डा. गोविन्द केसीको रित्तो पेट

  • Get News Alerts

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज

डिसेम्बर २ को बिहान साढे ३ बजे झल्याँस्स आँखा खुलेका छन्। झ्यालबाहिर बत्तीहरूको मधुरो उजेलो छ। गाढा सन्नाटा छ छिमेकमा। कुकुरहरू पनि मस्त निद्रामा छन्। भुकेका छैनन्। झ्याल र ढोकाका कापबाट मुधुरो स्याँठ भित्र पसिरहेको छ।

मेरो छिमेक हुँदै सुनसान बाटो गणेशस्थान हुँदै गोङगबुचोक पुग्छ। अनि बाटा माकुराको जालोझैं फिजारिन्छन्। यतिबेला फिजारिएको बाटो जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ सबै निदाएका छन्। कोही सुन्दर सपना देखिरहेका होलान्। कोही भने भयावह सपनासित जुधिरहेका होलान्। तर, सबै न्यानोमा छन्।

र, माकुराको जालोझैं फिजारिएको बाटो महाराजगन्ज टिचिङ अस्पताल पनि पुग्छ। सहरमा अस्पताल मात्रै होला, जो रामरी निदाउन पाउन्न। बिरामी र तिनका कुरुवा, डाक्टर र नर्सहरूको अनिद्रा र पाइतलाको आवाज सर्याक–सर्याक हिँडी नै रहेको हुन्छ।

त्यही अनिद्राले भरिएको अस्पतालको एउटा स्ट्रेचरमा डाक्टर गोविन्द केसी पनि छन्। के डिसेम्बर २ को यो चिसो बिहान उनी निदाएका होलान्?

म कल्पनाले पनि काँप्छु।

म अचेल धेरै भोको बसेको छैन। भोकै बस्ने मौका वा दुर्भाग्य दुवै आइपरेको छैन। साठीको दशकमा संघर्षशील समयमा तीन दिन भोको बसेको थिएँ। र, तीनै दिन मैले घरमा आमाले नमीठो तरकारी पकाउँँदा झोक्किँदै स्वात्त फालेका तात्ताता भातका डल्लाहरू सम्झेको थिएँ। तीन दिन भोको हुँदा हाडहरू नै गलेजस्तो लागेको थियो। पेट नराम्ररी बटारिन्थ्यो। एउटा सर्पले अर्को सर्पलाई निलेझैं आफ्ना आन्द्राहरूले आफ्नै आन्द्रा निलिरहेका छन् जस्तो लाग्थ्यो।

धेरै भोको हुँदा झलमल घाम पनि बादल लाएजस्तो अँधेरो अँधेरो हुन्छ। छिमेकमा बजिरहेको गीत पनि मधुरो मधुरो हुँदै जान्छ। गुफाहरू भित्रभित्रै बगिरहेको नदीको मधुरो आवाजजस्तो रित्तो पेटको आवाज कानसम्म आइरहन्छ। र, बेलाबेला लाग्छ, म यही रित्तो पेटको गर्तमा भासिएर मर्ने छु।

धेरै भोको भएपछि, वरिपरि के भइरहेछ थाहा हुन छाड्छ। आफ्नै जिब्रो तितो लाग्न थाल्छ। र, रित्तो पेट गह्रँुगो हुँदै जान्छ। सहरका अग्ला घर, फराकिला सडक, छेउछाउका पारिजातका रूख, फराकिलो आकाश क्यै मतलब हुन्न। छट्पटिएको नाकले छिमेकको किचनबाट आइरहेको मसलाको बासना मात्र खोजिरहेको हुन्छ। र, आकाशमा टाँगिएको चन्द्रमा भर्खरै तन्दुरबाट निस्केको बाटुलो र तात्तातो रोटीमा परिर्वतन हुन्छ।

तीन दिनको रित्तो पेटले म यति नै महसुस गर्न सक्छु।

मेरी छोरी सानै छँदा जे भेटे पनि मुखमा क्वाप्पै हालिहाल्थी। उसले न बालाई रामरी चिन्थी न आमालाई। तर, माटो होस् या ढुङ्गोको टुक्रो, जे भेटे पनि मुखमा हालिहाल्थी। ईश्वर मान्नेलाई ईश्वर, प्रकृति मान्नेलाई प्रकृतिले जन्मनासाथ एउटा कुरो सिकाउँदो रैछ, भोको नबस्नू। जसरी हुन्छ, जे गरी हुन्छ, खानू।

त्यसैले होला, बिहान उठेदेखि राति सुत्दासम्म हाम्रो दिमागमा खानेकुरा नै घुमिरहेका हुन्छन्। कहिलेकाहीँ गफमा जब खानेकुराका कुरा निस्किन्छन्, हामी गफैगफैमा मीठा खानेकुराका कल्पनामा थुक निलिरहेका हुन्छौ।

तर, डिसेम्बर २ को जाडोमा डाक्टर गोविन्द केसीको पेट रित्तो भएको बीसौं दिन हुन्छ।

सेतोपाटीले मध्यरात न्यूज अपडेट गरेको छ, मध्यरातसम्म बसेको वार्ता सफल भएन। डाक्टर केसीको खस्कँदो स्वास्थ्यलाई सत्तावालहरू ‘ब्ल्याकमेल’ गर्न खोजिरहेका छन्।

म छट्पटिन्छु, फेरि डाक्टर केसीको पेट रित्तै रहने भयो।

म सोच्छु, उनी ढाडसितै टाँसिनै थालेको पेट लिएर के निदाएका होलान्? निदाएका छैनन् भने के सोचिरहेका होलान्?

केदार शर्मासितको वार्तामा उनले भनेका रैछन्, ‘म अनसन बसिरहेका बेला आफूले डुलेका गाउँ, आफूले भेटेका बिरामीलाई सम्झेर बस्छु।’ म सोच्छु, यिनै कुराले बचाएको छ कि अहिलेसम्म उनलाई।

तर, रित्तो पेटलाई स्मृतिहरूले मात्र लामो समय बचाउन सक्दैन। स्मृति त दिमागको भोजन हो, शरीरको होइन। चेतना जतिसुकै बलियो होस्, शरीर त धोकेबाज नै हुन्छ। गोविन्द केसीको बूढो शरीरले पनि विस्तारै धोका दिने छ। र, शरीरले धम्की पनि दिन थालिसकेको छ।

डिसेम्बर २ को चिसो बिहानमा मलाई गोविन्द केसीको बूढो शरीरको माया लागिरहेको छ।

र, म सोचिरहेछु, उनले किन गर्नुपर्थ्यो यस्तो। जो हामी कसैले गर्न सक्दैनौं। तात्ताता ममःका डल्ला मुखमा कोचेर ‘अटेरी बूढो अनसनै बसेर सबथोक पाइन्छ भन्ने ठान्छ’ भनेर तर्क गरिरहेका छौं। भोको बसेर सबथोक पाइन्छ? अर्को तर्क गरिरहेका छौं।

हुन पनि हो, यो देशमा जसले जे जे पाएका छन्, जसले आफ्नो ठूलो साम्राज्य र चुनावमा चाहिने बूढीऔलाहरूको लस्कर खडा गरेका छन्, ती कहिल्यै भोको बसेका छैनन्। तिनलाई खानमा रुचि छ, ख्वाउनमा रुचि छ। खानपानको टेबुलमा यहाँ धेरै ठूला निर्णय भएका छन्। खानपानकै टेबुलमा भिजिटिङ कार्डहरू साटासाट भएका छन्। सबथोक अपच हुने गरी खाएर चलिरहेको छ। इतिहास नै यस्तो छ। समय नै यस्तो छ।

यस्तो बेला एउटा डाक्टर बूढोले नखाएर के हुन्छ?

र, मलाई डाक्टर बूढोको माया झन् लाग्छ। यसरी इतिहास, समय र प्रकृतिविरुद्ध लडिरहेको बूढो डाक्टरप्रति झन् श्रद्धा बढ्छ। उनले हार्न हुँदैन, उनलाई हार्न दिनु हुँदैन भनेर मुड्कीले टेबुल बजार्न मन लाग्छ।

उनका लागि जे गर्न सकिन्छ, अहिले नै गरौं भन्ने लाग्छ। उनलाई सत्ता र शरीरले धोका दियो भने हाम्रा आउने सबै पुस्तामाथि धोका हुनेछ। उनलाई म अहिले नै सम्झिन चाहन्छु। मैले अहिले उनको रित्तो पेटलाई सम्मान गरिनँ भने बाँचुन्जेल त्यसले पोलिरहनेछ। उनले आफ्ना लागि होइन, मेरा लागि बीसौं दिनदेखिको रित्तो पेट लिएर लडिरहेका छन् भने म उनलाई आफ्नो भरिएको पेटले पनि साथ दिन सक्दिनँ?

यदि मैले सकिनँ भने, गोविन्द केसीको शरीरले धोका दियो भने एउटा उजेलो आशाले भरिएको समय पनि मर्नेछ। एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना हुनेछ। मलाई थाहा छ, ठूला घटनाका बारेमा सत्तावालहरूले कस्ता ‘हास्यास्पद तर्क’हरू दिएर उम्किने कोशिस गर्छन्। डाक्टर केसी सत्तावालहरूको ‘हास्यास्पद तर्क’ भएर इतिहासको अँधेरो गर्तमा हराउनु हुँदैन।

यदि उनी इतिहासका पन्नाका हास्यास्पद तर्कहरूका अनुच्छेदमा चेपिए भने मलाई उनको रित्तो पेटको पाप लाग्नेछ। ईश्वर मान्नेलाई ईश्वरले र प्रकृति मान्नेलाई प्रकृतिले सराप दिने छ। र, मलाई थाहा छ, रित्तो पेटले दिएको सराप सबैभन्दा डरलाग्दो हुन्छ।

कामना गर्छु—
मैले आत्मग्लानीले— आफूले निलिरहेका हरेक गाँसहरूमा उनको रित्तो पेटलाई सम्झिन नपरोस्। मैले उनलाई आफू बिरामी भएर छट्पटिरहेको स्टे«चरबाट पनि सम्झिन नपरोस्।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट