तर पेट्रोल कहाँबाट ल्याउनु उसले रु होइनहोइन भन्दै मित्रराष्ट्रले लगाइदिएको नाकाबन्दीका कारण कहिले नभोगेको इन्धनको संकट भोगिरहेको पुस्ताको एउटा प्रतिनिधि पात्र हो सन्देश । 
 
“हिजोदेखि त हेर न, हिंडेर आउजाउ गर्नु परिसक्यो । घर पुग्दा त थाकेर मरेजस्तै हुन्छ ।”
 
भाइवरमा थप मायालाग्दो इमोजीहरुका साथ उसले भनेकी थिई । ऊ एउटा ट्राभल एजेन्सीमा काम गर्छे । उसको मण्डिखाटारमा भएको घरबाट पुल्चोकमा भएको अफीस भनेको अहिलेको अवस्थामा चाइना बोर्डर र इण्डिया बोर्डर जस्तो भएको छ । कसरी हिंड्छे होला त्यस्ता कलिला पाउहरुले ऊ त्यति लामो दूरी । प्रतिष्ठाले पाएकी दुखका लागि उसले मनमनै नरेन्द्र मोदीलाई जाने जति गाली गर्‍यो  ।
 
उसलाई थाहा थियो, यो मौकामा प्रतिष्ठालाई सहयोग गर्न पाए त्यसको ठूलो महत्व हुन्थ्यो । हिजो बाटोमा पार्क गरेको एउटा भटभटेको पेट्रोलको स्वीच “अन” मै रहेको देख्दा उसको मनमा त्यसबाट अलिअलि झिक्न पाए कस्तो होला भन्ने सोच पनि आएको थियो । त्यो सम्भव हैन भन्ने जान्दाजान्दै पनि उसले पल्याकपुलुक चारैतिर हेरेको थियो । अभाव र आवश्यकताले मानिसलाई जे पनि बनाउन सक्छ ।
 
प्रतिष्ठालाई उसले चिनेका एक वर्ष हुन लाग्यो । सन्देश साथीहरुसंग प्याकेज टूरमा बैंकक घुम्न जाने सन्दर्भमा उसको र प्रतिष्ठाको भेट भएको थियो । उसलाई प्रतिष्ठा पहिलो आँखामै मन परेकी थिई । पाँच दिन बैंकक घुमेर आएपछि पनि बेलाबेला उनीहरुको फोनमा गफ भैरहन्थ्यो । पछि फेसबुक र भाइवरमा पनि उनीहरु आवद्ध भएका थिए । यो मित्रता बिस्तारैबिस्तारै चिया कफी र लन्चसम्म पनि पुगिसकेको छ । उसलाई प्रतिष्ठा झन्झन् मन पर्न थालेकी छ । तर उसको मनमा आफूप्रति के छ भन्ने भेउ चाहिँ सन्देशले अझै पाउन सकेको छैन ।
 
बेलाबेला उसको फेसबुकमा जासूसी गर्ने क्रममा केही दिन अघि उसले एउटा शंकास्पद मान्छेको फोटो देखेको थियो । अप्रत्यक्ष रुपमा उसले त्यसको बारे सोध्दा प्रतिष्ठाले साथी हो भनेर मात्र टारेकी थिई । हुन त उनीहरु दुइ जनाको मात्र त फोटो थिएन । समूहमा अरु धेरैजनासंग उनीहरु बल्थली रिसोर्ट पुगेका रहेछन् । तर फोटोमा त्यो शंकास्पद मानिस प्रतिष्ठाको निकै नजीक बसेको थियो । उनीहरुको कुम लपक्कै जोडिएको त्यो फोटो हेर्दा सन्देशको मुटुमा ह्वारह्वार आगो बलेको थियो । बाउ आमाले राखिदिएको नाम पक्कै बिजोगको हुनुपर्छ त्यसको, त्यसैले फेसबुकमा ऊ आफूलाई मोण्टी भन्दोरहेछ । मोण्टीको टाइमलाइनमा गएर थप अनुसन्धान गर्न खोज्दा मोराले सबैथोक गोप्य राखेको रहेछ, केही हेर्ने मिलेन । 
 
त्यही बेला सरकारले उसलाई मोण्टीको ढाड सेक्ने स्वर्णिम अवसर उपलव्ध गराइदियो जसलाई कुनै हालतमा पनि खेर जान नदिने सन्देशले दृढ निश्चय गरिसकेको थियो ।  यो अवसर थियो, मंगलवारको दिन सबै सार्वजनिक सवारी साधनलाई इन्धन वितरण गर्ने । उसलाई हाँसो लाग्छ पत्रपत्रिका तथा आयल निगमको भाषा सुन्दा । पैसा लिएर बेच्ने कुरालाई उनीहरु वितरण गर्ने भन्ने गर्छन् । अहिले त झन पैसा भएर पनि कहाँ किन्न पाइएको थियो र इन्धन । तर जुन दिन देखि मंगलबार पेट्रोल बाँडिने भन्ने घोषणा भयो, सन्देशको मनमा रंगीविरंगी सपनाहरु बुनिन थालेका थिए । यो स्वर्णिम मौकाको उपयोग गर्न सकियो भने उसको गन्तव्य धेरै टाढा छैन । 
 
हुन त सन्देशलाई थाहा थियो, निकै दिनदेखि इन्धनको अभावले हाँहाँ भइरहेको शहरका हरेक पम्पहरुमा मंगलबार निकै लामो लाइन हुनेछ । तर जति बेर कुरेर भए पनि ऊ पाँच लिटर पेट्रोल भरेरै छाड्नेछ अनि त्यो पाँचै लिटर लगेर प्रतीक्षाको स्कूटीमा खन्याइदिनेछ, मुटुभरिको माया खन्याए जसरी । यो जोशमा उसले साधारण हिसाब पनि भुलेको थियो । सात लाख मोटरसाइकल र एक लाख बीस हजार प्राइभेट गाडीहरुमध्ये आधा मात्र लाइनमा लागे पनि कसरी सबैले पेट्रोल पाउलान् भन्ने कुरा उसको मथिंगलमा आएको थिएन । त्यसैले उसले सोमबार बिहानै लगेर आफ्नो भटभटे पेट्रोलको आँखाले भ्याइनसक्नु लाइनमा हालिदिएको थियो । सातदोबाटो रिंगरोडको पम्पको त्यो लाइन तन्किदैं र नखिपोटका गल्लीहरुमा घुम्दैघुम्दै धराने कालो बंगूरको सेकुवा खाने जंक्सनहरु निर पुगिसकेको थियो । त्यहीं चिनजान भएका अरु भटभटेवलाहरुसंग गफ चुटेर सन्देश राती आठबजे लखरलखर हिंडेर ढोलाहिटीमाथिको आफ्नो डेरातिर लागेको थियो । उत्साहले ओतप्रोत भएर उसले बाटोबाटै प्रतिष्ठालाई मेसेज पठायो,
“आइ विल गिभ यू फाइभ लिटर पेट्रोल टूमरो ।”
 
त्यसको एकैछिनपछि प्रतिष्ठाले पठाएको जवाफ देखेर सन्देश बाटैमा खुसीले बुर्लुक्क उफ्रेको थियो । उसले लेखेकी थिई,
xoxo :-)
 
कोठामा पनि पकाएर खाने ग्यास नभएकोले दश रुपैंया मोल बढेको मम खाएर ऊ मंगलबारको सुखद कल्पना गर्दै सुतेको थियो । सुतेको पनि के भन्नु र, रातभरी बीचबीचमा ऊ पेट्रोलको सपना देख्दै ब्यूझिँदै गरेको थियो । एउटा सपनामा पाँच मात्रै हैन फुल ट्याङ्क पेट्रोल पाइएको थियो भने अर्कोमा चाहिँ उसको पालै आएको थिएन । 
 
एक युगमा एकपटक हाउने भोलिपल्टको त्यस ऐतिहासिक दिन, झिसमिसे उज्यालोमै उठेर ऊ टोलको चियापसल पुग्यो । सँधैजस्तै त्यहाँ भेला भएकाहरु देश विदेश र राजनीतिको थरिथरि विश्लेषण गरिरहेका थिए । चिया बनाउने बूढा भन्दै थिए, “आज लाष्ट हो । भोलिदेखि त चिया पनि बनाउन नसकिने भयो है । ग्यास छैन, के गर्नू ।” 
 
त्यो अन्तिम दिनको गौरवशाली चिया खाएर ऊ सीधै आफ्नो भटभटे लाइनमा हालेको ठाउँमा पुग्यो । त्यहाँ केही मान्छेहरु कसैलाई जानेजतिको गाली गर्दै रहेछन् । राती केही भटभटेका ब्याट्रीहरु चोरी भएछन् । सन्देशको भटभटे पनि त्यसै भित्र परेको रहेछ । उसले पनि रिसको झोकमा कोरसमा व्याट्री चोरहरुलाई आमाचकारी गाली गर्‍यो र आफ्नो भडास अलिकति भए पनि कम गर्‍यो । उसको मन बुझाउने एउटै कुरा के थियो भने, उसको भटभटेभन्दा पछाडि पनि गनेरै नसकिने लाइन भैसकेको रहेछ । कोही बाह्र बजेबाट बाँड्छ भन्दैथिए, कोही तीन । पारी फुटपाथको पसलबाट एउटा सानो बट्टा जूस, एउटा फुको चाउचाउ र दश खिल्ली जति चुरोट खाएर सन्देश दिनभर झर्ला र खाउँला भन्ने लाइनमा बस्यो । 
 
तीन बज्नेबेला तिर एउटा अर्को हल्ला सुनियो जसले उसको आङ्ग नै ढक्क फुल्यो । थोरैथोरै मात्रामा मात्र इन्धन आएको हुनाले लाइलमा लागेका सबैलाई पुर्‍याउन त कानको औषधि हाल्ने ड्रपरले पाँँचदश थोपाका दरले बाँडे मात्र सम्भव हुने भएछ । त्यसैले चारसय वटा भटभटे र एक सय चारपाङ्ग्रेलाई मात्र कुपन बाँडेर तेल दिने भन्ने बन्दोवस्त भएछ । आफ्नो भटभटे कति नम्बरमा छ भनेर उसले कल्पना गर्न सकिरहेको थिएन । कुपन बाँड्न शुरु भएपछि अलि पछाडि हुनेहरु इष्टदेउताको नाम पुकारिरहेका थिए । सन्देश पनि ब्रतवन्ध गरेको केही महीनापछि जाप्न छोडेको गायत्री मन्त्र कनीकुथी सम्झेर पढ्न थाल्यो । 
 
गायत्री मन्त्रले काम गरेर हो वा उसको पुर्पुरो बलियो भएर हो, ठ्याक्कै चारसयौं कुपन उसले पायो । उसलाई कुवेरको खजाना नै पाए सरह लाग्यो । चौंतीस ईन्चीको छातीलाई फुलाएर छत्तीस ईन्चको बनाएर उसले विजयी भावमा आफूभन्दा पछाडिका अभागीहरुलाई हेर्‍यो । सबका अनुहार ओइलाएका फूल जस्तो भएका थिए । ऊ भन्दा पाँचसातवटा पछाडि बसेको एउटा भटभटेवाला आक्रोशित भएर कराउन थाल्यो, “यस्तो पनि देश रु दिन नसक्ने भए घण्टा खान सबलाई दिने भनेर लाइनमा राख्या रु साला, सित्तैंमा लिन बस्या जस्तो ।”
 
४०० भन्दा पछाडिकाहरु उसको होमा हो मिलाउन थाले । केपी ओली, सुशील कोईराला, नरेन्द्र मोदी, रामशरण महत लगायतका थुप्रैले सराप खाए । 
 
अनि त्यो मानिस तुरुक्कै आँशु झारुँला जसरी आफ्नै भटभटेको ट्याङ्कीमा मुड्की हान्दै बोल्न थाल्यो, “मेरो बुबा क्यान्सरको विरामी हुनुहुन्छ । उहाँलाई किमोथेरापी गराउन लानुपर्ने छ । अब म के गरुँ लौ ।”
 
सन्देशको मन कुटुक्क काटियो । ऊ भित्रको मानवताको सागरमा अचानक ठूलो सुनामी सिर्जना भयो । त्यो मान्छेको आवश्यकता उसको भन्दा कताकता बढी महत्वपूर्ण थियो । त्यो मान्छेलाई सहयोग गर्नेले ठूलो पुण्य कमाउँथ्यो । त्यो मौका अरुलाई दिन एक छिन कसैको मन पग्लिएला कि भनेर उसले कुर्‍यो । तर मानौं त्यो मानिसको रोदन कसैको कानबाट भित्र छिरेको थिएन । कोही चुइँक्क नबोली बसिरहेका थिए । सन्देशले लामो सास फेर्‍यो र त्याग गर्ने निर्णय गर्‍यो । मैले यो मानिसको लागि आफ्नो कुपन बलिदान गरें भने भगवानले कसो नदेख्ला । प्रतिष्ठाको मन जित्न अवश्य पनि उसैले मलाई सघाउँछ होला । उसले भावुक भएर थर्थर काँपेको स्वरमा त्यो मान्छेलाई भन्यो, “यो कुपन तपाईँ राख्नुस् । पेट्रोल भर्नुस् । बुबालाई किमो दिन लैजानुस् ।”
 
कुपन थमाएर व्याट्री नभएको आफ्नो भटभटे लाइनबाट निकालेर घिच्याउँदै जाँदा निकै परसम्म त्यो मान्छेले उसलाई दिएका आसिकहरु उसको कानमा ठोक्किइरहेका थिए । 
राती नौ बजे प्रतिष्ठाले भाइवरमा अनलाइन हुनासाथ उसलाई लेखी,
“पेट्रोल?”
एक छिन घोरिएर उसले रुन्चे अनुहारको इमोजीका साथ एकै मात्र शव्द लेख्यो,
“सरी ।”
अनि ऊ प्रतिष्ठाको उत्तर कुरेर बस्यो । केही बेरमा उसको मोबाइलले सुसेली बजायो, “नो वरिज । मोण्टी गट मी फाइव लिटर्स ।”
सन्देशलाई माइक टाइसनले पानीपेटमा मुक्का हानेजस्तो भयो । उसले केही लेख्नै सकेन । 
 
एकैछिनमा फेरि आठ दश थरि इमोजीहरुका बीचमा प्रतिष्ठाकै मेसेज आयो,
“पूअर लिटल स्वीट मोण्टी........यू नो मेरो लागि ट्वेण्टी सेभेन आवर्स क्यूमा बसेछ । तै पनि उसको टर्न झण्डै नआएको रे.......बट उसले आफ्नो ड्याडलाई किमो दिन लैजान पर्ने भनेर ब्लफ दिएपछि एउटा इडियटले आफ्नो कुपन उसलाई दियो रे ।”
 
यस पटक माइक टाइसनको मुक्का उसको च्यापूमै बजारियो । चारैतिर तोरीका फूल र रंगीविरंगी ताराहरु देख्दा सन्देश आफैलाई धिक्कार्दैथियो । हुन त प्रतिष्ठाको बल्थलीको ग्रुप फोटोमा त्यो कुटिल मोण्टीलाई उसले देखेको त हो नि । तर धेरै मान्छेहरु भएकाले अलि टाढाबाट साँझपख खिचिएको त्यसमा उसको अनुहार स्पष्ट थिएन । त्यसमाथि उसको ध्यान त मोण्टी र प्रतिष्ठाको चपक्क टाँसिएको कुममा बढी थियो । 
 
दिउँसो त्यो भीडमा, अप्रत्याशित र नसोचेको ठाउँमा हेल्मेट र मास्क लगाएर रुने भातमारा त्यही मोण्टी हो भनेर उसले कसरी चिताउन सक्नु र?  फेरि एकपटक प्रतिष्ठाको मेसेजले सुसेली बजायो,
“मोण्टी इज सो स्मार्ट ना?”

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट