तेह्र सय वर्ष लामो नेपाली अर्थतन्त्रको 'हेलिकप्टर यात्रा'

  • Get News Alerts

सन् १८९० सम्म पनि अमेरिका, बेलायतजस्ता विश्वका शक्तिशाली मुलुकहरूलाई घोडाको लिदी व्यवस्थापनले नै टाउको दुखाएको थियो। बग्गी चलाउने घोडाको लिदी तह लगाउन नसकेर न्यूयोर्क, लन्डनजस्ता अहिलेका सुविधासम्पन्न सहरहरू महामारी फैलिने डरले आक्रान्त थिए। पानी पर्दा लिदी बगेर घरभित्रै आउँथे। सडक त हिँड्न सक्नेधरि हुँदैनथे। तिनको गन्धले ओजोन तहमा अहिलेका गाडीले भन्दा बढी असर गर्थ्यो। यसैको समाधान खोज्न सन् १८९८ मा अन्तर्राष्ट्रिय सम्मेलन डाकिएको थियो, जसले कुनै गतिलो उपाय भने सुझाउन सकेन।

यो कुरा सुन्दा आज हामीलाई अपत्यारिलो लाग्न सक्छ। तर, यही घटनालाई त्यतिबेलाको विश्व अर्थव्यवस्था र गरिबीसँग दाँजेर हेर्ने हो भने यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन। किनकि, आजभन्दा सय वर्षअघि विश्वका ८० प्रतिशतभन्दा बढी जनसंख्या चरम गरिबीमा बाँचिरहेका थिए। खान–लाउनधरि नपुग्ने विषाद स्थितिमा घोडाको लिदी तह लगाउने आर्थिक हैसियत र प्राविधिक क्षमता नहुनु अस्वाभाविक होइन।

आज हामी जुन आर्थिक समृद्धि र सम्पन्नताको कुरा गर्दैछौं, त्यो आधुनिक विश्व इतिहासका लागि नयाँ विकासक्रम हो। सन् १८२० सम्म विश्वका ९० प्रतिशतभन्दा बढी जनसंख्या अत्यन्तै गरिब थिए। त्यसको सय वर्षपछि पनि विश्वव्यापी गरिबीमा खासै सुधार आउन सकेको देखिँदैन। सन् १९२० सम्म चरम गरिबीमा बाँचिरहेका विश्व जनसंख्याको हिस्सा लगभग ८० प्रतिशत थियो। त्यसपछि भने गरिबीको स्तर घट्दै गयो। पचास वर्षपछि १९७० सम्म आइपुग्दा गरिबीको स्तर विश्व जनसंख्याको ६० प्रतिशतमा झरेको थियो। आज संसारभरिका १० प्रतिशतभन्दा कम जनसंख्या मात्र चरम गरिबीमा छन्।

विश्वव्यापी गरिबीको यो ‘ट्रेन्ड’ विश्लेषण गर्दा नेपाल मात्र यो चक्रबाट अलग थियो र हाम्रा पुर्खा त्यतिबेला तुलनात्मक रूपले सम्पन्न थिए भन्ने सवालै आउँदैन। बाँकी विश्वजस्तै हाम्रो पनि इतिहास चरम गरिबीबाटै सुरु हुन्छ, यसमा कसैले दुबिधा नराखे हुन्छ।

म यहाँ त्यति बेलाको कुरा गर्दैछु, जब पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारको अभियान सुरु गरेकै थिएनन्। 

त्यो समय ‘नेपाल’ भनिने काठमाडौं उपत्यकाका तीन राज्यबाहेक अन्य सबै भू–भाग अत्यन्तै गरिब थिए। बाइसे, चौबीसे भनिने सबै राज्यको अर्थतन्त्र जीविकामुखी थियो। पुँजी सिर्जनाको कुनै स्रोत थिएन। गोर्खा राज्य आफैंमा कति गरिब थियो भन्ने त्यहाँको दरबार घुम्दा पनि छर्लंग हुन्छ।

काठमाडौं, भक्तपुर र ललितपुरका राजा बस्ने तीनवटा दरबारसँग दाँज्ने हो भने पृथ्वीनारायण शाह बस्ने गोर्खा दरबार एउटा ठूलो आकारको सामान्य घरभन्दा बढ्ता केही लाग्दैन। गोर्खा दरबारमा रंगमहल भन्ने एउटा खण्ड छ। राजा र राजपरिवारका सदस्यले मनोरञ्जनका निम्ति प्रयोग गर्ने यो खण्ड दरबारकै सबभन्दा भव्य हुनुपर्थ्यो। गोर्खा दरबारको रंगमहल भने अतिसाँघुरो छ। बाँकी कोठा पनि सामान्य र साँघुरा छन्। अधिकांश ढोका निहुरिएर हिँड्नुपर्ने गरी होचा छन्।

सन् १८०१ मा नेपाल आएका ह्यामिल्टनले यहाँको सामाजिक–आर्थिक स्थितिबारे गरेका वर्णनले त्यो बेलाको गरिबी प्रस्ट झल्काउँछ। उनले लेखेका छन्- ‘पूर्वी तराईमा किसानहरू गरिब थिए। उनीहरूको घर भनेको खडाईले बारेका सामान्य झुपडी थिए। ती झुपडी साना, फोहोर र चिसो छेक्न नसक्ने खालका थिए। उनीहरू कहिल्यै नरंग्याइएका, कहिल्यै नधोइएका सुतीका टुक्राटाक्री कपडाका रूपमा लगाउँथे। भारतको बंगालतिरका किसानको भन्दा तिनको स्थिति दयनीय थियो।’

शाहवंशका प्रथम राजा कुलमण्डन शाहका पालामा पनि दरबारका एक सुवेदी पण्डितले विभिन्न राज्य भ्रमण गरी यात्रावृत्तान्त लेखेका थिए। मानसरोवर यात्रा गर्न हिँडेको भनेर धेरै राज्य घुम्दै गएका ती पण्डितको परोक्ष लक्ष्य भने कुलमण्डनका छोराका लागि सुहाउँदो राजकुमारी खोज्नु थियो। यसका लागि ती पण्डित मानसरोवरसम्म पुगेका थिए भन्ने इतिहासकारहरूको भनाइ छ। उनले जुम्लाकी १३ वर्षीया राजकुमारी चन्द्रावतीको सौन्दर्य यसरी वर्णन गरेका छन्– ‘जुम्लाका राजा मान शाहीको १३ वर्षकी छोरी चन्द्रावतीको अनुहार फुस्रो, खैरो कपाल, दुब्ली कृषकाया, फोहोरी, जगल्टा लट्टा परेको, फिँजारिएको रौं रहेछ।’ 

जुम्ला भनेको त्यति बेलाको ठूलो राज्य हो। कुलमण्डन शाहको दूत बनेर राजकुमारी हेर्न गएका पण्डितसामु त्यस्तो राज्यकी राजकुमारी जसरी उपस्थित भइन्, त्यसले दरबारको दुःख झल्काउँछ। राजकुमारीको त यस्तो बेहाल थियो भने जुम्लाका नागरिकको गरिबी त्यसै अनुमान लगाउन सकिन्छ। योगी नरहरिनाथले 'इतिहास प्रकाश' मा प्रस्तुत गरेको विसं १९०३ को एक रेकर्डअनुसार जुम्लाकी ज्युना चुडारालाई पाँच क्विन्टल चामल बराबर मूल्यमा (बीस रुपैयाँ) दासीका रुपमा बेचिएको थियो। मान्छेको मूल्यविहीनता र राज्यको बेथितिका उदाहरण खोज्दै गए अरु पनि निकै भेटिन्छन्। त्यो समाजमा साहित्य, संगीत, भौतिक संरचना आदिमकालीन प्रकृतिको भन्दा अरु भेटिने सम्भावना निकै कम हुन्छ।

उनै पण्डितले जाजरकोटमा देखेको दृश्य पनि आफ्नो यात्रावृत्तान्तमा उतारेका छन्। जाजरकोटका मान्छेको धेरै गाँड आएको र पँधेरोको पानी खराब भएको उनले उल्लेख गरेका छन्। गाँड आउनु भनेको आयोडिनको कमी हुनु हो। यसले जाजरकोटका नागरिक पोषिलो खानेकुराबाट वञ्चित थिए भन्ने झल्काउँछ। पँधेरोमा स्वच्छ पानी नपाइने स्थितिले रोगव्याधिको प्रकोपतर्फ संकेत गर्छ। खानेपानी जोहो गर्न जनताले धेरै समय व्यतीत गर्नुपर्ने स्थिति यसले देखाउँछ। यो आज पनि नेपालको अधिकांश ग्रामीण क्षेत्रका लागि दुःखद यथार्थ हो।

त्यही समय काठमाडौं उपत्यकाका राजा र जनता भने बाइसे-चौबीसे राज्यको तुलनामा समृद्ध र संस्कारी थिए। समृद्ध र संस्कारी भन्नेबित्तिकै के-के न रकेटै उडाउन लागेका, शल्यक्रियादेखि सबै विद्या जानेका भनेको हैन, तुलनात्मक रुपमा संस्कारी थिए भन्न खोजिएको मात्र हो। काठमाडौं उपत्यकाको समृद्धि पुष्टि गर्ने अनेक घटना इतिहासमा दर्ज छन्।

कुनै पनि राज्यको समृद्धिलाई दुइटा आधारमा हेर्नुपर्छ — पुँजी निर्माण र कला–कौशलको प्रवर्द्धन।

पुँजी गणना गर्दा जनसंख्यालाई एक मुख्य आधारका रूपमा लिने गरिन्छ। त्यो युगमा सबै राज्यको निम्ति कृषि नै मुख्य पेसा थियो। खेतमा काम गर्ने मान्छे जति धेरै भयो, उत्पादन उति बढी हुन्थ्यो र जग्गा कम खेर जान्थ्यो। उत्पादन जति बढी भयो, पुँजी र राज्यको कुल गार्हस्थ्य उत्पादन स्वतः वृद्धि हुने भइहाल्यो। त्यति मात्र नभई ठूलो जनसंख्या भएको राज्यमा व्यापारको आधार पनि फराकिलो हुन्छ। यसले धेरै उद्यमीहरुलाई धनी भन्ने आधार सिर्जना गर्छ।

अर्थशास्त्री तथा इतिहासकार एंगस म्याडिसनका अनुसार चीन र भारत मध्ययुगमा संसारकै आर्थिक शक्तिराष्ट्र हुनुमा उनीहरूको विशाल जनसंख्या नै एक प्रमुख कारण थियो। जब प्रविधिले फड्को मार्यो, आर्थिक शक्तिलाई औद्योगिकीकरणले डोर्याउन थाल्यो। यसले चीन र भारतमा रहेको शक्ति उच्चतम प्रविधियुक्त अमेरिका र युरोपतिर सर्यो।

नेपाल एकीकरणअघि हाम्रा बाइसे-चौबीसे राज्यको जनसंख्या अत्यन्तै कम थियो। पृथ्वीनारायण शाहले एकीकरण अभियान सुरु गर्नु ठीकअघि गोर्खाकै जनसंख्या १२ हजार घरधुरी मात्र थियो भन्ने इतिहासमा छ। अर्को शक्तिशाली राज्य तनहुँको जनसंख्या पनि १२ हजार घरधुरी नै थियो। कास्की र लमजुङको जनसंख्या आठ–आठ हजार घरधुरी मात्र थियो। नुवाकोटमा त अझ ६ सय घरधुरीभन्दा बढी थिएन। त्यो बेला अलि बढी जनसंख्या भएका पाल्पा र जुम्लामा २४–२४ हजार घरधुरी मात्र बसोबास गर्थे। समृद्धि र संस्कारको कुरा गर्दा यी राज्य कस्तो अवस्थामा थिए भन्ने जुम्लाकी राजकुमारी चन्द्रावतीको रूप वर्णनबाटै छर्लंग हुन्छ।

यति कम जनसंख्या र आधुनिक कृषि प्रणाली विकास नभएको त्यो बेला अरू कुनै स्रोतबाट टन्न खेती गरेर उत्पादन वृद्धि गर्ने गुञ्जायसै थिएन। बसोबासको ढाँचा आफैंमा अनुत्पादक थियो। कृषिका लागि उर्वर समथर क्षेत्र घना जंगलले ढाकिएको हुन्थ्यो भने मान्छे माटोको माथिल्लो पत्र (टप सोयल) पातला भएको र भूक्षयको डर हुने डाँडाकाँडामा बस्थे, जुन खेतीका लागि उपयुक्त हुँदै होइन। यसले उत्पादन र पुँजी वृद्धिमा ती राज्य स्वाभाविक रूपले पछाडि परे।

त्यसमाथि त्यो लडाइँको युग थियो। नेपालभित्र मात्र होइन, भारतवर्षमा समेत लडाइँकै माध्यमबाट शासनसत्ता हत्याउने जमाना थियो। दक्षिणका भारतीय राज्यहरुको लडाइँ-झगडाले नेपालभित्र पनि प्रत्यक्ष असर पार्थ्यो।

भारतवर्षमा मुसलमानहरुको आगमनका मुख्य घटनाहरु सन् ११९२ मा महमद घौरीले पृथ्वीराज चौहानलाई हराएपछि र सन् १२०४ मा बख्तियार खिल्जीले बंगाल जितेपछि भए। नेपालमा कान्यकुब्जी ब्राह्मणहरुको प्रवेश मुख्य गरी त्यही समयतिर भएको थियो। लगभग ९० वर्ष बाँचेर सन् १७०७ मा बितेका औरंगजेब सिद्धिनरसिंह मल्ल र प्रताप मल्लका समकालीन थिए। उनले पनि हिन्दुहरुलाई दिनु दु:ख दिएका थिए। धेरैजसो हिन्दुहरु त यिनकै शासनकालमा भारतबाट भागेर नेपाल छिरेका थिए। 

औरंगजेबको हिन्दुहरुप्रति नकारात्मक रवैयाको भुक्तमान रत्न मल्लको पालादेखि काठमाडौं छिरेका मुसलमानहरुले पनि हुनुपरेको थियो। काठमाडौंका मान्छेले राजा महिन्द्रसिंह मल्लको पालामा (सन् १७१५-१७२२) यहाँ भएका मुसलमानलाई मार्नै लागेका थिए, केहीलाई त मरिदिएका पनि थिए। भारतमा मुसलमानहरुको राज्य हुँदा नेपालका शासकहरुले दुश्मन राज्यको शासन दक्षिणतिर छ भनेर सम्झनुपर्ने हुन्थ्यो। पहाडका राजाहरुले हरेक दिनजसो युद्ध संघारमै आएको महसुस गर्नुपर्थ्यो। नरभूपाल शाहका हजुरबुबा पृथ्वीपति शाहले सानो भए पनि तोप ल्याएर गोर्खामा जडान गरेका थिए, जुन पहाडतिरका अरु राजाले गरेका थिएनन्। गोर्खामा ४७ वर्ष शासन गरेका पृथ्वीपति पनि औरंगजेबकै समकक्षी थिए र औरंगजेबले जस्तै लामो समय शासन गरेका थिए। 

यसरी गरिबी र त्रासमा बाँचिरहेका पहाडी राज्यहरुमा खेतीपाती र युद्धको तयारीबाहेक अरु काम गर्न न श्रमशक्ति थियो न त अरु कुनै स्रोत। खेतीपाती र लडाइँमै जनताको समय गएपछि कलाकौशल, साहित्य सिर्जना र संगीत साधनामा लाग्ने कहिले?

यी सबै दृष्टिमा काठमाडौं उपत्यकाका तीन राज्य अरूभन्दा अब्बल थिए।

काठमाडौं उपत्यकाको जनसंख्या ५० हजार घरधुरी थियो। यहाँको फराकिलो भू–बनोट अहिले पनि खेतीका लागि मलिलो मानिन्छ। उत्पादन र पुँजी निर्माणका दृष्टिले यी दुवै उपयुक्त अवस्था हुन्। यही आर्थिक समृद्धिले नै काठमाडौंमा त्यतिबेलै कला–संस्कृतिको प्रचुर विकास सम्भव भएको हो। काष्ठमण्डपजस्तो संरचना आजभन्दा १३ सय वर्षअघि सन् ७४१ आसपास निर्माण हुनुले यही दर्शाउँछ। चाँगुनारायण, स्वयम्भू, पशुपतिनाथ र उपत्यकाभरि जुन स्तरमा स्तुप तथा संरचनाहरू निर्माण भएका छन्, त्यो काठमाडौंभन्दा बाहिर देखिँदैन। 

सन् १२५५ मा राजा अभय मल्लको पालामा नेपालमा ठूलो भुइँचालो गएको थियो। राजासहित १५ देखि ३० प्रतिशत जनताको ज्यान गयो। त्यो भुइँचालो जाँदा पाटनका बलबाहु (अरनिको) दस वर्षका थिए। भुइँचालो गएको पाँच वर्षपछि तिब्बतका फाग्पा लामाको निमन्त्रणामा स्वर्ण स्तुपा बनाउन भनेर अरनिको तिब्बततिर लागे। अरनिकोको कथाले पनि त्यस बेला काठमाडौंको सांस्कृतिक अवस्थाबारे जानकारी दिन्छ।

काठमाडौं समृद्ध हुनुको अर्को महत्वपूर्ण कारण तिब्बत र भारतसँगको व्यापारिक सम्पर्क पनि हो।

यहाँका बासिन्दाले त्यति बेलै तिब्बत र भारतसँग सम्पर्क गरेर व्यापार गर्न थालिसकेका थिए। तिब्बतसँगको सम्पर्क लिच्छिवि कालबाटै चलिआएको थियो। लिच्छिवि राजा नरेन्द्रदेव निर्वासित भएर तिब्बत गएका थिए। मगधका राजा हर्षवर्द्धनको मृत्‍युपछि त्यहाँ बसेका चिनियाँ राजदूत वाङ हुआन च लाई नयाँ राजा अरुणास्वले दुर्व्यवहार गरेपछि वाङले बदला लिन चीनको सेना लिएर मगध आक्रमण गरेका थिए। चिनियाँ थाङ वृत्तान्तका अनुसार त्यसबेला वाङलाई नरेन्द्रदेवले निकै सहयोग गरेका थिए। यसरी नरेन्द्रदेव चीनसँगको सम्बन्ध विस्तार गर्ने एक महत्वपूर्ण आदिनरेशका रुपमा देखा पर्छन्।

चिनियाँहरुलाई बाहिरिया ठान्ने सोच त जंगबहादुरको पालासम्म पनि थिएन। जंगबहादुरलाई उद्धृत गर्दै लेखिएको एक किताबमा चिनियाँहरु श्रृङ्गी ऋषिका सन्तान हुन् भनेरसम्म भनिएको छ। त्यसैले पनि नरेन्द्रदेवलाई मगधविरुद्ध चिनियाँहरुलाई सहयोग गर्न हिच्किचाहट नभएको हुँदो हो। त्यही बेला तिब्बतसँग गाँसिएको सम्बन्धले पछि व्यापारिक रूप लिएको इतिहासकारहरूको भनाइ छ।

त्यति बेला तिब्बतसँगको व्यापार भनेको यताबाट अन्न लगेर नुनसँग साट्ने हो। भारतसँग भने मुख्यत: सुतीको व्यापार हुने गरेको थियो। सन ७९५ मा प्रकाशित अरबी किताब 'हुदुद-अल-आलम' मा नेपाल (काठमाडौं) बाट गएको ऊन, चौंरीको पुच्छर लगायत वस्तुबारे उल्लेख छ। यसले काठमाडौंबाट यी वस्तुको व्यापार हुन थालिसकेको संकेत गर्छ।

राजा नरेन्द्र देवको अर्को विशेषता भनेको उनले काठमाडौं उपत्यकामा थुप्रै जात्रा चलाएका थिए। जात्रा भनेको मनोरञ्जनको माध्यम हो। आफ्ना नागरिकको मनोरञ्जनका लागि जात्रा चलाउने हैसियत राख्नुले राज्यको समृद्धि आँकलन गर्न सकिन्छ।

अर्कातिर, लिच्छिवि कालमै काठमाडौं खाल्डो तिब्बतदेखि भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन थालेको थियो। तिब्बतका लामा गुरुहरू भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा अध्ययन गर्न जाँदा काठमाडौं खाल्डोकै बाटो प्रयोग गर्थे। काठमाडौं उनीहरूका निम्ति बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो भनी इतिहासकारहरूले बताउँदै आएका छन्।

यसको कारण के भने, तिब्बत र भारतबीच ओहोरदोहोर गर्न सबभन्दा उपयुक्त मार्ग नै यही थियो। अहिले पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हवाई यात्रा गर्ने हो भने हिमालपारि जाने भञ्ज्याङहरू ठाउँठाउँमा देखिन्छन्। तीमध्ये केरुङ र तातोपानी नाकालाई सबभन्दा सहज मानिन्छ। दुवै नाका काठमाडौंसँग जोडिएका छन्। यही सहज पारवहन मार्गले जोडेको व्यापारिक सम्बन्धले काठमाडौंलाई अन्य राज्यको तुलनामा धन आर्जन गर्न सहयोग पुर्याएको इतिहासकारहरू जिकिर गर्छन्।

काठमाडौंभन्दा बाहिर बरु मुस्ताङ समृद्ध हुने सम्भावना देखिन्छ। मुस्ताङको तेताङ अहिलेसम्म पनि नेपालको एक्लो नुन खानी मानिन्छ। त्यसबाहेक थाक खोलाका थकालीहरुको व्यापारिक कौशलता र तिब्बतसँगको सजिलो दुरीका कारण मुस्ताङ कुनै बेला तुलनात्मक रुपमा सम्पन्न थियो होला भन्न सकिन्छ। मुस्ताङमा त्यही बेला थाङ्काको कालिगढी खारिएको थियो। यो तब मात्र सम्भव छ, जब राज्यले नै रुचि देखाएर कालिगढहरूलाई प्रोत्साहित गर्छ, उनीहरूलाई पूर्णकालीन थाङ्का बनाउन राज्यले नै सुविधा र वातावरण उपलब्ध गराउँछ। आर्थिक रूपले गरिब राज्यमा यस्तो सम्भवै हुँदैन। मुस्ताङमा थाङ्काको कालिगढी फस्टाउनुले त्यहाँ पुँजी विकास भइसकेको र आम्दानी बचत थियो भन्ने देखाउँछ।

काठमाडौं उपत्यकाको अवस्था ठ्याक्कै यही हो।

काठमाडौं उपत्यका कतिसम्म समृद्ध थियो भन्ने त्यतिबेलाका शिलालेखहरूले पनि पुष्टि गर्छन्। इतिहासकारहरूका अनुसार पाँचौंदेखि एघारौं शताब्दीसम्म लगभग साढे छ सय वर्षको लिच्छिवि शासनकालका दुई सयभन्दा बढी शिलालेख फेला परेका छन्। मध्यकालीन इतिहासका ती अभिलेख काठमाडौं उपत्यकाको सम्पन्नता झल्काउने दस्तावेज पनि हुन्। ती शिलालेखहरु राजा वा रानीका मात्र छैनन्, रत्न सिं, गुह्यमित्रजस्ता सार्थवाह (फिरन्ता व्यापारीहरुका नाइके) हरुका पनि छन्। आजभन्दा पन्ध्र सय वर्षअघि नै आफ्नो शासनकालको ऐतिहासिक प्रामाणिकता पुष्टि गर्न यस्ता शिलालेख तथा अभिलेख गाड्नुलाई एक किसिमले समृद्धिको प्रतीक मान्न सकिन्छ।

समृद्धि झल्काउने ऐतिहासिक अभिलेखको कुरा गर्दा, विसं ५२१ देखि ५६२ सम्म शासन गरेका मानदेवले आफ्नो नाममा मुद्रा चलाएका थिए। मानदेवको शासनकालमा तिब्बत र भारतसँगको व्यापार खुब फस्टाएको थियो। लिच्छिवि कालमै छैठौं शताब्दीको अन्त्यतिर राजा शिवदेव र उनका महासामन्त अंशुवर्माले गोकर्णमा नौतले कैलाशकुट भवन निर्माण गरेको इतिहासमा चर्चा छ। त्यति बेला नेपाल आएका चिनियाँ यात्री सुआन चाङले उक्त भवनको कलाकृति र सुन्दरताको तारिफ गरेका छन्। उनले आफ्नो यात्रावृत्तान्तमा काठमाडौं राज्य सम्पन्न थियो भनेर पनि उल्लेख गरेका छन्। 

सुआन चाङ खासमा लुम्बिनी भ्रमण गर्न आएका थिए भनिन्छ। उनले काठमाडौं घुमेको रेकर्ड छैन। तर, आफ्नो यात्रावृत्तान्तमा उनले काठमाडौंको सम्पन्नताको वर्णन गरेका छन्। यसले पनि काठमाडौंको समृद्धि चर्चा नेपालका अन्य राज्यमा फैलिसकेको थियो भन्ने बुझिन्छ।

मल्लकालसम्म आइपुग्दा काठमाडौं राज्यको समृद्धि अझ बढेको थियो भन्नेमा इतिहासकारहरूको एकमत छ। त्यति बेला तिब्बतलाई चाहिने मुद्रासमेत काठमाडौं आफैंले उत्पादन गरी आपूर्ति गर्न थालेको थियो। एक रुपैयाँको सिक्का बनाउँदा ३३ पैसाको तामा प्रयोग हुने गरेको रेकर्ड छ। यसले काठमाडौंलाई कमिसन मात्र प्राप्त भएन, तिब्बत व्यापारमा काठमाडौंको एकाधिकारकै स्थिति बन्यो। 

खासगरी विसं १७०० तिर भीम मल्लका पालामा तिब्बतीहरूले नेपाली व्यापारीलाई उतै बसोबास र बिहेबारी गर्ने अनुमति दिएको देखिन्छ। यस्तो बिहेबारीबाट छोरी जन्मे तिब्बती हुने र छोरा भए नेपाली हुने सम्झौता भएको इतिहासमा छ। मल्लकालकै चर्चित राजा प्रताप मल्लको पालामा आउँदा त काठमाडौंले आफ्नो सर्तबमोजिम तिब्बतसँग व्यापार गर्न थालिसकेको इतिहासमा उल्लेख छ

कतिसम्म भने, तिब्बतको ‘सिगात्से’ भन्ने ठाउँको नामाकरण नै नेवार व्यापारीहरूले गरेको किम्बदन्ती छ। त्यो ठाउँमा दसवटा घर थिए रे। व्यापार सिलसिलामा तिब्बत जाने नेवारहरू त्यहीँ बास बस्थे रे। त्यही दसवटा घरलाई नेवारीमा ‘झिखा छेँ’ भन्दाभन्दै सिगात्से नाम रहन गएको भनाइ छ। नेवारीमा ‘झिखा’ को अर्थ दसवटा हो भने ‘छेँ’ को अर्थ घर हो। यसलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण भने छैन।

मल्लकालमा राज्यको समृद्धि राजामा मात्र सीमित नरही जनस्तरमा समेत फैलिसकेको थियो। यसलाई पुष्टि गर्ने उदाहरण भनेका कमल वन हुन्। जयप्रकाश मल्लको पालामा काठमाडौंमा बसोबास गर्ने संन्यासी समुदायका कमल वन सबभन्दा धनी मान्छे थिए। उनले काठमाडौं आक्रमण गर्ने गोर्खाली राजा पृथ्वीनारायण शाहदेखि जयप्रकाश मल्ल स्वयंलाई ऋण दिएको इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाह हतियार किन्न भारतको वनारस जाँदा कमल वनसँग १२/१३ हजार रुपैयाँ ऋण लिएर गएको देखिन्छ।

दरबारभित्रकै आन्तरिक कलहको चपेटामा परेका र श्रीमतीले समेत असहयोग गरेका राजा जयप्रकाश मल्लले पनि लडाइँ लड्न कमल वनसँगै आर्थिक सहयोग माग्नुपरेको थियो। उनले आफ्नी आमा कुमुदिनी देवीका गरगहना धितो राखेर ६ हजार ऋण लिन खोजेको इतिहास छ। धादिङको जग्गा धितो राखेर एक लाख रुपैयाँ ऋण लिएको पनि देखिन्छ। जयप्रकाश मल्ल लडाइँ हार्दै गएपछि कमलवनले ऋण तिर्न ताकेता गर्दै चिठी लेखेको इतिहासमा उल्लेख छ।

काठमाडौं राज्यको यही समृद्धि र सम्पन्नताबाट लोभिएर नै पृथ्वीनारायण शाह यहाँ आक्रमण गर्न प्रेरित भएको केही इतिहासकारको भनाइ छ। यसमा सत्यता छ कि छैन यकिन भन्न सकिन्न। तर, काठमाडौं जितेपछि विस्तारित गोर्खा राज्यको राजधानी काठमाडौंलाई नै बनाउने निर्णयमा यहाँको समृद्धि र सम्पन्नता नै कारक थियो भन्नेमा कसैको दुबिधा छैन। 

यति मात्र होइन, पृथ्वीनारायण शाहले काठमाडौं राज्यमाथि विजय हासिल गर्न जुन रणनीति लिए, त्यो पनि यहाँको आर्थिक समृद्धिको जग हल्लाएर राज्यलाई कमजोर तुल्याउने षड्यन्त्रसँग नै जोडिएको छ।

उनले काठमाडौं जित्ने अभियानअन्तर्गत सबभन्दा पहिला नुवाकोटमाथि धावा बोलेका थिए। नुवाकोट जितेपछि तिब्बतसँग व्यापार गर्ने काठमाडौंको एउटा महत्वपूर्ण केरुङ नाका गोर्खाको कब्जामा गयो। यसबाट धर्मराएका जयप्रकाश मल्ललाई कमल वनले पनि पत्याएनन्। यो पृथ्वीनारायण शाहको निम्ति ठूलो जित थियो।

नुवाकोट जितेपछि पृथ्वीनारायणले कीर्तिपुर हमला गरे। जब त्यहाँ नराम्ररी पराजय भोग्नुपर्यो, उनले काठमाडौंलाई चारैतिरबाट घेरेर आर्थिक नाकाबन्दी गर्ने निधो गरे। यसका लागि चौकोठ, धुलिखेल, साँगा, बनेपा, पनौती लगायत पूर्वी राज्य जितेर काठमाडौंलाई तिब्बतसँग जोड्ने सम्पूर्ण नाका बन्द गरिदिए। केरुङ नाका बन्द भएपछि लड्खडाएको काठमाडौंको आर्थिक समृद्धिमाथि यो अर्को ठूलो झट्का थियो।

उत्तरी नाकासँग काठमाडौंको सम्पर्क विच्छेद गरेपछि पृथ्वीनारायण शाहले दक्षिणतर्फका चिसापानी गढी र मकवानपुर राज्यलाई गोर्खामा गाभे। यसले भारतसँग पनि काठमाडौंको सम्पर्क टुट्यो। तिब्बत र भारतसँग व्यापार गरेर आर्थिक रूपले चम्किएको काठमाडौंको यी दुवैसँग सम्पर्क विच्छेद भएपछि ढाडै भाँच्चियो। यही मौकामा सिंगो उपत्यका कुमारी जात्रामा रमाएको अवसर छोपेर गोर्खाली सेनाले काठमाडौंमाथि हमला गर्यो। र, जित्यो।

तिब्बत र भारतसँगको सम्पर्क तोड्न नसकेका भए गोर्खाजस्तो गरिब राज्यका राजा पृथ्वीनारायणले सिंगो नेपालको एकमात्र आर्थिकशक्ति काठमाडौंलाई सायदै हराउन सक्ने थिए। त्यत्रो नाकाबन्दीबीच पनि कीर्तिपुर र काठमाडौंलाई हराउन गोर्खाली फौजले झेल्नुपरेको सकसले यही दर्शाउँछ।

अर्को एक अर्थमा पनि गोर्खाभन्दा काठमाडौं विशेष थियो। 

भक्तपुरको गद्दीमा बसेका अन्तिम राजा रणजीत मल्लले ४७ वर्ष शासन गरेका थिए। यिनका बुबा भुपतिन्द्र मल्लले २६ वर्ष शासन गरेका थिए। उनका बुबा जितमित्र मल्लले २४ वर्ष र जितमित्रका बुबा जगतप्रकाश मल्लले २९ वर्ष शासन गरेका थिए। यी सबै स्थिर शासनका संकेत हुन्। त्यसबाहेक यी राजाहरु सबैले मैथिली, नेवारी र संस्कृत भाषामा किताब लेखेका छन्। दरबार वरिपरि कलाकृति छाडेका छन्। यसविपरित पृथ्वीनारायण शाह भने  किताब पढ्ने खालका मान्छे नै थिएनन्।

पृथ्वीनारायणसँग सम्बन्धित एउटा रोचक घटना छ। गोर्खाका स्थानीय विद्वानहरु सत्यधर जोशी, गोविन्द जोशी, गीताराम अर्ज्याल आदिले 'तपाईं राजा भएपछि याज्ञवल्क्यस्मृतिको मिताक्षर पढ्नुपर्छ' भनेछन्। त्यो किताब तनहुँबाट खोजेर पनि ल्याएछन्। त्यसमा राजाले गर्न हुने-नहुने कुराहरु लेखिएका थिए। सुरुका श्लोक सुनेपछि पृथ्वीनारायण भन्छन्: '... शास्त्र हेर्याको फल केही लागेन। उस्मा पनि मैले त षेलषाल छलछाम गरी शत्रु हटाई मुलुक साध्य गर्नु परिरहेछ। यस घरिमा मैले व्यवहाराध्याय हेर्न्या बषत छैन।'

यसो भन्दै पृथ्वीनारायण बाँकी पढ्न इन्कार गर्छन्।

ललितपुरले लामो स्थायित्व नपाए पनि यसका पछिल्ला र एक अर्थमा संस्थापक राजा सिद्धिनरसिंह मल्ल १०४ वर्ष बाँचेका थिए। यो सम्भवत: राजाहरुमा नेपालकै रेकर्ड हो। ललितपुर दरबारका सबैजसो मन्दिर सिद्धिनरसिंह, उनका छोरा श्रीनिवास र नाति योगनरेन्द्र मल्लले बनाएका हुन्। काठमाडौंलाई भने भाष्कर मल्लसहित १८ हजार जनाको ज्यान गएको भनिएको विसं १७७० दशकको प्लेगले राजाविहीन मात्र बनाएको थिएन, लामो अस्थिरता र अविश्वासतर्फ धकेलेको थियो। तै पनि प्रताप मल्ल र जयप्रकाश मल्ल दुवैले यहाँ लामो समय शासन गरेका थिए। 

यसबाहेक काठमाडौंमा व्यापार, कला र विदेशीहरुको आउजाउ थियो। समाजमा धेरै खालका मान्छे थिए: मैथिली, खस, नेवार, काश्मिरी, तिब्बती, इराकी, आर्मेनियाली र युरोपेली पादरीहरु। शाह वंशका राजाहरुमा कुनै पनि राजा साहित्य, कला र सहिष्णु शासनमा यी मल्ल राजाहरु जत्ति सक्षम देखिँदैनन्।

एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सिद्धान्त 'दिव्योपदेश' मा पाइन्छ। उनी आफू मात्र नभई परराष्ट्रमन्त्री लगायत धेरैजसो पद जहानिया होस् भन्ने चाहन्थे। दिव्योपदेशमा कालु कवर्दारका सन्तानलाई अर्थमन्त्री, चीनतर्फ हेर्ने भनेर कालु पाँडे र भारत हेर्ने भनेर शिवराम सिंह बस्नेतका सन्तानलाई तोकिएको छ। त्यसमा लेखिएको छ: '… कालु कवर्दारका सन्तानलाई कवर्दारी नछुटाउनु। दषिनको घाहा सिवराम बस्न्यातका सन्तानलाई नछुटाउनु। भोटको घाहा कालु पाँडेका सन्तानलाई नछुटाउनु।'

पृथ्वीनारायण पूर्व-पश्चिमका खस, बाहुनहरुप्रति पनि अनुदार थिए र यिनीहरुलाई दरबारमा घुस्न नदिनू भन्थे। उनले भनेका छन्: '…पूर्व पछिमका षस बाहुनलाई दरबारमा पैठ् हुन नदिनु, क्यान भनौला, वाहिडा मान्छ्याले दरबारमा बिथिति गराउँछन्।'

पृथ्वीनारायण नुवाकोटे जैसी बाहुनहरु, तिरहुते, नगरकोटी र पादरीहरुप्रति अनुदार थिए। शाहहरु त्यसैले अशिक्षित र असहिष्णु थिए भनेर भन्न सकिन्छ। समग्रमा यसैले जनतालाई पढ्न दिनुहुन्न, जहानिया शासन चलाउनुपर्छ भन्नेजस्ता मुलुकलाई लामो समय गाल्ने अभिशापहरु गोर्खाली शासकहरुको मनस्थितिसँग मिल्छ।

मल्ल राजाहरुका लाख दोष हुँदा हुन्, तर उनीहरु नै कायम रहँदै गएका भए मुलुकमा जनताले पढ्न हुँदैन भन्नेजस्तो हदसम्म नेपाल पुग्दैनथ्यो कि भन्ने देखिन्छ। मल्ल वंशसँग शाह वंश साट्दा सभ्य सुसंस्कृत राजाहरुसँग कामुक, रिसाहा, अल्पजीवि, संकिर्ण राजाहरु साटिए भनेर भन्न कुनै अप्ठेरो मान्नुपर्दैन।

राज्य जित्ने शासकहरु धेरैजसो संसारभरि क्रोधी, क्रूर र असहिष्णु नै थिए, चाहे ती चंगेज खान हुन् वा बाबर। मिठो बोलेर सम्भवत: कसैले राज्य जितेन होला। तर, गद्दीमा बसेपछि विजेताहरु धेरैको ध्यान शासन व्यवस्था मजबुत पार्न, जनतालाई सम्पन्न बनाउन र आफू लोकप्रिय बन्नतिर गएको पाइन्छ। 

यो आलेखमा हामीले लिच्छवि कालदेखि पृथ्वीनारायण शाहको नेपाल यात्रासम्म झन्डै तेह्र सय वर्ष लामो 'हेलिकप्टर यात्रा' गर्यौं। जसरी तेह्र सय किलोमिटर हेलिकप्टर यात्रा गर्दा महत्वपूर्ण र विशेष स्थानहरुमा मात्र हाम्रो आँखा पुग्छ, त्यसरी नै तेह्र सय वर्षको यो हेलिकप्टर यात्रामा पनि मैले नेपाली इतिहासका त्यस्ता महत्वपूर्ण र विशेष घटनाको मात्र चर्चा गरेको छु, जसको महत्व आज फर्केर हेर्दा पनि उत्तिकै छ।

आगामी अंकमा हामी पृथ्वीनारायणको नेपाल विजयपछि नेपालका जनताको आर्थिक स्थिति कस्तो भयो? नीति-नियमहरु कस्ता आए? भूमिहिन, किसान र सत्तामा कब्जा जमाएका गोर्खाली भारदारहरुबीच कस्तो सम्बन्ध रह्यो? मुलुक ठूलो हुँदा कुन वर्गले फाइदा उठायो? किन र कसरी सबै नेपालीले गोर्खाली शासनलाई स्विकारे? जस्ता विषयमा चर्चा गर्नेछौं।

(लेखक अर्थशास्त्री हुन्।)

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा