दशैं स्मृति: काले तेरो कति रुप्पे भो?

  • Get News Alerts

‘काले तेरो कति रुप्पे भो ?’

दशैंमा सधै दिदीले यही भनेर हामीलाई उसले टिका थापेर ‘कमाएको’ पैसा देखाइरहन्थी ।

सधैंको दशैंमा टिका लगाएपछि दिदीकै पैसा धेरै हुन्थ्यो । किनकी ‘चेलीबेटी’लाई दक्षिणा दिने चलन थियो । टिका थापेर पनि मुखमा ट्वाल्ल परेर हेरिरहेपछि हामी भाईहरुलाई भने बल्ल बल्ल ‘ला केटालाई त पैसा दिन्नन्’ भन्दै एक रुप्पे दिन्थे । त्यहीं दिदीलाई भने २०, ५०, १००का नोट दिन्थे ।

जति रुप्पे भए नि नोट हामी चिन्दिनथ्यौं । कतिओटा रुप्पे भयो भनेर मात्रै गन्थ्यौं । त्यसमा पनि सधै दिदीकै धेरै हुन्थ्यो ।

आज दिदीसँग भेट नभएको पनि वर्षाैं भइसक्यो । ऊ आफ्नो परिवारसँग इण्डियामा बस्छे । म पत्रकार छु । यतै छु । घर छोडेको धेरै वर्ष भयो । दशैंमा टिका पनि अरुसँगै थाप्छु । जन्म दिने बाआमासँग हैन । यसको कथा पनि अर्कै छ ।

अनेकन स्मृति छन्, दशैंका । उसो त चाडपर्व मेरा लागि कहिल्यै सुखद भएनन् । त्यसैले होला म चाडपर्वमा कहिल्यै पनि रमाउन जानिनँ । धेरै वर्षसम्म मैले दशै भनेको नयाँ लुगा लगाउने अनि मासु भात खाने दिन भनेर मात्रै चिन्थें । टिका लगाएपछि पनि केटाहरुलाई पैसा नदिने भएका कारण मलाई टिका लगाउन त्यत्ति मन लाग्दैनथ्यो ।

मैले नयाँ लुगा लगाउने भनेको त्यै दशैको दिनमा मात्रै हो । नत्र बुवाले सित्तिमित्ति नयाँ लुगा किनिदिन्नथे । मलाई के कारणले हो कुन्नी बुवाले सानैदेखि हेला गरे । अरु दिदी, भाईहरुलाई भने किन्दिइरहन्थे ।

आमालाई म जन्मिने व्यथा लागेको त्यो दिन बुवा अर्की कुनै महिलासँग थिए अरे । कोही दोस्री महिलासँग । यद्यपि बुवासँग मेरी आमाको यो दोस्रो विवाह थियो । बुवाको पनि दोस्रो थियो । म जन्मिएको बुवाले थाहा पाएछन् । अनिकहाँबाट हतारहतार घरमा आइपुगे । आमा वेहोस थिइन् । अगेनामा आगो बलिरहेको थियो । म जन्मिएको केही घण्टामात्रै भएको थियो । बुवाले मलाई टिपेर त्यही दन्किरहेको आगोमा हालिदिएछन् । दिदीहरु रुँदै कराउँदै केही पर रहेको जेठा बाजे(जस्को घरमा मेरी आमाले भाँडा माझ्थिन्)लाई बोलाएर ल्याउँदासम्म आमाको पनि होस खुलिसकेको थियो । उनै बाहुनले मलाई पहिलोचोटी अंगालोमा लिए । के के गरेर मलाई धेरैपछि होसमा ल्याए । जन्मिएको धेरै समयपछि मात्रै म रोएको थिएँ । अरु दागहरु त हराईसकेका छन् । तर मेरो दाहिने खुट्टामा भने पोलिएको एउटा ठूलो दाग छ । त्यसैले मलाई गाउँमा ‘टाटे’ पनि भनेर बोलाउने गर्थे गालि गर्दा । नत्र सबैले मलाई धेरै पछिसम्म काले भन्थे ।

छोरो जन्मिएन भनेर बुवाले अर्की महिलासँग उठबस थालिसकेका रहेछन् तर म जन्मिएँ । अनि उसलाई बिहे गर्ने बुवाको योजना सफल भएन । त्यसैको रिस ममाथि पाखेका रहेछन् । म अलि बुझ्ने भएपछि मैले दिदीहरुसँग आमाले भन्दै गरेको सुनेको थिएँ ‘अर्की ल्याउन नपाएर मलाई आगोमा हालेको अरे ।’ वुवाले मलाई नअपनाउनुको कारण त सायद यही थियो । तर आमा किन मसँगटाढिइन त्यो भने मैले अहिलेसम्म सोध्ने हिम्मत गरेको छैन ।

सुत्केरभरी उनै बाहुनबाजेले नै आमालाई घरबाट आफै खानेकुरा ल्याएर खान दिन्थे । मेरो शरीरमा पहिलोचोटी कपडा बेर्ने पनि उनै हुन् । मेरो न्वारान गर्ने पनि उनै हुन्, मेरो नाउँ जुराउने पनि । घरमा केही थिएन, खानेकुरा । साँझबिहान उनैले आफ्नो घरमा ल्याइदिन्थे । त्यसका लागि आमा सुत्केरी भएपछि दिदीहरु पालैपालो उनको घरमा काम गर्दिन जान्थे ।

बाले हरेक दशैंमा दिदी र भाईलाई नयाँ लुगा अनि जुत्ता किनिदिन्थे तर मलाई दिंदैनथे । मलाई कान्छी दिदीले भने धेरै माया गर्थी । उसलाई बुवाले किनिदिएको नयाँ जुत्ता छेऊमा अलिकति काटेर यो च्यातिएको छ भन्दै फेरि अर्काे किन्न लगाउँथी र त्यो ‘फटाइएको’ जुत्ता मलाई दिन्थी । उनीहरुलाई सिलाएर बचेको लुगा मलाई सिलाइदिन्थे । त्यसैले मैले सानैदेखि कहिल्यै पनि आफूलाई ठिक्क हुने कपडा लगाउन पाइनँ । केही वर्षसम्म दिदीले त्यसैगरी मलाई जुत्ता दिन्थी । त्यसपछि अलिअलि बुझ्ने भएपछि भने मैले जुत्ता लगाउनै छोडें, र जिन्दगीभरी जुत्ता नलगाउने प्रण गरें । अहिले पनि जुत्ता लगाउँदिन, जस्तोसुकै मौसम वा ठाउँमा पनि । दिदीले म भन्दा एक कक्षा बढीमा पढ्थी । त्यसैले सधै मैले उसका किताब पढें । नयाँ कहिल्यै पाइनँ । दश कक्षासम्मै उसले लगाएको स्कूले पोशाकको सर्ट लगाउँथे । उसले नयाँ पाउँथी मैले पाउँदिनथें । पाइन्ट भने जसोतसो टालो हालेर पनि लगाइन्थ्यो । अनि हाप पाइन्ट बनाएर पनि ।

एउटा दशैंमा हाम्रो बुवाले पियन काम गर्ने स्कूलका हेडसरका कान्छा छोराले मलाई आफूले लगाएर पुरानो भएको कालो लेदरको ज्याकेट दिएका थिए । दशैंभरी त्यो लगाएँ । अनि स्कूलमा पनि त्यही ज्याकेट लगाएर गएको थिएँ । एकजना मलाई पढाउने शिक्षकको छोराले साथीहरुको बीचमा प्याच्च सोध्यो ‘कस्ले द्याको लेदरको ज्याकेट ?’ त्यस्तो ज्याकेट अलि हुनेखानेले मात्रै लगाउँथे । उनीहरुलाई मेरो हैसियत राम्रोसँग थाहा थियो । उनीहरुले फालेको रिफिल डटपेनमा हालेर मैले लेख्थेँ, त्यो उनीहलाई राम्रोसँग थाहा थियो । त्यसैले मैले स्कूलमा नयाँ कपडा, वा जुत्ता वा कलम लगे भने त्यो कस्ले दिएको हो भनेर साथीहरु हल्लीखल्ली गर्थे । म बोल्दिनथें ।

दिदीले मलाई त्यसरी लुकाएर, कपडा, जुत्ता अनि पैसा पनि दिन्थी । त्यसैले मैले पनि दिदीलाई राम्रो मान्थेँ । त्यसैले मैले खाने मासुको भाग सधै उसलाई नै दिन्थे । मैले मासु सानैदेखि खान छोडेको हुँ, भाईलाई कुखुरा मारेर खुवाएको घटनापछि नै । त्यसपछि पनि मैले मेरो भागमा पर्ने मासु भने छोंडिनँ तर त्यो भने लुकाएर दिदीलाई दिन्थे । कहिलेकाहीं मात्रै(अझ भनौँ दशैंमा मात्रै) मासु पाक्ने हाम्रो घरमा मासु पाकेपछि त्यो सबैलाई चोक्टा चोक्टा गनेर भाग लाग्थ्यो । कुखुरा भएको बेला, टाउको, खुट्टा जस्ता भने बुवाले खान्थे । बुवा, आमा ज्यूदै भएकाहरुले टाउको, खुट्टा खानुहुन्न भन्ने चलन थियो । अरु मासु भने सबैको भागमा बराबर भाग लाग्थ्यो । त्यसैमध्येको मेरो भाग भने मैले दिदीलाई लुकाएर दिन्थे अनि मैले भने नुनसँग भात खान्थेँ । धेरैपछि मात्रै घरमा मासु पाकेको दिन मेरो लागि छुट्टै तरकारी पाक्न थालेको हो, त्यो पनि दिदीले भनेर ।

दशैंका बेला गाउँघरमा खसी काट्थे । अष्टमीको दिनमा बली दिने चलन थियो । हुनेखानेले खसी, बोका, कुखुरा बली दिन्थे । हाम्रो भने त्यो औकात थिएन । त्यसैले कुपिन्डो वा फर्सीलाई चारवटा साना किला गाडेर त्यसलाई खसी,बोकाजस्तो बनाएर त्यसैलाई बली दिन्थ्यौँ । रगतजस्तो गराउनका लागि त्यो काटीसकेपछि रातो रंग दलिदिन्थ्यौँ । गाउँमा खसी, बोका काटेका घरमा कहिंलेकाही म पनि पुग्थेँ । त्यहाँ सबै केटाकेटीहरु रमाइरहेका हुन्थे । मासु काटेकोमा । मैले भने अहिले पनि कुखुरा, खसी वा रागा काटेको हेर्न सक्दिनँ । डर लाग्छ । खसी काटीसकेपछि त्यसको रगत, छाला, आन्द्रा, भूँडीलगायत केही मासुका आइटमहरु मिलाएर ‘कट्नेसी’ बनाइन्थ्यो । घरमा भएका सबैलाई अनि वरीपरी छिमेकमा त्यो बाँडेर खाइन्थ्यो । मैले भने मासु नखाने । तर धेरैले ‘यो काँ मासु हो त, यो त कट्नेसी पो हो, यो खाए केही हुन्न’ भनेर मलाई खुवाउथेँ । पछि दिदीले भनेपछि त्यो पनि खान छोडें ।

दशैंको बेला हामी काँचो अनि पाकेको मासु पनि चोथ्र्याैं । कतिपय केटाकेटीहरुले पाकेको मासु भाँडैसँग पनि चोरी गरेका छन् । काँचो मासु पनि चोरेर साथीहरुले गाउँदेखि टाढा लगेर पालेर खान्थे । मैले पनि उनीहलाई साथमात्रै दिन्थे । मासु चोर्थेँ, पोलिदिन्थे अनि सबै साथीहरुलाई बाँडिदिन्थे । उनीहरुले रमाइलो मानेर खान्थे । कतिपयले त रक्सी पनि चोरेर ल्याएका हुन्थे त्यो पनि खान्थे । त्यो बेला प्लाष्टिकको पोकामा ‘सौंफिया’ रक्सी पाइन्थ्यो । दश रुपैंयाँमा आउने त्यो पोकाको रक्सीको उत्पादन अहिले भने बन्द छ । एकपटक गाउँको एउटा घरमा, सायद कुनै डाँगीको घर हुनुपर्छ हामी मासु चोर्ने छि¥यौँ । त्यो घरमा धेरै प्रकारका मासु पाकेको थियो । साथीहरुले जग अनि कचौरामा हालेर लगे । मसँग कुनै भाँडो थिएन त्यसैले मैले हापपाइन्टको गोजीमा पकाएको मासु हालेँ । त्यसैले पूरै हापपाइन्ट भिज्यो र गन्हाउने भयो । गाउँमा एकजना जमिन्दारको छोरीको बिहेमा पनि हामीले त्यसैगरी पकाएको मासु चोरेका थियौँ ।

भगाएर बिहे गरेँ । माघको महिनामा ।अलिअलि पत्रकारितामा लागिसकेको थिएँ । २०६२ सालको बैशाखदेखि केही साथीहरु मिलेर सूचनापत्र साप्ताहिक निकाल्यौँ । साउनदेखि फेरि दाङमा गोरक्ष दैनिक सुरु भयो । त्यो साप्ताहिकमा काम गरेको पैसा हुँदैनथ्यो । पछि गोरक्ष दैनिकमा जागिरे भइयो । पत्रकारका रुपमा त्यहाँ लागेपनि केही समय भने बिहानमा पत्रिका पनि बाँड्नुप¥यो । एउटा पुरानो एट्लस साइकलमा पत्रिका राखेर म आफैले रातभरी समाचार बनाएको पत्रिका बाँड्न जान्थे । अहिले म यसै दैनिकको सम्पादक भएको छु । केही समयका लागि हामीलाई खाजाखर्च मात्रै दिने निर्णय भएको थियो, कति पाउने भन्ने केही थाहा थिएन ।

त्यही पत्रिका काम गरियो ।दशैं आयो । फूलपातिको दिनमा हामीलाई एकाउन्टेन्टले बोलाए, अरु साथीहरुलाई कति दिए कुन्नी ?मलाई भने उनले ल दशैं मनाउनु, अब पूर्णिमापछि अफिस आउनु भने १३०० रुपैंयाँ दिए । अब घर जानुपर्ने । श्रीमतिका लागि केही किनिदिनु पर्‍यो भनेर म कपडा पसलमा गएँ । मैले भने पर्वकै लागि भनेर अहिलेसम्म नयाँ कपडा किनेको छैन, जहिले आवश्यक पर्छ त्यै बेला किन्छु । घोराहीको ‘ज्योति बस्त्रालय’ त्यो चलेकै महंगो पसल हो । मसँग त्यही १३ सय रुपैंयाँमात्रै थियो । श्रीमतिका लागि एकजोडा कुर्ता सुरुवाल हेरें पहिलोपल्टैमा मन पर्‍यो । त्यसलाई केही बेर हेरेँ । झिक्न लगाएँ अनि दाम सोधेँ १५०० रुपैंयाँ भन्यो । फेरि ‘कलर’ नमिलेको बाहाना बनाएँ । लगिनँ । एउटा किराना पसलमा गएर पाँचवटा वाइवाई चाउचाउ किनेर घर गएँ । साँझ बसेर हामीले त्यही चाउचाउ खायौँ । सम्झें बिहेको पहिलो दिन पनि हामी चाउचाउ खाएरै सुतेका थियौँ ।दशैंको उपहार श्रीमतिलाई त्यही चाउचाउ लगिदिएँ । त्यसपछि मैले आफैं कहिल्यै पनि श्रीमतिका लागि केही किनिदिएको छैन, त्यसमा पनि अझ चाडपर्वको प्रयोजनका लागि छोरोलाई समेत किनिदिन्न, बरु अघिपछि किनमेल गर्छु प्रायजसो श्रीमतिले नै किनमेल गर्छे, मेरा लागि पनि ।

दशैं तिहारमा सबैले आआफ्नो घर लिपपोत गर्थे । थरीथरीका रंगका माटोले रंगाउथेँ । अलि हुनेखानेले रंग पनि किनेर लगाउँथे । तर हाम्रो भने घर थिएन ।ऐलानी जग्गामा स्याउलाले बारेर बनाएको छाप्रोमा कति लिपपोत गर्ने ? बरु दिदी, आमाहरु बाहुन(उनीहरु काम गर्न बसेको जमिन्दारकों)घर लिपपोत गर्थे, थरीथरीका माटोले रंगाउँथे । आफ्नो त्यो छाप्रो भने जस्ताको त्यस्तै । हामी पनि त्यही बाहुनको घर रंगाउने माटो छ्यापिएर रंगिएका हुन्थ्यौँ । अहिले भने गाउँकै अलिकति ऐलानी जमीनमा एउटा ताले घर छ । आफू घरमा नबसेपनि त्यो घरमा मैले टिन हालेर एकतला उठाउनका लागि पैसा पठाइदिएको थिएँ । घर बनेको छ । यता आफू भने डेरामा बस्न थालेको एक दशकभन्दा बढी भइसकेको छ । तिहारमा सबैको घरमा झिलिमिलि बत्ति बलेको हुन्छ । मेरो पाँच वर्ष पुग्न लागेको छोरोले बितेको ३ वर्षदेखि हरेक तिहारमा मलाई सोध्छ ‘बाबा हाम्ले घरमा कैले त्यस्तै झिलिमिली बत्ति बाल्ने ?’ जवाफ केही दिन सक्दिनँ अनि भन्छु ‘त्यस्तो बत्ति बाल्नुहुन्न ऐले लोडसेडिङ भयो भने सबै निभ्छ, मैनबत्ति बाल्नुपर्छ ।’ अनि कोठामा मैनबत्ति बालिदिन्छु, त्यो सकिने बेलासम्म ऊ निदाइसकेको हुन्छ । अहिले पनि जग्गाजमीन केही छैन, घर बनाएको सपना कैलेकाहीं देख्छु ।

हरेक दशैं होस् या तिहार वा तीज नै किन नहोस् । यी पर्वहरु सुरु हुनासाथ मेरो आँशुधारा सुरु हुन थाल्छन्, आफन्तलाई सम्झिन्छु, खुब भक्कान्निन्छु । अरु आफन्तसँग पर्वमा रमाईरहेका हुन्छन्, म त्यो देखेर खुब रोइरहेको हुन्छु । यहाँसम्म की सिनेमा अनि सिरियलहरुमा आमा, बाबु र छोराछोरीको प्यार देखेर म धेरै रोएको छु । अनि श्रीमतिले सधै भन्छिन् ‘आइमाइजस्तो गर्ने, सिरियलमा पनि रुने ?’ आखिर जसले रोएपनि आशुँको रंग हुँदैन, सायद । म यही भन्छु ।

कैयौं वर्षको दशैं तिहार त हामीलाई आफ्नै घरमा मनाउन पनि पाएनौँ । किनकी जव चाडपर्व सुरु हुन्थ्यो अनि बुवाले रक्सी खान सुरु गर्थे । हुन त त्यो सधैं हुन्थ्यो तर पर्वका बेला अझ धेरै पिउथे । जब बुवा रक्सीले मातेर घरमा आउँथे अनि आमाले पिटाई खाने निहुँ चाहिन्नथ्यो । फेरि हामी दिदी, भाईहरु घरबाट निकालिन्थ्यौँ । कैयौ वर्ष हामीले त्यस्ता दशैं तिहार अरुको गोठमा मनाएका छौँ, रोएरै । त्यसैले पर्वमा म धेरै रमाउन सक्दिनँ । तर अब त छोरो पनि भइसकेको छ, उसका लागि पनि खुसी देखिनुपर्छ ।

फेरि दशैं सुरु भएको छ, मलाई भने फेरि अतितका स्मृतिले सताउन थालेका छन् । दशैंसँग मेरा अनेक दुःखका कथा जोडिएका छन्, त्यसैले लाग्छ यो दशैं नै मनाउँदिन । तर समाज छ, श्रीमती, छोरा । यी सबलाई नाघेर जान पनि सक्दिनँ । त्यसैले जव पर्व सुरु हुन्छन्, मौसम पनि खुसीयाली लिएर आउँछ, मेरा लागि आँशुको वर्षा ।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink