नेपाली समाजमा बुद्धिजीवी- भाग २

SAMSUNG
  • Get News Alerts

baleno
नेपालका बुद्धिजीवी- शृंखला ३
tata

अघिल्लो लेखमा उल्लेख भएको हाम्रो इतिहास नै हाम्रो पृष्ठभूमि हो। यही पृष्ठभूमिमा सन् १९५० दशकको परिवर्तन भएको हो। यो इतिहास यस्तो तथ्य हो जसले नेपाली बुद्धिजीवी वर्गले कहिलेकाहीँ गर्ने अनावश्यक घमण्डलाई चुनौति दिन्छ। साथै समकालीन बौद्धिक अवस्थाको उपलब्धि बताउँछ। हाम्रो भूगोल, वातावरण, इतिहास, संस्कृति तथा शक्तिस्रोतको विकास, आधुनिक शिक्षा, जनप्रशासनजस्ता संस्थाको अन्तर्मुखी विकास जम्मै विगतका बोझ हुन्। यो बोझपूर्ण सम्पदाको अपुताली आजको नेपाली बुद्धिजीवी वर्गले भोगिरहेको छ।

अहिले नेपाली बुद्धिजीवी वर्गको विकास च्याउ उम्रेसरी भएको छ। ती समाजका अव्यवस्थित एक सतह मात्रै हुन्। किनभने, आफ्नो उद्‌गम एवं हुर्काइको विपरीत तिनले आधुनिक शिक्षा पाएका छन्। जसले उनीहरूलाई एक्कासि बीसौँ शताब्दीको अन्त्यतिरको समाजमा मिल्नुपर्ने भयो। मध्यकालीन युगमा निदाएका तिनीहरू एक्कासि आँखा खुल्दा बिहान त स्वयंलाई इलेक्ट्रोनिक युगको नियोन बत्तीमा ब्युँझेको पाएझैं भयो।

सन् १९५० पछिको नेपालको दशकका दुई चारित्रिक विशेषता छन्। पहिलो, शताब्दी पुरानो राजनीतिक एवं पुरोहिती जुआको बोझबाट छुट्कारा र मुक्ति पाएको बुद्धिजीवी वर्गको अनुभव। अर्को, बौद्धिक तथा सांस्कृतिक सुअवसरको अभूतपूर्ण विस्तार। यो दशकलाई बाह्यमुखी दशक भन्ने नामाकरण उचित हुनेछ। यो दशकमा सबै प्रकारका विचार, गतिविधि एवं संगठित प्रयासहरूको विस्फोट नै भयो। बुद्धिजीवी वर्गको पुरानो सानो तह यही दशकमा एक्कासि सक्रिय भयो र उसले आफूलाई व्यक्त गर्यो– सामाजिक, सांस्कृतिक र सबभन्दा महत्त्वपूर्ण रूपमा राजनीतिक पक्षमा। 

नेपाली समाजमा बुद्धिजीवी- भाग १

के गर्छन् नेपालका बौद्धिकहरु?

नेपाली बुद्धिजीवी वर्गको सामाजिक झुकाव एवं राजनीतिक अपरिपक्वतालाई यसले छर्लंग पारिदियो। यो दशकको समाप्तितिर त झनझन वामपन्थी झुकाव बढ्दै गयो। स्थापित नियम, संस्थाहरू, परम्परा एवं मान्यताहरूप्रति ती आलोचनात्मक थिए। तीमध्ये सजग र सक्रियले खुल्ला रूपमा मार्क्सवाद, प्रगतिवाद र मानववाद वा उदार प्रजातान्त्रिक आदर्शहरू ग्रहण गरेका थिए। अनेक रंगका यी गतिविधिमा आफ्नो विशिष्ट सिद्धान्त प्रतिपादित गर्न तिनलाई संकोच पटक्कै हुँदैन थियो। विद्यार्थी संघ तथा संगठन, युवा संगठन, शान्ति समिति, स्टडी सर्कल, डिबेटिङ सोसाइटी, साहित्यिक संस्थाहरू, कला समाजहरू, पत्रकार संघ, लेखक संघ, सांस्कृतिक संघहरू जस्ता अनेक सामाजिक, साहित्यिक तथा सांस्कृतिक संगठनहरू धमाधम एकपछि अर्को वा एकको विरोधमा अर्को, गठन हुन थाले।

आफ्नो अस्तित्व कायम राख्नु छ भने कुनै न कुनै राजनीतिक दर्शन ग्रहण गर्नै पर्छ भन्ने सबैले स्वीकार गरे। नयाँ खुलेका राजनीतिक दलमा पनि विभिन्न क्षेत्रका दक्ष व्यक्तिहरू थिए। १९ फेब्रुअरी १९५१ का दिन नेपालको पहिलो गैरसरकारी दैनिक आवाज नेपाली भाषामा प्रकाशित भयो। यसपछि त दैनिक, साप्ताहिक, मासिक तथा अन्य साहित्यिक तथा राजनीतिक दलका सामयिक मुखपत्रहरूको नेपाली, हिन्दी, नेवारी र अंग्रेजीमा बाढी नै आयो।

नेपालको रंगहीन साना पत्रिकाहरूको जसरी अल्पकालीन आयु हुन्छन्, सोहीअनुरूप यीमध्ये धेरै शिशु-मरणकै सिकार बने। यो दशकको समाप्ति हुँदा नहुँदा, अधिराज्यका कमसे कम एक वा दुई सहरमा भने समुदायउपर आफ्नो अस्तित्वबोध गराउन चाहिँ सफल भयो बुद्धिजीवी वर्ग।

नेपाली बुद्धिजीवी वर्गको जनसमुदाय जुन तीव्रतासाथ बढ्दै गइरहेको थियो, त्यसको चर्चा नगरे चित्र अधुरो नै रहन जाने छ। सन् १९५० अघि नेपालमा एक कलेज, छ हाइस्कुल र झन्डै दुई सय प्राथमिक पाठशाला थिए। श्रेस्ता पाठशाला वा भाषा पाठशाला जस्ता स्वदेशी शिक्षण केन्द्रका अतिरिक्त बुद्धिजीवी वर्ग निर्माण हुने यी मात्र चिरस्थायी स्रोत थिए।

यो दशकमा भने सुरुदेखि नै स्कुल र कलेजहरू आजको भोलि नै दोब्बर तेब्बर बढ्न थाले। दशकको अन्त्यतिर नेपालमा शिक्षित जनसंख्यामा निकै वृद्धि भइसकेको थियो। तीमध्ये सबैलाई बुद्धिजीवी वर्गको सदस्य भन्न सकिँदैन तर त्यसलाई यस्तो एक विस्तृत आधारभूमि मान्न सकिन्छ, जहाँबाट योग्य बुद्धिजीवी विकसित हुन सक्छन्। बुद्धिजीवी समुदायको उत्थानका लागि शिक्षित दर्शक नै आधारभूमि हो। एक प्रकारले ती उपभोगी बुद्धिजीवी वर्ग हुन्।

सन् १९५९ अघि नेपालको आफ्नो विश्वविद्यालय नभएकोले उच्चशिक्षा तथा प्राविधिक तालिम लिने इच्छुक उत्साही नेपालीहरू भारततर्फ जाँदै गरे। कोलम्बो योजना छात्रवृत्ति, ब्रिटिस काउन्सिल छात्रवृत्ति तथा ओरेगन विश्वविद्यालय अनुबन्ध योजनाअन्तर्गत भारत, ब्रिटेन तथा संयुक्त राज्य अमेरिकामा स्नातकोत्तर गर्ने प्रशस्त नेपाली प्रशिक्षार्थी प्रत्येक वर्ष विदेश प्रस्थान गर्थे।

सन् १९५० पछिको दशकको मुख्य अंशमा नेपाली प्रशिक्षार्थीहरू खासगरी सरकारी अनुदान वा कोलम्बो योजना छात्रवृत्तिअन्तर्गत भारत गए र प्रायशः उनले मास्टर्स डिग्री हासिल गरे। सन् १९५० दशकका प्रारम्भिक वर्षहरूमा भारतवर्ष गई अनुसन्धान गर्ने व्यक्ति ज्यादै कम थिए। यो पुस्ताको पहिलो व्यक्ति सायद डा. यादवप्रसाद पन्त (पिएचडी, बनारस, सन् १९५२) थिए।

सन् १९५० दशकमा भारतको तुलनामा विदेश गई शिक्षा लिने नेपालीको संख्या नगण्य भने हुन्छ। ब्रिटेन गई अनुसन्धानात्मक डिग्री हासिल गर्ने प्रारम्भिक व्यक्तिहरू थिए, डा. ध्रुवमान अमात्य, श्रीमती बलराम जोशी, त्रैलोक्यमान श्रेष्ठ तथा उपेन्द्रमान मल्ल। ब्रिटिस काउन्सिल छात्रवृत्तिअन्तर्गत ब्रिटेन जाने प्रथम व्यक्ति प्रोफेसर यदुनाथ खनाल, सन् १९५२, हुनुहुन्थ्यो भन्ने मैले थाहा पाएको छु।

त्यस्तै ओरेगन विश्वविद्यालय अनुबन्ध योजनाअन्तर्गत सन् १९५५ मा संयुक्त राज्य अमेरिकामा शिक्षा हासिल गर्न प्रस्थान गर्ने छ जनाको पहिलो जत्था थियो। प्रायः सबैले त्यस बेला एमए वा एमएड वा एमएस गरे। ओरेगन विश्वविद्यालयबाट १९६२ मा त्रैलोक्यनाथ उप्रेती, पन्नालाल प्रधान, कृष्णप्रसाद शर्मा, शंकरप्रसाद प्रधान तथा दिव्यदेव भट्टले पिएचडी पूरा गरे।

यो विवरण प्रस्तुत गर्दा, बुद्धिवादी हुन उच्चशिक्षा हासिल गर्नै पर्छ वा उच्चशिक्षा हासिल गर्ने प्रत्येक व्यक्ति बुद्धिवादी हुन्छ नै भन्ने धारणा मैले लिएको होइन। नेपाली बुद्धिजीवी वर्गको चर्चा गर्दा नपाली समाजको शैक्षिक अवसर तथा त्यसको संख्यात्मक र गुणात्मक दुवै इतिहासको आधारमा गर्नुपर्छ भन्ने मेरो धारणा हो। यस्तो इतिहास नै समकालीन नेपाली बुद्धिजीवी वर्गको संस्कृति निर्धारण गर्ने सूचक हो। उदाहरणका लागि सन् १९५० दशकको प्रारम्भले आधुनिक शिक्षण माध्यम उच्चशिक्षा तथा तालिममा मात्र सीमित छैन र अनुसन्धान तथा प्रशिक्षणका आधुनिक पद्धतिमा पहुँच नेपालका लागि महत्वपूर्ण उपलब्धि हो भन्ने देखिन्छ। इतिहासमा हामीसँग यस्तो परम्परा छैन।  

शिक्षा, तालिम तथा अनुसन्धानका लागि भारत वा विदेश (जसमा अब ४० भन्दा बढी मुलुक भइसके) जानेहरूको संख्या निश्चय पनि बढेको छ। सन् १९६१ देखि १९६८ सम्ममा झन्डै २,५१९ व्यक्ति विदेश गए। सन् १९७० मा मात्र ५३ प्रशिक्षार्थीलाई महेन्द्र विद्या भूषणद्वारा अलंकृत गरिएको छ। कमसेकम दस वर्षको शिक्षा-इतिहास भएको आफ्नो विश्वविद्यालय र त्यससँग सम्बन्धित अधिराज्यमा छरिएका ४० कलेज त आज नेपालका आफ्नै छन्। तथापि, नेपालको आधुनिक शिक्षण-व्यवस्थाको इतिहास भन्नु नै दशकभित्रकै इतिहास हो।

अरू कुरा छाडे पनि, स्कुल-कलेज विश्वविद्यालय जाने जनसंख्याको संख्यात्मक विस्फोटकै इतिहास हो यो। सन् १९६८ मा नेपालको विश्वविद्यालय तथा कलेजहरूमा पढ्ने तरुण युवक तथा युवतीको संख्या ११ हजार ८०२ थियो। यी संस्थामा सन् १९६८ मा ७२० व्यक्ति काम गर्दै थिए। सन् १९६१ को जनसंख्या प्रतिवेदनअनुसार प्रत्येक १०० व्यक्तिमध्ये ९२ जना लेखपढ गर्न पटक्कै जान्दैनथे। नेपालले आफ्नो सम्पूर्ण वार्षिक बजेटको ६.५ प्रतिशत शिक्षामा लगानी गर्छ, जब एसियाको अर्को मुलुक थाइल्याण्डले समेत शिक्षामा २० प्रतिशत लगानी गर्छ।

विश्वविद्यालय तथा यसका ४० संस्थामा उच्चशिक्षा हासिल गर्ने भौतिक वा बौद्धिक वातावरण पटक्कै छैन। यहाँ शिक्षणलाई जीविकोपार्जनको साधन बनाइएको छ, जीवनको ध्येय होइन। शिक्षण संस्थाका यी छहारीमा नियमित कोर्स बुकबाहेक बौद्धिक महत्त्वका कार्य विरलै हुन्छन्। यसले बेकार स्नातकहरूको संख्या बढाउनेबाहेक केही गरेको छैन। 

नेपाली बुद्धिजीवी वर्गको हालैको प्रस्फुटीकरण निमित्त योगदान दिन संस्थागत संगठनका विकासको ठूलो हात रहे पनि शिक्षण संस्थाहरूको विकासलाई मात्र श्रेय दिनु ठीक छैन। नेपालका साहित्यिक एवं पत्रकार वर्ग, उसका प्रशासक, वकिल, कूटनीतिज्ञ, कलाकार, निरपेक्ष प्रशिक्षार्थी, पुरातत्त्ववेत्ता, इतिहासकार समेतको आफ्ना सहधर्मीहरू तथा आ-आफ्ना सम्बन्धित संस्थाहरूको क्रमिक र गहकिलो विकास भएको देखेँ। उदाहरणका लागि सन् १९५० पछिको दशकमा पत्रपत्रिकाको संख्यात्मक वृद्धि भएको छ।

तुलनात्मक रूपमा भन्ने हो भने नेपालको सामयिकी साहित्यलाई उच्चस्तरीय मान्न सकिन्न, न त स्वतन्त्र लेखन गर्ने नियमित लेखकहरूले पाउने पारिश्रमिक नै दरिलो भन्न सकिन्छ। तथापि, तीन वा चार भाषामा प्रकाशित हुने पत्रिकाहरूको संख्या निकै नै छ जसलाई साहित्यिक एवं पत्रकार जगतका बुद्धिजीवीहरूले उत्पादक तथा उपभोक्ता दुवै रूपमा ग्रहण गरेका छन्।

९ असार २०१४ मा कानुनी मर्यादा पाई राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना भयो। यसले त्यस बेलादेखि केही कवि-लेखकहरूलाई आफ्ना सेवामा राखेर वा संरक्षण प्रदान गरी तिनका रचनालाई प्रस्तुत गरेको पनि छ। नेपाली तथा अंग्रेजी भाषामा प्रकाशित गरेका आफ्ना चार पत्रपत्रिकाद्वारा गोरखापत्र कर्पोरेसनले वा अन्य कर्पोरेसनसरह नै राष्ट्रिय संवाद समितिले केही प्रतिभाशाली युवकहरूलाई आफ्ना सेवामा लगाएको छ। सूचना प्रसार मन्त्रालय वा पञ्चायत दर्शन समितिले पञ्चायत पद्धतिको प्रशंसा गर्ने साहित्यको संरक्षण गरिरहेको मलाई थाहा भएको छ।

स्कूलका पाठ्यपुस्तकका प्रकाशनबाहेक, नेपालमा प्रकाशन व्यवसाय छैन भनिदिए पनि हुन्छ। साझा प्रकाशन, मदन पुरस्कार गुठी, तथा भ्वाइस अफ नेपालजस्ता केही साहसिला प्रकाशकहरू भने कवि, लेखक, विद्वान, एवं इतिहासकारहरूलाई उनका पुँजीको लगानीको झन्झटमा नओगटी आ-आफ्ना रचना प्रकाशित गर्न प्रोत्साहन दिन थालेका छन्। साथै, साहित्यका लागि नेपाली साहित्य संस्थान, संस्कृतिका लागि नेपाल ललितकला संस्थान वा इतिहास संशोधन मण्डल जस्तो नेपाली इतिहास, संस्कृति र प्राचीनताको अनुसन्धान गर्ने हेतुले अनुसन्धान गर्न गठित केही व्यक्तिको सानो मण्डलीले पनि टेवा पुर्‍याएको छ।

नेपालको आर्थिक, सामाजिक जीवनको अनुसन्धान गर्ने लक्ष्य भएको फोरम फर सोसियल स्टडीज्, नेपाल काउन्सिल अफ एप्लाइड इकोनोमिक रिसर्च जस्ता गोष्ठी भने प्रशस्त मात्रामा आजकाल जनताद्वारा सञ्चालित भएका छन्। यिनका अतिरिक्त, आर्थिक पक्षद्वारा सुव्यवस्थित एवं सुरक्षित अन्य कैयन् अनुसन्धानात्मक केन्द्रहरू छन्, जसमध्ये आर्थिक विकास र प्रशासन केन्द्र एउटा उदाहरण हो। मनोरञ्जन एवं प्रचारको स्रोत भइरहेको नेपाल रेडियोले पनि केही भूमिका खेलेकै छ।

तथापि, यी संस्थामा त्यति धेरै मानिस छैनन्। धेरै त श्री ५ को सरकारको प्रशासन वा अन्य सेवाहरू र त्यसअन्तर्गतका संस्थाहरूमा नै छन्।

श्री ५ को सरकारको निमन्त्रणामा जनप्रशासनसम्बन्धी राष्ट्रसंघीय अन्तरक्षेत्रीय सल्लाहकार म्याकक्रेन्स्की ४–१८ नोभेम्बर १९६८ सम्म नेपालमा बस्नुभएको थियो। 'श्री ५ को सरकारका लागि समरूपी निजामती सेवासम्बन्धी प्रस्ताव' तयार पार्न म्याकक्रेन्स्कीलाई श्री ५ को सरकारको प्रशासन व्यवस्था विभागले नेपालको सार्वजनिक प्रशासनसम्बन्धी तथ्यांक उपलब्ध गराएको थियो। जुन यसप्रकार छः नेपालमा कुल निजामति कर्मचारी २५ हजार ३१५ जना छन्। राजपत्रांकित अधिकृत २ हजार ३३ अप्राविधिक सेवामा, राजपत्रांकित अधिकृत एक हजार १०१ प्राविधिक सेवामा, अन्य राजपत्रांकित ९३२ जना छन्।

यो कर्मचारी वर्गमा नेपालका केही प्रतिभासम्पन्न व्यक्तिसमेत पर्छन् जो सायद दुई वा तीन विभिन्न पुस्ताका होलान्। सबैको कामचाहिँ सिंहदरबारीय नोकरशाही र नियमित प्रशासन तथा टिप्पणीको दैनिक जीवनमा गुजुल्टिएको छ। यो सन् १९५५–१९५६ को कुरा हो, जब प्रोफेसर यदुनाथ खनाल र डा. यादवप्रसाद जस्ता उच्च शिक्षणशास्त्रीहरूले पहिलोपटक शिक्षण कुञ्जबाट शक्ति मार्गतिर बसोबास सारे। त्यसपछि त बर्सेनि झन्‌झन् उच्च शिक्षित एवं प्रतिभासम्पन्न नवयुवकहरू शक्तिको चुम्बकद्वारा लहसिई र त्यसको सक्रियताको क्षेत्रतिर अग्रसर हुन थाले। बाटो भुल्ने छोरा घर फर्केजस्तो डा. ध्रुवमान अमात्य जस्ता केही व्यक्ति पुनः फर्की आए। पशुपतिशम्शेरजस्ता अन्यलाई शक्तिको रक्त सञ्चारणमा अमिल्दो ठानी बहिस्कार गरियो।

डा. भेषबहादुर थापा जस्ता कैयन् व्यक्तिले भने आफ्नो प्रतिभाको विकासका निमित्त सिंहदरबारको वातावरणको अनुकूल नै पाउन सके। सन् १९५० दशकमा जुन प्रकार बेमनसहित खनाल एवं पन्तजस्ता व्यक्तिहरू यस भुलभुलैमा पसे, उसैप्रकार सन् १९६० दशकमा भने डा. बीपी (बद्रीप्रसाद) श्रेष्ठ, डा. हर्कबहादुर गुरुङ जस्ताहरू नव-ब्राह्मणका रूपमा योजनाका आसनमा तानिए। डा. मोहम्मद मोहसिनपछि डा. जगदीशप्रसाद शर्माजस्ता चम्किला युवकहरू भने व्यवस्थाको राजकीय आदर्श निर्देशन गर्ने स्थानमा राखिए। यसअतिरिक्त कुलशेखर शर्मा, बालचन्द्र शर्मा जस्ता सुसम्य कूटनीतिज्ञहरू, कृष्णबम मल्ल, प्रा. यदुनाथ खनाल र रामचन्द्र मलहोत्रा जस्ता परिश्रमी र सुयोग्य सचिवहरू, एटर्नी जनरल (महान्यायाधिवक्ता) शम्भुप्रसाद ज्ञवाली जस्ता विशिष्ट अदालती मगज हुनेहरू वा केशरबहादुर केसी जस्ता प्रतिष्ठापित विद्वानहरूको कमी छैन।

संस्थागत रूपमा हेर्दा गैरसरकारी सेवाका व्यक्तिभन्दा सरकारी सेवाका हैसियतमा रहेका सरकारी सेवकलाई कम्ती बौद्धिक स्वतन्त्रता रहन्छ। पदको सुरक्षा तथा स्पष्ट विवेकबीच एउटा रोज्नुपर्ने अवस्था आयो भने सरकारी सेवकका लागि विवेक त महँगो लाग्ने सम्भावना छ। यही विचारअन्तर्गत कैयन् व्यक्ति त विवेक नभएको अवस्था नै चाहलान्। यी दुवै परिस्थितिबीच सास फेर्न सजिलो अवस्था ल्याइदिन्छ निजामती सेवा नियमले।

यी कुराले मलाई सन् १९६० दशकतिर पुर्‍याउँछ। विश्वविद्यालय, कलेज, पुस्तकालय, पत्रिका, थिएटर, सिनेमा वा रेडियो इत्यादि भएका सहरहरूको विकास मात्रले सच्चा स्वतन्त्र बुद्धिजीवी वर्गको उत्थानका लागि मौलिक पूर्वलक्षित वातावरण ल्याउँदैन। बरु त्यसका लागि प्रशस्त मात्राको आर्थिक स्वतन्त्रता चाहिन्छ जसबाट सामाजिक तथा आर्थिक क्लेशको त्रास नराखी बुद्धिवादी वर्ग आफ्ना आदर्श एवं आस्था परिपालन गर्न सकून्।

महेशचन्द्र रेग्मीजस्ता स्वावलम्बी बुद्धिवादी वा डा. डिल्लीरमण रेग्मीजस्ता एकताकाका राजनीतिज्ञ वा सूर्यप्रसाद उपाध्याय र हृषीकेश शाहजस्ता “सम्पन्न रइस” बाहेक, सिर्जनात्मक वा प्रभावात्मक क्षेत्रमा कार्य गरिरहेका नेपालका प्रायः सारा प्रतिष्ठित व्यक्ति पूर्णकालीन रूपमा संस्थापनकै सेवामा लागेका छन्। नेपालका प्रायः सारा सिर्जनात्मक वा प्रभावात्मक बुद्धिजीवीहरू कुनै न कुनै प्रकारले सरकारी स्रोतमा आर्थिक रूपमा पराश्रित छन्। नेपालमा बौद्धिक दारिद्र्यको एउटै स्पष्ट तर मौलिक कारण हो बुद्धिजीवीको दारिद्र्य।

बुद्धिवादी तथा अबुद्धिजीवी समेतलाई पनि जीविकोपार्जन गर्नुपर्छ नै। बुद्धिवादीलाई खुराक निमित्त दाल भात डुकु मात्र पर्याप्त होला। तथापि अन्यसरह उसले बाँच्नुपर्छ, जहान-परिवारका अतिरिक्त अनेक आश्रितका आर्थिक उत्तरदायित्व पनि बोक्नुपर्छ। त्यसैले, नेपालका दसमध्ये आठ बुद्धिवादी सरकारी वा अर्धसरकारी संस्थानमा काम गरी आफ्नो हातमुख जोर्दछन्। यो आर्थिक बन्धनका कारणबाट बुद्धिवादीहरूका लागि आफ्नो वैचारिक आस्था एक महँगो विलास बन्न गएको छ। यसैले साधारण रूपमा समाजप्रति र विशेष रूपमा संस्थापनप्रति उनको दृष्टिकोण स्थापित हुन जान्छ।

सन् १९६० दशकपछि नेपालका बुद्धिवादीको आलोचनात्मक भूमिकाप्रति निष्क्रियता बढ्दै गएको देखिन्छ। सन् ५० दशकमा संस्थापनको आलोचक बन्न नै जुन प्रकारले एक सम्मानपूर्ण कुरा सम्झिएको थियो, उस्तै प्रकारले सन् ६० दशकमा संस्थापनप्रति स्पष्टतया अ-आलोचक बन्नु सम्मानपूर्ण हुन गएको छ। पहिलेका मार्क्सवादी पण्डितहरू तथा वामपन्थी बुद्धिवादीहरूले समेत आफ्नो झुकावको जनसमक्ष खण्डन गरी सरकारी नीतिप्रति आफ्नो विश्वास जताउन पुगे।

सन् १९६० पछि नेपाली बुद्धिजीवी वर्ग खुलारूपमा सरकारप्रति अआलोचक मात्र बनेका होइनन्, बरू सरकारको आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरू जनप्रिय तुल्याउने व्याख्याकारका रूपमा सेवामा समावेश गरियो। पुरानो राष्ट्रिय निर्देशन मन्त्रालय, गृह तथा पञ्चायत मन्त्रालय, सूचना तथा प्रसार मन्त्रालय, पञ्चायत दर्शन समितिका अतिरिक्त सरकारी सहयोग प्राप्त गर्ने सक्रिय पञ्चायत अध्ययन गोष्ठीजस्ता कैयन् संस्थाले विगत दशकदेखि नै यस व्यवस्थामाथि लेखिएका साहित्यलाई प्रशस्त प्रोत्साहित गरेका छन्।

एक अर्थमा वाक्य-विन्यास जान्ने लेखकहरूका लागि पञ्चायत दर्शनले ठूलै सुअवसर प्रदान गरेको छ। ए प्लान्ड डेमोक्रेसी जस्ता केही पुस्तक निकै शक्तिशाली तथा हृदयग्राही पनि छन्। तथापि, यस्ता साहित्यका धेरैजसो उत्पादन भने जनसाधारणका निमित्त पूर्णतया अगम्य नै छन्। जनसाधारणका लागि त उपयोगिता नै मुख्य कसौटी हो। तर, सयकडा बयानब्बे नेपालीलाई कालो अक्षर भैँसी बराबर छ। सैद्धान्तिक वर्गीकरणको त कुरै छैन, उनका लागि त शब्दजालबाट मात्रै नेपाली माटामा रामराज्य आउनै सक्दैन।

नेपालको यो अवस्था देख्दा फ्रान्सको यस्तै अवस्थालाई जुलियन बेन्डाले “बुद्धिवादीहरूको विश्वासघात” नामकरण गरेको सम्झना आउँछ। हाम्रो जस्तो परम्परागत समाजमा बुद्धिवादीहरूको आधारभूत कर्तव्य तथा अधिकारबारे मैले स्पष्ट हुनुपर्ने अवस्था देख्छु। “बुद्धिजीवी” र “बुद्धिवादी” शब्दको अर्थको पृथकीकरणबाटै प्रारम्भ गर्न सकिन्छ।

“बुद्धिजीवी” शब्दलाई सबभन्दा पहिले उन्नाइसौँ शताब्दीको जारकालीन रुसमा “विश्वविद्यालयको शिक्षा हासिल गरेका र त्यसअन्तर्गत व्यवसाय गर्न योग्य ठहराइएका व्यक्तिहरू”लाई बोध गर्न प्रचलनमा ल्याइयो। पछि अनेक लेखकले यसमा विशेष अर्थ घुसाउँदै गए। व्यवसायमा लागेका मात्रै नभएर नलागेका व्यक्तिहरू पनि यसमा समावेश भए जो नयाँ विचार एवं सामाजिक परम्पराविरोधी मत राख्ने गर्दथे। यस्ता सारा असन्तुष्ट शिक्षित वर्गलाई बुद्धिजीवी वर्गमा समावेश गरियो।

रुसमा यस वर्गको प्रतिनिधित्व वेलिन्स्की र हर्जेनजस्ता प्रकाण्ड व्यक्तिले गरे। अर्कोतिर, बुद्धिवादी भन्नाले साधारणतया सिर्जना, सञ्चार तथा धारणाको समालोचनामा संलग्न स-सानो जत्थाका व्यक्ति मानिन्छन्। तिनमा लेखक, कलाकार, वैज्ञानिक, दार्शनिक, धार्मिक चिन्तक, सामाजिक सिद्धान्तशास्त्री र राजनीतिक आलोचक पर्न जान्छन्। समाजको अभौतिक संस्कृतिउपर नै सीधा चासो राख्ने काम नै उनको विशिष्ट लक्षण हो।

युरोपमा मध्ययुगीन विश्वविद्यालयहरूलाई नै साधारणतया आधुनिक बुद्धिवादीको जन्मस्थल मानिन्छ। रुढिवादी चर्च तथा सत्तारुढ वर्गको विरोध गरेर नै समाजका आलोचकका रूपमा ती बुद्धिवादीहरू स्थापित हुन सके। समाजको आलोचकको यही रूपमा वर्तमान बुद्धिवादीहरूले आफ्नो स्थान ओगटे।

खिइसकेका परम्परालगायत स्थापित संस्था, मूल्य, आचरण तथा भावभंगिमाहरूको उग्र आलोचना गरी समाजको स्थायी विरोधी बन्नु नै बुद्धिवादी वर्गको प्राथमिक कर्तव्य हो। समाजका अन्य सदस्यहरूका विपरीत बुद्धिवादीहरूलाई आदर्शसँग यथार्थलाई कसीमा मूल्यांकन गर्ने, चिन्तन गर्ने र अलग हुने अधिकार हुन्छ। प्राथमिक रूपमा बुद्धिवादीहरूको कर्तव्य नै आफ्नो समाजको मूल्यांकन गर्नु हो। नेपालमा बुद्धिवादीहरूको आर्थिक दरिद्र र बन्धनले समाजको सेवा गर्न र यसप्रतिको “समाज ऋण” चुक्ता गर्न असफल भएका छन्।

बुद्धिवादी र प्राचीन ब्राह्मण पुरोहितको नवीनतम रूप मात्र नभएकाले समाजमा उसको कर्तव्य पनि कर्मकाण्डमा मात्र सीमित छैन। हुन त, उनकै जातिका कैयन् व्यक्तिहरू विशेषज्ञ, प्राविधिक, नियोजक, सल्लाहकार, सिद्धान्तवादी तथा कार्यकारी बनेर संस्थापनका सेवाको उच्च पदमा आसीन छन्। तथापि आधुनिक बुद्धिवादीले त लोकप्रसिद्ध दार्शनिकले संसारलाई अनेक रूपबाट गर्ने व्याख्या मात्र गरेर पुग्दैन। उसले त समाजलाई परिवर्तित हुन र गतिहिन हुन नदिन सहयोग गर्नै पर्दछ। नेपालमा हाम्रा समक्ष अहिले त आलोचनात्मक मूल्यांकन गर्न चाहने बुद्धिवादीको सट्टा उर्दी-पोसाक पहिरिने एक यस्तो वर्ग छ जो तलबकै लागि काम गर्छ।

बुद्धिवादी संस्कृतिका यी नैतिक आधारहरूमध्ये एउटालाई पनि नेपाली समाजले प्रवर्द्धन गर्ने सम्भावना धेरै छैन। उदाहरणका लागि, पञ्चायत पद्धतिका केही वर्गीकृत साहित्य पढ्दा “हावासँगै बग्ने बुद्धिवादी” हरूका लागि साहित्य लेख्नु बौद्धिक चुनौति सट्टा एउटा सजिलो अवसर बनेको छ। यहाँ यस्तो व्यवस्था (वा अन्य यस्तै स्वदेशीय मान्यता र संस्था) लाई सुदृढीकरण गर्ने एक मात्र उपाय यसलाई प्रशंसा गर्नु मात्रै ठानिन्छ। त्यो व्यवस्था वा संस्थाहरूको उत्पादन कसले उपभोग गर्न पाउने हो? कसका लागि ती बने? भन्ने प्रश्न त परैको कुरा भयो।

बौद्धिक सच्चाइ र पवित्रताको कति मात्रा लिई त्यस्ता स्तुति-साहित्य प्रस्तुत भए भन्ने कुराको जानकारी वास्तवमा कसैलाई पनि छैन। तिनलाई मौसम अनुकूल साहित्य ठाने भयो। स्तरको कुनै विचार नराखिएका यस्ता साहित्य धमाधम निकाल्ने क्षमतालाई नै भविष्यमा बौद्धिक क्षमता मापनको कसी बन्ने हो कि भन्ने चिन्ताको विषय बनेको छ।

आजसम्म जसरी सारा सैद्धान्तिक प्रदर्शन गरिएको छ, त्यसको सट्टा व्यवस्थाको मूल्यांकन निमित्त अरू प्रभावकारी उपाय अपनाउन सकिन्थ्यो। उदाहरणका लागि कुनै नगर पञ्चायतको वास्तविक दैनिक क्रियाकलापको नमूना अध्ययन गर्न सकिन्थ्यो। वा कुनै गाउँ पञ्चायत वा वर्गीय संगठनलाई पाइलट-सर्भेका रूपमा छानी दैनिक गतिविधिको निरीक्षण गरेको भए सह्रानीय हुन्थ्यो।

पश्चिममा समाजमा बुद्धिवादीको उपयोग बढ्दो छ। यही कारण हुनसक्छ उनलाई 'उन्मुक्त बुद्धिवादी” भनिएको जो असंलग्न वा स्वैच्छाचारी छन्। आचरणको यस स्वच्छन्दतालाई उनको वर्ग वा जातका पूर्वाग्रहद्वारा निर्देशन नहुनुका अर्थमा, भावुक एवं जनप्रिय नाराहरूबाट निर्देशित हुनु सट्टा आफ्नै स्वच्छ विवेकद्वारा निर्देशित हुनुको अर्थमा लिइएको छ। गाएतानो मोस्का र कार्ल मैनहैम जस्ता समाजशास्त्रीहरूले भने वर्ग विभाजनको खाडललाई पुर्ने शक्तिको रूपमा आफ्ना आस्था बुद्धिवादीहरूमै राखेका छन्।

बुद्धिवादीहरूको मुख्य दुई अधिकारक्षेत्र भनिन्छ: १) दृष्टिकोणको विश्लेषण तथा २) संलग्नताबाट स्वतन्त्रता।

भविष्यमा जहाँसम्म हाम्रो दृष्टि जान्छ, त्यहाँसम्म नेपालका बुद्धिवादीहरू भने दोस्रो कर्तव्य पूरा गर्न समर्थ होलान् भन्ने पटक्क देखिँदैन। नेपालका बुद्धिवादी वर्ग वा त्यसै सन्दर्भमा यसका बुद्धीजीवीहरूको एक बृहत सतह नै उच्चतम् जातबाट अर्थात् ब्राह्मण, क्षेत्रीय तथा उच्च वर्गीय नेवारबाट बनेको छ। नेपाली बुद्धिवादी वा शक्ति-सम्पन्न परिवारमा ८० प्रतिशत छन्, शिक्षणजस्तो व्यवसायमा झन्डै ४० प्रतिशत ब्राह्मण र क्षेत्रीय तथा ३० प्रतिशत उच्चवर्गीय नेवार छन्।

तीमध्ये धेरैजसो बुद्धिवादी पारिवारिक, साम्प्रदायिक तथा धार्मिक दृष्टिकोणको संस्कृति अपनाई बाँचिरहेका छन्। पारिवारिक संस्कृतिउपर विजय हासिल गर्न कमैले प्रयास गर्छन्। र, पूर्ण सफलता विरलैले पाउँछन्। कैयन् अवस्थामा भने पूर्वाग्रह तथा संस्कारलाई राष्ट्रवादिता तथा त्यस्तै अन्य अनर्गलको बाहना बनाएर प्रमाणित गरिएको हुन्छ।

यसप्रकार, बुद्धिवादीहरूबाट वाञ्छित उनीहरूको दोस्रो भूमिकामा नेपाली जाति उपयुक्त ठहरिने सम्भावना कमै छ। उनका इतिहास तथा सामाजिक संस्कार दुवैका पृष्ठभूमिले यो सम्भावना कमजोर पार्दछन्।

अन्त्यमा, परिभाषाका दृष्टिबाट बुद्धिवादीहरू मूलतः (विशेषतः होइन) विचार, आदर्श, सिर्जनात्मक एक मानसिक तथ्यका संस्कृतिबारे नै दत्तचित्त रहेका हुनु पर्दछ। यसोभन्दा मेरो अर्थ आफ्ना अनुसन्धानमा उनीहरू परलोकवादी, अव्यावहारिक तथा लौकिक – विरोधी होऊन् भन्ने होइन। सायद आधुनिक बुद्धिवादीहरू सांसारिक रहनसहनमा मध्ययुगीन महन्तको झझल्को देखाउँछन। तथापि विशुद्ध आधुनिक बुद्धिवादी भने सांसारिक मोह परित्याग गर्ने ‌संन्यासी (फकिर) को नवीन्-रूप होइन।

बुद्धिवादी संसारकै एक अंग हो, तथापि आफ्नै आदर्श र आस्था अपनाई बाँचेको हुनाले ऊ सर्वसाधारणभन्दा भिन्न हुन्छ। उसका आदर्शवादिता, बुद्धिवादिता तथा प्रयासको सत्यताले उसमा चारित्रिक विशेषता त्यत्तिकै प्रदान गरेका हुन्छन् जत्तिको समाजमा अवस्थित उसको प्रतिष्ठा र प्रभावका उपलब्धिले गरेको हुन्छ। तथापि, नेपालका जनसंख्याका शिक्षित अंशमा त आदर्शवादको अभाव वा प्रयास, परिशीलन र लग्नताको विश्वव्यापी न्यूनता मात्र नभई भौतिकवादी सफलताका कीटाणुद्वारा संक्रमण भएको रोगसमेत देखिन्छ।

सफलता– चाहे त्यो भौतिक सफलता होओस् या जालझेलद्वारा प्राप्त – यही मात्र सर्वोपरि नियम हो। दारिद्र्यको भार खेपेका नेपालीका लागि “पैसा कमाउनु” नै बाँच्ने योग्य हुने जीवनको स्पष्ट अन्तिम लक्ष्य हो। उसका लागि चिरन्तन छनोट छ “आफू बन्ने” र “समाज सपार्ने” बीच। नेपालमा पैसा कमाउने र आफू बन्ने भन्ने शब्दहरू एकअर्काका पर्यायवाची शब्द बनिरहेका छन्। फेरि बुढिरुढिको आदर्शवादबाट वाक्क भएका त्यस्ता व्यक्तिहरूसमेत आफूलाई आफ्ना आदर्शवादी मूल्यहरू तथा आस्थाहरू एवं स्वयं टिक्न सक्नुपर्ने समाजका वास्तविकताहरूबीच घेरिएको पाउँदछन्।

विकासशील समाजका हालसालै बन्न पुगेका धनीहरूलाई चारैतिर फस्टाएको देख्दा नेपाली बुद्धिजीवी वर्ग आफ्ना मूल्य व्यवस्थामा झन्‌झन् भौतिकवादी बन्दै गइरहेछ। भरौटेहरूले युद्धमा धनका लागि भाग लिएजस्तै उनीहरूले पनि आफ्ना समाजका अन्य सदस्यहरू सरह सफलताको मापदण्ड नै धनको आय, सिमेन्टीका भवनहरू, मोटरकारहरू, विदेशी मदिरा, फर्निचर, लाभदायी विवाह तथा विदेशका यात्रा जस्ता कुरालाई मानेका छन्।

यसका अतिरिक्त, शिक्षित व्यक्ति होऊन् चाहे अशिक्षित, नेपालका सबैलाई व्यक्तिगत प्रयास, पवित्रता तथा उपलब्धिभन्दा बढी नाता-सम्बन्ध, प्रभाव तथा चाकरीको क्षमतामाथि आस्था छ। उनीहरूलाई दोष पनि के दिने, किनभने नेपालमा पछिल्लो उपायकै बोलवाला छ। हाम्रो जस्तो लालसापूर्ण समाजले सफलताको छोटो बाटो मात्रै कल्पना गर्छ। अमेरिकी डेल कार्नेगीका शब्दमा “विशिष्टता निमित्त छोटो बाटो”, अर्थात् राजदूत पद, मन्त्री पद, सचिव पद – र त्यही आकांक्षा नै प्रायः सारामा विद्यमान छ।

समकालीन नेपाली बुद्धिवादी संस्कृति अत्यन्तै अपूर्ण छ। यहाँका केही साँच्चिकै विद्वानले पनि आत्मगौरव गर्नु पर्ने केही कारण छैन।  उदाहरणका लागि नेपालको आर्थिक समस्याहरू उपर विगत बीस वर्षभित्र कति ओटा पठनयोग्य पुस्तक वा लेख नेपालीद्वारा लेखिए भन्ने हेरौं न। डा. यादवप्रसाद पन्तद्वारा आधा दर्जन, डा. बद्रीप्रसाद श्रेष्ठद्वारा केही, तथा पाठ्यपुस्तके खालका अर्थशास्त्रीद्वारा थप अन्य केही लेखिए होलान्। अन्तर्राष्ट्रिय शैक्षिक विद्वताको स्तरमा दाँजियो भने हाम्रा पाठ्यपुस्तके खालका अर्थशास्त्रीहरूको उचित स्थान के हो वा उनका लेखनीमा के कति मात्रामा मौलिकता छ भन्ने कुरा कसले जानोस्। कला, गृह-निर्माण, धर्म, संस्कृति, इतिहास, समाजशास्त्र, मानव-रचना-शास्त्र, भूगोल, राजनीतिक क्रम-विकास, भाषाहरू तथा साहित्यहरू जस्ता नेपाली जीवनका महत्त्वपूर्ण, नछोइएका र प्रशस्त उत्पादन हुनसक्ने क्षेत्रमा के कति पुस्तक तथा लेख उपलब्ध छन्?

डा. डिल्लीरमण रेग्मीजस्ता व्यक्तिद्वारा लेखिएका इतिहास पनि बुद्धिवादी संस्कृतिको उपज भन्नुभन्दा व्यक्तिगत साधनाको स्मारक भने हुन्छ। अन्य त्यस्तै विषयमा जे जति यस्ता कृति छन्, ती पनि लेखकको व्यक्तिगत साधनाकै उपज हुन्।

हाम्रो आफ्नै इतिहास तथा संस्कृतिमै पनि इतिहास-शिरोमणि खरदार बाबुराम आचार्यका लेखनी, इतिहास संशोधन मण्डलका प्रकाशनहरू, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा तथा योगी नरहरिनाथका फाटफुटे रचनाबाहेक अरू छ नै के? एक प्रकारले, नेपालका प्रतिभावान् बुद्धिवादीहरूका उपलब्धिहरू गोरखापत्र एवं द राइजिङ नेपालकै कलममा सीमित छन्। हाम्रो विद्वत्-परम्पराले अझै वसुधा, नेपाल रिभ्यू वा रूपरेखा-हिमानी-मधुपर्कका स्तर नाघ्न सकेका छैनन्। यी नै ती रंगहीन पुस्तिका एवं पत्रिका वा सामयिकी हुन् जसले हाम्रो मस्तिष्कका लागि खुराक दिन्छन्। एक गम्भीर तथा अक्षम्य आत्मपरीक्षण गरिदिएको भए आज नेपालका दस बुद्धिवादीहरूमध्ये नौ मा पाइने आत्मश्लाघाको अनौठो भावना निश्चय पनि हुने थिएन।

झन्डै निस्सासिने यस वातावरणलाई दुषित गर्नुमा मुख्य हात छ उच्चतामा पुगेकाहरूको अन्तःप्रसवनले। किनभने, जहाँसम्म नेपाली बुद्धिजीवी वर्गको साधारण संस्कृतिको प्रश्न छ, रंग-विभाजनको दुई ओटै अन्तिम छोरमा दुई समानान्तरीय र आपसी रूपमा अभेद्य संस्कृतिहरू छन्: १) परम्परागत, संस्कृतमय, हिन्दूमतावलम्बी आध्यात्मवादमय, उपदेशात्मक, अन्तर्मुखी, तथा पण्डितहरूको प्रचण्ड सनातनी एवं राष्ट्रवादितापूर्ण बुद्धिवादी संस्कृति, र २) पश्चिमीकृत, आधुनिक अनर्गलप्रधान, ऐहिक, आलोचनात्मक बेला बेला मिसावटी, तथा नव-ब्राह्मण, आधुनिकृत विशेषकहरू, सल्लाहकारहरू, प्राविधिकहरू, अर्थशास्त्रीहरू, लेखकहरू, टीकाकारहरू, पत्रकारहरू तथा शिक्षकहरूको बाह्यमुखी बुद्धिवादी संस्कृति।

एउटाको लागि सांस्कृतिक पोषक संस्कृत छ भने अर्काका लागि अंग्रेजी भाषा। अचम्म त के छ भने दुवै भाषा नेपालीको आफ्नो प्रथम भाषाका रूपमा बोलिँदैन। संस्कृतको पुनरुत्थान गर्न कटिबद्ध भएका हिन्दु पण्डितहरूलाई संस्कृतमय नेपाली प्रयोग गर्न पाए पुग्यो। आधुनिकृत अंग्रेजी प्रयोग गर्दछन्, र उनले यो प्रयोग त्यतिकै योग्यतासाथ गर्छन् जति नेपाली भाषा गर्न सक्थे होलान्। दोषरहित भन्न नसकिए पनि उनले प्रयोग गर्ने अंग्रेजी भाषाविद्का लागि अनुसन्धान गर्न रहरलाग्दो क्षेत्र र अलग प्रकारको अध्ययन हुनेछ।

जहाँसम्म रचनात्मक कार्य तथा बुद्धिवादी सम्भाषणका लागि नेपालमा तीन भाषा प्रयोग गरिन्छ: १) नेपाली, २) नेवारी तथा ३) अंग्रेजी। यी तीनमध्ये सरकारी अवहेलना तथा अन्तःप्रसवनका कारणबाट नेवारी त नेवारहरू बीच “रचनात्मक” लेखनीमा मात्र झन्डै सीमित छ। जस्तै सांस्कृतिक रूपमा धनी र गौरवशाली भाषा भए पनि, नेपालका जनसंख्या अनेवारीभाषीका लागि यो महत्त्वपूर्ण हुने सम्भावना छैन। फेरि जातिका रूपमा नेवारहरू समाप्तप्रायः छन्।

नेपालीको अवस्था भने भिन्नै छ, एक त राष्ट्रभाषा भएबाट र दोस्रो कारण चाहिँ नेपालका सम्पूर्ण जनसंख्याको आधीभन्दा बढीले बोल्ने भएकोले। राजनीतिक रूपमा, नेपाली भाषाको भविष्य उज्ज्वलै उज्ज्वल छ। यसका पत्रकारितात्मक एवं रचनात्मक सम्भावना प्रशस्त छन्। रचनात्मक लेखक, पत्रकार, शिक्षक, पाठ्यपुस्तक लेखक तथा इतिहासकारहरू आफ्ना रचनामा नेपालीकै झन् बढी उपयोग गर्न थालेका छन्। तथापि, नेपालका अनेपालीभाषी जनसंख्याको ४९ प्रतिशत मात्रलाई समेत एकातिर आफ्ना अस्तित्व जोगाउन यसलाई दैनिक जीवनको प्रयोग निमित्त अपनाउनुपर्ने आवश्यकता लाग्दै जानेछ भने, यसको बढ्दो संस्कृतीकरणद्वारा यसमा उम्रीआउने भावनात्मक सीमानाले तिनीहरूलाई सामाजिक रूपबाट हानिकारक स्थितिमा पुर्याउनेसमेत सम्भावना छ।

नेपाली भाषाको प्रयोग गर्दा जति हामी राष्ट्रवादी अनुभूत गर्छौं, त्यति नै उच्चतम् अभिव्यक्तिमा यो भाषा झन् झन् अनेपाली बन्दै जाँदै छ। वैज्ञानिक, प्राविधिक तथा आधुनिक बौद्धिक अभिव्यक्ति निमित्त यसमा स्वाभाविक सम्भावना पार गर्नै नसकिने खालका सिमानाहरू छन्। नेपाली प्रथम भाषा हुने हाम्रा बुद्धिवादीहरूले अंग्रेजी भाषाको प्रयोग गर्नुपर्ने अनेक कारणमध्ये सायद यो पनि एक कारण होला। वास्तवमा, अंग्रेजीको प्रयोग अन्य अल्पसंख्यक भाषाहरूका लेखकले भन्दा नेपालीभाषी लेखकले बढी गरेका छन्।

समाजशास्त्रीय कारण अनेक हुन सक्लान् यसरी अंग्रेजी प्रयोग गरिनुमा। मलाई त्यस सम्बन्धमा यहाँ चर्चा गर्ने इच्छा छैन। नेपालमा मातृभाषाको रूपमा कोही पनि अंग्रेजी बोल्दैन, र त्यस भाषाका पाठक पनि सीमित छन् तथा लेखककै आफ्नो अंग्रेजी पनि दोषरहित छैन भन्ने थाहा पाउँदा पाउँदै पनि सारा नेपाली लेखकहरूले त्यसको प्रयोग कायम राख्नुमा उनले लिखित अभिव्यक्तिमा पाउने सहज माध्यम हो। यो कुरा अनेपाली भाषीका लागि सायद नेपालीभन्दा बढी नै सुगम पनि छ। यीमध्ये केहीलाई भने आफ्ना शैक्षिक इतिहासले गर्दा होस् चाहे जाति कुलको जन्मका कारणबाट होस्, वास्तवमा अशक्तता भएको छ। तथापि अन्यहरूले अंग्रेजीको प्रयोग गर्नुमा सिर्फ गौरवपूर्ण मूल्य नै अन्तर्निहित छ। जे होस्, अंग्रेजी प्रयोगको विरुद्ध पठन-योग्य अंग्रेजीको प्रयोग गर्ने क्षमता नेपालमा केही व्यक्तिमा मात्र सीमित भइरहने सम्भावना छ। नेपालमा अंग्रेजी लेखनका उत्पादक तथा उपभोक्ता भन्ने व्यक्ति प्रायः त्यही सीमित व्यक्ति नै हुन्छन्।

समकालीन नेपाली बुद्धिजीवी वर्गको सामाजिक उद्गम, पूर्व वृत्तान्त, संस्कृति, शिक्षा तथा व्यवसाय जे सुकै होस्, ती यस्तै प्रकारसँग अस्पष्ट तथा निःसार घटना भइरहने सम्भावना छ।  मानौँ ती बोका बनाइएका देवदूत होऊन् जो सब आ-आफ्नै धुनको राग अलापिरहेछन्। हालै जे जति मात्र वास्तविक बुद्धिवादी थिए हाम्रामध्ये ती पनि अब विगतको तुलनामा आफ्नो समाजको कम आलोचकका हुँदै गएका छन्। व्यवस्थासँग पूर्णरूपमा आत्मसात गरेपछि जुन एक तत्कालीन, विशिष्ट समस्याहरू उम्री आउँछन्, त्यसैप्रति बढी सजग भई समस्या समाधानपछि लाग्न थालेका छन्।

केही व्यक्ति नबुझेझैं गरी देवालयको संग्रहालयमा घुस्न तम्सिएका छैनन्। तीमध्ये पनि धेर जसोमा चरित्र, विशिष्टता, सत्यता एवं प्रयासको अभाव छ। तिनको संख्या पनि मानौँ मध्यकालीन अवस्थाका मठका जोगी सरह थापना निमित्त मात्रै छ। उनका प्रभावहीनता तथा नपुंसकत्वले गर्दा नेपाली जनजीवनका सर्वसाधारण व्यक्तिका लौकिक विचारहरू प्रायशः मेहनताना; तलब तथा मुनाफा, घृणित ढंगका मनोरञ्जनको बसिबियाँलोमा र, सबभन्दा चर्को त, नाता-गोता, प्रभाव र शक्तिको लागि पाइताला खियाउनुमै केन्द्रित भएका छन्।

सिमेन्टी इँटका बंगला र कारको स्वामित्वबाट पाइने स्तरको जुन एक प्रतिक-बोध छ, त्यसै प्रकार “बुद्धिवादी” शब्दले समेत टाउको वरिपरि प्रभा थपिदिन सक्छ। तथापि यस शब्दको अति-प्रयोगबारे नैतिक औचित्य गर्न आकांक्षीहरूको वर्गले सामूहिक र गहिरो आत्मनिरीक्षण गर्नुपर्ने आवश्यकता छ। काठमाडौँको एक प्रमुख अंग्रेजी-भाषी दैनिकले आफ्नो सम्पादकीयमा यस विषयमा भित्ता पुर्‍याएर भनिसकेको छ। त्यसकारण उक्त द राइजिङ नेपालको खरो सम्पादकीयको साभार उद्धरण गर्नुभन्दा राम्रो नेपालको बुद्धिवादीको दारिद्र्यबारेको आफ्नो अनुसन्धानमा म अरू केही पाउँदिनँ।

“शब्दको सच्चा अर्थमा, बुद्धिवादी भनिन लायक व्यक्ति कम्ती नै होलान्, तथापि आफू त्यसअन्तर्गत नपरेमा लज्जित हुनु पर्दैन। कृत्रिम-बुद्धिवादी हुनुभन्दा त नहुनु र त्यो कुरा इमान्दारीसाथ स्वीकार गर्नु वेस” (दि राइजिङ नेपाल सन् १९७०) ।

यस्तो अवस्थामा हाम्राबीच रसेल, सार्त्र, ग्राम्स्की खोज्नु वा हर्वट मार्क्युस्, नोम चोम्स्की आविस्कार गर्नु, वा ग्यालब्रेथ, मार्शल मैकलुहान स्थापना गर्नु फलहीन प्रयास हुन जाने छ। हामीसँग त शोषणरहित अवस्थाको परम् सुख निमित्त दृढतापूर्वक उद्यमशील भएको नेपाली समाजका पांग्रामा विनीत र आदरणीय दाँतीहरू मात्र छन्।

(प्राध्यापक कमलप्रकाश मल्लको यो लेख सर्वप्रथम २०२७ वैशख र जेठमा दुई भागमा अंग्रेजी पत्रिका बसुधामा छापिएको थियो। सँगसँगै प्रसिद्ध साहित्यकार शंकर लामिछानेले अनुवाद गरेपछि रूपरेखाको पूर्णांक १०८ र १०९ मा प्रकाशित भएको थियो। हामीले यहाँ लामिछानेले गरेको अनुवादको सम्पादित अंश प्रस्तुत गरेका छौं। मल्लको यो लेख हामीले मार्टिन चौतारीको जर्नल 'समाज अध्ययन ११- २०७३' बाट लिएका हौं। यो श्रृं‌खलामा भोलि हामी मल्लको लेखबारे हर्क गुरूङको जवाफ प्रकाशित गर्ने छौं।)

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink