पर्यटक होइन, यात्रु हुँ म!

  • Get News Alerts

दिशानिर्देश +

तस्विरः चन्द्रशेखर कार्की


 तीन दिन भयो, यो लोभलाग्दो बस्तीमा छु।

हुन त कुनै न कुनै प्रकारको सौन्दर्य नभा’को ठाउँ हुन्न, मान्छे पनि हुन्न।  गहरिएर हेरेँ, हर कोही आभायुक्त छ। गोरीको सुन्दरता आफ्नै छ भने, कालीको रौनक पनि कम हुन्न।

तर, भुगोल सुन्दर भयो भन्दैमा बस्ती पनि सौन्दर्ययुक्त हुन्छ नै भन्ने ग्यारेन्टी गर्न सकिन्न। भुगोल बनाउँछ प्रकृतिले, बस्ती बसाउँछ मान्छेले।

मान्छेलाई पर राख्ने हो भने जीवन ‘पोस्टकार्ड’ हुन्छ। हेर्दा सुन्दर। तर बेजान। रसायनिक मल हालेर फुलाइएका ठूल्लठूला राता राता गोलभेडा जस्तो।

हेर्दा राता, खाँदा फुस्सा। स्वादमा कुनै तिख्खरता न’भाका।    

भ्रमण त मैले धेरै गरेँ, टेलिभिजन पत्रकार भएपछि। तर अधिकांश भ्रमण अपूर्ण रहे।  केही छुटेजस्तो, केही नपुगेजस्तो।

तर, के छुट्यो? केचाहिँ पुगेन? ठ्याक्कै भन्न नसकिने।

अरूका विषयमा ‘ठोकेरै ठोकुवा’ बत्याउन माहिर छौं हामी, आफ्ना कुरा भन्दाचाहिँ अलमलिन्छौं। आफ्नो कुरा भन्दा  हामी किन यति अलमलिन्छौं होला?

शंकर लामिछानेले उत्तर दिएका छन्:

‘हामीले जीवनभरि के भन्न चाहेका हौ– हो, त्यही कुरा पहिल्याउन सक्दैनौं, किनभने भन्ने कुरा पहिल्याउँदा पहिल्याउँदै जीवन समाप्त भइसकेको हुन्छ।’

***    

पत्रकार भएर यात्रा गर्दा हामी निश्चित उद्देश्य लिएर हिँडेका हुन्छौं। आफ्नो त्यो प्रोजेक्टले हामीलाई यसरी छोप्छ - न इलाम पुग्दा चियाबगानको सुगन्ध महशुस गर्न पाइन्छ, न त अन्नपूर्ण क्षेत्र उक्लँदा हिमालको  ताजा हावा।  बर्दिया, खप्तड र शुक्लाफाँट पटक पटक पुगेर पनि हाम्रो मष्तिष्कमा कुनै तस्वीर नै बन्न पाउँदैन।  

मष्तिष्कमा तस्वीर बन्दैन, किनभने-त्यहाँ पुग्दा हाम्रो ध्याउन्न, दृश्यमा होइन, क्यामेरामा त्यो ‘कैद’ भयो कि भएन? भन्ने चिन्तामा ब्यग्र रहन्छ।  

तस्वीरलाई क्यामेरामा ‘कैद’ गर्ने चिन्ताका कारण म जीवनमा धेरै दृश्यहरू हेर्न बन्चित भएको छु।

तर यो बस्तीमा आउँदा कुनै चिन्ता साथ ल्या’को छुइनँ। कुनै प्रोफेसनल क्यामेरापर्सन साथ छैनन्। टेलिभिजनमा कसैलाई देखाउन केही खिच्नुपर्ने छैन। न कुनै पत्रिकाको निम्ति रिपोर्टिङ गर्नुछ।  

कसैलाई देखाउन केही खिच्न नपर्ने भएपछि, मान्छेका आँखा धैरै फराकिला हुँदा रहेछन्। मान्छेको एक ठूलो समस्या के छ भने–ऊ आफैंले हेर्न नजानिकन, अरूलाई देखाउन खोज्छ। विचारको न्यूनतम स्वतन्त्रता हासिल नगरिकनै, वाक प्रकाशन स्वतन्त्रताको नाङलो ठटाउन खोज्छ। बिचरा मान्छे! 

खैर जेसुकै होस्, यहाँ आएपछि मलाई त्यो सबैसँग कुनै मतलब हुन छाडेको छ।

कुनै खास विषयमा सरोकार नहुने बित्तिकै मानिसका आँखा फराकिला हुने रहेछन्; त्यो सब देखिन थाल्छ जो पहिला देखिएको थिएन.......’

अंग्रेजी भाषामा भएका दुई शब्द - टुरिष्ट (पर्यटक) र ट्राभलर (यात्रु)  बीचको फरक बल्ल चाल पाउँदै छु, यहाँ आएपछि।

पर्यटक र यात्रु; एकै होइनन् भन्ने बोधको बिउ पनि यही बस्ती आउने उकालोमा भेटिएकी एउटी गोरीले रोपी। ढाँडमा ब्यागप्याग बोकेकी, गोरी भनेर फुस्रो सेती पनि होइन। मुहारको नाक नक्सा सामान्य भए पनि, व्यक्तित्वमा अनौठो आकर्षण खोपिएको।

मैले कुराकानीको बिर्को खोले - ‘तिमी पर्यटक हौ?’

‘होइन। म यात्रु हुँ।’

‘पर्यटक भन्नु र यात्रु भन्नु एकै होइन र?’

‘होइन।’

‘फरक के हुन्छ यी दुईमा?’

‘पर्यटकले त्यति मात्र देख्छ, जे हेर्न ऊ आएको हो। तर यात्रुले त्यो सब देख्छ, जे उसका अगाडि छ। पर्यटक पुरा योजना साथ हिँडछ। जस्तै, यो नाम गरेको सहरमा यो दिन पुग्ने। यहाँ बस्ने। यो हेर्ने। यो खाने। यो किन्ने। यस्ता खालेसँग बोल्ने। त्यस्तासँग नबोल्ने........आदि इत्यादि। पर्यटकका  सबै क्रिया र प्रतिक्रिया पूर्वअनुमान लगाउन सकिन्छ, किनभने पर्यटक यान्त्रिक हुन्छ।’

‘अनि यात्रु नि?’  

 ‘यात्रु हमेशा–ओपन (खुल्ला) रहन्छ, परिस्थितिप्रति। उसका ‘लाइक्स’ र ‘डिस्लाइक्स’ का रंगहरू  गाढा हुँदैनन्। आफ्ना अगाडि आउने घटनालाई यात्रुले-रेसपोन्ड गर्छ। ‘रिएक्ट’ गर्दैन। परिस्थितिको तकाजा अनुसार स्वस्फूर्त ढंगले व्यवहार गर्छ।’

‘यसको अर्थ यात्रु अराजक हुन्छ?’

‘मैले कहिले त्यसो भने?’ भन्दै गोरीले झर्केको नजरले मलाई यस्तरी हेरी मानौं कुनै पटमुर्खलाई हेर्दैछे। अचानक, आफ्नो पाइलाको गति बढाई।

मैले बुझिहालें, कुराकानीमा ब्रेक लगाउन चाहन्छे। एकै छिनमा मभन्दा धेरै अगाडि पुगी।

केहि बेरपछि देखिन पनि छाडी।

***

आँखाबाट ओझल भए पनि मेरो मनमा ऊ यथावत रही।

नरहोस् पनि कसरी? मानिस आँखाले मात्र होइन, मनले पनि संसार देख्छ। आँखालेभन्दा पनि मनले बढी देख्छ क्यारे।  

मनले देखेको मान्छे, आँखाबाट ओझेल हुँदैमा हराउँदैन। उकालोमा भेटिएकी गोरी नजरबाट ओझेल भई तर मनबाट हराइन। पर्यटक र यात्रुबारे त्यत्रो  इसारा गरेर  गई, मलाई खल्बलाएर गई, अनि हराउँथी कसरी! 

म सोच्न थाले‌ं- आफ्नो जीवन मैले पर्यटक भएर बिताएँ या यात्रु?

कतै, चलनचल्तीका  सुरक्षित मार्गमा टहलिँदा टहलिँदै मेरो जीवन त सकिएन? अथवा थोरै हिँडिएका केही जोखिमी गोरेटा पनि मैले छिछोले‌ं?

अपवाद बाहेक, मान्छे बडो बाठो हुन्छ। ऊ चिची पनि पापा पनि एकै पटक चाहन्छ। नयाँ ठाउँ हेर्न चाहन्छ। तर, यात्राको जोखिम उठाउन सक्दैन।     

घरबाट निस्की हाले पनि ‘टुरिस्ट’ शैली रोज्छ। ‘ट्राभलर’ को होइन।

***

उकालोमा भेटिएकी गोरीले मलाई सोच्न बाध्य तुल्याएकीचाहिँ पक्कै हो। तर म धेरै सोचेर आफ्नो टाउको भारी तुल्याउन पनि चाहन्नँ। जीवनमा मैले गरेका गल्तीमध्ये एक– ‘धेरै सोच्नु’ पनि हो।

गर्ने थोरै, सोच्ने धेरै।

अर्थहीन र अनुत्पादक सोचाइले गुजुल्टिएको मानिस भएर मैले जीवनका धेरै भाग बिताएँ। यस पटक, त्यो घनचक्करबाट बच्न चाहन्छु। टाउको दुखाइबाट बच्ने उपायका निम्ति, म केही लेख्न चाहन्छु।

सोच्नुको साटो म ‘पोखिएँ’ भने टाउको हलुका हुनेरहेछ। यो फर्मुला मैले थाहा पाएको धेरै भएको छैन। मेरा लागि ‘पोखिनु’ भनेको ‘अभिव्यक्त’ हुनु हो। फरक-फरक मान्छे; अलग-अलग माध्यमबाट अभिव्यक्त हुन सक्छन्।

मेरो माध्यम लेखन हो।   

कसैका निम्ति गायन होला, चित्रकला होला, अभिनय होला। कसैका लागि खेतीबारी र बगैंचाको हेरचार गर्नू, खाना पकाउनु होला, अफिसको काम गर्नुहोला अथवा अन्य कुनै कर्म........ अभिव्यक्तिको माध्यम हुनसक्छ।

मानवीय संवेदनाको अभिव्यक्ति  (Expression of  human emotions)  एक  रोमान्चक र जटिल क्षेत्र हो।  म त्यो क्षेत्र भित्र पस्न चाहन्छु।

कसरी?

मेरो योजना नसोध्नुस्। किनभने मसँग कुनै योजना छैन।    

तपाईँले कहिले एउटा सानो बालख, ठूलो बगैंचामा पुतली समात्न दौडेको देख्नुभएको छ?

हो, म त्यस्तै बालख पाराले दौडिन चाहन्छु; निशंकोच, निर्भय र निर्योजना  साथ अक्षरहरू कुदाउन चाहन्छु।

राजनीति बाहेकका विषयमा पनि पोखिन चाहन्छु म। नेपाली मिडियामा ‘हेडलाइन’ नबन्ने खालका शब्दचित्र कोर्न चाहन्छु।

मलाई अनुभव छ, यस्तो लेखन अलि मुश्किल हुन्छ। तर, मलाई यो पनि थाहा छ; धेरै जसो लेखन, जो पाठकका निम्ति सलल बग्छ; त्यसको लेखन प्रकृया स्रष्टा का निम्ति वेदनाकारी पनि हुन सक्छ। सृजनको प्रसव वेदना।

हो, यो बेग्लै कुरा हो कि - स्रष्टाको त्यो वेदनाले अक्षरमा आकार लिइसकेपछि पाठकलाई सरस, सरल र सलल महशुस हुनसक्छ; त्यो बेग्लै कुरा हो । परिणाम सरल, प्रकृया जटिल।    

जटिलता छ, र पो रोमान्च।

गाँठाहरू छन्, र पो त फुकाउनको मज्जा!   

***

यो बस्तीमा गुरूङ धेरै छन्। मलाई जनजातीसँग सजिलो लाग्छ। सानो छँदा त उनीहरू अलि ‘डेन्जर टाइप’ लाग्थे। तर पछिल्ला वर्षहरूमा जब म गुम्बा जान थाले‌, चिनजान उठबस बढ्यो। सजिला लाग्न थाले।

जुन कुरा नि त्यस्तै हो।

जनजाति मात्र होइन, जोसँग पनि त्यस्तै हो, चिनेपछि सजिलो। जानेपछि झन सजिलो। ‘चिन्नु’ भन्दा ‘जान्नु’ गहिरो विधा हो।

म जहाँ बसेको छु, २० वर्ष पुरानो ‘गुरूङ होटेल’ हो। यसलाई ‘बनाइएको होटेल’ भन्दा ‘सजाइएको होटेल’ भन्नु सही हुन्छ। परिश्रम र प्रेम मिसाएर गुरूङ दम्पत्तिले सजाएका छन्, यो अतिथि गृह।

अरु पनि धेरै रमणीय होटेल छन् यो बस्तीमा। अचम्मको कुरो – बस्तीको जुन होटेलमा बसे पनि बस्ने, खाने रेट चाही उही। मेनु पनि एउटै। बस्तीमा आएका पाहुनालाई आफ्नो होटेलमा ल्याउन कोही तानातान गर्दैनन्। 

पैसा कसलाई चाहिदैन र? तैपनि आएका पाहुनालाई यो बस्तीमा कसैले जबजस्ती तानेर आफ्नोमा जान कर गर्दैनन्; राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल होइन यो बस्ती।

***

मेरो सामान बोकेर ल्याउने भरियाको नाम अशोक हो। उसैले मलाई यो बस्तीमा पाहुनालाई तानातान नगरिने सामाजिक संस्कारबारे बताएको हो।

भरिया शब्द त्यति राम्रो सुनिदैन। राजधानीमा चंखेभाइको पाँच तारे एनजिओमा त यो शब्द उच्चारण गर्नै हुन्न। ‘पोर्टर’ अथवा ‘भारवाहक’ भन्नुपर्छ । चंखेभाइ मैले जीवनमा भेटेका बिचित्रमध्ये पर्छन्। राजधानीमा ठूलै एनजिओ चलाउँछन्। 

माओवादी विद्रोहताका उनी द्वन्द्व विज्ञ थिए। लोकतन्त्र स्थापना भएपछि संविधानविद् भए। हाल सडक कुकुर अधिकार रक्षा गर्ने संस्था खोलेका छन्।

एक पटक दरबार मार्गको  ‘घर-ए- कबाब’मा महङ्गो डिनर खाएर फर्कदै गर्दा, सडक कुकुरहरूको झुण्डले चंखेभाइमाथि घातक आक्रमण गर्‍यो। चंखेभाइलाई भुक्दै, टोक्दै, लछारपछार गर्दै आफ्नो नाममा थप ठगी नगर्न  झुण्डले चेतावनी पनि दियो रे भन्ने हल्ला सहरमा धैरै दिन चल्यो।    

***

मलाई लाग्छ,  हामी सबै भरिया हौ।

कुनै न कुनै किसिमको बोझले थिचिएका। आफ्ना कथा र व्यथाको बोझ बोक्दै आ-आफ्ना पाइला सार्दै गरेका भरियाहरू।

उकालोमा भेटिएकी गोरी फन्केर अगाडि गएको केहीबेरपछि एउटा चौतारो आयो। त्यहाँ सुस्ताउँदै अशोकले आफ्नो ब्यथा सुनायो:

‘पोखरामा कुल्ली काम गर्थेँ। दुई वर्ष भो, एक दिन साँझ श्रीमती डेरा फर्किन। धेरै खोजेँ। फेला पारिनँ। दुई स-सना छोरा निकै रोए।  महिना दिन पछि खबर आयो, ऊ त कुवैत पुगेकी रहिछ।

त्यसपछि म गाउँ फर्की आएँ। यो ट्रेकिङ रूटमा पाएको भारी बोक्छु। मलाई सहरको नामै सुन्न मन लाग्दैन। सहर नगा’को भए, मेरी श्रीमती कुवेत जाने थिइन। अब कहिलै सहर जान्नँ।’

‘उताबाट पैसा त पठाउँछ होला नि घरमा!’

‘काँ पठाउनु सर! सुको दिन्ने’, भावुक भयो अशोक।

केही छिनमा होटेल पुगियो। दर्द भरिएको कहानीको ह्ययाङओभरमा मैले अशोकलाई  निर्धारित ज्यालाभन्दा सय रूपैयाँ थपेर दिएँ।

रूपैयाँ हातमा पर्ने बित्तिकै, अशोकका खुट्टा खरायोका भए; कुद्‌दै नजिकको भट्टी छिर्‍यो।

क्षणभर अघि भावुक बनेका अशोकका आँखामा अब बदमासीका भाव देखिए।

***

‘विजय दाइलाई के गफ दियो त्यो अशोकेले? स्वास्नी भागी भन्यो कि बिरामी छे भन्यो? दस वर्षअघि मरेका बुबाको किरिया गर्न पैसा पुगेन भन्यो कि बच्चाको स्कुल फिस? यो गाउँमा उसलाई सबैले राजेश हमाल भनेर बोलाउँछन्। अभिनय गर्न खप्पिस भएकोले,’ स्थानीय शिक्षिका अन्जुले हाँस्दै सोधिन्।

अन्जुको हाँसोले बताउँथ्यो कि अशोकको कहानीमा ठूलै भ्वाङ छ कतै।

‘कुरो वास्तवमा के हो त अन्जु?’ मैले  अशोकलाई थपेको ज्याला सम्झेँ।

‘त्यो मोरो एक नम्बरको ट्वाँके हो। जति कमाउँछ, ट्वाँकमै बगाउँछ। आफ्नो मात्र होइन श्रीमतीको कमाइ समेत त्यसैमा मिल्काउँथ्यो। यहाँ बसेर घरखर्च धान्नै नसक्ने भएपछि, सन्तानको भविष्यका लागि श्रीमती कुवेत गएकी हो। एक्लै होइन, आफ्नै साख्खै बहिनीसँग गएकी हो उता।

सालमा एक पटक घर आउँछे। सबै कमाई उडाउँछ भनेर पोइलाई नदिकी होली। सहरमा मात्र होइन, आजभोलि त गाउँघरमा पनि अशोके जस्ता कथा हाल्ने छ्यालब्याल छन्। जमाना अर्कै छ विजय दाइ।’

अन्जुको मुखबाट ‘जमाना अर्कै छ’ भन्ने ‍सुनेर म झस्केँ।  

केही थेगो यस्ता हुन्छन्, जो हरेक पुस्ताले प्रयोग गर्छ। हर पुस्ताले यसरी भट्टाउँछ मानौ विश्वमा प्रथम पटक उद्‌घोष गरिँदैछ।

बिर्सन्छ, ऊभन्दा अघिल्लो पुस्ताले पनि, कुनै दिन, त्यो थेगो त्यसरी नै घोषणा गरेको थियो जसरी ऊ आज गर्दै छ – ‘जमाना अर्कै छ।’

***

यो जमाना मात्र होइन, हर जमाना ‘अर्कै’ हुन्छ।

त्यसैले त हर दिनको अखबार फरक हुन्छ।

तर गहिरिएर हेरे थाहा पाइन्छ– हर जमाना अर्कै भएता पनि  हर जमाना उस्तै पनि हुन्छ।

हेडलाइन फेरिन्छन्, समाचार उही रहन्छ।

कलाकार बदलिन्छन्, स्क्रिप्ट पुरानै। ‘पेन्टिङ’ नयाँ तर ‘पेन्ट’ पुरानै। आन्दोलन र क्रान्तिको नाम नयाँ, चलाउने इन्धनको श्रोत पुरानै।  

भारी धेरै पाइएको बेला अशोक र राजन टिम मिलाएर भारी बोक्छन्। राजन धेरै बोल्दैन् तर उसका अनुभव रोचक छन्। भरियाको रूपमा राजनले  भोगेको सबैभन्दा दुःखलाग्दो अनुभव माओवादी विद्रोह कालमा भोग्यो। माओवादीले उसलाई दुई सातासम्म सित्तैमा भारी बोकाए। एक पैसा दिएनन रे।

‘के बोकाए?’

‘पेन्टका बट्टाहरू। रातो रंग भरिएका टिनका बट्टा।’

 ‘के गर्थे रंगले तिनीहरू?’

‘नारा लेख्थे भित्तामा।’

‘कस्ता नारा?’

‘जनयुद्वमा भाग लेउ। नेपालबाट गरिबी र साम्राज्यवादी बिस्तारबादी भगाऔं।’  

‘गरिबी भाग्यो त?’  

‘गरिबी त कुन्नी, गरिबचाहिँ भागे। कोही अरबतिर, कोही भारततिर भारी बोक्न भागे।’

‘अनी भारतीय विस्तारवादको के भयो त ?’

‘यतातिर भारतको  टुरिष्ट आउँदैन सर । उनीहरूको बिस्तरा कस्तो हुन्छ थाहा छैन। हामीले बोक्ने त कुइरेको बिस्तरा मात्रै हो। कुइरेको बिस्तरालाई स्लिपिङ ब्याग भन्छन्। कुइरेको बिस्तरा हलुका नै हुन्छ।’

‘कुइरेचाहिँ कस्ता हुन्छन् नि राजन?’

‘छाला सबैको सेतो भए पनि बानी चाही फरक फरक... कोही दिलदार, कोही त सारै लोभी। कोहीचाहिँ निक्कै नै पात्तिएका हुन्छन् .... गोरा गोरीका जोडी। बाटोभरि एक अर्कालाई सुम्सुमाउँदै, चुस्दै हिँड्ने ... शरम छाडाहरू ... अनि कोहीचाहिँ केटा भएर केटै चाहिने खालका मुर्दारहरू... छि!... अस्ति, एउटो खुइले बुढो मलाइ समात्न खोज्दै थियो साला। हजार रूपैयाँ दिन्छु भन्थ्यो।’

‘के जवाफ दिनु भो तपैले?’

‘छि! त्यस्तो काम पनि गर्ने? बरू गोरी पाए सित्तैमा भनिदिएँ।’

‘कसरी भन्नु भो? तपैंलाई अंग्रेजी आउँछ र?’

‘त्यस्ता कुरा भन्न पनि भाषा जान्नुपर्छ र सर? इसारा गरे पुग्छ। जिउमाथि जिउ राखेर चलाउने त हो नि।’

सुर्तीले पहेँलिएका दाँत देखाउँदै भद्दा हाँस्यो राजन।

***

ठन्डी  ठाउँमा तातो पानीले नुहाएपछि मन चंगा भो।  

मान्छेको मन भन्ने पनि अचम्मै। संसारको पहिलो आश्चर्य संसार आफैं हो, दोस्रो आश्चर्य मान्छेको मन हो। कहिले पर्वत जस्तो भारी, कहिले सिमलको भुवासरि हलुङो हुन्छ। बडा बहुरूपिया छ, यो मोरो मन।    

शरीर र मनबीचको आपसी समबन्ध रहस्यमय छ। शरीर हलुका भएपछि मन हलुङ्गो हुन्छ कि, मन हलुका भएपछि शरीर? रोग मानिसको शरीरमा बढी छ कि मनमा? यसै भन्न सक्दिनँ म।

‘मन’ भन्ने बितिकै डा.भगवान कोइराला याद आउँछन्। उनले बताउनुअघि म सोच्थें, मुटु र मन भनेको एकै कुरा हो। सबैले झै मैले पनि कसैको मन, मुटुमा बस्ने गीतहरू बच्चैदेखि गुनगुनाएको थिएँ।

म सोच्थेँ; मेरो मन, मेरो मुटु भित्रै बस्छ। होइन रहेछ। 

मान्छेको मुटुभित्र उसको मन बस्दैन भन्ने तब थाह पाइयो जब एक दिन भगवान कोइरालाले भने:

‘अपरेसन थिएटरमा मैले हजारौं मुटु चिरेर हेरेको छु विजयजी; मुटुभित्र त्यस्तो केही छैन। मेडिकल साइन्सको हिसाबबाट त भावनाको केन्द्र मष्तिष्क हो, मुटु होइन। जसलाई मानिसहरू मन भन्छन्, त्यसको काम खास अर्थमा मष्तिष्कले गरेको हुन्छ।’

 ***

गुरूङ होटेलको डाइनिङ कोठामा पसें। साधारण फर्निचर तर चिट्टिक्क सजाइएको।

कोठा होस् या जीवन; जान्नेले थोरै खर्चमा पनि सजाउन सक्छन्। ढंग नपुर्‍याउनेको कोठामा जतिसुकै महङ्गो सामान कोचिएको किन नहोस्; सजावटको ऊर्जा महशुस हुँदैन।

भित्तामा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको फोटो झुण्डाइएको थियो, पातलो बाँसको फ्रेमले घेरेर। ब्ल्याक एण्ड ह्वाइट।

हिलारीलाई म सगरमाथाको प्रथम आरोहीका रूपमा मात्र सम्झन्नँ। म टेलिभिजन स्क्रिनमा पसेको केही महिना नबित्दै, उनको अन्तरवार्ता गर्ने मौका पाएँ।

मेरो सम्झनामा उनको तस्वीर किर्तिमानी आरोहीको होइन, एक भावुक र संवेदनशिल पति र पिताको छ।

‘त्यो अभागी दिन......त्रिभुवन विमानस्थलबाट उडेको केही क्षणमा एउटा पिलाटस पोर्टर विमान मेरै आँखा अगाडि  दुर्घटनाग्रस्त भयो। त्यो विमानमा मेरी पत्नी र छोरी पनि थिइन्। सामाजिक सेवाको काममा फाप्लु जान चाहन्थे उनीहरू ... म  सी अफ गर्न एयर्पोर्ट गएको थिएँ ....म त्यो अभागी हुँ जस्को पत्नी र छोरी उसकैं आँखा अगाडि........’

बोल्दा बोल्दै भावुक भएका महाप्रतापी सर एडमण्ड हिलारीका आँशुलाई मैले आफ्नो सम्झनाको  भित्री खोपामा बडा जतनसाथ राखेको छु।

त्यो खोपा खोल्दा यस्तो लाग्छ; मानौं कुनै विशाल कठोर चट्टानले आफैंलाई निचोरेर–दुई थोपा आँशुमा आफ्नो सारांश प्रकट गरेको होस्।

हिलारी बसेको त्यो खोपाभित्र चियाउँदा, निदा फाजलीका लोभलाग्दा शब्द याद आउँछन्। उर्दुबाट भावार्थ (शब्दार्थ होइन) अनुवाद गर्ने कोशिश गरेको छु।

 

‘कभी किसीको मुकम्मल जहाँ नहीं मिलता

कहीं ज़मीं तो कहीं आसमाँ नहीं मिलता’

(कसैको भाग्यमा पनि

 पूरा दुनियाँ लेखिएको हुन्न!

कतै  टेक्ने  धरती पाइन्न

 कतै आकास हुन्न!)       

***

काठमाडौंमा हिलारी भेटेको तीन दशकपछि, गुरुङ होटेलको डाइनिङ कोठामा झुन्डाइएको उनको तस्वीर मलाई हेर्दै मुस्कुराइरहेको थियो।

हिलारीको मुस्कान, परिभाषित गर्न नसकिने खालको ,मोनालिसा पेन्टिङको मुस्कान सरह लाग्यो। भित्ताबाट आएको मुस्कानलाई मैले आफ्नो सम्झनाको खोपामा लुकाएको उनका आँशुसँग भिडाएर हेरेँ।

भिडाएर हेर्दा, रहस्यको गहराइ झन बढ्यो।

आइन्सटाइनले रहस्यको गाँठो फुकाइदिए - ‘हामीले अनुभव गर्न सक्ने  संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। रहस्यको;  यो भावना नै – सबै प्रकारका कला र विज्ञानको स्रोत हो। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एक छिन रोकिएर रहस्यका प्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हो। उसका आँखा खुलेर पनि बन्द छन्।’    

यी महान वैज्ञानिकको भनाइ सम्झेपछि, सन्तोषको लामो सास तानेँ। कमसे कम म अझै पूरै मरेको त रहेनछु। हर दिन नभए पनि, यदाकदा एक छिन रोकिएर,  सृष्टिको रहस्य देखेर थोरबहुत छक्क त म अझै पर्दै छु।

हर पल नभए पनि कहिलेकाहीँ त जिवितै रहेछु म।   

***

अचानक पल भरमा; आफ्नै बारे, कुनै ठूलो आविष्कार गरे झैं भो मलाई।

त्यो ‘पल’ लाई शब्दमा ठ्याक्कै बयान गर्न सक्दिनँ....... औंशीको रातमाथि कालो सिरक भएर फैलिएका बादललाई चिरेर, अचानक बिजुली कड्कियो। क्षणभरका निम्ति सबै थोक उज्यालियो।  

हो, त्यो क्षणभरको उज्यालोमा मैलै आफूलाई प्रष्टै देखे।

म ‘पर्यटक’ मात्र भएर सन्तुष्ट हुने खालको मानिस होइन रहेछु।

मेरो मूल स्वभाव ‘यात्रु’ रहेछ।   

तर आफ्नो मूल स्वभाव अनुरूपको जीवन बाँच्ने मौका हामीमध्ये सबैले कहाँ पाउछौ र? मौका पाइहाले पनि त्यसमा हामफाल्ने साहस हामीमा कहाँ हुन्छ र! 

हुन त मौका नआएका थिएनन्, मैले  हाम फाल्ने साहस गर्न सकिनँ। कुनै न कुनै प्रकारको मौका हर कोहीको जीवनमा आउँछ। सवाल मौकाको मात्र होइन, प्रश्न हाम फाल्ने वा नफाल्ने निर्णयको पनि हो।    

फेरि हाम्रो जस्तो सामजिक र पारिवारिक संरचनामा हामी आफू एक्लोका निम्ति मात्र कहाँ जिउँछौ र? हामी पारिवारिक सामूहिकताका निम्ति पनि त बाँच्छौं।  

‘हाम फाल्ने साहस’ भनेको नितान्त निजी चुनाव हो। ‘सामूहिकता’ मा त्यसको कार्यान्वयन गर्न सजिलो कहाँ हुन्छ र! हुनत, साहसको  कुनै सर्वमान्य परिभाषा हुनै सक्दैन। कहिलेकाहीँ - हाम ‘नफाल्नु’ पनि साहसको प्रतीक हुन सक्छ।

मैले भनिहाले, यसको एकलकाँटे परिभाषा हुन सक्दैन। परिस्थितिजन्य परिभाषा पनि हुन्छ। हर मान्छेले आफ्नो निम्ति साहसको परिभाषा आफैं खोज्नुपर्छ।

***

एडमन्ड हिलारीले टेलिभिजन अन्तर्वार्तामा मलाई यो पनि भन्थे, ‘हर मानिसको जीवनमा कुनै न कुनै प्रकारको एभरेष्ट हुन्छ। त्यसलाई चढ्नेकोशिश गर्नुपर्छ। जीवनको सार्थकता आरोहरणको सफलतामा होइन;कोशिश गर्नुमा छ।’

यही कुरा त बीपी कोइरालाले पनि भने। यही कुरा त मनमोहन अधिकारीले पनि भने। यही कुरा त गीतामा श्रीकृष्णले भनेका भनेका छन्– ‘कर्म मुख्य हो, कर्म प्राथमिक हो। परिणाम होइन। फेरि परिणाम त तिम्रो हातमा कहाँ छ र? परिणाम ममाथि छाडिदेऊ। तिमी कर्म गर। त्योभन्दा बेसीको चिन्ता नगर।’

यी भिन्न भिन्न मानिसहरुले फरक फरक युगमा अलग अलग भाषामा एकै कुरा भने–‘जीवनको सार्थकता वा व्यर्थता; त्यसका उपलब्धि वा अनुपलब्धिमा होइन, प्रयत्नको गुणवेत्तामा निहित रहन्छ।’

अलग अलग भाषामा एकै कुरा भनिरहँदा यी भिन्न भिन्न मानिसले एक अर्कालाई नक्कल गरेर त्यसो भनेका होइनन्।

सत्य आफ्नो शिखरमा पुग्दा, दृश्य हमेशा एकै हुन्छ।

सगरमाथाको टुप्पोमा पुग्ने कयौं मार्ग छन्, एक होइन ‘रूट’ अनेक छन्। तर शिखरमा पुगेपछिचाहिँ – दृश्य एउटै देखिन्छ। जुन रूटबाट चढे पनि, शिखरमा पुगेपछि; दृश्य एउटै देखिन्छ।  सत्यको शिखर पनि त्यस्तै हो।

शिखरमा त यात्रु मात्र पुग्छन्, टुरिष्टका निम्ति होइन शिखर।

टुरिष्ट, टाढाबाट शिखर हेर्न सक्छ। त्यसको फोटो खिच्न सक्छ। शिखरका गुणदोष बारे समिक्षा गर्न सक्छ तर, त्यहाँ पुग्न भने सक्दैन। प्रतिभा नभएर होइन। प्रतिभा नभएको कोही पनि हुन्न।

कुनै न कुनै प्रकारको प्रतिभा हरेक मानिसमा छ। एरिका जोङको सुन्दर कथन छ, जो  ‘खुसी’ मा उल्लेख गरेको पनि छु:

‘प्रतिभा सबैसँग हुन्छ। तर त्यो प्रतिभाले डोराएर लैजाने डरलाग्दा ठाउँहरूमा जाने साहस बिरलै मानिसमा हुन्छ।’

मानिस प्रतिभा नभएर प्रतिभाहिन भएको होइन। प्रतिभाले ‘हिँड, सँगै जाउँ’ भन्दा जाने आँट नभएर मात्र त्यस्तो देखिएको हो।

***

डाइनिङ कोठाको ढोका खुल्यो। एक छिन त पत्याइनँ, फेरि नियालेँ– उही रहिछ।  उकालोमा भेटिएकी गोरी मेरो अगाडि खडा थिई।  

ऊबाट फेरि एक पटक ‘रिजेक्ट’ हुन चाहन्नथे म। मलाई प्राप्तिमा खासै लोभ छैन तर ‘रिजेक्सन’ ज्यादै पीडादायक लाग्छ। त्यसैले मुन्टो अन्तै घुमाएँ; फेल हुनुभन्दा परीक्षा नै नदिने भावले।

तर गोरी सरासर मेरो टेबुलतिर आई। कुर्सी तानी र मेरै छेउमा बसी, सोध्दै नसोधी। 

‘मेरो नाम छिरिङ हो’

‘छिरिङ?!’ मैले छक्क पर्दै सोधेँ।

‘हो छिरिङ। बुआ शेर्पा र आमा फ्रेन्च। उतै बस्छु।’ 

 ‘के गर्छन् उनीहरू?’

‘गर्छन होइन गर्थे। बुआ हिमाल चढ्न जानेहरूको भारी बोक्थे। आमा चित्रकार थिइनँ।’

‘नाम के थियो आमाको?’

‘नामको तौल अनुसार मानिसलाई जोख्ने तिमीजस्ता मानिस उनको नामको बोझले किचिन सक्छन्। त्यसैले नसोधेकै जाती।’  

‘अनि तिमी?’

‘म यात्री हुँ।’

 ‘कता पुग्न हिँडेकी?’

‘कतै पुग्ने लक्ष्य लिएर हिँडेकै होइन। यात्रा भनेकै आफ्नो हृदयको त्यो ठाउँ पत्ता लगाउनु हो जहाँ आजसम्म पुगिएको छैन।’

‘अलि बुझिएन छिरिङ!’

‘समय लाग्छ बुझ्नलाई। वाइ द वे तिम्रो काम के हो?’, पहिलो पटक उसले ममा रूची राखी।

‘धेरै वर्ष पत्रकारिता गरेँ।’

‘मलाई शंका त लाग्याथ्यो।’

‘कसरी?’

‘तिमी एउटा प्रश्नको उत्तर नै नबुझी अर्को प्रश्न गर्छौ, त्यसैले। टुरिष्ट पनि त्यस्तै हुन्छन्; एउटा सहर राम्ररी नहेरी अर्कोमा उडिहाल्ने। टुरिष्टको दराज नपढिएका किताबले भरिएको हुन्छ।’

‘तिमीले गरेको व्यंग्य म बुझ्दै छु छिरिङ।’

‘व्यंग्य नभन, मैले त्यो आसयले भनेकी होइन। तिम्रो मुहारमा कहिलेकाहीँ एउटा बालख झल्किन्छ। त्यो बालखसँग झुठ बोल्न मन लागेन। तिम्रो नाम के हो?’

‘विजय’

 ‘कहाँसम्म हिँडेको?’

‘अन्नपूर्ण बेसक्याम्प।’

‘लाग्छ यो तिम्रो पहिलो पद यात्रा हो विजय।’

‘कसरी थाह पायौ?’

‘तिम्रो हिँडाइले’

‘कस्तो छ मेरो हिँडाइ?

‘लामो दूरीको यात्रु जस्तो छैन। कहिले, आफ्नो शरीरको क्षमताभन्दा धेरै छिटो हिँड्न खोज्छौ अनि कहिले चाहिनेभन्दा धेरै थकाइ मार्छौ।’

‘म यात्री नभएर पर्यटक खाले हुँला नि छिरिङ।’  

‘पर्यटक हुनुमा खराबी केही छैन। आ-आफ्नो चुनाव हो। तिमीलाई त्यसैमा सन्तुष्टी छ भने पर्यटन मै रमाउ विजय।’

‘पहिला जे भो, सो भो तर, अब मलाई लाग्दैन कि म टुरिष्ट भएर मात्र रमाउन सकौंला। छिपछिपे पानीमा छप्लाङ-छुप्लुङ गरेर मलाई नपुग्ने रहेछ। म गहिरो पानीमा पौडिन चाहन्छु।’

‘त्यसो भए गहिरो पानीमा हाम फाल।’

‘मेरो समस्याको जरा त्यहीँ छ छिरिङ। किनाराको छिपछिपे पानीमा छप्लाङछुप्लुङ गरेर मलाई अब नपुग्ने भो। गहिरो पानीमा पस्ने साहस छैन। एकातिर इच्छाको चुलबुले घोचाइ र अर्कोतिर  साहसको अभाव; यी दुई बीचको सकस मा झुन्डिएको छु।’

***

‘के तिमी साँच्चीकै यात्री हुन चाहन्छौ? वा त्यो तिम्रो रहर मात्र हो? रहर र इच्छाशक्ति एकै कुरा होइनन्। पहिला फैसला गर तिमी वास्तवमा के चाहन्छौ?’

‘फैसला गर्न त्यति सजिलो छ र? मान्छे आफू के चाहन्छ त्यो फैसला गर्न सजिलो छैन।’

‘म तिमीलाई जीवनभरि काम लाग्ने एउटा सजिलो उपाय सिकाउँछु। मलाई मेरी आमाले सिकाएकी थिइन्।’

‘कस्तो उपाय?’

‘खल्तीबाट एउटा सिक्का निकाल विजय। निरपेक्ष भावले हावामा फालेर टस गर यानेकि  हेड एण्ड टेल गर। जब सिक्का धरतीमा खस्न अघि हावामै तैरिरहेको हुन्छ, त्यसै बेला तिम्रो मनबाट चाहना आउनेछ – सिक्का यसरी पल्टी दिए हुन्थ्यो। यसको पक्षमा पल्टिदिए हुन्थ्यो। हो, जब सिक्का हावामा पौडिदै हुन्छ, त्यो बखत मनबाट जुन आवाज आउँछ, त्यही आवाजले फैसला गरिदिन्छ – कोही वास्तवमा के चाहन्छ।’

‘त्यत्रो फैसला सिक्काको भरमा कसरी गरौं छिरिङ?’

‘फैसला सिक्काले गर्ने हो र विजय! निर्णय गर्छ, तिम्रो हृदयको भित्रबाट आउने आवाजले। जब सिक्का हावामा हुन्छ, धरतीमा खसेकै हुन्न; हो, त्यसैबेला तिम्रो मनमा जुन पक्षको जीत होस् भन्ने चाहना हुन्छ – फैसला गर्छ त्यसले।’      

‘ठीक छ छिरिङ! तिमी मेरो निम्ति एउटा सिक्का फाल।’

‘यो संसारमा सबैले आफ्नो सिक्का आफैं फाल्नुपर्छ, आफ्नो भाग्य आफैं बनाउने वा बिगार्ने हो। सिक्का, तिमी आफैं फाल विजय।’

***

मेरो पर्समा एउटा पुरानो सिक्का थियो।

मैले ‘हेड’ पल्टिए पर्यटक र टेल पल्टे यात्रु भएर जीवन बिताउने चयन गरे।

पर्यटक हुनु र यात्रु हुनु; दुबैमा आफ्नै आकर्षण छ, दुबै थरिका निश्चित गुण दोष छन्। के पल्टिदिए हुन्थ्यो भन्ने निर्णय मैले गर्न सकिरहेको थिइनँ। मन कहिले एउटामा अनि एकै छिनपछि अर्कोमा सर्दै थियो।

मैले निरपेक्ष भावले सिक्का हावामा फालेँ। तर, जब सिक्का, हावामा तैरिदै थियो अचानक चमत्कार भयो।   

जब सिक्का भुइँमा खस्न थाल्यो; एउटा ठुलो आवाज आयो– ‘टेल पल्टिदिए हुन्थ्यो ! हेड नपल्टे हुन्थ्यो!  टेल पल्टिदिए हुन्थ्यो!’

आवाज कताबाट आयो भनेर मैले चारै तिर हेरेँ। छिरिङ बाहेक कोही थिएन। मैले वरिपरि फेरि एक पटक आवाज निकाल्ने मान्छेलाई खोजेँ। त्यहाँ चरो मुसो कोहि थिएन।   

छिरिङले मुस्कुराउँदै भनी:

‘आवाज, बाहिर कतैबाट होइन; तिम्रै मनको सबैभन्दा गहिरो ठाउँबाट आएको हो विजय! अबदेखि कुनै विषयमा दोमन भए, सिक्का फाल्नु। सिक्का जब हावामा तैरिदै हुन्छ, तिमीलाई थाह हुनेछ, तिमी वास्तवमा के चाहन्छौं भनेर।’

***

सिक्का भुँइमा खस्यो। टेल पल्टेको रहेछ।

मैले मुस्कुराउँदै छिरिङतिर हेरेँ - ‘अब के?’

‘बाटो छानिसकेपछि के को अलमल विजय?’

‘थ्याङ्क यु छिरिङ, मलाई बाटो देखाइदिएकोमा।’

‘बाटो कसैले देखाएको होइन। सिक्काले देखाएको पनि होइन। तिमीले आफ्नो मनको बन्द ढोका खोलेका मात्र हौ। तिमी नै भन अब के गर्छौ?’

‘यात्रु  हुने कोशिश गर्छु’

‘अनि?’

‘अनि के नि? यात्राका दौरान भेटिएका मान्छेका कथा बुन्छु।’

 ‘स्तम्भको कुनै नाम सोच्यौ विजय?’

 ‘दिशानिर्देश प्लस’

[email protected]

facebook.com/vijaykumarpanday.official

@vijaykumarko

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा