गालिब रिटर्न्स

  • Get News Alerts

गालिबप्रति नेपालमा राम्रै चाख भएको देख्दा आश्चर्यमिश्रित खुसी लाग्छ। पछिल्लो लेखपछि एउटा प्रतिक्रिया (बतासे ट्विटमार्फत) देखियो- गालिब रिटर्न्स लेख्नलाई दबाब दिउँ।

यसले सोच्न बाध्य बनायो, लेखको 'सिक्वेल' सम्भव छ? त्यो पनि एक हल्का लेखको। तर, सायद हल्का लेखहरुले नै सिक्वेलको माग गर्दा हुन्।

मिर्जा असदुल्लाह खानबारे धेरै कुरा पढ्न पाइन्न। किनभने, उनले आफ्ना बारे खासै लेखेनन्। कमै उमेरमा ‘असद’ नामले लेख्न सुरु गरेका थिए उनले। 'असद' को अर्थ हुन्छ सिंह। पछि उनले नाम फेरे गालिब, जसको अर्थ हुन्छ 'विजेता'।

सानै उमेरमा उनको नाम राम्रै फैलियो। प्रायःले भने उनको गिल्ला गर्थे। हाँसोको पात्र बनाउँथे। किनभने, गालिबको औपचारिक शिक्षा भएको थिएन। उनी तत्कालिन शायरहरुले (शाह नसीर र जौक जस्ता) झैं काल्पनिक दुनियाका मात्र कुरा गर्दैनथे। धेरै हदसम्म यो अक्सफोर्ड र क्याम्ब्रिजमा पढेका तत्कालीन नाटककारहरुले शेक्सपियरलाई होच्याउन गरेको व्यवहारसँग मेल खान्छ।

अंग्रेजीमा एउटा शब्द छ- हेगियोग्राफी। ग्रिक शब्द हेगियोबाट आएको यो शब्दको अर्थ हो पवित्र लेखन। यसमा जसका बारेमा लेखिन्छ उसको किञ्चित मात्र पनि आलोचना गरिन्न। यो प्रायः सन्तहरुका बारेमा लेख्दा प्रयोग हुने लेखन हो। गालिब र शेक्सपियरलाई होच्याउने समूहको विशेषता के थियो भने, उनीहरु हेगियोग्राफीमा बढी विश्वास गर्थे अर्थात् नायकपूजा गर्नेखालको लेखनमा रमाउँथे।

पूर्वीय सभ्यताको दुइटा अचम्मलाग्दा पक्ष छन्। पहिलो, सकेसम्म आफ्नोबारे, विषेशतः आफ्ना दु:ख कम लेख्ने। दोस्रो, आफूले मन पराएको व्यक्ति (वा गुण) को बयान गर्दा अतिशयोक्तिको प्रयोग (हनुमान चालिसा शैलीमा) गर्ने, अर्थात हेगियोग्राफी। उर्दूमा यसलाई कसीदाकारी भनिन्छ।

शेक्सपियरजस्तै गालिब पनि यी दुइटै पक्षबाट पीडित ऐतिहासिक पात्र लाग्छन् मलाई। जति कन्जुसी गालिब आफैंले आफ्नोबारे भन्नमा गरे, त्यसको लेश मात्र पनि उनका अनुयायीहरुले उनलाई देवत्वकरण गर्दा गरेनन्। आफ्नो समयमा विरोध र कष्टको सामना गरे पनि गालिबको मोल मृत्युपछि बढेको थियो। त्यसैले होला, तत्कालीन सोभियत संघले उनको मृत्युको शतवार्षिकी मनाएको थियो। यसको कारण गालिबका पुर्खा समरकन्दबाट आएकाले पनि हुन सक्छ। उजबेकिस्तान त्यतिबेला सोभियत संघको भाग थियो।

समरकन्द रेशम मार्गको समयमा महत्वपूर्ण साँस्कृतिक आदानप्रदानका लागि चिनिन्थ्यो। त्यसताक स्थानीय रुपमा ताजिक भाषा बोलिन्थ्यो, जसलाई फारसीको नजिकको नातेदार मान्न सकिन्छ। तर, समरकन्दमा ताजिकको अहिले कुनै आधिकारिक स्थान छैन।
गालिबको आधुनिक जीवनी लेख्ने राल्फ रसेलका अनुसार गालिब दक्षिण एसियाका महानतम साहित्यिक भाषाहरु फारसी र उर्दूका महानतम कवि हुन्। अर्का जीवनी लेख्ने र आलोचक मुहम्मद सादिक भन्छन्, 'गालिबका कृतिहरुको मात्रा हेर्ने हो भने उनलाई फारसी कवि मान्नुपर्छ।' सादिकका अनुसार गालिब आफ्नो फारसी कृतिहरुमा बढी गर्व गर्थे।

फारसी र उर्दूबीचको फरक

उर्दू भाषाको सोधमा अहिलेसम्म नै प्रामाणिक मानिने र बृहत पुस्तक टी ग्राह्याम बेलीले १९३२ मा लेखेको ‘अ हिस्ट्री अफ उर्दू लिटरेचर’ लाई मानिन्छ। बेलीका अनुसार उर्दू भाषा दिल्लीबाट सुरु भएको हो।

‘उर्दू’ वा ‘ओर्दू’ शब्द नै वास्तवमा तुर्कीबाट आएको हो, जसको अर्थ हुन्छ ‘सेना’ वा ‘शिविर’। अंग्रेजीको शब्द होर्ड जसले भीड जनाउँछ, त्यो पनि उर्दू शब्दसँग सम्बन्धित मानिन्छ। बार्हौं शताब्दीको अन्त्यतिर दिल्लीमा रहेको मुसलमानी सेनालाई उर्दू वा उर्दू-ए-मुअल्ला भनिन्थ्यो, जसको अर्थ हुन्छ सेनाकै अभिजात्य वर्ग। यो सेनाको आपसमा बोलीचालीको भाषा थियो फारसी। स्मरण रहोस्, यो सेना मुहम्मद गोरीको थियो, जसले बार्हौं शताब्दीको अन्त्यतिर पन्जाब कब्जा गरेका थिए। तेर्हौं शताब्दीको पहिलो दशकमा यिनकै सैनिक नायक कुतुबुद्दीन ऐबक (तुर्किस्तान मूल भएका) दिल्लीको पहिलो सुल्तान बने। यही कारणले लाहौर र दिल्लीको सरकारी कामकाजको भाषा फारसी बनाइयो। तत्कालीन दिल्ली र वरिपरि बस्नेहरु ब्रजभाषा (हिन्दीको एक प्रकार) बोल्थे, जसलाई कालान्तरमा आएर अहिले हिन्दीको खडी बोली भनिन्छ।

तस्बिर स्रोत- फस्टपोस्ट डटकम


फारसीलाई सरकारी भाषाका रुपमा थोपरिए पनि स्थानीयहरुले बोल्ने भाषा त्यो नभएकाले खडी बोली र फारसी मिश्रित बोली निस्क्यो, जसलाई अभिजात्य सैनिकहरु अर्थात उर्दू-ए-मोअल्लाले प्रयोग गर्न थाले। यो भाषामा पन्जाबीको प्रभाव पनि राम्रै थियो। यो भाषालाई जबान-ए-उर्दू-ए-मोअल्ला, अर्थात् अभिजात्य वा राजसी सेनाले बोल्ने भाषा भनिन्थ्यो। कालान्तरमा जबान-ए-उर्दू भन्न थालियो र अझ पछि आएर मात्र उर्दू।

टी ग्राह्याम बेली भन्छन्, 'केहीले मुसलमान सेनालाई ‘उर्दू’ भनेर बोलाउन थालिएको सोर्हौं शताब्दीमा बाबर आएपछि मात्र हो र त्यसैअनुरुप उर्दूको सुरुआत त्यसपछि भएको हो भन्ने दावी गर्छन् तर यसको प्रामाणिकतामा सन्देह छ।' 

फारसीमा सेनालाई उर्दू भनेर सम्बोधन गरिएको प्रमाण बाह्रौं सदीको मध्यतिरै भेटिन्छ। भारतमा भने यसको पहिलो प्रयोग बाबर संकलित तुजुक-ए-बाबरीमा मात्र भेटिन्छ। भाषाका लागि उर्दू शब्दको प्रयोग भने १८ औं शताब्दीको मध्यतिर मात्र भेटिन्छ। त्योभन्दा अघि यसलाई हिन्दी, हिन्दवि वा हिन्दुस्तानी भनिन्थ्यो। भारतीय उपमहाद्विपका १३ औं र १४ औं सदीमा ख्यातिप्राप्त कवि अमीर खुसरोले फारसीमा लेख्थे तर उनले ‘हिन्दवि’ मा धेरै लेखेको आफैंले भनेका छन्।

यो बेलायतको नर्मन कन्क्वेस्टसँग मेल खान्छ, जहाँ फ्रेन्चको एक क्षेत्रीय स्वरुप बोल्ने नर्मन विजेताहरुले आफ्नो भाषालाई बेलायतको सरकारी भाषा बनाए। बेलायतमा त्यतिबेला पाँचौं शताब्दीमा यूरोपेली भूमिबाट आएका जर्मन मूलकाहरु बस्ने गर्थे, जसलाई एंग्लो-स्याक्सन भनिन्छ। यो भाषाले स्थानीय भाषामा धेरै असर गर्यो। दुई-तीन शताब्दीमा यो भाषा आफैं लोप हुन गयो र अहिले बेलायतमा अंग्रेजी बोलिन्छ, जसमा तत्कालीन फ्रेन्चको प्रभाव छ।

गालिब त्यस्तै एउटा अचम्मलाग्दो कालखण्डका प्रतिनिधि पात्र नभए पनि त्यही कालखण्डका उत्पादन भने पक्कै हुन्। दिल्लीमा १८ औं शताब्दीको राजनीतिक उथलपुथलका कारण उर्दूका नाम चलेका शायरहरु लखनउ जान बाध्य भए। र, लखनउ पनि उर्दूको गढ बन्न पुग्यो।

तर, १९ औं शताब्दीको पूर्वार्द्धमा दिल्लीमा ब्रिटिस साम्राज्यको उपस्थितिले उथलपुथल कम पार्यो, जसले बौद्धिक कार्यहरु मौलाए। राल्फ रसेलको शब्दमा दिल्लीका लागि यो एक किसिमको पुनर्जागरणको (युरोपियन रेनाइसाँ जस्तै) युग बन्न पुग्यो। त्यति नै बेला कुरान पहिलोपटक उर्दूमा अनुवाद भयो। कट्टरपन्थी मुसलमानहरुमा सुधारका आन्दोलन चले र कवि शायरहरु लखनउ जाने क्रम रोकियो। दिल्ली फेरि साँस्कृतिक केन्द्र हुन थाल्यो। यसको एउटा प्रमुख कारण के थियो भने प्रशासनमा बेलायती नियन्त्रण बढिरहेकाले मुसलमान शासकहरु संस्कृतितिर आकर्षित हुनुबाहेक विकल्प थिएन। अझ दिल्लीका बादशाह बहादुर शाह त ‘जफर’ उपनामले शायरी नै गर्थे।

अदालती भाषा फारसी भएको मुगल साम्राज्य अवसानोन्मुख भए पनि शासकको संरक्षणका कारण उर्दू शायरी अभिजात्य वर्गको नयाँ सोख बन्न थाल्यो। उर्दूमा लेख्नेहरु त्यो वर्गमा सामेल हुन थाले। मुगल दरबारको संरक्षणका कारण कवि वा शायरहरुले यदाकदा आफ्ना संरक्षकहरुको स्तुतिपाठ (कसीदाकारी) पनि गर्नुपर्ने हुन्थ्यो। गालिबलाई त्यो स्वीकार्य हुन सकेन। त्यही भएर उनी सहरका सबैभन्दा नाम चलेका शायर भइकन पनि दरबारी शायरको तक्मा शेख इब्राहिम जौकले पाएका थिए। जौकसँग गालिबको सधैं इर्ष्या रह्यो। एकपटक जौक बजारमा घुम्दै गर्दा गालिबले शेर सुनाए, 'बने है शाह का मुसाहिब, फिरे है इतराता।'

धेरैले उनलाई मुगल साम्राज्यको अवसानलाई खासै सम्बोधन नगरेर ब्रिटिस साम्राज्यको पक्षपोषण गरेको गुनासो पनि गरेका छन्। सम्भवत: समयअनुसार चल्ने प्रयास थियो गालिबको। उर्दूकै महानतम शायरमध्ये भए पनि उनले फारसी मन पराउनुको कारणबारे उनका एक जीवनी लेखक पवन वर्मा भन्छन्, 'यो विषयमा गालिबले वर्तमानलाई पचाउन नसकेर र विगतको महिमामन्डन गर्न खोजेका हुन्।'

अरविन्द अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’ मा एउटा पात्र छ, बलराम हलवाई। यो पात्रले ती तमाम पूर्वाग्रह पालेको छ, जुन वर्तमान भारतको मध्यमवर्गीय हिन्दू परिवेशले सिकाउँछ। यस अर्थमा ऊ मुसलमानहरुप्रति त्यति उदार छैन। ऊ आफूले धेरै नपढे पनि विश्वका महानतम चार कविहरुको कृति कण्ठस्थ भएको बताउँछ। ती कविहरु हुन्- रुमी, इकबाल, मिर्जा गालिब र अर्को एक कवि जसको नाम बलरामलाई सम्झना छैन।

बुकर पुरस्कार पाएर यो पुस्तकको चर्चा र बिक्री दुवै बढ्यो। र, त्यो चौथो कवि को होला भनेर २००८/०९ तिर पुस्तक प्रेमीमाझ राम्रो बहसको विषय पनि बनेको थियो। विषय यहाँ चौथो कविको नभएर गालिबको सर्वप्रियताको हो। सर्वप्रियताको कारण गालिबको आध्यात्मिकता हो। जहाँ अरु तत्कालीन कविहरु धर्मबाहिर निस्कन सकेनन्, गालिब पारम्परिक रुपमा मानिने धर्मप्रति अनुदार देखिए। धर्म निरपेक्षता उनको स्टाइल बन्यो।

दिल्लीमा एकपटक एक अंग्रेज अधिकारीले गालिबलाई सोधे, 'तिमी मुसलमान हौ?'

गालिबको जवाफ थियो, 'आधा'

अंग्रेज अचम्ममा पर्यो। सोध्यो, 'आधा कसरी?'

गालिबले प्रष्ट्याए, 'रक्सी पिउँछु तर सुँगुर खान्न।'

गालिब पनि भगवानको सामान्य रहस्यवादी अवधारणा प्रयोग गर्छन् जसमा लेख्नेले स्वयंलाई ब्रह्माण्डको सुन्दरतासँग जोड्छ र भगवानको पूजासँगै सुन्दरताको पूजा गर्छ। यहाँ गालिबले हिन्दू धर्मको प्रतिकात्मक प्रयोग गरेको देखिन्छ जहाँ भगवानलाई सौन्दर्यको प्रतीक मानेर उपासना गरिन्छ। यहाँ स्मरण गर्नुपर्ने कुरा के भने मुसलमानहरुको रुढिवादी हिन्दूहरुप्रति विरोध पनि मूर्ति पूजासँग सम्बन्धित थियो। गालिबजस्तो रहस्यवादी विचारकलाई यो महत्वपूर्ण लागेन कि हिन्दूहरुले मूर्तिपूजा गर्छन्, तर उनले मूर्तिपूजा गर्दा आफ्नो तरिकाले भगवानप्रतिको प्रेम देखे। गालिबका अनुसार मूर्ति सुन्दरताको प्रतीक थियो र मूर्तिपूजा दिव्य प्रेमको प्रतीक। रमजानमा समेत उपवास नगर्ने गालिबले वनारसमा जीवन बिताउने इच्छा जाहेर गर्दा तत्कालीन मुसलमानहरुले कसरी लिए होलान् अनुमान गर्न सकिन्छ।

गालिबबारे पढ्न खोज्दा उनका केही विशिष्टता पाउन सकियो, जसले उनलाई त्यो बेलाका अरु लेखक कविभन्दा फरक बनायो। जस्तैः

१) भावुकतामा मात्र नबहेर मानिस र भगवानप्रतिको दृष्टिकोण

२) स्वतन्त्रता र आत्मसम्मानको बलियो आभाष

३) मौलिकतामाथि विशेष जोड

४) जीवनको अन्तिमसम्म पनि पूर्ण रुपमा जिउने इच्छा

५) जुनसुकै विषयमा पनि ल्याउन सक्ने अदम्य हास्य चेत

अल्लाहको नाम लिने बेला होस् वा आफ्नै बारेमा कुरा गर्दा, हास्य चेतले गालिबलाई सर्वोपरि राख्छ। गालिबकै शब्दमा-

'होगा कोई ऐसा भी जो गालिब को न जाने,
शायर तो वो अच्छा है प’ बदनाम बहुत है!'

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट