हराएको गाउँ खोज्दै

  • Get News Alerts

मैले धेरैअघि ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ पढेको थिएँ। उक्त उपन्यासको अन्त्यमा एउटा गाउँ अचानक विलाउँछ। विरहिनपुर नामको उक्त गाउँलाई त्यही गाउँ छेऊमा रहेको पोखरीले डुबाउँछ। काठमाडौंबाट सर्वेयरहरु गाउँ खोज्दै जाँदा कुनै बेला त्यो ठाउँमा भव्य बस्ती थियो भन्ने कुरा पत्यार गर्न सक्दैनन्। उपन्यासकारले त्यो गाउँलाई नेपालको नक्साबाटै हराएको भन्दै उपन्यासलाई टुङ्ग्याइदिन्छन्। त्यो उपन्यास पढ्दा मलाई काल्पनिक जस्तो लागेको थियो। कारण सयौं परिवार बसेको त्यति ठूलो गाउँ रातारात कसरी हराउँछ? मैले यस्तै सोचेको थिएँ।

अहिले त्यो उपन्यास फेरि पढ्न थालेको छु। कारण, त्यो गाउँको एउटा पात्र म पनि बन्न पुगेँ। महशुस गर्न थालेको छु, साहित्यमा मात्र होइन, यथार्थमा पनि भैरहेको गाउँ हराउँदो रहेछ। आफूले खेलेको आँगन, आफूले पढेको विद्यालय, आफूले सँगै खेलेका साथी–भाइका साना साना घरमात्र होइन, हिँड्ने बाटो पनि एकाएक हराउँदो रहेछ। त्यसको ज्यूँदो जाग्दो प्रमाण म र मजस्ता सयौं व्यक्तिहरु छौं। आज करिब ५० वर्षको उमेरमा आएर म विगत सम्झन्छु र छक्क पर्छु। म जुन भान्साको कुनामा जन्मिएँ, जुन गोठमा मेरो बाल्यकाल बित्यो, म जुन विद्यालयमा पुगेर शिक्षकको खुट्टा ढोगेँ, जहाँ मैले सरस्वती पूजा गरेँ, जहाँ गोठालो गएँ, जुन ठाउँमा मैले आफ्नो जवानी बिताएँ। ती कुनै ठाउँमा अहिले मानिस छैनन्। त्यो ठाउँ पुगेर खोज्दा कुनै कुराको अवशेषसम्म पाइँदैन। यसरी गाउँ हराएको धेरै भएको छैन। केवल २० वर्षअघिसम्म पनि त्यो गाउँ जस्ताको तस्तै थियो, गाउँको चहलपहल उस्तै थियो। एउटा मानिसले केही वर्षअघिसम्म आफ्नो जीवनका महत्वपूर्ण समय बितायो, त्यो स्थान खोजेर पनि नपाइने भएको छ भन्दा अनौठो लाग्नु स्वाभाविक हो। तर यो सत्य हो, म जन्मेको, हुर्केको एउटा गाउँ पदमपुर ईतिहास बन्न पुग्यो। म र मजस्ता धेरै मानिस ज्युँदै छौँ तर हाम्रो गाउँ नेपालको मानचित्रबाट सधैका लागि हराएको छ।

केही समयअघिको कुरा हो, म काठमाडौंमै थिएँ। चितवनबाट लक्ष्मण दाइले खबर गर्नुभयो, पुरानो पदमपुर् जाने भए आज र भोली दुई दिनको लागि मात्र पुर्जी खुलेको छ, फुर्सद भए आजै आइज। म धेरै दिनदेखि यो खबर को प्रतिक्षामा थिएँ। हतार हतार काठमाडौंबाट श्रीमती गीतासहित म चितवन पुगें। घर पुग्दा आमा मसँग रिसाएर बस्नु भएको रहेछ। हरेक वर्ष यहाँ नजिकका गाउँहरुलाई चितवन राष्ट्रिय निकुञ्जभित्र खर खडाइका लागि सरकारी तवरबाट नै २-४ दिनको अनुमती दिने गर्दछ। प्रत्येक वर्ष २-४ जना मानिस त्यही समयमा जङगली हात्ती तथा गैंडा भालुबाट मारिन्छन्। कुनचाहिँ आमाले म आफू जन्मिएको गाउँ फर्किएर हेर्न जान लागेको मन पराइरहनु भएको थिएन। आमाको चिन्तालाई मैले स्वाभाविक रुपमा लिएँ। तर आफू जन्मे हुर्केको ठाउँ हेर्न जाने हठ पूरा गर्ने अठोट भने छोडिनँ।

हुन त दुई वर्ष पहिले पनि मैले यसै गरी आफ्नो गाउँ जान नचाहेको होइन तर घना जङ्गलमा परिणत भैसकेको मेरो गाउँ जाने कुनै उपाय निस्केन। सामान्य अवस्थामा सेनाबाहेक अरुलाई प्रवेश निषेध हुँदा पनि हाम्रै जिल्लाका सिडिओसाबले सरकारी हात्ती चढेर पदमपुर जाने अनुमती दिएका थिए तर हात्ती चराउने माहुते दाइले जङ्गली हात्तीको डर देखाएर जान मानेनन् रापती नदी वारी नै चरिरहेका २/३ वटा गैंडा देखाएर हामीलाई फर्काएका थिए।

चितवनको जुन ठाउँमा अहिले हाम्रो घर छ, त्यो भन्दा करिब ३ घन्टाको पैदल यात्रामा म जन्मिएको ठाउँ पर्छ। स्वदेश हुँदा वा विदेशबाट नेपाल आएको मौका पारेर म चितवन पुग्छु तर मोटर चढेर ३५ मिनेटमा पुगिने मेरो जन्मस्थान पुग्न सक्तिन। त्यहाँ जान यस्तै विशेष मौसम कुर्नुपर्छ। सरकारले खर खडाइ काटन दिने अवसरमा म जस्ता दर्जनौं मानिसहरु आफ्नो गाउँको सीमाना टेक्न नेपाली सेनाले दिने पुर्जी कुरेर बसेका हुन्छन्।

श्रीमती र मसहित १३ जना गाउँले दाजुभाइ सेनाको ब्यारेक पुग्यो, सबै जनाको अनुमती पत्र किन्यो। सायद हाम्रो लवाइ र हातमा खर खडाइ काट्ने कुनै हतियार नदेखेर होला सेनाले हाम्रो निकै सोधपुछ गर्न थाले। मैले सेनाका जवानलाई जुन जवाफ दिएँ, त्यो जवाफ केही वर्षअघि रसियामा बस्दा मेरा एकजना छिमेकीले दिने जवाफभन्दा फरक थिएन।

रुसमा छँदा म जुन घरमा बस्थेँ, त्यसको कुनै फ्लाटमा एकजना प्यालेस्टाइन मूलका नागरिक मेरा छिमेकी हुने गर्दथे। उनको कोठामा म कहिल्यै पसिनँ तर घर बाहिर उनीसँग प्राय: भेट भइरहन्थ्यो। धेरैजसो समय म काममा निस्कँदै गर्दा ती आफ्नो गाडीमा रहेको हिउँ सफा गरिरहेका भेटिन्थे। अथवा कुनै बेला कामबाट फर्कंदा हाम्रो गाडी एकै स्थानमा पार्किङ गर्ने मौका मिल्थ्यो। पटक–पटक हाइ हेल्लो गरेपछि उनीसँग एकप्रकारको मित्रता हुन पुग्यो। कुरै कुरामा एक दिन मैले उनको देशको बारेमा सोधेँ। अरु कुरामा खुलेर जवाफ दिने ती व्यक्तिले देशको कुरा गर्दा केही अकमकाउँदै भने, 'म जुन देश मा जन्मेँ, जुन ठाउँमा हुर्के त्यो अहिले अर्कै देश भैसकेको छ। त्यो देश जानका लागि न म सँग त्यो देशको पासपोर्ट नै छ न भिसा। म त्यहाँ जान चाहँदा चाहँदै पनि सक्दिन, आफन्तलाई भेट्न सक्दिनँ, अहिले म देशविहिन नागरिक हुँ। म चाहेर पनि पछिल्लो ३० वर्षदेखि आफू जन्मेको स्थानमा फर्कन सकेको छैन। ती व्यक्तिहरु भाग्यमानी हुन्, जसको आफ्नो देश हुन्छ।’

नेपाली सेनासँग भलाकुसारी गर्दै मैले पनि ती प्यालेस्टाइन नागरिककै शैलीमा भनेँ, ‘ती मानिस भाग्यमानी हुन्, जो आफू जन्मेको घरमा सजिलै पुग्न सक्छ। हामीलाई त आफू जन्मिएको स्थानमा पुग्न पनि सरकारले पूर्जी खोल्नुपर्छ। पूर्जी खोल्दा पनि एक्लै जान सकिँदैन, यसरी ठूलो समूह बोकेर हिँड्नुपर्छ।’

जे होस् यसपटक हामीले पदमपुर छिर्ने अनुमति पायौं तर, जंगली जनावरबाट केही भए त्यसको क्षतिपूर्ति आफैंले नै व्यहोर्ने सर्तमा। हामी अघि बढ्दै गयौं। जसै म राप्ती नदी तरें मेरो डर हरायो। म बच्चा जस्तै जंगलमा दगुर्न थालेँ। मेरी श्रीमती र अरु साथीहरु समूह बनाएर हिँड्न कर गरिरहेका थिए, म भने सानो बच्चा आफ्नी आमा भेट्न जसरी दौडिन्छ, त्यसैगरी दौडन थालेँ। म विशाल जंगलभित्र गैंडा र चितुवाको वासस्थानका बीचमा छु भन्ने बिर्सिंदै। हामीले होसियारपूर्वक खरको बाक्लो झाडी छिचोल्यौं। यो त्यही जंगल, जस्ले मेरो गाउँ पदमपुरलाई निलेको थियो।

म एउटा सानो खोला तरेर अग्लो ढिस्को बोद्रिनी चौरमा उक्लिएँ। ऊ त्यहाँ- म गाईभैंसी चराउन आउँथे। त्यहीँ बसेर हामी डण्डीबियो खेल्थ्यौं। साथीहरुसँग कबड्डी खेल्थ्योँ। जसरी हामी त्यहाँ खेल्थ्यौं, सायद अहिले बाघ भालु र गैंडाका बच्चाहरु त्यसरी नै खेल्छन होला। तर यी सबै अन्दाजका कुरा हुन पुगे। बेला बेलामा यता आउने थारु साथीहरुले कुन ठाउँमा के थियो भन्ने बुझाएपछि बल्ल हो कि जस्तो लाग्ने। नत्र कुनै बेला यो मेरो खेल्ने ठाउँ हो भन्ने पत्याउन पनि मुस्किल।

म आफू जन्मिएको घरनेर पुगेर उभिएँ। त्यहाँ एउटा ठुलो आँपको रुख थियो। कुनै बेला त्यही रुख चढ्न खोज्दा म लडेको थिएँ। त्यही रुखकै कारण मेरो घरको आँगन यही हो भन्ने मलाई अन्दाज भयो। तर मेरो आँखामा तैरिरहेको मेरो घर, मेरा दाइहरुको चहलपहल, मेरी आमाको चुरा बजाइ, बाको न्यायनिसाब अलि पर रहेको दिदी भिनाजु को घर अनि सानो बुवाको घर कतै थिएन। वरपर थारुहरुका घर थिए, ती पनि कतै थिएनन्। मानिसको आवाजका सट्टा पर पर विरह लाग्दो रुपमा चराहरु कराइरहेका थिए। थारु साथीहरुको सहयोगमा मैले नभएको घरको आँगन, गोठ, तुलसीको मोठ, साथीसंगिनीहरु सँग खेल्ने ठाउँ सबै चाहारेँ। जंगलको बीचमा पनि मनले ती सबै कुरा जस्ताको तस्तै देखाएझैं भयो, जसरी २५/३० वर्षअघि त्यहाँ ती कुराहरु हुने गर्दथे। कुनै प्रेयसीलाई वर्षौंपछि भेट्दा जुन अनुभूति हुन्छ, ठिक त्यही भावमा म तैरिरहेको थिएँ।

घरबाट निस्किएर म आफ्नो खेततिर लाग्न खोजेँ तर मेरी श्रीमतीले उता जान दिइनन्। थारु साथीहरुले पनि त्यो घना जंगलमा कुनै बेला हामीलाई बचाउने खेत र त्यहाँ फल्ने अन्नको दर्शन गर्न दिएनन्। करिब २ घन्टासम्म यता र उता चाहरेपछि साथीहरु फर्कने तरखर गर्न थालें। तर मलाई त्यो ठाउँ छाड्न मन लागेको थिएन तर पनि फर्कनु त थियो नै, फर्कने क्रममा एउटा घाइते मृर्ग भेटियो। मृगलाई भर्खरै कुनै हिंश्रक जनावरले आक्रमण गरेर आधा खाएको रहेछ। आधा खाइसक्दा पनि मृगको ज्यान गएको थिएन। कता कता चल्मलाएझैं गरिरहेको थियो। थारु साथीहरु आधा मृग पाएर खुसी हुँदै थिए। उनीहरु त्यसलाई घर ल्याउन चाहन्थे। तर सेनाले कतै भेटेमा जंगली जनावर मारेको आरोप हामीलाई लान सक्थ्यो। मैले उनीहरुलाई त्यहीँ छाड्न कर गरेँ। उनीहरु बेमनले राजी भए। सबैभन्दा ठूलो कुरा, मृग आक्रमण गर्ने चितुवा वा अन्य कुनै हिंश्रक जनावर त्यतै कतै हुन सक्थ्यो। त्यसले हामीमाथि पनि आक्रमण गर्न सक्थ्यो। त्यहाँबाट जति छिटो हुनसक्छ, हामी बाहिरिनु नै जरुरी थियो।

फर्किएर सेनाको ब्यारेक आएपछि मैले रुसमा भेटिएका प्यालेस्टाइन मूलका मेरा छिमेकीलाई सम्झिएँ। मेरा ती साथीको देश छैन, मेरो गाउँ छैन। कुनै दिन परिस्थिती अनुकुल भएमा उनी आफ्नो देश फर्कन सक्छन्, आफन्तहरुसँग बस्न सक्छन्। तर म कहिल्यै आफ्नो गाउँ फर्कन सक्दिन। किनभने मेरो गाउँमा मानिस होइन, जनावर बस्छन्। सरकारले २० वर्षअघिदेखि मेरो गाउँ र त्यस वरपरका क्षेत्रलाई चितवन राष्ट्रिय निकुञ्ज घोषित गरेको छ। त्यहाँका सयौं बस्ती सारेर, जनावरको बासस्थान बनाएको छ। मेरो गाउँ पदमपुर अब मेरो मनमा मात्र सीमित छ, जहाँ म आफ्नो बाल्यकाल सम्झिन मात्र सक्छु, त्यो भूमि टेक्न सक्दिन। यो गाउँलाई नेपाल सरकारले अरुनै ठाउँमा लगेर पुर्नस्थापित गरेको छ, तर पनि अहिले बनेको त्यो नयाँ पदमपुर गाउँ नाम मात्र पदमपुर जस्तो लाग्छ। पुरानो पदमपुर पुग्दाझैं मेरो मुटु नयाँ पदमपुरमा जोडले धड्कँदैन। बरु कुनै नौलो गाउँ घुम्न गएझैं लाग्छ। बाल्यकालका साथीहरु नयाँ पदमपुरमा अझै पनि भेटिन्छन् तर नामले त्यो बाल्यापन फर्काउन नसक्ने रहेछ। डा. ध्रुवचन्द्र गौतमले आफ्नो उपन्यासमा उल्लेख गरेझैं नेपालको मानचित्रबाट पदमपुर गाउँ हराएको छ र मैले सधैंका लागि आफ्नो गाउँ गुमाएको छु। मेरा बालसखा र अविवावकहरुले पनि सधैका लागि आफ्नो थातथलो गुमाएका छन्। अब त्यो गाउँ म र मजस्ता सयौं व्यक्तिहरुको मनमा मात्र बाँकी छ।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट