महिला सापेक्ष 'बौद्धिकता'को बहस

SAMSUNG
  • Get News Alerts

baleno
नेपालका बुद्धिजीवी श्रृंखला - ८
tata

एउटा जीवन्त समाजको लागि 'बौद्धिक' सबैभन्दा महत्वपूर्ण पूर्जा हो। ज्ञानको सङ्ग्रहक, प्रशोधक र वितरक हो। समाजको परिकल्पनाकार हो। ऊ आफ्नो बुद्धिलाई सामूहिक उपयोगिता र हितमा जोड्ने प्रयोजनले कर्म गर्छ। सांस्कृतिक रुपले समाजपिच्छे बौद्धिकका रुप र आयाम फरक हुन्छन्।

कहीँ पण्डित, मौलवी वा धर्मगुरुहरू बौद्धिक मानिन्छन् भने कहीँ लेखक, पत्रकार, विश्वविद्यालयका प्रोफेसर आदि। कतै धामी झाँक्री र पुरेत पनि । जहाँसुकै हेरेपनि बौद्धिक भन्नासाथ सम्बन्धित समाजको विचार वा चिन्तनको नेतृत्वकर्ता भन्ने नै हुन्छ। समुदायबाट स्वीकृत भएपछि यिनीहरूले बनाएका, स्थापित गरेका धारणा र मान्यताहरू 'परम्परा' बन्छन्। समाज व्यवस्थाको जग–पिलर बनाउने,त्यसको संरचना निर्माण गर्ने वा त्यस व्यवस्थालाई गलत सावित गरेर नयाँको प्रस्ताव समेत गर्ने। यस्ता काम बौद्धिकले गर्छ। मेरो सामान्य बुझाइ यही हो।

यो 'बौद्धिक' भन्ने प्राणीलाई बढी सोच्नुपर्छ। खुब विचार गर्नुपर्छ। उसलाई अरु खाले कामबाट छुट्टी चाहिन्छ। यस्तो हैसियत त महिला वर्गसँग पुस्तौंदेखि थिएन! पिँढी दरपिँढी भान्सा र प्रजननको मुख्य कार्यभार भएकी स्वास्नीमान्छे अनेकखाले सुसेधन्धामै सीमित भई। उसलाई केको छुट्टी? कसले दिने छुट्टी? र यसरी बौद्धिकता झण्डै-झण्डै पुरुषहरूको मात्रै एकल साम्राज्यको क्षेत्र भयो। इतिहासमा जन्मेका केही अपवादहरू त्यस्ता महिला हुन् जो 'मर्दाना' फ्रेमले एडजस्ट गरिदिएको ससानो स्पेसमा बसेका थिए। ठूलो स्वीकारोक्ति सहित स्थापित विचारक वा बौद्धिक ती थिएनन्। पूर्वीय वैदिक परम्पराका वागम्भृणी, लोपामुद्रा, घोषा, गार्गी आदि भनौं या ग्रीक एकेडेमीयाका एक्जिथिया, लास्थीनिया लगायतका एकदुई महिला। इतिहासमा यिनको नाम त छ तर यिनले स्थापना गरेका कुराको उद्धरण लगभग भेटिन्न।

इतिहास ब्याख्याता युवल नोह हरारीका अनुसार मानव इतिहासको कोर्सलाई आकार दिने तीन महत्वपूर्ण क्रान्ति मध्येको प्रमुख हो 'कग्निटीभ रिभोलुसन'।

उनी मानव इतिहासमा सत्तरी हजार वर्षअघि यस्तो क्रान्ति भएको बताउँछन्। त्यहींबाट मानिसले अन्य प्राणीभन्दा अलग्गै खालको चरित्र र सिर्जनशीलताको बाटो समातेको भन्ने उनको तर्कसित जोडिएर केही सोच्न मन लाग्छ। मानिसको बुद्धिको अग्र परम्परा नभएको बेला तिनले निर्माण गरेका भाषा, संकेत र सूचनामा कुनै वरियता थिएन। कसले बोल्दा ती आधिकारिक हुने भन्ने थिएन। तिनका 'आइडिया' साझा हुन्थे।

त्यही समयलाई समाजवादीहरूले आदिम साम्यवादको नाम दिए। जन्मँदै मान्छेले लिएर आउने सांस्कृतिक हैसियतको नामोनिशान नभएको त्यो युगमा जोकोही बौद्धिक हुनसक्दो हो। यो कल्पना गर्दा बडो रमाइलो लाग्छ।

मार्क्सवादले त ऊबेला महिलाहरू नै घर र समाजका मुली हुन्थे भन्छ। त्यो बेलाका महिला पुजारी,चिकित्सक र भविष्यवेत्ता(प्रिस्टेस, हिलर्स,सिर्स) समेत हुने हुँदा(ग्रेडा लर्नरः क्रिएसन अफ पेटि्रआर्की) तिनीहरू त्यो समाजका वैचारिक अगुवा थिएनन् भन्ने ठाउँ भएन। हाम्रामा पुजिने दुर्गा,सरस्वतीहरू पनि कुनै अलौकिक र दिव्य शक्तिधारी 'देवी'थिएनन्।इतिहासको खास समयको प्रतिनिधित्व गर्ने बौद्धिकहरू नै थिए।

तिनको 'आइडिया'मा तत् समयको समाज बाँचेको थियो। देवीहरूका शक्तिको भाष्यलाई पितृसत्ताले आफ्नै मोडेलको स्मृतिमा ढालेर आफ्ना सहुलियतका लागि 'टि्वस्ट'गरेको अनुमान गर्न सकिने प्रशस्त आधार छन्। पूर्वीय समाजमा पुजिने अनेक नामधारी देवीहरू त्यस समयका महिला बौद्धिकहरू हुन् कि भन्ने गहन खोजी अझै बाँकी छ।

जब समाज पितृवादी संरचनाको 'सभ्य' र 'सुसंस्कृत' खोलभित्र पस्दै गयो विचारमाथिको स्वामित्व संकटमा पर्दै गयो। बुद्धि मापनको तिकडमका लागि शास्त्रहरू प्रयोग भए। शास्त्रार्थका प्राधिकारी र खेलाडी सबै जुँगामुठे पुरुष मात्रै भए। धर्म र बिधि तिनका प्रपन्चका हतियार भए। समाज वर्ण र लिङ्गको श्रेणीक्रममा यस्तरी थिचियो कि को जान्नेसुन्ने र मान्नेगुन्ने(बौद्धिक) हुन सक्ने को को नहुने भन्ने कुराका लागि त स्मृति र सुक्तका ठेली नै बने। निषेधको तगारोलाई यहाँभन्दा के चाहियो! तपाईंले बोल्नै नपाउने भनेपछि या बोल्नासाथ कठोर रुपले दण्डित हुने भएपछि बाँकी कुरा सकिहाल्यो। अनि यस्तो परम्परामा ब्राम्हण र पुरुष बाहेक कहाँ को बन्ने बौद्धिक?

त्यसैकारण अपवाद लाग्ने प्राचीन युगका नगण्य महिलाबाहेक मध्यकालको बौद्धिक परम्परामा लगभग कोही देखिँदैनन्। कथम् ती जन्मेकै भएपनि इतिहास,साहित्य र अन्य ग्रन्थले तिनको 'मेन्सन' गर्न रुचि राखेनन्।

 बौद्धिकको निर्माण हुन आर्थिक र सांस्कृतिक पूर्वाधारहरू चाहिन्छन् भन्छन् कमल प्रकाश मल्ल। उनले मध्यकालीन युरोपबाट उदाएको बौद्धिकताको परम्परालाई प्रकाश पार्दै मूलतः औपचारिक शैक्षिक संस्थाबाट दिक्षित 'ग्र्याजुएट'हरूलाई बुद्धिजीवि (बौद्धिक समेत) मानेका छन्। यो आधुनिक बौद्धिकको कुरा हो। रेनेसाँ या 'एज अफ इन्लाइटमेन्ट'को बिचोबिच युरोपेली चेतनाबाट पट्ट फुटेर निस्केको पश्चिमी मोडलको बौद्धिकको कुरा। यसरी हेर्दा त समयचेतनाको गाडीमा चढ्नै छुटेका हाम्रा जिजुबजैहरू कसरी बौद्धिक बन्नु? तिनलाई कसले बौद्धिक बन्ने सुविधा र सहुलियत दिनु?

हजुरबाहरू त गुरुकुल र पाठशाला परम्परामा धुलौटो कोरेर भएपनि कौमुदी भट्याउन पाए। पुरेत,ज्योतिषीजस्ता बुद्धिले जीविका गर्ने भए। तीक्ष्ण बुद्धि भएकै किन नहोऊन् हाम्रा ज्यामैहरू लेखपढ गर्न पाएनन्। लेखपढ गरेरै 'बौद्धिक' बन्ने कुरो त कहाँ हो कहाँ! तर श्रुतिपरम्परामा जीवित कथाकथनमा होस् या शिलोक रचना र वाचनमा, म मेरी हजुरआमाको गहिरो बौद्धिकता अहिले पनि महशुस गर्न सक्छु। यस्ता असंख्य हजुरआमाहरू इतिहासमा बिलुप्त भएका अनाम,अज्ञात बौद्धिक हुन्।

अन्यथा नलागे बौद्धिकता एकप्रकारको बिलास पनि हो।यो विलास क कस्ले गर्ने? विलासको अधिकार कसलाई मात्र छ भन्ने कुरा यता(पूर्व) मात्र छैन। यसबारे पश्चिमको 'मस्कुलिनिस्ट फ्रेम अफ मिनिङ्' कम रोचक छैन। भनिन्छ, ज्ञानीहरू जहाँसुकैका होऊन् ,एकै प्रकारले सोच्छन्। महिलाको बौद्धिकताका बारेमा पनि 'ज्ञानी'हरूका कुरा मिल्दा रहेछन्! अरु त अरु आफ्नो समयका उदार र 'रिबेल'हरूले समेत महिलाको बौद्धिक शक्तिलाई उपहास र इन्कार गरेका गरेका रहेछन्।

मैले थाहा पाएका केही सन्दर्भ पेश गर्छु।

दार्शनिक विमर्श र बौद्धिक चिन्तन मानवसुलभ कार्यहरूमा सर्वोत्तम हो भन्ने ग्रीक दार्शनिक प्लेटोले दास, गैर ग्रीक र महिलालाई भने यस्तो कर्मबाट टाढै राख्नुपर्छ भने। उनको 'फाइभ डाइलग्स' नामको ग्रन्थको 'एपोलोजी'मा उनी अनुच्छेदपिच्छे 'म्यान अफ एथेन्स' लाई सम्बोधन गर्छन्। पूर्वका तुलसीदाससँग उनको मत हुबहु मिल्नु संयोग मात्र होइन। 'सत्यको रक्षाका लागि' हेमलक पिएर बलिदान हुने सुकरातले समेत महिलाको स्वभावजन्य भावुकता र संवेगका कारण उनीहरू दार्शनिक बन्न असम्भव छ भनेका छन्। उता महिलाहरू मर्न डराउने काँतर हुने भएकाले बोलेर जोखिममा फँस्ने हिम्मत गर्दैनन् भन्ने सुकरात। यता,आइमाईको बोलीको भरोसा नहुने भएकाले यिनको घाँटीमा रुद्रघण्टी हुन्न भनेर हेप्ने हाम्रा आहान निर्माता। यिनीहरू एकै मनोविज्ञानका सन्तती हुन्।

महिलालाई विद्वत वार्तामा सहभागी हुनबाट रोक्ने पूर्वीय ज्ञानपद्धतिका ठेकेदारहरूको हामी आलोचना गर्छौं। गर्नु पर्छ। तर, युरोपको बौद्धिक केन्द्रबाट उदाएका देकार्त,कान्ट र हिगेलसम्मैका दार्शनिकहरूका कुरा हामीलाई थाहै रहेनछ। रेने देकार्त ज्ञानको अवधारणालाई पुरुष प्रतिमान भन्छन्। उनले  'माइन्ड एन्ड म्याटर' को द्वित्व सम्बन्धमा पुरुषलाई 'माइन्ड' र महिलालाई 'म्याटर' का थान्कामा राखेर स्वास्नीमान्छेलाई बौद्धिक कर्मले थकित भएको पुरुषको 'रिचार्ज प्लग' का रुपमा चित्रित गरेको कुरा पढ्दा म छक्क परेँ।

इम्यानुअल कान्ट अरुको सहारा र संरक्षण नचाहिने भएकाले बौद्धिक स्पेसको प्राथमिक अधिकारी पुरुष नै हो भन्दा रहेछन्।(मेटाफिजिक्स अफ मोरल्स) यिनले महिलाहरू झगडिया, इर्ष्यालु र माग गरिरहने हुन्छन् भनेको कुरा पनि यहाँ स्मरणीय छ।

जोन स्टुअर्ट मिल पहिलो दार्शनिक हुन् जसले महिलाको पुरुषसरह मताधिकार,शिक्षा र रोजगारीका अधिकारको पैरवी गरे। उदारवादी र 'फेमिनिन फिलोसोफर' भनेर चिनिने मिल समेत महिलामा स्त्रीसुलभ शालिनताको अपेक्षा गर्दै उनीहरु घरभित्रका काममा विशेष परिपाठिलो हुनुपर्छ भन्दा रहेछन्। 'द सब्जेक्सन अफ वुमन'(१८६९)उनको त्यस्तो किताब हो जसको प्रशंसामा धेरै महिला बौद्धिकहरूले सम्मानपूर्ण शब्द खर्चेका छन्।तर त्यही किताबले महिलाको स्वभाव र दक्षताबारे पुरुषवादी मानकको समर्थन गरेको आरोप समेत खाएको छ।

यसले के देखाउँछ भने 'उदार' पुरुषहरूको तप्का पनि महिलालाई त्यतिसम्म नै दक्ष र समर्थ देख्न चाहन्छ जतिसम्म ऊ उसको सुविधाका लागि अहानीकारक हुन्छे। ऊ महिलाभित्र त्यस्तो 'रिबेल' जन्मेको हेर्न चाहन्न जो पुरुष सहुलियतको दुनियालाई भत्काउन दृढ होस्। पारिवारिक र सामाजिक सीमाहरूबाट बाहिर निस्कियोस्। यो घुमाइफिराई महिला बौद्धिकताको अस्वीकार नै हो।

मानव इतिहासलाई वर्ग संघर्षको इतिहास मान्ने कार्ल मार्क्स इतिहासका हरेक संघर्षमा महिलाको हिस्सेदारी स्वीकार गर्छन्। तर वर्ग प्रतिनिधिको रुपमा मात्रै। उनले महिलाको शक्ति र सामर्थ्यको सम्मान गरेका छन् तर उत्पीडित लिङ्गका रुपमा मूल्यांकन गर्न भने चुकेका छन्। अर्थशास्त्रमा तहल्का ल्याउने उनको अतिरिक्त मूल्यको सिद्धान्तले घरेलु श्रम र निरन्तरको अनियन्त्रित(अनिच्छित समेत) प्रजनन्मा हुने महिलाको (अवैतनिक) सहभागिताबारे एक शब्द पनि बोल्दैन। मार्क्सवाद पितृवादी पारिवारिक र सामाजिक संरचनाभित्र शारिरीक, मानसिक शोषणका लागि निर्मित अनेक प्रकारका सामन्तवादी 'मिथ'को आलोचना त गर्छ (ऐंगेल्सःपरिवार,निजी सम्पत्ति र राज्यको उदय)। तर, अवैतनिक र अथाह अतिरिक्त श्रमले कुँजिएर पनि महिलाको बौद्धिक हस्ती बन्न नसकेको हो भन्ने कुरो ठम्याउन असफल छ। यो कुरो मार्क्सले छुटाए। यसरी हेर्दा मार्क्स पनि 'मस्कुलिनिस्ट' दार्शनिक हुन् भनेर कसैले आरोप लगायो भने निराधार मान्ने ठाउँ छैन।

यसप्रकार,हामीले उदार ठान्ने गरेकै पश्चिमी बौद्धिक विमर्शहरू पनि पुरुषवादी फ्रेमबाटै बनेका रहेछन्। त्यसको प्रभाव नेपाली 'बौद्धिक'(पुरुष)हरूले गर्ने विमर्शमा नपर्ने कुरै भएन। आज, अहिलेको कुरा गर्दा पनि नेपालमा महिलालाई बौद्धिक मात्र होइन बुद्धिजीवि सम्म नठान्ने विद्वत वर्गकै नेतृत्व छ। हो,उनीहरू महिलाका विषयमा लेख्छन् तर 'विषय' स्वयम्लाई आफ्नै छेउमा उभिएर तर्क गरिरहेको सकार्दैनन्। जातीय संरचनाले तथाकथित उपल्लो जाति र समुदायलाई मात्र विशिष्ट माने जस्तै लैङि्गक संरचनाले पुरुषलाई मात्र बुद्धिजीवि वा बौद्धिक देख्छ।

'जेण्डर पोलिटिक्स'विरुद्ध ठूल्ठूला गफ हाँक्ने विद्वानहरू पनि महिलाको कुरा ध्यानपूर्वक सुनेका देखिन्नन्। औंलामा गन्न मिल्ने केहीलाई छोडेर कुरा गर्ने हो भने सार्वजनिक बहसमा उत्रने अधिकांश नेपाली बुद्धिजीविले आफ्ना अभिब्यक्तिमा कहीं कतै कुनै महिलालाई उद्धृत गरेका भेटिन्नन्। अरु छोडौं, बौद्धिक परम्पराकै प्रसंगमा लामा-लामा प्रवचन र लेख लेख्दा समेत उनीहरू नेपाली महिला बौद्धिकहरूका नाम सम्म उप्काउँदैनन्।बडो बिडम्बनाको कुरा!

आज देशको राजनीतिक अवस्था फेरिएको छ।अधिकार आन्दोलनले यति ठूला आयाम लिइसक्यो,तर अझै पनि महिलाले बोल्ने कुरा अर्थहीन 'गन्गन' नै लाग्ने गरेका छन्। महिलाको भाषालाई 'गन्गन' भन्ने नामकरण पुरुषद्वारा नै 'क्वाइन' गरिएको हो। यदाकदा अर्को कुनै महिलाको अभिब्यक्तिलाई हेप्नका लागि महिलाहरूले पनि यसको प्रयोग गर्छन्। त्यस अर्थमा यी हेपाहा महिला पनि पुरूषवादी नै हुन्।

व्यवहारमा हेरौं। बौद्धिक हुन सामान्य शिक्षित सम्म त हुनै पर्छ भन्ने आग्रह राख्ने हो भने नेपाली महिलाले कहिलेदेखि पाए शिक्षाको अवसर? २००७ सालको परिवर्तनपछि त हो शिक्षाप्रति जागरुकता सुरु भएको। राम्रै आर्थिक अवस्था भएर पनि छोरी पढाए मास्टरसित पोइल जान्छन् है! भन्ने दुराग्रहले गर्दा पढ्न नपाउनुभएकी मेरी आमा (२००८)बडो क्षोभले आफ्नो ट्र्याजेडी बयान गर्नुहुन्छ।शिक्षाको जनस्तरसम्म नै प्रसार भएको त अझै पछि मात्र हो।आम रुपमा छोरीलाई पढाउने वा उसलाई पनि औपचारिक शिक्षा आवश्यक छ भन्ने चेतनाकै विस्तार भएको धेरै भएको छैन।

दार्जिलिङ्, सिलिगुडी वा बनारस, कलकत्ताको हावाले हल्लाएका पातजस्तो पूर्वी नेपालका महिला तुलनात्मक रुपले शिक्षित र सचेत भए। योगमायाले त हाँडीमा भुट्दाभुट्दैको मकै उछिटि्ए जस्तो गरी अद्भुत तरिकाले आफ्नो व्यक्तित्व निर्माण गरिन्।जोसमनि सन्त मतबाट प्रभावित यिनी संस्थापनबिरोधी कवि मात्र होइन कठोर आलोचक र समाजसुधारक समेत थिइन्। तत्कालीन समाजमा यिनको प्रभाव पश्चिम नेपालमा हुर्किरहेका हाम्रा आमाहरूसम्म आइपुगेन। बोली र गतिविधिले स्थानीय सामन्तको सातोपुत्लो उडाइदिने योगमायाले आफ्ना मतावलम्बीको ठूलो समुहलाई नेतृत्व गरेकी थिइन्। त्यसैले तिनी तत्कालीन समाज  र शासकका लागि 'अड' भइन्।

अनौठो कुरो के छ भने, यो दुनियाँमा 'सत्यरक्षार्थ' विष पिउने सुकरात 'बलिदानी' हुन्छन् तर त्यस्तै उद्देश्यले अरुणमा हाम्फाली देहत्याग गर्ने योगमाया सामुहिक आत्महत्याकी सन्की नाइके कहलाउँछिन्। मृत्युको दशकौं पछि बल्ल चर्चामा आए पनि नेपाली बौद्धिक परम्परामा यिनको उपस्थिति धेरै बलियो र प्रेरक छ।

बुद्धिजीवि भनेको लोग्नेमान्छे मात्रै हुन्छ भन्ने सोचलाई विनिर्माण गर्न सक्ने महिलाहरू असंख्य भइसके। देख्नुपर्‍यो नि। त्यो देख्न आँखाको दृष्टी मात्रै होइन दिमागी दृष्टी नै फेर्नुपर्छ। इतिहास र समाजको मसिनो बोध गर्न, त्यो बोधलाई प्रशोधन गरेर ज्ञानको रुप दिन र त्यसलाई व्याख्यासमेत गर्न सक्ने महिला बौद्धिक नेपाली समाजमा छन्। समाजको लैङिगक संरचनामा जब्बर भएर बसेको दुराग्रहका कारण तिनले टुसाउने, हुर्कने र प्रसार हुने मात्र होइन स्वीकृत हुने सम्मको चरणमा पाइलैपिच्छे सिँगौरी खेल्नुपरेको छ।

साधना प्रधान,साहना प्रधान,मंगलादेवी सिंह,अंगुरबाबा जोशी,शैलजा आचार्य लगायतका हामीले खुब नाम सुनेको अघिल्लो पुस्ता छ। यो पुस्ताले परम्परित नेपाली महिलाको छविलाई राष्ट्रिय फलकमै विनिर्माण गर्ने कामको थालनी गर्‍यो। त्यसका पछाडि ती महिलाले प्राप्त गरेको सापेक्षित शिक्षा र अवसर पनि थियो। साहित्यमा पारिजात, प्रेमा शाह, बानिरा गिरी, माया ठकुरी, कुन्ता शर्मा, सीता पाण्डे, सुलोचना मानन्धर लगायतले उठाएको मोहरी बौद्धिक कर्म हो कि होइन? फरक फरक चरणको राजनीतिक(कानुनी समेत) आन्दोलनमा जोडिएका महिला नेताहरू र कानुनी अधिकार प्राप्तिका लागि लडेका अधिवक्ताहरूले गरेको लडाईंलाई बौद्धिक भन्ने कि नभन्ने? प्राज्ञिक क्षेत्रका विणा पौड्याल, उषा ठाकुर, सुधा त्रिपाठीहरू के हुन्? चन्द्रा भद्रा, इन्द्र अधिकारी, मल्लिका शाक्य, सेरा तामाङ्, बन्दिता सिजापति, डिना वाङ्देलजस्ता अध्येता र अनुसन्धाताहरूलाई के भन्ने? पछिल्लो समय त एक पछि अर्को गर्दै सामयिक विमर्शमा उत्रिरहेको महिलाहरूको फौज नै बनिसकेको छ।यिनीहरू बौद्धिकको सुचीमा पर्छन् कि पर्दैनन्?

'बौद्धिक' शब्द कुनै निश्चत समुदाय र लिङ्गको मात्रै अंशमा पर्ने कुरो होइन।

जुनसुकै व्यक्तिले होस्,बौद्धिक बन्न जीवनका दालभातका समस्याबाट एक तह उठ्नै पर्छ। जिम्मेवारीका नौजाले तानाबानाबाट पनि केही अंश भएपनि मुक्त हुनुपर्छ।यी पंक्ति लेखिरहँदा कवि सर्वेश्वर दयाल सक्सेनाको प्रसिद्ध कविता 'पोष्टमार्टम की रिपोर्ट ' सम्झिँदै छु। महिलाको कुरा गर्ने हो भने समस्या दालभातको जोहोमा मात्रै अडिकँदैन। महिलाले बौद्धिकको चोला भिर्न पुरुषका भन्दा भिन्न र विशिष्ट चुनौतिको सामना गर्नुपर्छ। हामीलाई कसैले रातो कार्पेट ओछ्याएर बौद्धिक बन्न निमन्त्रणा गर्दैन। हामी आफैं जोखिम मोल्न तयार हुनुपर्छ।

बौद्धिक शब्दले जुन वजन बोक्छ, त्यसले घटना र सन्दर्भहरूको कार्यकारण श्रृङ्लाभित्र पस्ने आग्रह राख्छ। प्रशस्त समय र श्रमको माग गर्छ । सार्वजनिक महत्वको विचार प्रक्षेपण मनोगत र अनुभववादी ठम्याइले मात्र सम्भव छैन। कतिपय अवस्थामा गडेका मुर्दा समेत उखेलेर घटना र स्थितिको प्रमाणिकरणसम्म गर्नुपर्छ। सूचना र ज्ञानको 'कलेक्टर' मात्र बनेर सुख छैन प्रशोधक नै बन्नुपर्छ। उस्तै परे राज्ययन्त्र र सामाजिक मनोविज्ञानसँग एक्लै पनि लड्नुपर्छ। आफूभित्र शक्ति र सत्ताको प्रतिपक्षी चेतना जोगाइरहन सक्नुपर्छ। यी कुराले जुन सुकै पेशा र स्पेसका मानिसलाई पनि बौद्धिकका रुपमा उभ्याउन सक्छ। आफ्ना दैनन्दिन कामका बिचमै पनि बौद्धिक अभ्यास सम्भव छन्। मात्र चाहिन्छ लगन र प्रतिबद्धता। भारतीय इतिहासकार रोमिला थापर भन्छिन्, 'बौद्धिक बन्न तपाईं विशिष्ट प्रकारको 'स्कलर' नै हुनुपर्छ भन्ने जरुरी छैन। तपाईंसँग विहङ्गम दृश्यशक्ति, विगत र वर्तमानको तार्किक व्याख्या गर्ने क्षमता र आवश्यक परे 'अथोरिटी'को विपक्षमा उभिएर बोल्न सक्ने साहस, यति कुरा छ भने तपाईं 'बौद्धिक' हो।'

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink