अनुसन्धानको अभावमा कमजोर बौद्धिक

  • Get News Alerts

नेपालका बुद्धिजीवी शृंखला -७ 

बौद्धिक कसलाई भन्ने? यो निकै जटिल प्रश्न छ।

जीवन र जगतका सामाजिक, आर्थिक र राजनीतिक लगायत विभिन्न क्षेत्रमा चिन्तनमनन गर्ने र अभिव्यक्ति दिने व्यक्तिलाई बौद्धिक भन्न सकिन्छ भन्ने मलाई लाग्छ। साधारणतया बौद्धिकको कुरा गर्दा हामी जन-बौद्धिक वा पब्लिक इन्टलेक्चुअलको कुरा गरिरहेका हुन्छौं। तर, विज्ञताको हर क्षेत्रमा आफ्नै प्रकारको बौद्धिकता जोडिएकै हुन्छ भन्ने म ठान्दछु।

साधारणतया बौद्धिक व्यक्ति- पब्लिक ईन्टलेक्चुअल-सँग तीन कुरा जोडिएको हुन्छ। पहिलो, जीवन र जगतलाई हेर्ने एउटा सांसारिक दृष्टिकोण (वर्ल्ड भ्यु)। यही  दृष्टिकोण भन्ने छैन तर अन्तरमा सन्निहित कुनै न कुनै दृष्टिकोण हुन्छ। दोश्रो, विगत, वर्तमान र आगतलाई तार्किक ढंगले जोडेर समालोचनात्मक विश्लेषण गर्ने क्षमता र गुण। तेस्रो, जीवन र जगतका सामाजिक, आर्थिक र राजनीतिक आदि विविध क्षेत्रमा चिन्तनमनन र समाजको भोगाईमा अन्तरनिहीत पीर-व्यथा, उपलब्धि-आकांक्षा र आगत आदिलाई जनसाधारणले बुझ्ने गरी अभिव्यक्त गर्ने क्षमता।

यस्ता बौद्धिकले प्रायः विद्यमान राजनैतिक-आर्थिक शक्तिलाई चुनौति दिने हैसियत राख्दछन्। यस्तो प्रकारको बौद्धिक परम्परा पश्चिमा शिक्षा र सभ्यतासँगै भारत हुँदै नेपाल प्रवेश गरेको हो। अहिले यो विश्वव्यापी छ। पूर्वीय परम्परामा यस्तो छँदै थिएन भन्ने पनि होइन, नत्र चार्वाकको उदय हुने थिएन।

विज्ञ हुँदैमा बौद्धिक हुँदैन तर कुनै बिषयको विज्ञ बौद्धिक हुने सम्भावना भने धेरै रहन्छ। नोम चोम्स्की साह्रै प्रखर र संसार भरी चिनिएका बौद्धिक हुन्। उनी आधुनिक भाषाविज्ञानका प्रणेता पनि हुन्। यस्ता धेरै उदाहरण छन्।

नेपालमा कुनै पनि विधामा पिएचडी गर्नेहरू बौद्धिक हुन भन्ने एक किसिमको धारणा छ। आ-आफ्नो विज्ञताको सिमित घेराभित्र ती बौद्धिक होलान् तर जन-बौद्धिक वा पब्लिक ईन्टलेक्चुअल नहोलान्। नेपालमा बुद्धिजिवी र बौद्धिकलाई एकै प्रकारले हेर्ने चलन छ। बुद्धिजिवी पेशेवर हो, बौद्धिक होइन। यो सोच नेपालका विभिन्न राजनैतिक दलका बुद्धिजिवी संगठनका हकमा राम्ररी लागू हुन्छ किनभने त्यस्ता बुद्धिजीवीको पेशा नै सम्बद्ध राजनैतिक दलको र त्यसको नेतृत्वको पृष्ठपोषण गर्नु हो।

बौद्धिकलाई हेर्ने अर्को दृष्टिकोण पनि छ। इटालीयन मार्क्सवादी चिन्तक आन्तोनियो ग्राम्चीले दुई प्रकारका बौद्धिकको चर्चा गरेका छन्। एकथरी, ‘पारम्परिक बुद्धिजिवी’ जो पुरानो बौद्धिक परम्परासँग हुर्केका र समाजको आर्थिक ढाचासँग सोझै नजोडिएका र कुनै वर्गसँग सामिप्य नराख्ने। अर्काथरी ‘जैविक बुद्धिजिवी’ जो समाजको आर्थिक ढाँचासँग सोझै जोडिएका र आर्थिक उत्पादनक क्रममा सिर्जित बौद्धिक समूह। समाजमा प्रभुत्व (हेजिमोनि) स्थापित गर्ने क्रममा यी दुवैखाले बौद्धिकको आ-आफ्नो भूमिका हुन्छ।

बौद्धिक अभ्यासमा कमलप्रकाश मल्लजीको समयभन्दा हामी धेरै अगाडि आइसकेका छौं। बौद्धिक हुने हैसियत राख्ने जमात निसन्देह ठूलो छ। बौद्धिकताका लागि चाहिने 'स्पेश' अहिले धेरै फराकिलो भएको छ। तर, बौद्धिक अभ्यास निरन्तर र संस्थागत हिसाबले संगठित भने हुनसकेको छैन। बौद्धिकताका लागि चाहिने पूर्वाधारको अवस्था नाजुक छ। बौद्धिकतालाई संरक्षण गर्ने संस्थाहरू कमजोर भएका छन् र क्षयोन्मुख छन्।

 

श्रृंखलाका अन्य लेखहरू:

के गर्छन् नेपालका बौद्धिकहरु?

कमलप्रकाश मल्ल: नेपाली समाजमा बुद्धिजीवी- भाग १

कमलप्रकाश मल्ल: नेपाली समाजमा बुद्धिजीवी- भाग २

हर्क गुरूङ: नेपाली बुद्धिवादीः एउटा उपाख्यान

जगदीश घिमिरे: को बौद्धिक?

सिके लाल: बजारको छाँयामा हाम्रा बौद्धिक

मल्लजीले आफ्नो लेखमा मुख्यत: आधुनिक र पश्चिमा प्रणालीको शिक्षा पुगेको समाजका बुद्धिजीवी वा बौद्धिकबारे चर्चा गर्नुभएको छ। यस्ता बौद्धिकका उत्पादनका लागि अनुसन्धान एकदमै महत्वपूर्ण पाटो हो। विगत केही दशकदेखि हामीकहाँ अनुसन्धानको संस्थागत आधार निरन्तर कमजोर हुँदै गएको छ।

अहिलेको विश्वमा बौद्धिक उत्पादन गर्ने मुख्य थलो विश्वविद्यालय हो। दलीय भागबण्डाले गर्दा हाम्रा विश्वविद्यालयको अवस्था भने जर्जर बन्दै गएको छ। विश्वविद्यालयका मुख्य तीन उद्देश्य हुन्छन्- ज्ञानको संरक्षण गर्ने, उत्पादन गर्ने र प्रसार गर्ने। हाम्रा विश्वविद्यालयहरू मूलतः ज्ञानको प्रसार गर्ने अर्थात् पढाउने काममा मात्रै लागिरहेका छन्। त्यो पनि किताबमा भएको ‘थोक’ ज्ञानलाई हाम्रा अधिकांश प्राध्यापकहरू ‘खुद्रा’ बनाएर बेच्छन्। अनुसन्धान गर्ने, जर्नलहरूमा अनुसन्धान प्रकाशन गर्ने, बौद्धिक अन्तरक्रिया गर्ने, संवाद गर्ने जस्ता परम्परा हाम्रा विश्वविद्यालयमा संस्थागत हुनै सकेनन्। न नयाँ ज्ञानको उत्पादन छ, न कक्षा कोठामा त्यसको प्रवेशको अवसर छ। यी कुराहरू हाम्रा विश्चविद्यालयका प्राथमिकतामा कहिल्यै परेनन्।

सत्तरी-असीको दशकतिर त्रिभूवन विश्वविद्यालयभित्रका अनुसन्धान केन्द्रहरू सापेक्षिक हिसाबले प्रभावकारी थिए। नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) जस्ता संस्थाहरू अध्ययन-अनुसन्धानका काममा निकै सक्रिय थिए। आज ती संस्था क्षयोन्मुख छन्। सक्षम जनशक्ति बाहिरिसकेको छ। नयाँ जनशक्ति र श्रोत-साधन आकर्षित गर्ने क्षमता ती संस्थाले गुमाइसकेका छन्। यी संस्थामा 'आफ्ना मान्छे'लाई ‘कामविहिन’ जागिर खुवाउनमै विश्वविद्यालय नेतृत्व र तिनका राजनैतिक स्वामीहरू सन्तुष्ट छन्।

एकताका विश्वविद्यालयको विकल्प सरकारी जागिर थियो जसको चर्चा मल्लजीले गर्नुभएको छ। अहिले बौद्धिक क्षमता राख्ने धेरै प्रतिभावान स्नातकहरुका हकमा सरकारी जागिर प्राथमिकतामा कमै मात्र पर्छ। नेपालमा विदेशी सहयोगमा भएको बृद्धिले बौद्धिक क्षमता राख्ने जमातका निम्ति आय-आर्जन र जिविकाको नयाँ अवसर खोलिदिएको छ– विकास परामर्शदाताका रूपमा। अहिले नेपालका प्राय: सबै बौद्धिक कुनै न कुनै आयोजनामा धेर-थोर संलग्न छन् भन्न दुविधा मान्नु पर्दैन।

एक प्रकारले विश्वविद्यालयले छाडिदिएको ‘स्पेश’को फाइदा परामर्शदाता संस्थाले लिएका छन्। देशभित्र बौद्धिक क्षमता राख्ने जमात बढ्दै गर्दा, नेपाल भित्र र बाहिरबाट सामाजिक शास्त्रका विषयहरूमा पिएचडीधारीको संख्यामा पनि ठूलो बृद्धि भएको छ। यति हुँदाहुँदै बौद्धिक बहसको स्तर र दायरामा किन अपेक्षित गति र विश्वसनीयता हासिल हुन सकेको छैन– यो एउटा विचारणीय प्रश्न हो।  

निश्चित हो- बौद्धिक बहसको विषय, समय, परिवेश र प्रथमिकता अनुसार निर्धारित हुनेगर्छ। तर,आर्थिक-सामाजिक विकासका कतिपय सारगर्भित र महत्वपूर्ण प्रश्नहरू ओझेलमा परेका छन्।

अहिले विश्वविद्यालय बाहिरका संस्थाहरूको सकृयता बढी देखिन्छ। मार्टिन चौतारी, सोसल साइन्स बहाः आदिले अनुसन्धान र प्रकाशनको निकै राम्रो काम गरेका छन्। वैचारिक अन्तरक्रिया, खास क्षेत्रमा अनुसन्धान र प्रकाशनमा मार्टिन चौतारीले कुनै पनि विश्वविद्यालयले भन्दा राम्रो काम गरेको छ। बाहिरी स्रोतमा भर पर्नुपर्ने हुँदा संस्थागत प्राथमिकताहरूलाई स्थायित्व दिन गाह्रो छ। आफ्ना प्राथमिकताका विषयमा अनुसन्धान अगाडि बढाउन उनीहरूलाई पनि सजिलो छैन।

पहिले नेपालसम्बन्धि अनुसन्धान गर्ने परम्परा नेपालबाहिर त्यति धेरै थिएन। अहिले नेपालबाहिर पनि नेपाल सम्बन्धि अध्ययन-अनुसन्धान गर्ने कुरामा चाख बढेको छ। खासगरी नेपालको सामाजिक, मानवशास्त्रीय र राजनैतिक विषयहरूमा नेपाली र विदेशीबाट अनुसन्धान र प्रकाशनको क्रम बढेको छ। यसबारे हामी नेपाली भने कमै जानकार हुन्छौं किनभने त्यतातर्फ हाम्रो पहुँच सिमित छ।

यी कुराहरूले बौद्धिक परम्परालाई अगाडि बढाउन सक्ने जमात बढेको छ भन्ने देखाउँछ। तर, यो परम्परालाई कहिँ-कतैबाट पनि संस्थागत संरक्षण, भरथेग छैन। राज्य बेखबर छ। राज्यका नीति अध्ययन-अनुसन्धानभन्दा पनि हचुवा र सनकका भरमा निर्देशित भइरहेका छन्। बेच्ने सामानको उपादेयता र गुणवत्ताप्रति उदासिन पसलेजस्तै विश्वविद्यालयको पसल खुल्छ मात्रै।

बौद्धिक परम्परा अघि बढाउन अनुसन्धाता र बौद्धिक कर्मलाई आडभरोस दिने संस्थागत संरचना चाहिन्छ। केही समयअघि एउटा अध्ययनमार्फत राज्यले कुल विकास बजेटको सुन्य दशमलव एक प्रतिशत लगानी गर्ने तर छुट्टै ऐनद्वारा निर्दिष्ट, स्वायत्तरूपमा सञ्चालन हुने सामाजिक विज्ञान अनुसन्धान परिषद गठन गर्ने सिफारीससहित एउटा प्रतिवेदन सरकारलाई बुझाइएको थियो। त्यस्तो संस्थाको सांगठनिक संरचना, कार्यक्षेत्र र रणनीति कस्तो हुने भन्ने प्रस्तावसमेत त्यसमा संलग्न थियो। नेपालका सबै अनुसन्धान निकायहरू र अनुसन्धातालाई अनुसन्धानको महत्ता र स्तरीयताका आधारमा सहयोग र सम्बर्धन गर्ने छाता संस्थाका रूपमा सो परिषदको परिकल्पना गरिएको थियो।

यस्ता परिषदहरू संसारका धेरै मुलुकहरूमा छन्। हाम्रै छिमेकी भारतमा पनि क्रियाशील छ। उनीहरूले ती देशको बौद्धिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। हामीले यो प्रतिवेदन सरकारलाई दिएको तीन वर्षभन्दा बढी भइसकेको छ। आफ्ना मान्छे भर्ना गर्ने गुञ्जायस नरहेको हुँदा अहिलेसम्म थन्किएर बसेको छ। तेश्रो त्री-वर्षीय योजनाको आधार-पत्रमा समेत उल्लेखित नेपाल सामाजिक विज्ञान अनुसन्धान परिषदको सोच अहिलेसम्म टुहुरै छ।

बौद्धिक अभ्यास गर्ने, अनुसन्धानमा आधारित बौद्धिक बहस चलाउने र नीति निर्माताका साथै जनसाधारणलाई सु-सूचित गराउने र एक हिसाबले बौद्धिकले निर्माण गर्ने काममा यस्ता संस्थागत पूर्वाधारको ठूलो भूमिका हुने गर्छ।  

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा