बाजेले नुनतेल बोकेको बाटो पछ्याउँदै...

  • Get News Alerts

पर्वतबाट बाग्लुङ, गुल्मी, पाल्पा हुँदै रुपन्देहीसम्म महाभारत श्रृंखलामा २०० किमी ‘नुनतेल ट्रेल’मा एकल पदयात्राको अनुभव

यात्राका लागि म आफैंले आफ्ना लागि बनाएका दुई नियम छन्ः धेरै लामो योजना बनाउनपट्टि नलाग्नु, मौका मिले निस्किहाल्नु र साथी नपाएर रोकिने काम पनि नगर्नु। यी नियम पालना गरे पछि धेरै यात्रा र भ्रमणको बाटो खुल्ने मेरो अनुभव छ।

यसपालि पोखरामा भएको साहित्य महोत्सवमा निम्ता थियो। त्यहाँ पुगेका बेला बाग्लुङस्थित जन्मगाउँ जाने योजना चितवन छँदै बनेको थियो र घरमा भनेको थिएँ। पोखराको बसाइ यसकारण पनि स्मरणीय भयो कि आउँदा जाँदा गुज्रनु र कहिलेकाहीं वास बस्नुबाहेक पर्यटकीय हिसाबले पोखरा कहिल्यै बसिएको थिएन। त्यसमाथि देशका जानेमाने बौद्धिक र साहित्यकारहरुको संगत गर्न र धेरै कुरा सिक्न पाउँदा म दंग थिएँ। रामचन्द्र गुहा, उदयप्रकाश, हरि शर्मा र चैतन्य मिश्रजस्ता दिग्गजहरुको मञ्चको प्रस्तुति जति गहन थियो, बुद्धिसागर, नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायतको मञ्च बाहिरका छटा र व्यंग्यचेत उति नै स्मरणीय थिए। दिनका देखिने कार्यक्रम र साँझका नदेखिने रात्रिभोज महोत्सवका बराबर महत्वका पाटा रहेछन् किनकि रामचन्द्र गुहाजस्ता हस्तीहरुसित रात्रिभोजकै बेला घुलमिल हुने अवसर मिल्यो। हाम्रा जिज्ञासामा उनले दिएका धेरै रोचक उत्तरमध्ये एउटा यस्तो थियोः भारतमा काँग्रेस उहिल्यै मरिसक्नुपर्ने पार्टी हो, त्यसको मृत्यू ढिलो हुँदा अरु प्रतिपक्षी पनि निस्कन सकेनन् र देश लामो समय प्रतिपक्षविहीन हुने भयो।

असामाजिक बन्दै गएको सामाजिक सञ्जालसम्बन्धी मेरो प्यानलका साथीहरु नाम्गे जाम र सुविन भट्टराई अनि प्रस्तोता ऋचा भट्टराई, तीनै जनासित मेरो पहिलो भेट थियो तर महोत्सव सकिने बेलासम्म हामीहरु साथी बनिसकेका थियौं।

चार दिने स्वच्छन्द पोखरा बसाइका क्रममा नयाँ रचनात्मक विचार आयोः बाग्लुङ त पुग्नु नै छ, किन बुवा र बाजेहरुले नुनतेल बोक्ने गरेको पैदल बाटो हुँदै बुटवल ननिस्कनु? त्यसो गर्दा खाल्डाखुल्डी र धुलोको पर्याय बनेको मुग्लिङ–नारायणगढ बाटो पनि छलिन्थ्यो भने केही दिन बिदा तन्काएर राम्रो पदयात्रा गर्न सकिन्थ्यो।

त्यसबाहेक, एकल पदयात्रा गरेर यो विधाका डन मानिने अग्रजहरु अमृत गुरुङ र नारायण वाग्ले दाइहरुको हाराहारीमा आफूलाई पुर्याउने अवसर सामुन्ने थियो।

अन्तिम दिनको कार्यक्रम सकिनु १ घण्टा अगावै लुसुक्क निस्केर म बसपार्क पुगें र कुस्माका लागि ट्याक्सी चढें। भाडा ५०० रुपैयाँ मात्रै भन्यो, एकदम सस्तो लाग्यो किनकि कार्यक्रमस्थलबाट बसपार्क पुगेकै ३५० रुपैयाँ तिर्नु परेको थियो। साँझ कुस्मा पुगेर एउटा औसत होटलमा बसेको, वाइफाइको सुविधा रहेछ। युट्युबमा दिउँसोको आफ्नै सेसन हेरें। सुधारका अनगिन्ती सम्भावना भए पनि आफ्नो प्रस्तुति त्यति खराबचाहिं भएको रहेनछ जस्तो लाग्यो। खाली भन्न चाहेका धेरै कुरा छुटेछन्।

बिहान झिसमिसेमा उठेर अग्लो झोलुंगे पुल तरेर बाग्लुङ प्रवेश गरेको एक छिनपछि बुवाको फोन आयो। पहिलोपल्ट 'नुनतेल ट्रेल'मा ट्रेक गर्ने कुरा भनें। बुवा छक्क पर्नुभयो तर उत्साहित हुँदै सोध्नुभयोः तल्लो मिर्मिको बाटो जान्छस् कि उपल्लो गोगाको?

घरबाट सजिलै यात्राको अनुमति पाइयो भनेर म मख्ख परें तर अलि बेरमा बा–आमाबीच खै के कुराकानी भयो, फेरि फोन गरेर बुवाले सर्वसम्मत जस्तो लाग्ने गरी निषेधाज्ञा जारी गर्नुभयोः पछि साथीसित जालास् त्यो बाटो, अहिले एक्लै हिंडेर नजा।

‘हैन बुवा, साथी भए त म हिमालतिरै गइहाल्थें नि, ‘द ग्रेट हिमालयन ट्रेल’ नै छिचोल्ने धोको भएको मान्छे, किन मध्य पहाडमा हल्लिएर बस्थें र? साथी चाहिने भनेकै अप्ठेरो रुटमा हो, यो त हाम्रो आफ्नै बाउबाजेले हिंडेर जीवन धानेको बाटो, यसमा हिंड्न पनि कहाँ साथी खोजिरहनु?’ मनले यस्तो जवाफ दिन चाहन्थ्यो तर मुखले भन्ने आँट आएन, आखिर फर्केर घरै जान पर्ने थियो।

बुवाको आग्रहमा लुकेको चिन्ता र सहृदयताको भावलाई विचार गर्दै मैले भनेंः अचेल पनि कोही एक्लै हुन्छ र, फेरि म विचार गरेर मात्र हिंडौंला। अप्ठेरो खण्डमा गाडी चढौंला, अहिले सबै ठाउँमा गाडी पुगेका छन्।

बुवा टसको मस हुनुभएन, भन्न थाल्नुभयोः बरु ठाउँ हेर्ने इच्छा हो भने गाडी चढेर रिडी जा, त्यहाँ झरेर ठाउँ हेर्, फेरि गाडी चढ्, त्यसो गर्, हिंड्नचाहिं नहिंड्, पछि साथीसित गएर हिंड्लास्।

जिद्दी गरेर काम छैन भन्ने थाहा थियो, त्यसैले मैले भनेंः ल, ल, एक्लै जंगलको बाटो हिंड्ने छैन, साथी लिएर वा गाडी चढेर, कतै हिंड्दै भए पनि जान्छु र बेला बेलामा फोन गरिराख्छु।

फोन राखेपछि म यो यात्रा पूरा गरिछाड्छु भन्नेमा निश्चित थिएँ र सम्भवतः बुवाले पनि मेरो भाव बुझिसक्नुभएको थियो तर शाब्दिक अर्थका हिसाबले मैले यात्राको अनुमति पाएको थिइनँ। बा आमाको माया सबै सन्तानलाई बराबर हुन्छ भन्छन् तर अक्सर जुन सन्तान मुर्ख र दुस्साहसी छ वा दुख पाउने सम्भावना बढी भएको छ भन्ने उनीहरुलाई लाग्छ, ऊप्रति बा–आमाको चिन्ता र माया अलि बढी नै हुन्छ। हाम्रो परिवारमा पनि बा–आमालाई मेरो चिन्ता अलि बढी नै हुन्छ र बुवाको निषेधाज्ञामा त्यही कुरा झल्किन्थ्यो।

अपरान्ह राङखानीस्थित गाउँ पुगियो। गाउँ छाडेर बसाइँ झरेको आठौं वर्षमा पहिलोपल्ट म फर्केर गएको थिएँ। धेरै कुरा फेरिएको थियो। सडकका लागि डोजरले कान्ला त उहिल्यै भत्काएको थियो, अब घरघरमा ग्याँस चुलो र डिस होमको टेलिभिजन सेवा पुगेछ।

पन्छाइनसक्नु दाउरा हुने गाउँमा किन ग्याँस चुलो भनेर सोध्दा गजब उत्तर पाइयोः दुई दिन लगाएर आफ्नै पाखाको रुख पल्टाएर चिराउनभन्दा एउटा ग्यासको सिलिण्डर किन्न सस्तो पर्छ, त्यो पनि चिर्ने मान्छे पाइँदैन। यो पाराले त पाखाहरु झन् हरिया बन्ने भए भनेर खुशी लाग्यो। कोदो रोप्ने चलन घटेसँगै हामीले खेती गर्ने गरेका बारीका पाटाहरुमा अहिले अम्लिसो लगाएर बँझाइएको रहेछ। अन्नदेखि ऊर्जासम्ममा परनिर्भरता ह्वात्तै बढेको थियो तर पर्यावरणमा भने राम्रै प्रभाव परेको हो कि जस्तो लाग्यो। तर...।

तर जब डोजरले अन्धाधुन्ध भत्काएका पाखाहरु, तिनले सिर्जना गरेका विशाल पहिरोहरु, वर्षौंअगाडि भत्काएर छाडेका तर कहिल्यै गाडी नचलेका र चल्ने सम्भावना पनि नभएका कथित सडकहरु देखिए र पाखाको भलिबल कोर्टसम्म सडक पुर्याउन कैयौं मुरी कोदो फल्ने बारीका पाटा नष्ट गरेको भन्ने किस्साहरु सुनिए, गाउँमा सडक निर्माण आवश्यकताबाट लतमा बदलिइसकेको भान भयो। त्यो लतका कारण पहाडको पर्यावरण ध्वस्तप्रायः हुँदै गइरहेको रहेछ।

पहिले लहलहाउँदो घाँस हुने ठाउँहरु अब घाँस काट्ने र वनमारा उखेल्ने मानिसहरु हराउँदै गएका कारण वनमाराले ढाकेको थियो। गाइवस्तु अझै पालिएका थिए तर गहिरिंदो पहिरोलगायतका यावत् कारणले गाउँमा बचेका मानिसहरुको मन पनि त्यहाँ अडिइरहेजस्तो लागेन। बसाइँ सरिनसकेका धेरै परिवारका पनि छोराहरु वैदेशिक रोजगारमा थिए भने बुहारीहरु सन्तान पढाउन शहर झरिसकेका थिए।

घरघर पसेर खप्टेर चिया, दुध र खानासमेत खाएर आफ्नो गाउँमा २४ घण्टा जति बिताएँ। बूढाबूढीमध्ये कतिले चिनेनन् तर चिनेपछि उनीहरुले देखाएको आत्मीयता अवर्णनीय थियो। डाक्टर हुनुको एउटा फाइदा यो पनि होः एक वृद्ध छिमेकीले ज्यान बचाइदिएको भनेर खुब प्रशंसा र सत्कार गरिन्। पछि बल्ल मधुरो याद आयो वर्षौंपहिले, सायद एमबीबीएस अन्तिम वर्ष छँदा गाउँ आएको बेला मैले उनको उपचार गरेको थिएँ। ‘ज्यान बच्न लेखेको रहेछ र तिमी आयौ’, उनले भनिन्।

सडक र बिजुली पुगे पनि अझ गाउँका धेरै दुख उस्ताको उस्तै छन् खास गरी दिगो आर्थिक स्रोत नहुनेहरुका लागि। एकपछि अर्को गाउँ छाडेर जानेको न्यास्रो गाउँमा बसिरहनेका लागि थपिंदै जाँदो रहेछ।

पैदल यात्राको दोस्रो दिन २ बजेतिर म मही र कोदोको रोटी खाएर बरेङका लागि उकालो लागें। नौलो यात्रा अब शुरु हुन्थ्यो। बाजेहरु झण्डै ३० किलो तौल बोकेर यहाँबाट ४ दिनमा बुटवल, उबेलाको बटौली, पुग्थे। यताबाट लगेको घ्यूलगायतका स्थानीय उत्पादन बेचेर वर्षभरिका लागि नुन, मट्टितेल र लुगाफाटोसहित अझ ठूलो भारी बोकेर फर्कन्थे। बाटोमा ओढारमा वा पाटीपौवामा बसेर आफैं लगेको अन्न पकाएर खान्थे, रात काट्थे र फेरि हिंड्थे। मसँग चाहिं चानचुन ३ किलो तौलको झोला थियो जसमा एक सेट लुगा र सानो ल्यापटप थिए। हातमा एउटा मोटो उखुको लट्ठी टेकेर त्यही हल्का झोला बोक्दै उकालोमा मलाई साथ दिन तयार भयो भतिज सुनिल।

बाजेका पाला हातमुख जोड्ने समस्या थियो। धेरैजसो पुरुषहरु काम खोज्न भारततिर जान्थे। हाम्रा बाजेचाहिं अलि पर बर्मासम्म पुग्नुभएको थियो। बज्यैले बर्मामा जम्मा गरेको सुन बेचेर गाउँमा किनेको बारीमा हाम्रो बाल्यकालको घर बनेको थियो। अलि पछि बेलायती र भारतीय सेनामा भर्ती खुल्न थालेपछि ज्यानको मूल्यमा भए पनि समृद्धि अलि बढेर गयो। हाम्रो बुवा भारतीय सेनामा हवल्दारसम्म बनेर सेवा निवृत्त हुनुभयो। सापेक्षतः राम्रै पढेकाले हामी तीन भाइलाई जीविकाको उति समस्या भएन तर भतिज सुनिलको अवस्था हेरेपछि हाम्रो अर्थतन्त्रको सदाकालीन समस्या तत्काल प्रकट हुन्थ्यो।

ऊ गाउँमै कक्षा १२ मा पढ्छ तर देश छाड्न उसका पखेटा पलाइसकेका छन्। बाउले लगानी गर्न सके युरोप वा अमेरिकातिर जाने, नसके पनि एक आफन्तमार्फत् जापानचाहिं गइछाड्ने उसको अठोट छ। त्यति पनि नभए खाडी जान उसलाई कसैले रोक्न सक्दैन। किन यस्तो हतार, स्नातकसम्म पनि किन नपढ्ने भनेर सोध्दा उसको उत्तर छः साथीहरु कोही बाँकी रहेनन्। उसले भारत, कतार र साउदी अरबमा काम गरेर पैसा कमाइरहेका साथीहरुको सुची यसरी सुनायो मानौं अझ पनि नेपाल बसिराखेर उसले अपराध गरिरहेको छ।

मसँग उसलाई स्वदेशमा बस्नुको महत्व बुझाउने शब्द र जाँगर दुवै छैनन्। देशमा कुन दिनदेखि डाक्टरी पढेर लिएको लाइसेन्स ट्याक्सी चलाउन प्रयोग हुने हो टुंगो छैन। सुविधाहरु कुनाकाप्चामा पुगेसँगै परिवारहरुको औसत खर्च आकाशिएको छ, तर देशको अर्थतन्त्रको सदाकालीन सुस्तताका कारण रोजगारी सिर्जनाको अवस्था झन् गिर्दो छ। गाउँ बस्ने हो भने के हुन्छ उसलाई थाहै छ, ऊ सुनाउँछः परीक्षामा कति अंक वा कुन श्रेणी ल्याइस् भनेर कोही सोध्दैन, खाली कति हलको मेलो जोतिस् भनेर सोछन्। जोतेर बिहानबेलुका हातमुख त जोडिएला तर घरमा डिसहोमको टिभीले देखाउने रंगीन संसार सपना नै रहन्छ।

एक चरणको उकालो काटेपछि डाँडामा पुगियो। हामीले कक्षा नौ र दश पढेको डाँडाखानी स्कुल नजिकैको भञ्ज्याङ यति आतंकपूर्वक दोहन गरिएछ कि, मन क्रोध, निराशा र अवसादले भरिएर आयो। डोजरले यसरी डाँडाको हुर्मत लिएको छ कि गुगलको स्याटेलाइट नक्सामा पनि त्यो विनाश लीला देखिन्छ। पहिले जंगलको छेउमा रहेको शान्त र अनुपम भञ्ज्याङमा अहिले कंक्रिटले बनेका घरहरुको लस्कर रहेछ र अझै निर्माण कार्य हुँदै रहेछ। बाटो र चौतारी मात्रै अतिक्रमण भएको थियो वा घरहरुको पूरा लस्कर नै सार्वजनिक सम्पत्ति हडपेर बनाइएको थियो, थाहा पाउने उपाय मसँग थिएन। ठूल्चौतारी, हुलाकीको चौतारी लगायत हाम्रो समयका चिनोहरु अब हराइसकेछन्, दुबोको चौरमा उत्तिस र वनमाराले अतिक्रमण गरिसकेछन्। खाली देवीको मन्दिर उस्तै बचेको रहेछ सायद मानिस नियमति आउने र रेखदेख गर्ने भएकाले होला।

त्यो देखेर यसरी मन मर्यो कि त्यस दिन बिदा रहेको स्कुलमा पनि धेरै बेर अडिन मन लागेन र हामी तेर्सै जंगलै जंगल नाम्दुकको डाँडातिर हानियौं। बीचमा एउटा फोन आयो र इमेल पठाउने काम पर्यो। नाम्दुकमा फोनको वाइफाइ हटस्पट चलाएर ल्यापटपबाट इमेल पठाएपछि नेपाल टेलिकमलाई धन्यवाद दिन मन लाग्यो, कति ठाउँमा त इन्टरनेटको गति भरतपुरका कति ठाउँमा भन्दा बढी थियो। तर कुनै बेला टेलिकमको नचल्ने सेवाले दु:ख पाएका धेरैले इन्टरनेटका लागि वैकल्पिक व्यवस्था गरिसकेका रहेछन्।

नाम्दुकमाथिको साँवली डाँडामा मलाई उखुको लठ्ठी र झोला हस्तान्तरण गरेर सुनिल घरतिर फक्र्यो। ४ बजिसकेको थियो। हामीले दिनरात अगाडि देखेर हुर्केको तीनचोके डाँडालाई पृष्ठभुमिमा पारेर फोटोहरु खिचेपछि म एक्लै उकालो लागें। त्यस दिनको गन्तव्य बरेङ अब मुस्किलले दुई घण्टा टाढा थियो तर झुले गाउँनिरको जंगलमा बाटो बिरिएछ। म मूल बाटो छाडेर पानीको मुहानतिर लागेछु। स्वभावतः बाटो साँगुरिंदै गएर खोलामा टुंगियो। पारीपट्टि तल पहरो थियो, माथि घना जंगल, बाटोको नामनिशान थिएन। कति ठाउँमा राम्रै देखेर टेक्यो, टेकेको ठाउँबाट बुर्लुङबुर्लुङ ढुंगा गुल्टिने।

फर्कौं कि भनेर सोच्ने बेलासम्म अप्ठेरो र साँघुरो बाटो यति कटिसकेको थियो कि फर्कन पनि मन लागेन। जंगलमा बाटो बिराउनुको एउटा अप्ठेरो पाटो यही हुन्छ, त्यसमाथि साँझ पर्दै आएकाले पछि फर्कंदा त्यस दिनको गन्तव्यमा नपुगिएला कि भन्ने अर्को डर। अन्धाधुन्ध हिंड्दै र हाम फाल्दै अन्ततः गाउँ देखिने ठाउँमा पुगें र लामो सास फेर्दै गाउँमा झरें। त्यहाँ भेटिएका मान्छेले जंगलमा बाघ छ भनेर तर्साइदिए। राहत महसुस गर्दै बरेङतिर तेर्सिएँ। हामीलाई स्कुलमा पढाउनुभएका हेड सर अहिले बरेङ हुनुहुन्छ। उहाँलाई फोन गरेर आउँदै गरेको सूचना दिएपछि गीत सुन्दै अघि बढें।

हर्मन हेसको सिद्धार्थ नामक उपन्यासमा साथी गोविन्दलाई गौतम बुद्धसित छाडेर अघि बढेको केही समयमा मुल पात्र सिद्धार्थलाई दिव्य ज्ञानजस्तै केही प्राप्त हुन्छ। हिंड्दा हिंड्दै हठात् उसलाई आफू अगाडिको दृश्य अलौकिक र जाज्वल्यमान लाग्छ, सबै कुरा सुन्दर लाग्छन्। जीवनमा मैले त्यस्तै अनुभव त गरेको छैन तर पछिल्ला केही वर्षहरुमा ओशोको मदतमा गरेका चिन्तनहरुका कारण हेसले प्रकट गर्न खोजेको भाव म सजिलै बुझ्छु। र कहिलेकाहीं अति रमाइलो र बन्धनमुक्त महसुस भएको क्षणमा कतै मलाई पनि निर्वाण प्राप्त हुन थाल्यो कि भनेर विचार गर्छु र समय दिएर अगाडि देखिने दृश्यहरु हेरिरहन्छु। बरेङको सल्लाघारी तल ढल्कँदो साँझमा पारिपट्टिको डाँडा हेरिरहँदा कस्तो सौन्दर्यबोध भयो भने, म फटाफट बाटो छाडेर चौरतिर उक्लें र त्यसको टुप्पामा बसेर अलिबेर पारीको डाँडा मुग्ध भएर हेरिरहें।

आठ वर्षपछि जन्मभुमि फर्कंदाको नोस्टाल्जिया, आउनै लागेको हप्ता दिन बसेर एसएलसी परीक्षा दिएको बरेङ बजार, दिनभरको हिंडाइको थकान, बादल लागेका कारण बढ्न पुगेको चिसो दिनमा ढल्दै गरेको साँझ, बाजे र बुवाले नुनतेल बोकेको सर्वथा नौलो बाटो हुँदै अर्को दिनदेखि शुरु हुन लागेको यात्रा, यस्तो पृष्ठभुमिमा बादलले छोपिएको अगाडिको घुर्मैलो पहाडको सौन्दर्यले मलाई अपलक तान्यो र बयान गर्नै नसकिने भाव उत्पन्न गरायो। देखिने जति सबै कुरा मधुरो र श्यामश्वेत भएको त्यो साँझमा सौन्दर्य कसरी वस्तुको चमकधमकमा हैन त्यसलाई हेर्ने मानिसको मनोभावमा लुकेको हुन्छ भन्ने मैले महसुस गरें। के मानिसको जीवन पनि यस्तै घुर्मैला क्षणहरुको योग हैन र?

सबै क्षणभंगुर सुन्दर वस्तुहरुजस्तै त्यो सौन्दर्य पनि टिकिरहनेवाला थिएन। रातले पहाडलाई छोप्दै ल्याएसँगै मलाई अघि बढ्नुपर्ने बाध्यता थियो, बरेङमा ठगराज सर बाटोमा निस्केर पर्खिबस्नुभएको थियो। मन नलागी नलागी अघि बढें। फोनमा गीत बजिरहेको थियोः

तु मुझको और में तुझको सम्झाऊँ क्या

दिल दिवाना तेरा भी हे, मेरा भी

(क्रमश:)

लोकमान प्रकरणबारे लेखकले तयार पारेको लामो अंग्रेजी आलेख  The Lokman Story हिमालय वाच मा उपलब्ध छ । 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट