साझा बसमा सिंहदरबार

  • Get News Alerts

पीपलबोट डटकम

काठमाडौंमा म प्रायः पैदल लम्किन्छु। भारतीय नाकाबन्दीले सडक सुनसानजस्तै हुन पुगेका बेला भने बडो रौसिएर सिंगापुरदेखि साइकल ल्याएको थिएँ।

केही दिन लड्दैपड्दै मुख्य सडक त के कुनाकाप्चासम्मका उबडखाबडमा पनि घन्टी टिङटिङ पार्दै प्याडल चलाएँ। नाकाबन्दी के खुलेको थियो गाडीको उधूम भोको उपत्यकामा फेरि उस्तै सवारी अस्तव्यस्त हुन थाल्यो।

आफ्ना लागि ज्यानै प्यारो भन्दै त्यही प्रिय साइकल थन्क्याउन बाध्य भएँ। काठमाडौंको गञ्जागोलमा छिट्टै साइकल मार्ग बन्ला र स्वस्थ सास फेर्न पाइएला भन्ने आशा त्यो टुहुरो साइकललाई त के मलाई पनि छैन।

साइकल आज सहरमा सबभन्दा बढी अवहेलित छ। उसका पक्षमा वातावरण र स्वस्थ जीवनप्रेमी केही युवा स्वयम्सेवकहरू आक्कलझुक्कल साइकल र्याली गर्छन् र जनचेतना बढाउन खोज्छन्। जनपरिचालन गर्ने सामर्थ्य भएका देश हँकुवाहरूले टेरपुच्छर लाए पो!

संयोगले संसदमा सर्वहारावादको राजनीतिबाट आएका वामपन्थीहरू वलशाली छन्। तर, हामीले हेर्दाहेर्दै नीतिगत दिशाहीनतावशः उनीहरू आफैँ हामपन्थीमा परिणत हुन पुगे। दिगो र स्वस्थ परिवर्तनको चाहना गर्नेहरू गम खानुपर्ने भए। सर्वसाधारण जनता, त्यहीकारण गमपन्थी हुन पुगेका छन्।

प्रजातान्त्रिक समाजवादको गर्भबाट जन्मेको देशको ठूलो पार्टीले नियमनकारी व्यवस्थाबिना हाकाहाकी खुला बजारपन्थ लागू गरिदियो। फलतः काठमाडौं उपत्यका सार्वजनिक परिवहनका दृष्टिले छारस्ट हुन पुगेको छ। उभिन र झुण्डिन समेत नमिल्ने सवारी साधनका यात्रुहरू खुला सहरमा दिनदिनै दसैंमा ओसारिने भेडा-च्याङ्ग्राको नियति व्यहोर्न विवशः छन्।

हिँडेर नभ्याइने, नसकिने दुरीका लागि म सडकहेरि ट्याम्पो होस् कि माइक्रो भ्यान वा मिनीबस चढ्छु र आम यात्रुले असुविधाको यात्राका सुस्केराबाट राज्य प्रणालीलाई दिने सराप हरेक दिनजसो सुन्छु।

खुरूखुरू हिँडौँ पैदलमार्ग छैन। प्याडल चलाऊँ, साइकलमार्ग छैन। उभिएरै होस् यात्रा गरौँ कुखुराका चल्ला ओसार्ने आकारका साना गाडीहरूमै ठेलमठेल छ। बस भनेका कति ठूला र फराकिला हुन्छन् भन्ने विदेशतिरका फोटो फेसबुकमा हेरेर चित्त बुझाउनुपर्छ। छिटो कतै पुगौँ मोटरसाइकल नचढी धर छैन।

जीवनशैली कति बिग्रिसकेको छ भने दुई पाइला बढी चालेर गाडी चढ्नु वा वरपर ओर्लिनु आफ्नै बेइज्जती ठानिन्छ। घरको दैलोमै घ्याच्च रोक्ने बानी लागिसकेको छ। जहाँ हात तेस्र्यायो त्यहीँ गाडी रोक्ने र जहाँ भन्यो त्यहीँ रोकिदिने गर्नाले सवारी तात्तातै पैसा असुल्ने व्यापारिक कर्म हुन पुगेको छ।

फेरि सार्वजनिक यातायात चढ्ने भनेका महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त र न्यून आय वर्गका सर्वसाधारण न हुन्। तिनको सास्तीको सुस्केरा काठमाडौंको प्रदूषित वायुमण्डलमा फगत अरण्यरोदन हुन पुग्नु कुन ठूलो कुरा भयो र?

स्वास्थ्य सेवा त बजारका हातमा खुला छाडिदिने राज्यले सार्वजनिक परिवहनको दोहन हुन दिनबाट किन रोक्थ्यो? स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले दस–दस पटक आमरण अनसन बस्दा समेत लोकलाज ढाक्न तयार नहुने घोइरो राज्यमा यातायात व्यवस्था कसको प्राथमिकता बन्न सक्थ्यो र?

त्यहीकारण साझा यातायातले उपत्यकाका केही रूटमा केही संख्यामा भए पनि बस थप्न लागेको दिन म बडो उत्साहले बिहानै घरबाट निस्किएँ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नजाने के निहुँमा सुविधाजनक चाक्ला बस आफैँले उद्घाटन गर्ने रहर पलाएको रहेछ। दोस्रोपल्ट सिंहदरबार पुग्दा पनि एउटै गतिलो काम गर्न नसकिने भइयो भन्ने औडाहा भइरहेको हुँदो हो।

अर्कातिर आफ्ना आलोचक नागरिक अभियन्ता कनकमणि दीक्षितको अगुवाईमा ब्युँतिएको त्यो सहकारी यातायातप्रति समर्थन जनाउँदा आफ्नो प्रचण्ड छवि केही माझ्न पाइएला भन्ने पनि लागेको होला।

प्रमुख अतिथिले रिबन काट्ने औपचारिक समारोहहरू म प्रायः छल्ने गर्छु। त्यो रिबन कटाईमा भने बकाइदा सरिक हुन सडकमा उभिएको थिएँ तर समयमै पैदल पुग्ने छाँट थिएन।

मेरो रूटमा चल्ने बसमा छिर्नसम्म भ्याइयो भने पनि सिधा उभिन सकिँदैन। बाँसझैँ निहुरिनुपर्छ र सही सलामत कतै पुग्ने सोच्नु पनि मुर्खतै हुन्छ।

भुँडी फुलाएको भैँसी आहालबाट मुस्किलले निस्केझैँ अटेसमटेस एउटा थोत्रो बस सकिनसकि म उभिएतिर आइरहेको थियो। त्यही बसलाई उछिन्दै बत्तिएको एउटा चिटिक्कको कार देख्नासाथ हत्तपत्त लिफ्टका लागि हात तेस्र्याउने बठ्याइँ गरेँ।

कारवाला सहृदयी मेरै छिमेकका औषधि व्यवसायी परेछन्। प्रधानमन्त्री आउने कार्यक्रमस्थलसम्म एक जना परिचितलाई पुर्याइदिन पाएको जोसमा उनले कार सुलुलु बढाए।

मैले डा. केसीको अनसनको आलोकमा पत्रकारी प्रश्न तेर्स्याउन पाएँ।

‘औषधि व्यवसाय कस्तो भइरहेको छ?’

उनले पनि मौका गुमाउन चाहेनन्। भने, ‘देशमा जति औषधि खपत हुन्छ त्यसको सानो हिस्सामात्र हामीले देशभित्र उत्पादन गर्न सकेका छौँ। अधिकांश त आयातै हुन्छ।’

औषधि उत्पादकहरूले गुणस्तर कायम गरेका छन् त?

उनका अनुसार, प्रविधि उही हो, बनाउने सूत्र उही हो, कच्चापदार्थ सच्चा परेन भने मात्र औषधिले काम गर्दैन। हालैमात्र एक जना ठूला कारोबारी नक्कली कच्चापदार्थ आयात गरेको पाइएपछि महङ्गो मुद्दा झेल्दैछन्।

‘औषधि व्यवसायीले चल्तीका डाक्टरलाई महङ्गा कार उपहार दिने गरेको सुनिन्छ। त्यो पनि सच्चा व्यवसाय हो त?’

‘कुरा बुझ्नोस् है,’ उनले खुलस्त पार्न थाले, ‘हो, औषधि व्यवसायमा पनि मुनाफा हुन्छ। आफ्नो उत्पादनलाई चलाउन हामीले जानेसम्मको व्यापारी बुद्धि लगाउनुपर्छ। औषधि चलाउने डाक्टरले हो। एउटै औषधि चल्यो भने पनि व्यापारमा तरक्की हुन्छ। त्यसको अनुपातमा चल्तीका डाक्टरलाई जुनसुकै ब्रान्डको भन्नोस् एउटा त के दुईटै गाडी कोसेली दिए पनि थोरै हुन्छ।’

‘खुला बजारवादको लक्षण, हगि?’

‘हो,’ उनले भने, ‘कि राज्यले जनस्वास्थ्यजस्तो संवेदनशील विषय भनेर आफैँ उत्पादन र प्रवर्धन गर्न सक्नुपर्यो। होइन भने बजारले त आफ्नो नियम आफैँ बनाउँछ, चलाउँछ।’

म भने बजारले आफैँ नियम बनाएर हुइँक्याएको सार्वजनिक परिवहनमा परिवर्तन ल्याउन खोजिरहेको साझाको मुकाम पुगिसकेको थिएँ। उनलाई धन्यवाद् दिएर पुल्चोक पेट्रोल पम्पछेऊ उत्रिएँ र नीला बेलुनहरूले झकिझकाऊ नयाँ आयातित बसहरू मख्ख पर्दै हेर्न थालेँ।

ह्वीलचेयर यात्रु समेत चढ्न मिल्ने ३० वटा बसको ताँतीअगाडि प्रेक्ष्यालयमा प्रधानमन्त्रीको प्रतीक्षा हुँदै थियो।

साझा यातायात बौरिएपछि पहिलो खेप बसहरूको यसैगरी उद्घाटन गर्न पहिला मुख्य सचिव लीलामणि पौडेल आएका थिए। त्यो दिन पनि म साइतमै पुगेको थिएँ।

पौडेल शनिबार सरकारी गाडी नचढ्ने अनुशासनबद्ध भएकाले रत्नपार्कदेखि माइक्रोबसमा खाँदिएर आइपुगेका थिए। उनीसँगै हामीले पुनस्र्थापित साझा बसको पहिलो सवारीमा लोकप्रिय कलाकार ‘मह’ले ‘किलिन्डर’ बनेर काटेको टिकट हात पारेका थियौँ।

बस थपिएको समारोहमा भने प्रधानमन्त्री आफैँ सरिक हुन लागेकाले स्वाभाविक भव्यता थियो। विभागीय मन्त्री तथा सचिवहरूको ओइरो पनि। साथमा, सुरक्षाकर्मीहरूको बाक्लो चहलपहल।

‘मह’का मदनकृष्ण श्रेष्ठ छोटो शुभकामना मन्तव्य दिन उभिए। उनले भने, ‘राजनीति गर्नेहरूले नेपाल बन्द गर्दा पनि आइन्दा यस्ता बसमा हान्ने ढुङ्गाले बेलुनमात्र फुटोस्।’

त्यसपछि उनका जोडी हरिवंश आचार्यले आफ्नो लोकप्रिय गीत ‘साझा बसमा जो पनि चढ्दछ...’ गाइदिए। पाता फर्काउने गरी व्यङ्ग्य गर्न उनी पनि चुकेनन्। सांसद चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएको प्रसंग कोट्याउँदै देश हाँक्नेहरूलाई पजेरोमा लिप्त रहेको पगरी गुथाउनमात्र बाँकी राखे। भद्रगोल विकासबीच अब काठमाडौंभित्र गुड्ने बसहरूले थेग्दैन। उनले भनिदिए, ‘पखेँटा भएका उड्ने बसहरू चाहिसकेको छ।’

समारोहका सभापति बनेका साझाका अध्यक्ष दीक्षित आफ्नो चञ्चल स्वभावअनुसार घरि उपरखुट्टी लाउँदै घरि कालो चश्माले समारोहका सहभागीहरू हेर्दै त घरि आफ्नो आडका प्रमुख अतिथिको ध्यान आकर्षित गर्दै खासखुस गरिरहेका थिए। प्रमुख अतिथिलाई फूलले स्वागत गर्न माइकबाट उद्घोष हुँदा हतारिएर आफ्नो अगाडि टेबलमा जे सजिएको छ त्यही उठाउन तम्सिइहाले, ‘होइन, होइन यता छ बुके’ भनेर अरूले सम्झाउनुपर्यो।

त्यो दिन उनी त्यसरी फुरूङ्ग नपरून् पनि किन? राज्यले गर्नुपर्ने काम नागरिकले आफैँ तम्सिएर गराउन सक्दाको पहलमानीले उनी पुलकित थिए।

लागेको लेख्ने, पोलेको बोल्ने, सोचेको गर्ने फुर्तिफार्तिला दीक्षितको खाँडो नजागेको भए साझा त्यसरी सायदै फेरि जुर्मुराउने थियो।

उनले सार्वजनिक परिवहनको दूर्गतिमाझ आफ्नै पैतृक लगानीसहित सर्वसाधारणको सेयर रहेको र सरकारको अधिक हिस्सा भएको साझालाई गुडाउने नै अठोट गरे। कम्मरमा पटुका त उनी कस्दैनन्, अरूले झैँ पेटी नै बाँध्छन्। उनी कस्सिएकैले बजारवादको खुला जाँतोमा परेर ठस्स मिल्किएको साझामा पाङ्ग्रा फेरि जोडिए।

नत्र त, पुल्चोक जस्तो चल्तापुर्ता केन्द्रमा रहेको त्यो २२ रोपनी लगभग सुनको भाउसरहको जग्गामै समेत धेरैको आँखा लागिसकेको थियो।

धन्य, त्यतिबेला मुख्यसचिवमा पौडेलजस्ता जाँगरिला कर्मठ सेवक परे जसले सिन्डिकेटको चङ्गुलमा फसेको यातायातराजमा साझाको पुनर्जन्मलाई भरथेग दिए।

पछि गएर त काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ऊर्जावान नौजवान रूद्रसिंह तामाङ आइपुगे। सार्वजनिक परिवहनबिना महानगरको शोभा कसरी रहला भन्दै उनले निसंकोच साझामा लगानी गरिदिए। उनले आफ्नो मन्तव्यमा हाम्रो राज्य प्रणालीको भित्री हविगत उजागर गर्दै भन्न पाए, ‘हामीसँग पैसा छ, प्रक्रिया पनि पूरा भएको हुन्छ तर (केही पनि) समयमा डेलिभरी हुँदैन।’

मञ्चमा अध्यक्ष दीक्षित भने प्रधानमन्त्री दाहालसँग फेरि खासखुस गर्दै थिए। सार्वजनिक जीवनमा दाहाल र दीक्षितको कटू सम्बन्ध केलाउनेहरूका लागि त्यो पहिलो संयोगकारी दृश्य थियो। दाहाल पनि त सायद केही बदलिएर आए। अर्काका लागि लोकमानहरू ल्याइदिन हुँदो रहेनछ, देश बनाउन त आफ्ना लागि कुलमानहरू नै चाहिने रहेछ भन्ने सके ख्याल गर्न थालिसकेको बेला थियो।

त्यहीबेला, आफ्नो बोल्ने पालोले नपुगेर झ्वाट्ट जे सम्झियो सोझै माइकमा पुगेर बोल्ने गरेका दीक्षितले प्रसन्नतासाथ उद्घोष गरे, ‘रिबन काटेर उद्घाटन गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यही बस चढेर सिंहदरबार जाने हुनुभएको छ।’

प्रधानमन्त्री दाहाल बस चढेर सायदै सिंहदरबार पुगेका हुँदा हुन्। युवाकालदेखि भूमिगत बसेका, हेलिकप्टरबाट पदार्पण भएर खुला जीवनमा पसेका र त्यसयता राज्यका सबै सुविधा आकण्ठ उपभोग गर्न पाएका उनले बस चढ्न तयार भएको जानकारी आफैँमा समाचारजन्य थियो।

प्रधानमन्त्री मञ्चमा बसुञ्जेल समय हेर्न घरिघरि नाडी तेस्र्याउने गर्दैथिए। संविधान संशोधन प्रस्तावको पहलमाझ धन्य त्यहाँ आइपुगे भन्ने लागिरहेको थियो। उनले उद्घाटन सम्बोधनमा भने, ‘कुनै बेला साझा बसको टिकट पाउनु भनेको हेलिकप्टरमा चढ्न पाउनुजस्तै लाग्थ्यो हामीलाई।’

उनलाई त्यस्तो लाग्दो रहेछ, जतिखेर उनमा संसार बदल्ने सपना थियो। भूमिगत हुँदा देश बनाउने कत्रो उत्कण्ठा हुँदो हो, देश बनाउने मौका आएपछि भने उनको सपनान्तर भयो। राजनीतिमा टिक्ने एकसूत्रीय सपना मात्र बाँकी रहेको हविगतमा नत्र किन देखिन पुग्थे र?

साझा बसबारे त्यति भनेर उनी विषयान्तर भए। सरकारले आफैँ सय वटा बस चलाउन लागेको उद्घोषसम्म गरे। बाँकी सम्बोधनमा सधैँझै गोलमटोल राजनीतितिर सोझिए। हरिवंशले भनिदिएका थिए, ‘बरू खलाँसीले सबै मिलेर बस्नुपर्छ है...भन्छन्।’ त्यसकै भाका टिपेर आफू पनि खलाँसी नै भएको सुनाए, संविधानको प्रक्रियामा सबैलाई मिलाएर ल्याउन लागिपरेको छु भने।

सपना भएको प्रधानमन्त्री जहाँ पनि जाँदैन। जहाँ जान्छ सम्बन्धित विषयको सम्बोधन गर्ने गरी आफ्नो उपस्थितिको बोध गराउँछ। सरकार के सोच्छ, के गर्छ, उसका सपना र विपना के छन् खुलाउँछ । ऊ आफू कम्तीमा जवाफदेही देखिन्छ। प्रधानमन्त्री हुनुको औचित्य खुलाउँछ।

नत्र त प्रधानमन्त्री दाहालकै पूर्वप्रिय शब्दावली ‘लफ्फाजी’ बन्ने खतरा जो हुन्छ।

मैले कान टाठा बनाएँ। उनले सार्वजनिक परिवहन सुधारको वचन देलान्। सिन्डिकेट तोडेर सर्वसाधारणलाई सुबिधा हुने फराकिला बस ल्याउन व्यवसायीहरूलाई स्वस्थ प्रतिस्पर्धातर्फ घच्घच्याउलान्। कार र मोटरसाइकलको उर्लँदो उपभोगको सट्टा बस चढ्न प्रोत्साहित गर्लान्। पिँधका जनताको सुबिस्ताका लागि केही न केही सम्बोधन त गर्लान् भन्ने लागिरहेको थियो।

अनावश्यक गाडीहरूको इन्धन खर्च, फजूल क्षेत्रमा उग्र लगानी, सवारी अस्तव्यस्तता, सहरी पर्यावरणमा ह्रास, स्वस्थ हावाको अभाव, जीवनशैलीमा अस्वस्थ बदलाव र सर्वसाधारणको बित्थाको सास्तीप्रति सरकार सचेत रहेको त पक्का भान पार्लान् भन्ने सोच्दै थिएँ।

सार्वजनिक यातायातको मर्यादा र भरोसा जगाउन म आफैँ पनि कम्तीमा महिनाको एकपल्ट अब बस चढ्छु भन्ने क्रान्तिकारी हिम्मत त के गर्थे? कम्तीमा यातायात मन्त्रीलाई त बसमै नियमित यात्रा गर्न सुझाउँछु भन्ने सोच्न पनि के सक्थे?

सरकारमा जानुमात्र के र? राजनीति गर्नु भनेकै सुविधाभोग हुने भोगी युगमा उनले पनि जोगी बन्न संघर्ष गरेका थिएनन्।

हामीले सुन्दासुन्दै उनले त सार्वजनिक क्षेत्र सुधारप्रति एकरति शब्द प्रयोग गर्नु पनि फजुल हुने भान पो पार्न पुगे। मानौँ देशमा सुधारको एजेन्डा राजनीति गर्नेहरूको होइन, गोविन्द केसीहरूको हो।

सम्बोधन सकेर प्रधानमन्त्री रिबन काट्न बेलुनहरूले सिँगारिएको बसतिर बढे। अनि थपक्क आफूले उद्घाटन गरेको बसभित्र पसे। उनीसँगै मन्त्री र सचिवहरूको लर्को लाग्यो। सुरक्षाकर्मी त्यसैगरी। फोटो पत्रकारहरूको हानथापबीचै म पनि भीडमा मोबाइलबाट फोटो खिचेको स्वाङ पार्दै त्यही बसभित्र हुलहुज्जत बढाउँदै पसेँ।

प्रधानमन्त्रीले भनेको साँचो हो रहेछ। कुनै बेला साझाको टिकट पाउनु हेलिकप्टर चढ्न पाएजस्तो हो भनेको त सिटहरू त्यस्तै आरामदायी रहेछन्। ह्वीलचेयरसमेत पसाउन मिल्ने बसले काठमाडौंमा ठूलो क्रान्तिकारी छलाङ मारेको थियो।

बसको मध्य भागतिर गएर प्रधानमन्त्री बसिदिएकाले सबभन्दा अगाडिको सिट खाली बचेको रहेछ। म त्यसमै अलक्क बसेँ।

काठमाडौंभित्र यात्रा गर्न त्यस्तो सिट पाउँदा सपनाको अनुभूति गर्दैथिएँ, सपना त संक्षिप्त न हुन्छ। मेरो पनि तत्काल सपनान्तर भयो। बाक्लो कोटभित्र सम्पूर्णरूपमा फस्टाएको जीउडाल भएका एक जना सज्जन मलाई धकेल्दै मैसँग ढसमस्स बस्न आए। बस त छरिता यात्रुका लागि मात्र थपक्क मिलेर बस्ने आकारको रहेछ।

खातापिता ज्यान ढाक्न मुलुक हाँक्ने पदाधिकारीझैँ पहिरनमा शोभायमान आफ्ना पडोसलाई मैले छक्क पर्दै हेरेँ।

हातमा किताब लिएर हिँड्ने त हाम्रा मन्त्री, सांसद, सचिवहरू हुँदैनन्, कतै योजना आयोगका पदाधिकारी पो परे कि भन्ने सोचेँ। आँखा छड्के लाउँदै आफूलाई फिस्टे तुल्याउँदै बसेका व्यक्तितिर हेरिरहेँ। उनका हातमा भारतीय प्रकाशनका दुई थान बाक्ला अंग्रेजी किताब थिए।

व्यापारी परेछन्। मसँग अंग्रेजीमा कुरा गर्न थाले जसै हामी चढेको बस सिंहदरबारतिर गुड्न थाल्यो।

‘तपाईँ कहिलेदेखि नेपाल बस्न थाल्नुभएको हो?,’ उनले सोधे।

‘जन्मेदेखि,’ मैले भनेँ।

मैले उनलाई त्यति भनेर पन्छाएपछि त्यो भुवासरहको सिटबाट बाहिर हेर्न थालेँ। बस सुलुलु बग्न थाल्यो।

काठमाडौंमा कुनै पनि सार्वजनिक परिवहन सवारी झन्झटबिना त्यसरी गुड्न पाउँदैन। यति कुरा म झन् ठोकुवासाथ भन्न सक्छु। नेपाल बन्द परेको बेला साहस गरेर गुड्ने बसले मात्र त्यति शानसाथ बाटो पाउँछ।
अरू बेला त सर्वसाधारण चढ्ने बसलाई प्राथमिकता साथ गुड्न ट्राफिक प्रहरीले पनि दिँदैनन्।

व्यस्त सडकमा पनि बसलाई गुड्न दिएको चाख मान्दै म के हेर्दै थिएँ, अगाडि र पछाडि सुरक्षाकर्मीहरूका गाडीको स्कर्टिङ लस्कर देख्नासाथ रहस्य बुझिहालेँ। बलिष्ठ कुइनाले मलाई ठेल्दै गजधम्म बसिरहेका व्यापारीले मसँग भने, ‘यो किताबको हजार रूपैयाँ मोल हो, आज आठ सयमा दिनसक्छु।’

नेपाल आउने पर्यटकलाई बेच्ने तन्त्रसम्बन्धी किताब रहेछ भन्ने बुझ्न गाता नै काफी थियो। प्रधानमन्त्रीलाई दिन ल्याएको कुनै महत्वपूर्ण किताब हो भने के रहेछ हेरिहालुँ भनेर मैले एक निमेष आफ्नो हात पारेको थिएँ। उनले मलाई नै बेच्न चाहेको बुझ्नासाथ फर्काइदिएँ। उनले कर गर्न थाले, ‘यो गजबको किताब हो, तपाईँ विचार गर्नुहोस्।’

बस थापाथली पूल कटेर माइतीघरतिर गुड्न थाल्यो। म भने पछाडि प्रधानमन्त्रीतिर छड्के नजर लगाउन थालेँ। उनका मन्त्री, सचिवहरू अघिल्लो र पछिल्लो सिटमा लहरै रहेछन्। उनीभन्दा सिधा पछाडि छड्के सिटमा उद्यमी चन्द्र ढकाल मुसुमुसु हाँस्दै गरेको परबाटै चिनेँ।

हालसालै चन्द्रागिरी केबलकार चलाउन थालेका आजको नेपालका एक चल्तापुर्ता ती व्यवसायीले त्यतिखेर प्रधानमन्त्रीलाई कुनै साउती मार्दै थिएनन्। मेरो आढमा बसेका व्यापारीले भने मलाई हत्तो गर्न थालिसकेका थिए।

प्रधानमन्त्रीको साथमा बसेका एमालेका सहकारी नेता केशव बडालको ठूलो स्वर प्रष्टै खुलेको थियो। उनी सहकारी अभियानबारे प्रकाश पार्दै थिए, ‘देश बनाउन गाँस, बास, कपास नै मूल चुरो कुरो हो।’

प्रधानमन्त्री मन्द मुस्कानसाथ बसका झ्यालबाट बाहिर हेर्दै, घरि बडालका कुरामा सही थाप्दै नाडी घडी हेर्दैथिए। यता मेरो आढका व्यापारीले मलाई फेरि घच्घच्याए, ‘तपाईँले विचार गर्नुभयो?’

‘के कुरा?’ मैले सोधेँ।

‘यो किताब किन्नोस् भन्या,’ उनले भने।

‘खै...,’ मैले आलटाल गर्न थालेँ। प्रधानमन्त्री चढेको बसमा फुत्त छिरेर व्यापारै गर्न कस्सिएका ती सज्जनले मलाई छाड्ने भएनन्।

‘लौ ल्याउनोस्,’ उनले सिधा निर्देशनात्मक शैलीमा भने, ‘आज तपाईँलाई छ सयमै दिन्छु।’

मैले फेरि कपाल कन्याएको अभिनय गरेँ।

दक्षिण गेटबाट बस सिंहदरबार प्रवेश गरेपछि अब त यी व्यापारीले हैरान पार्न बन्द गर्लान् भन्ने सोचेँ।

साझाका चालक सन्तोष खतिवडा पहिलोपल्ट सिंहदरबार पुगेका रहेछन्। अल्मलिए। प्रधानमन्त्री कार्यालय त के कुन मन्त्रालय कता छ उनलाई के थाहा? आफ्नो छेऊ उभिएका सुरक्षाकर्मीले गरेको दिशानिर्देश अनुसार उनी बस हाँकिरहेका थिए।

अब यता घुमाएर ऊ त्यहाँ रोक्नुहोस् भनेपछि उनले मेसो पाए। मोडेर रोके। सबैजना झर्ने भए। म भने सिटमै बसिरहने निधो गर्दै थिएँ, ती व्यापारीले आखिरी प्रयास गरे, ‘तपाईँसँग दुई सय रूपैया पनि छैन त?’
‘सरी,’ मैले भनेँ, ‘छैन।’

उनी रिसाएजस्तो लाग्यो। किताब बोकेरै कता हराए त्यो घच्चीमच्चीमा ख्याल भएन। धन्य उनी पाखा लागेको सन्तोष मन लिएर बस्दै थिएँ। ढोकाछेऊकै सिट परेकाले म बसिरहेतिर प्रधानमन्त्री आफैँ मुस्कानसाथ आए। मैले नमस्ते गरेँ। उनले हात बढाउँदै सोधे, ‘कहाँ हुनुहुन्छ?’

‘यहीँ छु,’ मैले भनेँ। उनी ओर्लेर गए। म त्यहीँ बसेँ। प्रधानमन्त्रीलाई बाहिर स–सम्मान पुर्याएर साझाका व्यवस्थापकहरू फर्किए। ढुक्क भयो, हातमा किताबका ठेली लिएर निस्केका व्यापारी भने फर्केनन्। सिंहदरबारभित्रै कसैलाई बेचून्। आखिर तन्त्रमन्त्रले नै देश चलाउनुपर्ने भइसकेको छ।

बस फिर्ती सवारीमा लाग्यो। साझाका व्यवस्थापक र फोटो पत्रकारहरूमात्र सिटासिन बस कति होलो थियो भने बाहिर सिसामा हल्लिरहेका बेलुनझैँ उफ्रिएलाजस्तो लाग्यो।

अघि पो प्रधानमन्त्री चढ्या भएर सडकमा शान थियो। अब भने एउटा साधारण बससरह समस्त ट्राफिक अड्चन झेल्दै गुड्नुपर्ने भयो।

बिरामी, अशक्त, आपतकालका सर्वसाधारण जो सुकै चढेका होउन् बसलाई छुट्टै र छिट्टै बाटो दिने व्यवस्था काठमाडौंमा कहाँ छ र? एम्बुलेन्स त घाँटी सुक्ने गरी साइरन बजाउँदा समेत फुत्किने बाटो नपाउने सहरमा।

ट्राफिक जाममा रोकिएको बेला मैले चालक खतिवडालाई सोधेँ, ‘प्रधानमन्त्रीलाई बसमा सिंहदरबार पुर्याउँदा कस्तो लाग्यो त?’

‘खै, के भन्नु?,’ उनले भने, ‘रमाइलै लाग्यो।’

उनी सडकतिरै केन्द्रित भए किनभने अगाडि जाममा हामी फसिसकेका थियौँ। ठानेँ, बरू पैदलै लम्किएको भए म समयमै गन्तव्य पुग्ने थिएँ।

भरे घर फर्किँदा उस्तै सास्ती व्यहोर्नै थियो। किनभने साझाले सबै रूट पाएको छैन र ऊसँग भर्खर त ४६ वटा बस भए। हजारौँ मोटरसाइकल र कार, हजारौँ थोत्रा सिन्डिकेटका साधन यथावत् चलिरहेको सहरमा मेरो एकखेपको सिंहदरबारसम्मको साझाको सयरले के फरक पाथ्र्यो र?

त्यति सानो माइक्रो भ्यान संसारको सायदै कतै कुनै विपन्न कुनामा त्यसरी भूसको बोराझैँ अटेसम्मका मानिस कोचेर चल्दो हो। म मुस्किलले छिर्न त पाएँ तर बाँसझैँ निहुरिएरमात्र पुग्थेन। बाह्र सिटे भ्यानमा बाइस जनाजति त कोचकाच पारिसकिएका थिए। मान्छे कति अटेका थिए के गोटा गिन्ती भयो र? व्यक्ति मोराको भाऊ भए न हो।

‘कति साह्रो मलखाद बनाएको हो हामीलाई?,’ म जंगिएँ।

त्यसै पनि त्यो रूटका खलासी भनिने उपचालकहरू प्रायः कानुनले बर्जित गर्ने बालक उमेरका छन्। तिनले हरिवंशको हाँसो बिर्साउने गरी हामी सबलाई मिलाएर यसरी खाँदेर गुडाइरहेका थिए, त्यति क्षमता त जति गुड्डी हाँके पनि प्रधानमन्त्रीको छँदै छैन।

राति समाचार सुनेँ, प्रधानमन्त्री योग गुरू रामदेवको औषधि उद्योग खोल्ने योजनालाई ढाडस दिने गरी वीरगञ्ज उड्न पो नाडीघडी हेर्दै हतारिएका रहेछन्।

प्रधानमन्त्रीले ठिकै ठानेका हुन्।

ठूलो जनसंख्याको परिवहन र स्वास्थ्य क्षेत्रका रोगको निदान गर्न नसक्दा देशमा आखिर एकछत्र फस्टाउनुपर्ने त औषधि उद्योग नै हो।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट