सिमराका स–साना सुस्केरा

  • Get News Alerts

पीपलबोट डटकम

वार्षिकोत्सवको चटारोले छोपेकै बेला साना कक्षाका चार जना छात्राहरू एकसाथ हराएछन्। कहाँ गए कसैलाई पत्तो भएन। स्कुलबाट हिँडे, घर पुगेनन्।

वयस्क यात्रीहरूका लागि लोभलाग्दो यात्रा त्यही हो भनिन्छ जसको गन्तव्यको टुङ्गो हुँदैन। ती त दस/एघार वर्षका बालिका हुन् जसमध्ये एउटी छ वर्षमात्र पुगेकी थिइन्।

बालबालिका भने कहाँ पुग्ने पहिल्यै टुङ्गो गरेरै हिँड्छन्, सायद। उनीहरूको सूर दिल्ली टाप कस्ने रहेछ।

गोलमोल बजार नजीकको झरनाबाट हिरामोती झर्छ रे। त्यो टिपेर ल्याउने योजना बुनीवरी उनीहरू रक्सौलबाट रेल चढिसकेछन्।

दिल्लीमा हीरा छ कान मेरो बुच्चै? यस्तै केही भान परेको हुनुपर्छ। बालबालिका किन साह्रै चञ्चल हुन्छन् भने उनीहरूमा उत्सुकता र जिज्ञासा टन्टन्ती भइरहेको हुन्छ।

कलिला विद्यार्थी सीमापार भएको घटनाले सातो गएको स्कुलको जन्मदिन समारोहमा सरिक हुन म विमानस्थल पुग्दै थिएँ।

काठमाडौंमा सधैँको नाकछोपी छ। मास्क नलगाई बाहिर निस्कन सकिँदैन। केही दिन फेरि जुत्ता फटाउनु के थियो नाक पिर्पिराउन थाल्यो, र मैले झ्वाट्ट बाहिर निस्कने निहुँ पाएको थिएँ।

त्यहीँ तल सिमरा। तीक्ष्ण वेगका चराकै तीव्र गतिमा फुत्त उडेर पुगिने सहर। सानो सहर। मोफसल।

हवाई यात्रामा उडान समयमात्र हिसाब गर्नु मूर्ख हुनु हो। विशेषगरी यस्तो वर्ष जसको हिउँद कहिले सुरू भयो र कहिले सकिँदैछ निश्चित गर्न सकिएन।

अदलीबदलीले बिहानैदेखि उड्न नसकेका विमानको चाप बढेको रहेछ। विमानस्थलमा यात्रुको ठेलमठेलभित्र ठेस पाउनु लेखेको थियो।

मलाई तलतली किन हुनु परेको थियो र? कतै कफीको मेसिन चर्र गर्यो भने पनि आँत हरिहाल्छ। धन्य हो, असली कफी पिलाउने ठाउँ काठमाडौंमा बग्रेल्ती भइसकेका छन्।

खुसीसाथ डोपियो अर्थात् डबल एक्सप्रेसो शट् फर्मायस गरेँ। काउन्टरवालाले सुरूमै पैसा मागे। तीन सय रूपैयाँ सुन्नासाथ म खङरङ्ग भएँ। एक शट्कै डेढ सय लेखिएको थियो, त्यतिमा त बाहिर कफी हाउसहरूमा डबल शट्को बकाइदा सत्कार पाइन्छ।

‘दुईटा छुट्टाछुट्टै अर्डर गरेको होइन, किन दोब्बर मूल्य?’

‘डबल शट्को डबल चार्ज,’ उनले सजिलै जवाफ दिए।

हाम्रा सार्वजनिक स्थलहरू सार्वजनिक सेवाभन्दा सार्वजनिक शोषणका माध्यम हुन् भन्न धेरै पर जानै पर्दैन। जहाँ उभिएको छ त्यही वरपर आँखा विस्तार गरे पुग्छ। यस्ता ठाउँमा यात्रुहरू जति अलपत्र परे उति व्यापार। जति अव्यवस्था उति मुनाफा।

ठेक्का चलाइदिनेलाई मस्ती, ठेक्का मिलाइदिनेलाई चुस्की, देशमा जे चलिरहेको छ पचाइदिने हामी ठेउकालाई सधैँको सास्ती।

म त्यो खर्चिलो कागजी कप बडो जतनले हातमा लिएर किफायती सुरूप पार्दै भिडभाडमा मिसिएँ। एक सुरूपको कम्तीमा दस रूपैयाँ पर्दै थियो। एमाले नेता पृथ्वी सुब्बा गुरूङसँग कुम ठोक्कियो। उनको जहाज पनि त डिले भइरहेको थियो।

केही बेर बातचीतमै हामी राजनीतिक दिशाहिनताको कडी के हो भन्नेतिर पुगिहाल्यौँ। देशको दशाका लागि विदेशी भूमिका बढी देख्ने एमाले दृष्टिकोण प्रष्ट खुल्दै आएको याम छ।

समसामयिक सवालजवाफको निकास नदेखेर हुनुपर्छ उनका सहयोगीले मोबाइलमा फोटोहरू एल्बमझैँ पल्टाउँदै देखाए। गुरूङलाई नेपालगञ्ज उडेर भोलिपल्ट बाजुरा पुग्नु थियो। कोल्टी विमानस्थलपछाडिका अग्ला पहाडभरि पच्यात्तै हिउँ परिसकेछ। हिउँका राशमा मोबाइल चिप्लिएलाझैँ लाग्न थालेपछि म एउटा कुनातिर लहसिएँ।

कुनाको आरामी कुर्चीमा ढेप्किरहेको अनुहार नचिन्ने प्रश्नै थिएन। स्वास्थ्योपचारपछि हिँडडुल गर्न थालेका सहधर्मी तीर्थ कोइराला उस्तै हाँसोठट्टामा प्रस्तुत भए।

‘जहाज ढिले भएको हो,’ उनले भने, ‘गोराहरूले नेपालबाट टिपेर लगेको शब्द हो– उनीहरूले ढिले भन्न नजानेर डिले भनेका हुन्।’

‘जहाजहरू आज किन ‘ढिले’ भएका हुन् त ?’ उनलाई उकास्न मैले च्याँखे थापेँ।

‘आरए भए पो मुख फोर्नु,’ उनले फेरि हाँस्दै भने, ‘निजी वायुसेवालाई कसरी गाली गर्नु?’

बस्ने ठाउँ नपुगेर उभिएका यात्रुहरू गुम्सिएको त्यो गुम्म प्रतीक्षाकक्षमा मनग्गे हावा कहाँ पाएर होस्? अक्सिजनको प्रवाह कम भइसकेको हुनुपथ्र्यो। एउटा कुनामा एकजना युवक भाउन्न भएर लडेका थिए र उनको सायद नाकबाट भल्भल्ती रगत बग्यो।

भुइँमा पछारिएका युवकलाई प्रारम्भिक जाँचपड्ताल गर्न सवभन्दा अग्रसर एकजना विदेशी पर्यटक देखिए। उनले प्राथमिक उपचार थालिहाले। हामी भने हात बाँधेर हेर्न लाचार थियौँ। त्यस्तो अवस्थामा सहयोगी हातको तत्परता र सीप सायद हाम्रो शिक्षादिक्षामा कम छ।

जहाज उड्ने नै भयो।

हामीले सिट बेल्ट बाँध्यौँ। सहयात्रीहरू प्रायः वीरगञ्जतिरका व्यवसायी देखिन्थे। नागरिक उड्डयन मन्त्रालयका एकजना कर्मचारी पनि थिए जो निजगढ विमानस्थल निर्माण तयारीको आन्तरिक काजमा खटिएका रहेछन्।

अर्की एकजना किशोरी भने सिमराकै रैथाने थिइन्। परीक्षाको मुखमा विरामी परेर घर फर्किँदै गरेकी उनले झ्यालबाट तलका दृश्य फर्याकफुरूक अर्थ्याउन थालिन्। पहिलो उडान अनुभव साँच्दै उनले भनिन्, ‘सञ्चो नभएर उडेकी हुँ, नत्र त टाटा सुमोमा कति सस्तो पर्थ्यो।’

अभिभावकहरूले स्कुल सकाएका छोराछोरीलाई राजधानी पठाउने चलन बढेकै छ। सिमरा र वरपर स्कूल त तैबिसेक ठिकठाकै चलेका छन् तर माथि पढ्न माथिकै मुख ताक्नुपर्ने अवस्था छ। काठमाडौं नगई धर छैन। देहात भनेको देहातै हो। विमानको ध्वनि बेइमानी, उनको थिचिएको स्वरमा मैले मुश्किलले बुझेअनुसार त्यस्तै सन्देश थियो।

भुरर्र उडेको जहाजभित्र आफूमात्र हिँड्न मिल्ने बाटोमा विमान पारिचारिकाले चकलेटको थाली घुमाउँदैमात्र के थिइन् डाँफेको वेगमा हामी तलका नागबेली डाँडाहरू छलिवरी भुईँ बस्न झर्यौँ।

युँ उडा, युँ बैठा भन्न मिल्ने फाष्ट ट्रयाकको दुरी।

एउटा सानो जहाज सर्लक्क ओर्लिन र गुड्नसम्म पुग्ने एक चिरा जमिन लमतन्न धावनमार्ग टीठ लाग्ने खालको रहेछ। काँक्राको चिराझैँ सानो सुलुत्त। वरपर सबै निजी भोगचलन चल्ने नै भयो।

देशकै पुरानोमध्येको विमानस्थलको स्तर वृद्धि गर्नुपर्यो भने अब मुआब्जा दिएर के साध्य होला र? सहयात्री अर्पण शर्माले भने, ‘भविष्य हेरेर उही बेला धेरै जग्गा अधिग्रहण गरेको भए के जान्थ्यो होला हगि?’

सायद हाम्रो सोचाईको औकात नै सानो होला कि त? या हामी सपना नै सानो गाँठीका देख्ने होला कि?

विमानस्थलको ढोकामै सिमरा पब्लिक इङ्गलिस स्कुल परिवारका सदस्यहरू उभिरहेका रहेछन्। अध्यक्ष राम अधिकारीले ढाकाको खादा पहिर्याइदिए। स्कुल नजिकै पर्दोरहेछ जसको प्राङ्गणमा भोलिपल्टको समारोहको मञ्च र दर्शकदीर्घाका लागि पाल तथा कुर्चीहरूको व्यवस्था हुँदै थियो।

पार्टी प्यालेसझैँ सजिँदै गरेको स्कुलको बाटो होटलको पायक पथ्र्यो। बाटोमा बिजुली, टेलिफोनका लठ्ठा कतै लत्रिँदै, कतै इत्रिँदै गरेका थिए। केही प्राविधिकले पोलहरूमा त्यस्तै तार तन्काउँदै थिए। अध्यक्ष अधिकारीले तार जोड्दै गरेतिर देखाउँदै भने, ‘भोलि हाम्रो वार्षिकोत्सव यहाँबाट लाइभ गर्दैछन्।’

‘प्रत्यक्ष प्रसारण?’

‘हो,’ उनले भने, ‘ग्लोबल टेलिभिजनले लाइभ गर्दैछ।’

‘ग्लोबल टेलिभिजन?’

‘लोकल केबुल हो,’

‘गजब नाम,’

तीर्थजी मसँग नछुट्टिहालेका भए पक्कै भन्ने थिए, ग्लोबल्ली लोकल वा लोकल्ली ग्लोबल भन्ने शब्दावली गोराहरूले सिमराबाटै टिपेर लगेका होलान्।

सडकका दुवैपट्टि भित्तामा यत्रतत्र टाँसिएका रंगीन पोष्टर सूर्यास्तको मलिनो उज्यालोमा पनि टल्किए। के पसल के पर्खाल नागपञ्चमी आएझैँ सकल फोटो टाँसिएको थियो। श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानी भन्दै पूर्ण नामसहित सचित्र टाँसिएका पोष्टरमा पूर्व रानीको जन्मदिनको बधाई अंकित रहेछ।

स्थानीयहरूले भने, अहिले सिमरामै ‘सवारी’ छ।

पहिला–पहिला हिउँदमा हेटौँडा बस्थे, त्यहाँको शाही निवास नेपाल ट्रष्टमा परेपछि सिमरा आउन थालेका हुन्। नातेदार तथा बालसखा प्रभुशम्शेरको निजी निवासमा बस्न।

पूर्व रानीको जन्मदिन र सिमरा पब्लिक इङ्गलिस स्कूलको वार्षिकोत्सव एकै दिन परेको रहेछ। र, देशमा प्रजातन्त्रको जन्मदिन पनि त्यही थियो। लोकतन्त्र र गणतन्त्रपछि पनि हामीलाई प्रजातन्त्रको दिन उत्तिकै प्यारो छ। हामी तन्त्र प्रयोगमा सिपालु छौँ तर देशको तन्तु फेर्नेमा भने उत्तिकै बुद्दु।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सिमरा बजार सदाझैँ चहलपूर्ण थियो।

होटलको रिसेप्सन लबीमा चुरोटको ठूस्स गन्ध थियो। भित्र भने ‘नो स्मोकिङ’ को चिह्न देखिन्थ्यो। चुरोटेहरूलाई कतै कुनातिर अलग्गै गोप्य ठाउँ पो छुट्याइदिने हो त, कहीँ नपाएर ढोकामै फुँफुँती उडाउन दिने हो र भन्या?

त्यस्तो निःशुल्क सुझाव दिएपछि रिसेप्सनिष्टले टाउको हल्लाए।

लिफ्टवाला अग्लो तर साँघुरो होटलको कोठाबाट पर्दा उघार्दा सिमरा सुनसान देखिन्थ्यो। झ्याल खोलेपछि भने नजीकै व्यस्त राजमार्गको पहिचान खुलिहाल्यो।

स्थानीय भाइहरूले कफीको अफर गरे। ‘यहाँ एउटा पल्पसा क्याफे खुलेको छ,’ उनीहरूले सिमराको सानो शयर पनि गराउने इशारामा भने।

साँझ टहल्लिन हामी पल्पसा क्याफे भनिएको दिशातिर हिँड्यौँ। कुनै कफी हाउस सुरू भयो होला भन्ठानेर तत्काल कफीको तलतल पुनर्स्थापित गरेँ।

पथलैया–वीरगञ्ज सडकमा निस्केका थियौँ। देशकै व्यस्ततम् सडक। ट्रकका ट्रक। अहोरात्र ट्रकका सुस्केराहरूले घर गर्ने खण्ड। वीरगञ्जदेखि जीतपुर, सिमरा हुँदै पथलैया यात्रा गर्नेले सजिलै भन्न सक्छ– नेपालको नशा–नशामा ट्रक घुसेको छ।

सिमरासम्म पहाडी मूलका बासिन्दाको बढी बसोबास छ भने केही तल जीतपुरदेखि मधेसी।

ट्रकमार्गको किनारमा बाहिरबाटै भर्‍याङ उक्लिएर पुगिने भर्खर खुलेको नभन्दै एउटा साइनबोर्ड रहेछ– पल्पसा क्याफे।

तर त्यसमा फुँदा जोडिएर ‘एन्ड सेकुवा कर्नर’ पनि लेखिएको थियो। कफी कर्नर होइन, खासमा सेकुवा र वियर रहेछ। कफीसँग सेकुवा त सायदै कसैले स्वादपूर्वक लेला।

‘पल्पसा क्याफे एन्ड सेकुवा कर्नर’को एउटा टेबलमा हामी गोलबद्ध भयौँ। सेकेन्ड–सेकेन्डमा ट्रकको प्वाँ पुँको पृष्ठभूमिमा एकजना फरासिला भाइले बात्चीत थाले। ‘मैले पल्पसा क्याफे बीस, बाइस चोटि पढेँ होला। यो साथीले अरबबाट फेसबुकमा मेसेज पठाउँथ्यो– देशभित्रै केही गर्न सकिन्छ कि भनेर। फर्केर आएपछि मैले यो उपन्यास पढ भनेर दिएँ।’

भान्छाबाट तिनै भाइ आए जो अरबको भुक्तमान भएर देशभित्रै केही गर्ने अठोटसहित फर्केका रहेछन्। हाँस्दै हाम्रो टेबलमा आएर भने, ‘म उति किताबसिताब पढ्दिन तर यो पढेको त लाष्टै रहेछ....।’

हामी हाँस्यौँ।

उनले थपे, ‘मलाई यो रेष्टुरेन्ट खोल्नु थियो, नाम चाहिँ के राखुँ भन्ने भएको बेला ‘प’ अक्षर फलिफाप हुन्छ भनेर मलाई सुनाए।’

अनि के चाहियो नाम पाइयो भनेझैँ भयो। उनी फेरि भान्छातिर दौडिए। साँझ भनेपछि सेकुवा कर्नरको ‘बिजी आवर’ नै हुने भयो। हामी कफीका लागि पुगेको वियरतिर लहसिन मिल्दैनथ्यो। तातोपानीमा कालो धुलो घोल्ने रेडिमेड कफीले पनि हामीलाई गफगाफतिर सोझ्याइरह्यो।

कफीभन्दा कुरा कडा गर्ने माहौल थियो।

देशभित्रै केही गरौँ भन्ने भावना भएका तन्नेरीहरूले त्यो टेबल जमाएका थिए। उनीहरू सिमराको भविष्यबारे विभिन्न सम्भावना कोरल्दै थिए।

सिमरा गन्तव्य नगर होइन, पायकस्थल खोज्ने प्रवेशविन्दू हो। प्रस्थानविन्दू। कोही कहीँबाट कतै जाने बाटो। तर यस्तो निश्कर्षमा पुगिहाल्ने हो भने यहाँको चकाचौँधको अवमूल्यन हुन्छ। स्थानीयबासीको रैथाने रहरको मानमर्दन हुन्छ।

किन नहोस् त जब ‘राष्ट्रिय गौरव’का तीन–तीन वटा आयोजना यसकै आढमा आउनेवाला छन्। सेज (विशेष आर्थिक क्षेत्र), काठमाडौंदेखि फाष्टट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल।

वीरगञ्जको नजीक हुनुमात्र अब सिमराको परिचय रहने छैन।

वीरगञ्ज चिनी कारखाना बन्द भएपछि त्यसको तीन सय असी बिघा जग्गामा विशेष आर्थिक क्षेत्र बन्दैछ। ‘तीनवटामध्ये कम्तीमा यहीमात्र बनिसक्ला जस्तो लाग्छ हाम्रो जीवनकालमा,’ एकजना व्यावसायीले भने, ‘बाँकी दुईटा त राष्ट्रिय सपना नै बन्न पुग्ने पो हुन् कि?’

त्यसो त लोकतन्त्र आफैँ अमूर्त राष्ट्रिय सपना बनिरहेको छ। गणतन्त्र कायम भएको दशक बित्दा पनि लोकतन्त्रले आकार लिन सकेको छैन। नागरिकले लोकतन्त्रको आभाष पाउन सकेका छैनन्। संक्रमणकालको लम्मेतान सयरमै छौँ।

प्रदेशहरू अझै नक्शामा छन्। सहरका सपनाहरू संगठित हुन पाएका छैनन्। व्यर्थै व्यर्थमा सपनाहरूको अपचलन जारी छ। स्थानीय इकाईहरू साइनबोर्डमा सीमित रहँदा राजनीतिक दलहरू स्वार्थ समूहहरूका गठजोड बन्न पुगेका छन्। देश कर्मचारीले चलाएका छन्।

‘हाम्रो राज्य भनेको कर्मचारीतन्त्र नै हो रहेछ,’ ती व्यवसायीले थपे।

उनले त्यसो के भनेका थिए हाम्रो टेबलका सबै युवाले सरकारी निकायसँगका आफ्ना अनुभव एकपछि अर्को खाप्दै भन्न थाले।
त्यही क्याफे दर्ताका लागि घरेलुमा जाऊ भनेछन्। त्यसका लागि घरवालाको लालपूर्जा चाहिने रहेछ। पाँच वर्षको मञ्जुरीनामासहित। मालपोत तिरेको प्रमाणमात्रले नपुग्ने रहेछ। ‘सात वटा विभिन्न सूची थमाए मलाई,’ ती भाइले फर्केर भने, ‘के–के हो के–के मैले कहिले दर्ता गरिसक्ने?’

अघि नै देखि अलि अनुभवी देखिएका व्यवसायीले फेरि भने, ‘लौ ठीक छ, ठूलो उद्योग खोल्न यतिका प्रावधान लगाइदिए भयो, तर सानो घुम्तीपसल खोल्न पनि उही नियम छ।’

अर्का भाइ कस्सिए। ‘मैले सानो व्यवसाय गर्न थाल्दा भ्याट अफिसले नगरपालिका दौडायो, नगरपालिकाले वडा अफिसतिर पठायो, वडाले गाउँको सिफारिश ले भन्यो,’ उनले भने, ‘कागजमा केही न केही खोट लगाउने ठाउँ भेटिहाल्छन्। देशभित्रै हातमुख जोर्छु भनेर बस्नेलाई किन यतिविधि झण्झट?’

राज्यलाई कर तिर्छु, भ्याट तिर्छु, रोजगारी दिन्छु, मलाई सजिलो बनाइदेऊ भन्न जो जान्छ उसैतिर दूध चोर्ने बिरालोको नजर लाउँछन्। यस्तै उस्तै भन्न उनीहरू हानथाप गरिरहे।

अर्का एक जना भाइले आफ्नो गुह्य खोले। ‘जे पनि दर्ता गर्न सदरमुकाम कलैया पुग्नुपर्छ। जाँदा दुई सय रूपैया, आउँदा दुई सय रूपैया, दुई दिन जाँदाआउँदा आठ सय लाग्ने भयो,’ उनले भने, ‘त्यसो गर्नुभन्दा त पाँच, छ सय (घुस) ले फटाफट हुन्छ भने किन नदिने भन्यो खुसुक्क बुझायो।’

‘यो देशले युवालाई खाडी मुलुकतिर धकेलिरहेको छ, यहीँ बसेर इलम गर्न खोई कहाँ प्रोत्साहन दिएको छ?’ अर्काले चोट पर्ने गरी भने। अर्काले फेरि थपे, ‘आज हाम्रो राष्ट्रियता यही कारण कमजोर हुन पुगेको छ।’

‘राष्ट्रियता?’

‘हो, त्यहीँ तल वीरगञ्जमा हेर्नोस् भारतीय महावाणिज्यदूत अफिस कति सक्रिय छ, बरू त्यसकहाँ भन्न गयो भने तुरून्त काम बन्छ,’ उनले भने, ‘हामीले हाम्रै राज्यसंयन्त्रलाई दबाब दिन के विदेशी कन्सुलरको शरणमा जानुपर्ने?’

स्वदेशी उद्यम विकासमा रहेका विघ्नवाधाबारे कन्सिरी तात्ने कुरा सुनेर होटल फर्कियौँ। स्कूल अध्यक्ष अधिकारी फेरि फुर्सद मिलाएर आइपुगे। उनी त्यसै पनि नवौँ वर्षगाँठको धपेडीमा थिए, उसमाथि कलिला छात्राहरूको कुराले बिथोलिएका रहेछन्।

उनैले त्यो साँझ अवेर भनेपछि पो म झल्याँस्स भएँ जुन स्कूलको वार्षिकोत्सवमा बोल्नु छ उसकै विद्यार्थीहरू वेपत्ता भएका रहेछन्। धन्य, फर्किए। खासमा, फर्काइए।

भएछ के भने, तिनको नाम म यहाँ सार्वजनिक गर्न चाहन्न। बालबालिका न हुन्। त्यसो त स्कूल र अभिभावक मिलेर गरेको पत्रकार सम्मेलनमा बालिकाहरू आफैँ उपस्थित भई खररर्र बोलिसकेका रहेछन्।

यात्रा कुनै न कुनै सोचाइबाट सुरू हुन्छ। उनीहरूको भने सानोतिनो ईखबाट सुरू भएछ।

कक्षा ५ मा पढ्ने मधेसी मूलकी १० वर्षिया बालिकाकी एउटी साथी आफन्त भेट्न परिवारसहित दिल्ली पुगेकी रहिछन्। उनले दिल्ली भ्रमणको वृत्तान्त दिनेक्रममा चाखपूर्वक भनिछन्, गोलमोल बजार नजीक झरना छ, त्यहाँबाट हीरामोती झर्छ।

‘साँच्चै हो ?’

‘गल्ती रहेछ भने मेरो दुबै गालामा थप्पड हानिदिनू,’ उनले भनिछन्। त्यो त चुनौती नै भयो।

हो भने त हीरामोती ल्याउनुपर्‍यो भन्ने उनलाई लागेछ। उनले पहाडी मूलकी आफ्नी सहपाठीलाई सुनाइछन्, दिल्ली गएर हिरामोती टिपेर ल्याऔँ, जाऔँ। कुन सूरमा ती दुईजना त सुटुक्क जाने भएछन्। दुबैले पैसा जम्मा गरेछन्, जम्मा तीन सय दस रूपैया।

स्कुल पहिरनमा परिचयपत्र झुण्ड्याउँदै घर फर्किन भनी हिँडेका ती दुईजना बिस्कुट, चाउचाउ र चिप्स किनेर मुख्य सडकतिर निस्किए। माइक्रो चढे। त्यसमा जीतपुर घर जान फर्किरहेकी अर्की सहपाठी पनि युकेजी पढ्ने ६ वर्षिया बहिनीसहित पहिल्यै चढेकी रहिछन् जसले सोधिन्, तिमीहरू कता हिँडेको?

‘हामी त वीरगञ्ज घुम्न जान लागेको,’ उनीहरूले भनेछन्, ‘जाने भए तिमीहरू पनि हिँड।’

ती दिदीबहिनी पनि लहसिएछन्। आखिरमा चार जनै त्यही माइक्रोमा वीरगञ्ज पुगे।

वीरगञ्जको निशाना मानिने घण्टाघरदेखि मकालु होटलको सिसिटिभीमा देखिएअनुसार एउटा रेक्सा चढेर ती बालिकाहरू रक्सौलको दिशातिर गुडेका थिए।

रेक्सावाललाई भनिदिएछन्, स्कुलबाट घर फर्किन लागेका हौँ। मोलमोलाई गरेर दुई सय रूपैयाँ दिएछन्। साँझ परिसकेको थियो।
दिल्ली जाने रेल त भोलिपल्ट बिहानमात्र आइपुग्ने रहेछ। बरू साँझ अवेर दरभङ्गातिर जाने रेलमै जानु वेस भनेर चढेछन्। स्कूल ड्रेसमा आएकालाई पैसा लाग्दैन भन्ने पहिल्यै पत्ता लगाएका रहेछन्। त्यहाँसम्म त सोचेजस्तै चल्दै थियो।

केही बेरमा सबभन्दा सानी नानीको पेट दुख्यो। उनी रून थालिन्। उनको वेदनाले दिदी पनि रून थालिन्। अरू दुईजना पनि रोए। चारैजना निरीह देखिएपछि रेलको डिब्बामा रहेका यात्रुहरूले सोधखोज गर्न थाले। को हुन् तिमीहरूका अभिभावक भनेर सोध्दा उनीहरूले कथा बनाउन थाले।

स्कुलबाट घर फर्किन लाग्दा अपहरणकारीले ल्याएको र त्यो कुरा बताएमा चक्कू हानेर मारिदिने धम्की दिएको सुनाएछन्। यात्रुहरूले तुरून्तै रेलवे प्रहरीलाई सूचित गरे।

उता घरपरिवारमा उपद्रव भइसकेको थियो। छिनछिनमा स्कुल फोन गर्ने, साथीभाइ, प्रहरी चारैतिर खोजखबर। बच्चा अपहरणको नियमित समाचारबीच आफ्नै बच्चा घर नफर्किँदा उनीहरू चरिफाल हुने नै भए।

अभिभावक र स्कुल परिवार मिलेर प्रहरी गुहार्दै भौँतारिनेक्रममा वीरगञ्जमा सिसिटिभी केलाउन पुगे। त्यही रिक्सा खोज्दै रक्सौल पुगे। रिक्सावाललाई भोलिपल्ट बिहान त भेटे तर बच्चाहरूको मनसुवा थाहा पाउन सकेनन्।

आखिरमा, एकजना अभिभावकको मोबाइलमा फोन आयो सीतामडी प्रहरी थानाबाट। शिक्षक–अभिभावक गाडी रिजर्भ गर्दै बिहारको त्यो सहर पुगे तर भारतीय कानुनअनुसार तत्काल बच्चाहरू सुम्पिन नमिल्ने भनियो। केही दिनसम्म मोजफ्फुरस्थित बाल सुधार गृहमा राख्ने जनाऊ समेत दिइयो।

अर्को गाडी पनि अभिभावक–शिक्षक पुगेर सक्रियता बढाएपछि भारतीय पक्षले पनि तत्काल छाडिदिने तत्परता देखायो। स्वदेश फर्किसकेपछि अभिभावक–शिक्षक सल्लाहमा पत्रकार सम्मेलन भएछ जसमा छात्राहरूले आफ्नो गल्ती सार्वजनिक गरे।

साना नानीहरूले गल्तीबोध गरे पनि घटनाबाट उत्पन्न तनाव स्कूल प्रमुख अधिकारीको अनुहारमा गाढा देखिन्थ्यो।

उनलाई सुनेपछि त्यो साँझ केही बेर म आफ्नै बाल्यकालका लहडमा फर्किएँ। त्यो उमेरताक म पनि एकजना गाउँले साथीको मिलेमतोमा त्यसैगरी भागेको थिएँ।

दमौली तल मादी–सेती किनार तपस्या गर्न चट्टाने गुफातिर हिँड्दा हिँड्दै साँझ ढिप्कियो। नदीको स्याँठ सायद त्यो क्षण बढी चलेको थियो जसले हामीलाई मानसिक ठेगानमा ल्याइदियो। हामी थक्काउँदै घर फर्क्यौं र सुटुक्क सुत्यौँ।

सोचेर ल्याउँदा, जीवनमा जोखिम मोल्ने आँट क्रमशः कसरी हराउँदै गयो छक्क पर्न थालेँ।

त्यो गम्दै भोलिपल्ट बिहान प्रातः भ्रमण गर्दा रेलका पुराना छुटेका लिकहरू फेला परे। रक्सौल–भीमफेदी गुड्ने ऊ बेलाका लिक अझै कताकति रहेछन्, ‘घामका पाइलाहरू’ टेक्दै हिँड्यौँ। इतिहास कुल्चिँदै हिँडेजस्तो भयो।

मुख्य सडकतिर ननिस्कीकन भित्रभित्रै शान्त गल्लीको बाटो। सूर्य नेपालको भव्य गेष्टहाउसअगाडि धुले बाटो हिँड्दैवर्दा टाढाबाटै चारतारे होटलको संकेत देखापर्यो। हालसालै खुलेको होटल। होटल ईच्छा।

‘इच्छा?’

चारतारे होटलको लगानी गर्नेले कम्तीमा नाम त केही सोचविचार गरेरै राख्छ। न पर्यटकीय नाम छ न व्यापारिक न रोमान्टिक न ऐतिहासिक न अतियथार्थवादी। नाम पनि परम्परावादी देखिँदोरहेछ। नेपालीमा लेखेको भए त त्यही पनि शुद्ध क्रान्तिकारी ठहरिन्थ्यो होला।

नाम जे होस् कम्तीमा यहाँ कफी त असली पाइएला भन्ने लागेर गेटबाट पस्यौँ। नयाँ होटलको नयाँ सजधज। सिमरामा त्यत्तिको होटल भनेको ठूलै उपलब्धी हो। स्विमिङ पूल, मनोरञ्जनात्मक खेल सामाग्रीसहित बालबालिका खेल्ने बगैँचा, सन्ध्याकालीन पार्टी गर्ने फराकिलो दूबो ग्रामबीच सानो एउटा क्याफे थियो जहाँ कफी पक्कै बसाउने थियो। पारदर्शी शिशाको झ्यालबाट कफी मेसिन देखियो तर कफी बनाउने बारिष्टा थिएनन्।

कोही न कोही त होला जसले मेशिन झररर्र पार्दै कफी पस्केला भन्ने खोज्न थालेँ। होटल रिसेप्सनतिर गएको त कांग्रेस सांसद अमरेशकुमार सिंह सुटकेश लिएर निस्किँदै रहेछन्। भने, ‘यत्ति राम्रो होटल पूर्वमा सप्तरीदेखि पश्चिममा बाँकेसम्म अर्को कुनै छैन।’

उनी अहिल्यै जहाज उड्दैछ भनेर हतारिए। म अर्को ढोकाबाट बारिष्टा खोज्दै पसेँ। त्यतातिर त ब्रेकफाष्ट रेष्टुरेन्ट पर्दोरहेछ। भारतीय राजदूत रञ्जित रे प्लेटभरि ब्रेड र अग्डमबग्डम लिएर टेबलतिर जाँदै थिए।

‘गुड मर्निङ,’ अभिवादन साटासाट भयो। उनले सोचे होलान्, म पनि त्यही होटलको अतिथि हुँ।

‘हाउ डु यु डु ?’ दुबैको उस्तै सोधाई भयो। उनी कार्यकाल सकेर फर्किन लागेका थिए। त्यस भेगका एकजना जानकारबाट थाहा भयो, राजदूत आफ्नो डाडूपन्यूबाट जुन–जुन निर्वाचन क्षेत्रका लागि तजबिजी बजेट छर्ने गर्थे, तिनैको विदाइ भ्रमण गर्दै हिँडेका हुन्।

म बाहिर छड्किएँ। एकजना स्टाफले कफी बनाउने व्यक्ति दिउँसोमात्र आइपुग्ने बताए। उनैसँग सोधखोज गर्न थालेँ। सिमराजस्तो सानो सहरमा यत्रो भव्य होटल कसले बनाएको हो ?

‘एकजना वाग्लेको हो,’ उनले भने।

‘वाग्लेको ?’

‘इच्छाबहादुर वाग्लेको,’ उनले भने।

होटलको शुभनामको रहष्य थाहा भइहाल्यो। त्यतैतिर उद्यम–व्यवसायबाट तरक्की गर्न पुगेका कुनै वाग्लेले होटल खोलेर आफ्नै नाम जगन्नाथ पार्न भ्याएका रहेछन्। हरेकलाई आफ्नै नाम माथिल्लो तलामा ढलान गर्ने ईच्छा हुँदोरहेछ।

पुरानो रेलको लिकको बाटो फर्कियौँ। स्कूलको वार्षिकोत्सव समारोह सुरू हुने बेला घोषणा हुँदै थियो।

ठूलो माइक लगाइएको मात्र थिएन, ‘ग्लोबल टेलिभिजन’ले ‘लाइभ’ पनि गर्दै थियो। समारोह जसमा शिक्षा अधिकारीहरू, अभिभावक तथा विद्यार्थीहरू आउँदै थिए।

म मञ्चमा उक्लिएँ। ‘प्रमुख अतिथि’को व्याच मेरो छातीमा चसक्क गर्‍यो। आँतमा संकोच मान्दामान्दै पनि म निसंकोच अनुहारमा उभिएँ।

दर्शकदीर्घाका अघिल्तिर ससाना भान्टाङभुन्टुङदेखि क्रमशः उमेर बढ्दै गएको तह देखिन्थ्यो र पछाडिपट्टि अभिभावकहरू। मैले ती छात्राहरूका अनुहार नियाल्न खोजेँ।

एक छिन गम खाँदै सोचेँ, त्यो उमेरमा के म फरक थिएँ र? मैले हरेक जोडी आँखा परख गर्न खोजेँ, सबैमा उस्तै जिज्ञासा र उत्सुकता हुनुपर्थ्यो। कोही किन फरक होस्? या फरक किन नहोस्?

मैले भनेँ, ‘हामी सबैको जीवनमा राति–राति हजुरआमाले सुनाउने कथाको ठूलो महत्व छ है।’

हरेकले आफ्ना नानीलाई राति केही न केही कथा सुनाउने गर्नुहोला। कथाले कलिला मष्तिष्कमा कल्पना बढाउन सहयोग गर्छ। कथामा रोमाञ्चकता र उत्सुकता जति चुनौती र विघ्नवाधा पनि सञ्चार गर्न सक्यौँ भने हाम्रा बालबालिकाले अझ धेरै कथा माग्नेछन्।

छोराछोरीले जति धेरै कथा माग गर्छन्, उति हामी धेरै कथा बनाउन प्रेरित हुनेछौँ।

सायद हामीलाई धेरै कथा चाहिएको छ। सहरहरूलाई सपना चाहिएसरह। अनि देशलाई सहर तथा गाउँहरूका सोचाइहरू। सिमराको व्यावसायिक सोचविचारका ससाना सुस्केराहरू मैले जसरी एक साँझकै बसाईमा एक सरो सुन्न पाएँ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा