फेरि यस्तो कहिल्यै नहोस्

SAMSUNG
  • Get News Alerts

baleno
tata

अनाहक घरखेत गुमाएको एक क्यान्सर बिरामीको कथाः माथेमा प्रतिवेदनको सफल कार्यान्वयन होस्, मानिसले अस्पताल गएर यसरी यातना नपाउन् र डाक्टरले अपराधबोध गर्नु नपरोस्।

उमेर २५ वर्ष। लिंग महिला। लागेको भनिएको रोग क्यान्सर। शरीर सुकेर सिट्ठा भइसकेको छ तर पेट फूलेर हुत्त बाहिर निस्केको छ। अनुहार कान्तिहीन छ। आँखा गडेका मात्र छैनन्, पहेंलै छन्। शुष्कताबीच पनि पीडाको तोड कम भएको छैन। उठेर बस्न सक्ने शक्ति छैन, सुत्दा सुत्दा पिठ्यूँमा घाउ बनिसकेका छन्। घरमा दुई बच्चा छन् तर आमालाई रोगले बच्चाजस्तै बनाइदिएको छ। आधा बोलेको र आधा रोएको भावमा तिनी बोलिरहन्छिन् र कुरुवाहरुलाई हैरान पार्छिन्।

कुरुवा १, बाबु। छोरीको सेवासुश्रुसामा महिनौं बिताइसकेका छन्। दौडधुपको थकान र तनावले ज्यान ख्याउटे बनिसकेको छ, आँखा वरिपरि कालो घेरा बसिसकेको छ। सर्ट–प्यान्ट धुन र फेर्न नपाएको कैयौं दिन भयो। गर्मीमा शरीर पसीनाले निथ्रुक्क भएर गन्हाउने भइसकेको छ। रातभर सुत्नु छैन, दिनरातको दौडधुप अझ बढ्दो छ।

कुरुवा २, श्रीमान्। धन कमाएर ऋणमुक्त होऊँला, आफ्नो नभए पनि बच्चाहरुको भविष्य उज्ज्वल पार्न तिनलाई राम्रो शिक्षादीक्षा दिऊँला भनेर मलेसिया पुगेका थिए, त्यो सपनालाई थाती राख्दै उता पुगेको केही महिनाभित्रै फर्केर आएका छन्। विमानस्थलबाट बच्चाहरु भेट्न घर समेत नपुगी सयौं किलोमिटर टाढाको अस्पताल पुग्दा श्रीमतीको बिजोग र ससुराको विचल्ली। जुन सर्ट–प्यान्टमा पुगेका हुन्, अहिले पनि त्यसैमा छन्। बिरामीलाई एक झलक हेरे प्रष्ट हुन्छ, तिनका दिन धेरै बाँकी छैनन् तर आफ्नो पीडा आफैंसित राखेर सान्त्वना दिनुपरेको छः ठिक भइहाल्छ।

उपचार खर्च कति लाख पुग्यो, ज्वाइँ–ससुरा बसेर हिसाब गर्नेसमेत फूर्सद छैन, डाक्टरले घरि यता कुदाउँछन्, घरि उता।

यो दृश्य मैले देखेको तेस्रो वा चौथो दिन भइसकेको थियो। म आफैं छिमेकको बेडमा कुरुवा थिएँ। त्यो दिन अचानक दृश्य परिवर्तन भयो।

अरु दिन ‘दुख्यो’ र ‘खान्नँ’ भनेर बच्चाले झैं जिद्दी गर्ने ती बिरामी त्यस दिन पानी पानी भनेर हत्ते हाल्दै थिइन्। श्रीमान्को हात समातेर तिनले करुण स्वरमा याचना गर्थिन्ः एक गिलास पानी दिनुस्, बरु मरे मरौंला। एकैछिनमा आउने बाबुलाई त्यही याचना दोहोर्याउँथिन्, फेरि पनि केही हुँदैनथ्यो। केही सीप नलागेपछि श्रीमान्लाई अबोध बालकले झैं रुन्चे स्वरमा सोध्दै थिइन्ः तपाइँ मलाई माया त गर्नुहुन्छ? गर्नुहुन्छ भने एकै गिलास पानी दिनुस् न।

ज्वाइँ–ससुरा विवश थिएः डाक्टरले मुखबाट केही खान नदिनु भनेका थिए, त्यो दिन अपरेशनको योजना बनेको थियो।

जसै तिनलाई अपरेशन थिएटर लगियो, हाम्री आमा डिस्चार्ज हुनुभयो र म अस्पतालबाट बाहिरिएँ। अस्पतालमा देखेका भेटेका अरु धेरै बिरामीझैं ती बिरामी पनि अब मेरो स्मृतिबाट हराइसक्नुपर्ने थियो तर त्यस्तो भएन।

***

एमडी तहको अन्तिम परीक्षापछि अन्नपूर्ण सर्किटको पदयात्रामा निस्केको म अचानक आमा बिरामी भएपछि आधा बाटोबाट फर्केर अस्पताल दाखिल भएको थिएँ। म आउनु अघि नै बुवासँग त्यहीं परिचय भइसकेका छिमेकी बेडका कुरुवाले म डाक्टर भन्ने थाहा पाएछन् र मलाई भेट्न व्यग्र भएर बसेका रहेछन्। आउनासाथ परिचय गरेर कागजपत्र खोले।

धेरै जाँचहरु भएका थिए। सिटी स्क्यानले पेटभित्र चारैतर्फ फैलिइसकेको क्यान्सर भन्ने रिपोर्ट दिएको रहेछ। क्यान्सर अस्पतालले उपचार गरेर केही फाइदा नहुने भनी घर लगेर सेवा गर्ने सल्लाह दिएको रहेछ। तर घरमा पीडा असह्य भएपछि एम्बुलेन्स खोजेर फेरि रातारात एउटा निजी मेडिकल कलेजा पुर्याइएछ, जहाँको दृश्य अहिले बयान गरिंदैछ।

‘अब के गरौं?’ बिरामीका बाबुको सोझो प्रश्न थियो मलाई।

मेरो विचारमा पीडा मात्र कम गर्न सक्ने हो भने अब बिरामीलाई अस्पताल राख्नुभन्दा घर लैजानु उत्तम थियो। खर्चको कुरा मात्र हैन, मानिस अस्पतालमा बस्दा घरको जस्तो सामाजिक वातावरणबाट वञ्चित हुन्छ। त्यसमाथि पनि अन्तिम अवस्थामा पुगेका बिरामीहरुले घरमै प्राण त्याग गरे भने मृत्यूपछिको संस्कार गर्न मानिसहरुलाई सहज हुन्छ। अस्पताल यसै पनि बाध्यताले बस्ने ठाउँ हो, नबसे काम चल्छ भने सकभर त्यहाँ नबसेकै राम्रो।

तर पीडा कसरी कम गर्ने? उनीहरुले झेलेको आर्थिक र अन्य कठिनाइ बुझेपछि मैले आफैं सुईबाट दिइने दुखाइको औषधि (एनाल्जेसिक) लेखिदिने आश्वासन दिएँ। घरमा बेलाबेला आएर सुई लगाइदिने स्वास्थ्यकर्मी व्यवस्था गर्न उनीहरुलाई सम्भव पनि थियो।

मैले भन्नासाथ हैरानीले विरक्त भएका बाबुले कागज तेस्र्याए। अब भने म हड्बडाएँः मैले लेख्न खोजेको एनाल्जेसिक दुव्र्यसनीहरुले पनि प्रयोग गर्ने भएकाले त्यो किन्न त्यति सहज छैन। त्यो किन्न डाक्टरले सही गरेको र सही गर्ने डाक्टरको काउन्सिल दर्ता नम्बर भएको प्रेस्क्रिपसन स्लिप चाहिन्छ। म आफैं कतै जागिर लाग्न बाँकी नै थियो, त्यसमाथि मैले एमडीमा पढेको विधा उपचार गर्ने खालको थिएन ।

यी कठिनाइ महसुस भएपछि म औषधि लेखिदिने वाचाबाट पछि हटें। बिरामीका बाबु निराश भएर गए, मलाई हतारमा त्यस्तो अफर गरेकोमा पश्चात्ताप भयो।

तर पीर परेका ती बाबुसित म फेरि नजिकिन समय लागेन। उल्लेख्य सुधार हुँदै गरेकी हाम्री आमा र ती बिरामीको बेड वल्लोपल्लो थिए। हामी फेरि साथी भयौं र छोरीको उपचारका क्रममा आफूले खाएका हण्डर ठक्कर र भएका खर्चको बेलिबिस्तार लगाए उनले। धेरै दिन नसुतेकाले त अब पूरा होश समेत थिएन उनको, उतिबेलै फोनसँगै सिम र त्यसमा भएका नम्बर हराएपछि उनको कठिनाइ अझ बढेको थियो।

घर लगेर दुखेको हेर्नुभन्दा जति दिन हुन्छ, अस्पताल नै रहन दिऊँ भन्ने ज्वाइँ–ससुराको अघोषित निर्णयजस्तो थियो, ठिक हुन्छ भन्ने कुनै आशा कसैलाई थिएन।

तर त्यसैबीच एक दिन डाक्टरले नयाँ आश देखाए, भनेः क्यान्सरजस्तो देखिए पनि अहिलेसम्म यो रोग क्यान्सर प्रमाणित भएको छैन। कहिलेकाहीं क्षयरोगले पनि यस्तो गराउँछ। अब रोग पत्ता लगाउन अपरेशन गर्नुपर्यो। टीबी पत्ता लाग्यो भने ठिक पनि हुन्छ।

उनीहरुलाई मरुभुमिमा वर्षौं प्यास लिएर घुमेपछि तलाउ फेला परेजस्तो भयो। ठिक हुने सम्भावना छ भन्नासाथ दुवै जनाको अनुहारमा कान्ति फर्कियो। कुरा गर्ने स्वर अलि चर्को भयो। फोनमा घरका मानिसलाई दिइने आश्वासन अझ बलियो भयो।

हो, त्यो निर्णय भएपछि हो, ती बिरामीले पानी मागेको र तिनका पति र पिताले पानी खान नदिएको।

***

मेडिकल साइन्समा धेरै प्रश्नहरुको अहिले पनि उत्तर छैन। कुनै पनि डाक्टरले बिरामीका लागि उपचारको विधि र औषधि छान्दा अहिलेसम्मको अनुभव र उपलब्ध प्रविधिहरुको सहयोग लिएर सम्भवहरुमध्ये उत्कृष्ट उपचार विधि छान्ने हो। तिनको प्रभाव कम्प्युटरको एन्टिभाइरसले भाइरसलाई न्युट्रलाइज गरेजस्तो हुँदैन। उपचारका अपेक्षित र अनपेक्षित प्रभावहरु धेरै हुन्छन्। त्यसैले कुनै पनि डाक्टरको उपचार विधिप्रति टिप्पणी गर्दा ती सबै कुरा विचार गर्नुपर्ने हुन्छ।

ती बिरामीको सर्जरी गर्ने योजनाले चाहिं म झसंग भएँ। प्रथमतः ती सानो अपरेशनसमेत धान्ने अवस्थामा थिइनन्। दोस्रो, तिनको रोग क्यान्सर हो वा टीबी भनेर छुट्याउन पेट खोल्नु जरुरी थिएन, एफएनएसी नामक सामान्य सुईको जाँचले त्यो पत्ता लाग्थ्यो। मेरो विशेषज्ञताको क्षेत्र भएकाले मलाई त्यो जिम्मा दिइएको भए एकाध घण्टामा रोग पत्ता लगाउने आत्म विश्वास ममा थियो।

तर त्यहाँ त म थिएँ, खाली कुरुवा। अन्तिम परीक्षा पास गरे पनि प्याथोलोजिष्टको डिग्री र लाइसेन्स लिन समेत बाँकी थियो। त्यसबाहेक आफू आधिकारिक व्यक्ति नभएको अवस्थामा एउटा चिकित्सकले अरु चिकित्सकको उपचार विधिमा हस्तक्षेप गर्न वा त्यसविरुद्ध बिरामीलाई केही भन्न चिकित्सकीय नैतिकताले दिंदैन।

त्यसैले ‘डाक्टरले भनेको नमान’ भन्ने वाक्य उच्चारण नगरी जेजे भन्न मिल्ने थियो, त्यो मैले उनीहरुलाई सद्भाववश भनें। भाषा मिलाएर ‘यो क्यान्सर नहुने र निको हुन सक्ने सम्भावना शुन्यप्रायः छ’ समेत भनें। तर महिनौंको हण्डरपछि रोग ठिक हुन सक्ने झिनो भए पनि सम्भावनाले आशावादी भएका उनीहरुले उपचाररत डाक्टरहरुलाई नाइँनास्ति गर्न सकेनन् र बिरामीलाई अपरेशन थिएटर लगियो। आमालाई डिस्चार्ज गरिएसँगै म घरतिर लागें।

***

त्यस यताको कहानी नसुनेको भए पनि उक्त प्रकरणले मलाई यति उद्वेलित बनाउने थिएन। घर गएको अर्को दिन ती बाबुलाई फोन गरें। आवाज मलिन भएको थियो। जुन अनिष्टको शंका थियोः त्यही भएछ, पेट खोल्नासाथ ट्युमर निकाल्न नमिल्ने गरी सिटी स्क्यानले जस्तो देखाएको थियो, त्यस्तै भेटिएछ। पेट त सिलाइयो तर बिरामीको होश र सास दुवै फर्केनछ। अपरेशन टेबलमै भेन्टिलेटरमा हालेर आइसियुमा पुर्याइएछ। यति बताइसकेपछि उनी बोल्न समेत सकेनन्।

अब मैले अलि उँचो स्वरमा भनेंः अब भेन्टिलेटर जोडेर आइसियुमा राख्दा बिरामी ठिक हुने सम्भावना छैन। डाक्टरलाई भनेर आफ्नै जिम्मेवारीमा बिरामीलाई बाहिर निकाल्न भन्नुस्।

उनले हुन्छ भने र फोन राखे। तर केही हप्तापछि फोन गर्दा फेरि मधुरो स्वरमा उनले बताएः कहाँ निकाल्नु नि सर, भेन्टिलेटरमै अरु एक हप्ता राखियो। अनि बल्ल बित्यो भनेर भने। मैले खर्च सोधें, किनकि उनीहरु पहिल्यै चल सम्पत्ति सिद्धयाएर ऋण लिंदा पनि साध्य नभएपछि घरखेत बेच्ने चरणमा पुगिसकेका थिए। खास गरी ती बिरामी महिलाका बच्चाहरु गरिबीले कुपोषण र अशिक्षातिर धकेलिएलान् भन्ने मेरो शुरुदेखिको चिन्ता थियो। अहिले ठीक मात्रा मैले बिर्सें तर उनले छ लाख वा त्यस्तै रकम त्यो पछिल्लो चरणको अस्पताल बसाइमा सिद्धिएको कुरा गरे।

त्यो पैसाले तिनका बालबालिकालाई कति व्यवस्था गर्न सक्थ्यो भन्ने कुरा मेरो मथिंगलबाट केही गरे पनि हट्न सकेन। कमजोर भए पनि वार्डमा रहुन्जेल ती होशमा थिइन्, कुराकानी गर्थिन्। मलेसिया पुगेर फर्केका श्रीमान्सित दुखद अवस्थामा भए पनि साथै थिइन्। उनीहरुले सान्त्वना दिन्थे, हामीले सान्त्वना दिन्थ्यौं। तर अपरेशनपछि उनको होश त गुम्यो गुम्यो, उनका पति र पिताको तनाव, नैराश्य र चिन्ताको कुनै लेखाजोखा थिएन। बिरामी मर्ने त निश्चित थियो, बचेको परिवारलाई कसरी पार लगाउने भन्ने अझ ठूलो चिन्ता थियो उनीहरुको।

***

म सानैदेखि डाक्टर बन्ने सपना देखेर डाक्टर बनेको मानिस हैन, म हिंडेको शैक्षिक बाटोले मलाई त्यतै डोर्यायो, त्यसैले म डाक्टर भएँ। त्यसैले मलाई आफ्नो डिग्रीप्रति घमण्ड पनि छैन र पश्चात्ताप पनि छैन।

किशोरकालमा फिल्मको हिरोले झैं वा पुस्तकमा पढिएका महापुरुषहरुले झैं ठूलो संख्यामा मानिसहरुलाई मुक्त गर्ने वा उनीहरुको भलो गर्ने सपना देखियो तर त्यसयता अपवाद बाहेकका आम मानिसझैं म पनि आफ्नै भलाइ र मुक्तिको मोर्चामा डटिरहेको छु। म डाक्टर भएर परोपकार वा मानव सेवा भइरहेको छ भन्ने भ्रम मलाई छैन। त्यसैले डाक्टरका रुपमा मेरा अपेक्षा र महत्वाकांक्षा पनि सामान्य छन्।

तैपनि मेरो बुझाइ के हो भने डाक्टर बनिसकेपछि व्यक्तिको जिम्मेवारी अस्पतालप्रति मात्र हुँदैन, बिरामी, समाज र समग्र चिकित्सा क्षेत्रप्रति पनि हुन्छ। अरु कुनै कार्यालयको कारिन्दा झैं चिकित्सकले एकोहोरो प्राविधिक रुपमा काम गरेर पुग्दैन।

त्यस दिन जीवनमा पहिलो पल्ट डाक्टर भएकोमा त्यति ग्लानि र अपराधबोध भयो। यो कस्तो पेशा बनायौं हामीले, जहाँ मानिस समस्या कम होला भनेर आउँछ, अनि समस्या थपेर जान्छ? यो कस्तो उपचार पद्धति बसाल्यौं, जुनले रोगलाई केन्द्रबिन्दुमा राख्छ, बिरामीलाई राख्दैन? यो कस्तो व्यवस्था सिर्जना भयो, जहाँ बिरामीले डाक्टरलाई भगवान्को रुपमा विश्वास गरेर शरीर सुम्पन्छ, डाक्टरचाहिं आफू के गर्दैछु भन्नेसमेत पत्तो पाउँदैन?

डाक्टरको काम आपत्मा परेर शरणमा आउने अनि आफ्नो शरीर उपचारका लागि सुम्पने मानिसहरुलाई सहयोग गर्नु हो कि खाली उपचारको कर्मकाण्ड पूरा गर्नु हो?

उक्त अस्पताल बसाइपछि मैले निरन्तर यी प्रश्नको उत्तर खोजिरहेको छु। समयक्रममा यी प्रश्नसित अरु प्रश्न पनि जोडिएका छन्ः अस्पतालको काम बिरामी ठीक पार्नु हो कि पैसा कमाउनु? मेडिकल शिक्षाको काम विद्यार्थीलाई बिरामीलाई भौतिक र मानसिक रुपमा स्वस्थ हुन सघाउन सक्ने बनाउनु हो कि उसको शारीरिक समस्यालाई कम गर्न सिकाउने मात्र? हाम्रो स्वास्थ्य प्रणाली छिमेकी देशहरुमा झैं अघि बढिरहेको छ कि झन् पछाडि?

ती बिरामीको बिजोग र उनको परिवारको बिचल्लीका लागि खास चिकित्सक पूर्ण रुपमा जिम्मेवार भन्न सकिएला, तर त्यति भन्दा हामीले त्यस्ता चिकित्सक जन्माउने र त्यस्तो उपचारविधिलाई आम रुपमा अपनाउने पद्धतिप्रति आँखा चिम्लिएको हुनेछ। दोषी त वास्तवमा हाम्रो समग्र प्रणाली हो।

***

अब चिरफार गरौं उल्लिखित बिरामीको सन्दर्भको, कहाँ भयो गल्ती। उक्त उपचारमा संलग्न व्यक्ति कुन योग्यताका थिए, मलाई थाहा छैन, त्यसको सोधखोज पनि गरिन। तर व्यक्तिगत र संस्थागत दुवै किसिमका गल्तीले त्यो अवस्था सिर्जित भएको हो।

मेडिकल शिक्षालाई हाम्रो राज्यले अरु शिक्षा भन्दा फरक देख्दैन। उसले टेण्डर खोल्छ र पैसा हाल्न सक्नेले मेडिकल कलेज खोल्नु भनेर बोलाउँछ। पैसा हुनेहरुले मेडिकल कलेज खोल्छन्, अर्थात् ठूल्ठूला भवन बनाउँछन्। भवनसँगै धेरथोर डाक्टर राखेर सेवा सुरु गर्छन्। बेड बन्छन्, बिरामीहरु भर्ना हुन्छन्। त्यति भएपछि विद्यार्थी भर्नाको अनुमति मिल्छ। अर्को टेण्डरमा धेरै पैसा तिर्न सक्नेहरु भर्ना भएर डाक्टर बन्न आउँछन्।

विद्यार्थी भर्ना भएपछि तिनको पैसा असुल भएसँगै कलेजले तिनीप्रतिको जिम्मेवारी बिर्सन्छः न यथेष्ट भौतिक पूर्वाधार, न जनशक्ति, न बिरामीको चाप। कलेजचाहिं फोटोशप गरेका चम्किला विज्ञापन गराएर नयाँ ब्याच लिने चक्करमा पुगिसकेको हुन्छ। त्यो ब्याचमा विद्यार्थी संख्या बढाएर धेरै फाइदा लिन काउन्सिल र विश्वविद्यालयका पदाधिकारीका घरहरुमा तला थपिदिनुपर्ने हुन्छ।

कलेजले सिट बढाइदिने चिन्ता गर्दागर्दै भर्ना भईसकेका विद्यार्थी आफैंलाई सराप्दै गाइड घोकिरहेका हुन्छन्। न पाठ्यपुस्तक पढ्ने आँट छ, न ढाडस दिने योग्य शिक्षक। डेढ सयको कक्षामा पछिल्लो पंक्तिमा जति हल्ला गरे पनि आफैं पेलेर राखिएको शिक्षक आफ्नो तालमा बर्बराएर जान्छ। पोस्टिङ गयो, एक बिरामी बराबर बीस जना विद्यार्थी पर्छन्, अघिकाले बिरामीका समस्या सोध्छन्, पछिका गफमा मस्त हुन्छन्। जाँच आयो, गाइडकै प्रश्न, गाइडकै उत्तर, तैपनि सिकाउन र चिट चोराउन कलेजले भरसक मेहनत गरिहाल्छ।

एकपटक वा धेरै पटकको प्रयासपछि डाक्टरी डिग्री हात पर्छ। अर्को गाइड घोकेर गएपछि काउन्सिलको परीक्षा पास भइन्छ। लाइसेन्स हात पर्छ। अब बिरामी जाँच्न चाहिने डिग्री र लाइसेन्स छ तर ज्ञान र सीप छैन।

यो विवरण काल्पनिक त हैन नै, अरुको देखेर लेखिएको समेत हैन। म आफैं निजी मेडिकल कलेजबाट पढेको हुँ र त्यहाँका धेरै विभागका लागि यीमध्ये धेरै कुरा लागू हुन्थे। कुनै कुनै विभागहरु आफ्नो पोस्टिङ अवधिभर बन्द हुन्थे किनकि त्यो विभागका एउटै कन्सल्ट्यान्ट हुँदैनथे। कुनै सिंगो विषयका लागि एउटै फ्याकल्टी नभएपछि पार्ट टाइम शिक्षक आएर एक दुई हप्तामै वर्ष भरिको कोर्स सिद्धयाइदिन्थे।

ऊबेला एउटै अपवाद थियोः चिकित्सामा गाइडहरु लेखिइसकेका थिएनन्। जो पाठ्यपुस्तक पढ्न सक्थे, ती पास हुन्थे। जो सक्दैनथे, त्रिवि अन्तर्गतका कलेजमा ती फेल भएर दोस्रो वर्षपछिको ब्यारियरसँगै घर जान्थे। अब त्यस्तो स्थिति रहेन। एक महिना ठहरेर घोक्न सक्ने विद्यार्थी हुने हो भने अब मेडिकल शिक्षाको डिग्री लिनु गाह्रो काम रहेन।

उसो भए नियामक निकाय के हेरेर बस्थे? नियमित अनुगमनका बेला अनाथालय र वृद्धाश्रमका सबै बच्चा र वृद्धवृद्धाले वार्डहरु भरिन्थे, गाउँगाउँमा निःशुल्क क्याम्प गरेर बिरामी ल्याएर वार्डहरु भरिभराउ हुन्थे। पढाउने डाक्टर कहिल्यै पूरा भएनन् तर माथिबाट अनुगमन आएको बेला लस्कर लागेर केही घण्टाका लागि ‘खडे बाबा’हरु आउँथे अनि अनुगमन टोली निस्केको केही छिनमै गायब हुन्थे।

एकपल्ट न अनुगमनकर्ताहरुलाई हामीले हाकाहाकी भनेका थियौंः अहिले कलेजले पुर्याएका सबै पूर्वाधारहरु फर्जी हुन्। तपाइँहरु गएपछि कलेजले हामीलाई भन्छः अटैंचीभर पैसा दिएर अनुगमन गर्नेहरुलाई पठ्याइसक्यौं, अब तिमीहरुले के लछार्छौ? तपाइँहरुलाई हामीले यहाँ सब यथार्थ भनेर तपाइँहरु उता गएर बार्गेनिङ पावर मात्र बढाउने हो भने किन बताउनु हामीले?

मैले स्नातक गरेको छ वर्षभन्दा बढी भयो। त्यस यता केही कलेजहरुले सुधार गरेका पनि छन्, केही पछि खुलेका राम्रा कलेज पनि छन् तर धेरैको हालत अझ बिग्रेर गएको छ। खास गरी आम रुपमा सिट संख्या १०० बाट १५० पुर्याइएपछि कलेजहरुको आम्दानी जुन रफ्तारमा बढिरहेको छ शिक्षाको गुणस्तर त्यही रुपमा ओरालो लागिरहेको छ। १५० जना अट्ने एउटा लेक्चर हल बनाएर माइकको व्यवस्था गर्नुलाई त्यो संख्याका लागि सम्पूर्ण पूर्वाधार पुगेको अर्थमा लिने परम्परा बनिसकेको छ।

ऊबेला र अहिले अर्को एउटा भिन्नता पनि छ। त्यति बेला निजी मेडिकल कलेजहरुमध्ये स्नातकोत्तर वा विशेषज्ञता तहका कोर्सको अनुमति पाउने कलेज न्यून थिए। तर लगत्तै काउन्सिल र विश्वविद्यालयहरुमा धन–उन्मुख र लज्जाशुन्य पदाधिकारीहरु भएका बेला धमाधम स्नातकोत्तर तहका लागि अनुमति बाँडियो। लिलाम बढाबढमा मनपरी शुल्क लिन छाडियो। एकाएक एमबीबीएस र बीडिएस राम्ररी चलाउन नसक्ने कलेजहरुले एमडी–एमएस र एमडीएसको अनुमति पाए। नियामक निकायलाई अझ मोहित पार्न सक्ने केहीले त विशिष्टीकृत तहका डीएम–एमसीएचका लागि समेत अनुमति पाए।

परिणाम के भयो भने, मेडिकल कलेजहरुले एउटै फ्याकल्टीसमेत नभएको विभागमा पीजी रेजिडेन्ट लिएर उसलाई स्नातक तह पढाउने जनशक्तिका रुपमा दुरुपयोग गरे। उता करोडसम्म एकजनासित लिन पाउनु, उसलाई रातदिन अस्पतालमा घोटाएर महिनामा बीसौं लाख आर्जन गर्नु, अनि उसैलाई स्नातक तहका लागि शिक्षकका रुपमा घोटाएर फ्याकल्टीलाई विस्थापित गर्नु, यो तेहेरो फाइदाले यसलाई शायद नेपालमा तस्करीपछि सबैभन्दा नाफाखोर व्यवसाय बनाइदियो।

मेडिकल शिक्षा सुधारका लागि डा गोविन्द केसीको आन्दोलन चर्केपछि लाज छोप्न सक्रिय भएको अख्तियारको टोली मेडिकल काउन्सिलसहित अनुगमनमा जाँदा पत्ता लाग्योः एकै सीट पीजी पढाउन नमिल्ने कलेजमा ४५ जना रेजिडेन्टसम्म भर्ना भइसकेका छन्।

अख्तियारको प्रभावमा काउन्सिलले शत प्रतिशतसम्म सीट घटाएपछि कलेज सञ्चालकहरुले चोरबाटो अपनाए, अदालत गएर। स्वभावतः सर्वोच्च न्यायालयले मेडिकल कलेजलाई जुन अवस्थामा पनि जिताउने ट्रयाक् रेकर्ड भएका न्यायधीशहरुलाई मुद्दा पारिदियो। परिणाम बताइरहनुपर्दैन।

यो चरणमा आउँदा पहिल्यै स्नातक तह धराशायी भइसकेको नेपालको मेडिकल शिक्षामा विशेषज्ञता तह पनि ठूलो स्केलमा दुर्घटित भयो (त्यसअघि स्नातकोत्तरको अनुमति पाइसकेका सीमित मेडिकल कलेजको गुणस्तरमा पनि उत्ति नै ठूलो प्रश्न चिन्ह थियो)।

विशेषज्ञ भएर बिरामीको उपचार सम्बन्धी सबै जसो निर्णय एक्लै लिनुपर्ने मानिसको शिक्षा त्यस्तो भएपछि त्यसको परिणाम के होला? रेजिडेन्सीका बेला उही खालको एउटै अपरेशन गर्न नपाएको, हेर्न समेत नपाएको सर्जनले किताबको पानामा रंगीन फोटो हेरेको भरमा एकाएक त्यस्तो अपरेशन गर्न कस्सियो भने के होला? गर्न नकस्सिए उसले रोजीरोटी कसरी चलाउने?

पचासौं अपरेशन गरेपछि एउटा अपरेशनका सबैजसो फरक फरक जटिलताहरुबारे ज्ञान हुने परिकल्पना कोर्सले गरेकोमा एउटा वा दुइटा अपरेशन गरेर डिग्री लिएको सर्जनले अगाडि नदेखेका जटिलता आएमा तिनलाई कसरी सुल्झाउला?

विरलै देखिने स्वास्थ्य समस्याहरु दशौं हजार बिरामी हेरेपछि मात्र एक दुई चोटि आउने गर्छन्, तर पूरा कोर्समा एकाध सय मात्र बिरामी हेर्ने डाक्टरले त्यस्ता समस्या हेरेर सिक्न पाउँदैनन्। अब डिग्री लिएपछि त्यस्तो असामान्य बिरामी आएमा त्यसको उपचार कस्तो होला? डाक्टरका लागि त त्यो दैनिक हेरिन दर्जनौं बिरामीमध्ये एक बिरामी मात्रै हुन सक्ला तर बिरामीका लागि त उसको सर्वस्व आफ्नै ज्यान हैन?

***

यो पृष्ठभुमिपछि माथि उल्लिखित बिरामीलाई सामान्य सुईको जाँच गरे हुने ठाउँमा किन पेट खोलेर भेन्टिलेटरमा राखियो भन्ने प्रश्नको उत्तर धेरै हदसम्म मिल्छ।

त्यस्तो वातावरणको पढाइमा दैनिक उपचारका सानादेखि ठूला चिकित्सकीय निर्णय लिन आवश्यक जुन चिकित्सकीय ‘कमन सेन्स’ विकास हुनुपर्ने हो, त्यो विकास हुन पाउँदैन। त्यसो नहुँदा सामान्य जस्तो लाग्ने एउटा निर्णयका कारण बिरामीको रोग बल्झिने, अंगभंग हुने वा मृत्यूसमेत हुने सम्भावना हुन्छ।

त्यो प्रश्नको बाँकी उत्तर भने  संस्थागत रुपमा खोज्नुपर्छ।

खास किसिमका स्वास्थ्य समस्याहरुका लागि यस्ता उपचार विधि अपनाउने भनेर प्रोटोकलहरु किन बन्दैनन्? बनेका छन् भने तिनको पालना किन हुँदैन?

प्रोटोकल नै नभएको ठाउँमा एमडी, एमएस वा डीएम, एमसीएच पढ्ने चिकित्सकहरुले भविष्यमा त्यस्तो प्रोटोकल मान्न कसरी सिक्लान्?

देशकै उत्कृष्ट भनिने स्वास्थ्य संस्थामा त्यस्तो तजबीजका आधारमा उपचार चल्छ भने हाम्रो समग्र स्वास्थ्य सेवाको स्तर के होला?

अर्को सत्य के पनि हो भने, ठूला अस्पतालहरुमा कहिलेकाहीं अपवादका रुपमा त्यस्ता घटनाहरु हुन सक्ने हुँदा तिनलाई सामान्यीकरण गर्नु उचित हुँदैन।

तर त्यो अस्पतालमा मैले ४, ५ दिनमा जे देखें, त्यसले त्यो घटना अपवाद हैन भन्नेमा मलाई आश्वस्त पार्यो।

***

पृथ्वीको दुई तिहाइ सतह पानीले ढाकेको छ तर सबै खालको प्रयोगमा आउने फ्रेस वाटर चाहिं सीमित छ। प्रयोग बढ्ने तर जंगल फँडानी र मरुभुमिकरणले भण्डारहरु सुक्दै जाने प्रक्रियाले पानीको अभाव तीव्र गतिले बढ्दो छ। समस्या कति द्रुत गतिले बढ्दैछ भने तेस्रो विश्व युद्ध भइहाल्यो भने त्यो पानीका लागि हुन्छ भनेर धेरै विश्लेषकहरुले चेतावनी दिइरहेका छन्। जमीन मुनिको पानीमा निर्भर भारत लगायतका भौगोलिक क्षेत्रहरुमा उक्त जलाधार यति तीव्र गतिले घट्दै छ कि समयमै पानीको प्रयोगमा किफायती नअपनाउने हो भने ती भुमिगत जलभण्डार (अक्विफर) पानी निकाल्नै नमिल्ने गरी सुक्ने बताइन्छ।

आम जनजीवनमा पानी जस्तै चिकित्सा विज्ञानमा सीमित भण्डार भएका एन्टिबायोटिक भनिने खास औषधिहरु छन् जसको यथोचित संरक्षण नगर्ने हो भने तिनको भण्डार पनि रित्तिने छ। कम्पनीहरुले बनाउन छाडेर तिनको अभाव हुने हैन कि, प्रयोग हुँदै गएसँगै तीविरुद्ध किटाणूहरुले प्रतिरोधी क्षमता विकास गरेर ती उपचारका लागि काम नलाग्दै जाने हुन्।

यी औषधि प्रयोगको दुखद पक्ष के छ भने दशकौंको शोधपछि पत्ता लागेको एन्टिबायोटिकलाई एउटा गाउँको सामान्य स्वास्थ्यकर्मी वा अस्पतालको चिकित्सक वा सानो संख्याका बिरामीले काम नलाग्ने बनाइदिन सक्छन्। जथाभावी, अनावश्यक रुपमा र अपूरो वा गलत डोजमा पटक पटक प्रयोग मात्र गर्यो भने खास किटाणूहरुले उक्त एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गर्न सक्छन् र भुमण्डलीकृत विश्वमा एकाध दिनमा उक्त प्रतिरोधी किटाणू विश्वको यो कुनादेखि अर्को कुनामा पुग्न सक्छ।

त्यसैले विश्वका २०७ देशले एन्टिबायोटिक दुरुपयोगलाई पूरै नियन्त्रणमा ल्याए र एउटा मात्र देशले जथाभावी प्रयोग गरिरह्यो भने, त्यत्ति कारणले उक्त एन्टिबायोटिक प्रतिरोधी किटाणू बनेर फैलन सक्छन्।

मानिसमा मात्र नभएर कुखुरा र गाइवस्तुमा समेत एन्टिबायोटिकको दुरुपयोग हुँदै जाँदा अब हामी कुनै पनि एन्टिबायोटिकले काम नगर्ने उत्तर–एन्टिबायोटिक युगमा प्रवेश गर्दैछौं भनेर विश्व स्वास्थ्य संगठनले पछिल्लो रिपोर्टमा चेतावनी दिइसकेको छ।

त्यो अवस्था आयो भने के हुन्छ? सामान्य घाउ चोट लाग्यो वा केही बिझ्यो भने संक्रमण फैलिएर मानिसको मृत्यू हुन सक्छ। शरीरको रोग प्रतिरोधी क्षमता कम गरेर गरिने उपचारहरु (क्यान्सरको उपचार, अंग प्रत्यारेपण आदि) असम्भव हुन्छन्। अहिले इन्टेन्सिभ केयरमा राखेर जति बिरामी गम्भीर समस्याबाट मुक्त हुन्छन्, तीमध्ये धेरैका लागि उपचार असम्भव हुन्छ।

त्यसैले एन्टिबायोटिकहरुले काम गर्ने अवधि बढाउने एउटै तरिका भनेको तिनको दुरुपयोग रोक्नु हो।

माथि उल्लिखत अस्पतालमा जनरल सर्जरीको वार्डमा बेडैपिच्छे तीन वटा सबैभन्दा उच्च तहका र रिजर्भमा राखिने एन्टिबायोटिकहरु नियमित प्रयोग भइरहेका थिए। पाइपरासिलिन–टाजोब्याक्टाम, इमिपेनेम–साइलास्टाटिन र भ्यांकोमाइसिन मध्ये एउटा पनि प्रयोग नभएको बेड भेट्टाउन मुस्किल थियो। पेप्टिक अल्सर डिजिज भनेर उपचार चलेका सामान्य समस्याका लागि टाजोपिप चलाएको समेत मैले त्यतिबेला देखें।

गाउँको कमजोर ज्ञान भएको स्वास्थ्यकर्मीले वा अर्ध शिक्षित बिरामीले एन्टिबायोटिकको दुरुपयोग गर्नु एउटा कुरा हो, त्यसलाई समेत रोक्नु जरुरी छ। तर यहाँ त कल्पनै गर्न नसक्ने गरी रेफरल अस्पतालमा बेडैपिच्छे एन्टिबायोटिकको दुरुपयोग भइरहेको थियो। त्यसको दुरुपयोग गर्ने अस्पतालहरु बहू प्रतिरोधी किटाणूहरुका लागि कल्चर मिडियाजस्ता बन्छन्। तिनले अस्पतालमा आउने बिरामी र त्यो भौगोलिक क्षेत्र मात्र हैन, सिंगो देश र विश्वभरका मानिसहरुको भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन्। चिकित्सकले गर्न सक्ने कुनै ‘मानवताविरुद्धको अपराध’ छ भने त्यो यही हो।

त्यो देखेपछि म यति विचलित र उद्वेलित भएँ कि यो क्षेत्रमा ढिलो नगरी केही गर्नुपर्छ भन्ने लाग्यो।

त्यस्तो अवस्थामा आलोचना वा निन्दा गरेर समस्याको समाधान हुँदैन बरु चिकित्सक समुदायलाई विश्वासमा लिएर रचनात्मक कदम चाल्नुपर्छजस्तो लाग्यो। डाक्टर भएकोमा ग्लानि महसुस गरेर पनि केही हुने वाला थिएन, मैले भोलि यो पेशा नै छाडे पनि म बिरामी हुन्नँ भन्ने ग्यारेन्टी हुने हैन, यही रफ्तारमा एन्टिबायोटिकहरुलाई निरस्त पार्दै जाने हो भने भोलि आफैं सामान्य घाउ चोटपछि मृत्यूको मुखमा पुगिएला भन्ने डर भयो।

त्यसपछिका तीन महिना चिकित्सा क्षेत्रका अरु सचेत साथीहरुसित मिलेर यो समस्याबारे बुझाएर नेप्लिज इनिसिएटिभ फर प्रिभेन्सन अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्स (निपार) भन्ने अनौपचारिक समूह बनायौं। निपार को ब्लग र सेतोपाटीमा यससम्बन्धी लेखहरुको श्रृंखला पनि प्रकाशित गरें।

त्यसको पहिलो काम यो विषयमा चिकित्सकहरुमा जागरुकता फैलाउने हुनुपर्ने भन्दै एन्टिबायोटिक प्रयोग र प्रतिरोधबारे एउटा सामान्य अनलाइन सर्भे गर्ने निर्णय गरियो। धेरै दिनको कोशिस पछि सर्भे तयार गरेर ७०० चिकित्सकको इमेल ठेगानामा प्रश्नावली पठाइयो।

त्यसपछि जे भयो, त्यसले मलाई नेपालमा चिकित्सक हुनुको सबैभन्दा चर्को अपराधबोध भयोः महिनौंपछि पनि सर्भेमा भाग लिनेको संख्या दर्जन कटेन। नेपालका चिकित्सकहरुका चासो र चिन्ताका विषय धेरै थिए तर समग्र मानव जातिको जनस्वास्थ्यमाथिको यत्रो खतरा त्यसमा अटाउन सकेन।

चिकित्सा क्षेत्रमा शायद मेरो सबैभन्दा महत्वाकांक्षी योजना त्यसै मरेर गयो।

चिकित्सा शिक्षामा पुस्तकमा रटेको ज्ञानको परीक्षा पास गर्नबाहेक अरु प्रयोजन हुँदैन। बिरामीको उपचारका लागि व्यवहारिक ज्ञान र सीप सिक्ने सिनियर र शिक्षकले गरेको हेरेर मात्रै हो। उक्त एन्टिबायोटिक दुरुपयोग प्रकरणको सबैभन्दा डर लाग्दो पक्ष के थियो भने, एमबीबीएस तेस्रो वर्षदेखि एमडी–एमएस सम्मका सिकारु विद्यार्थीहरुले बेडैपिच्छे तीनमध्ये एक एन्टिबायोटिक प्रयोग गर्नुपर्ने रहेछ भन्ने व्यवहारिक शिक्षा लिइरहेका थिए।

त्यो हिसाबले उक्त अस्पतालले एन्टिबायोटिक प्रतिरोधी किटाणुको कल्चर मिडियाको काम मात्र गरेको थिएन, यहाँका जति पनि उत्पादन निस्कन्थे तिनले जहाँ गयो, त्यहीँ त्यस्ता दर्जनौंदेखि सयौं कल्चर मिडिया बनाउने वातावरण तयार पार्दै थियो।

समग्र उपचारको एउटा मात्र पक्षमा यति विध्वंशक सिकाइ भइरहेको छ भने बाँकी पक्षको हालत के होला? अस्पतालको एउटा बिरामीको उपचार नजिकबाट हेर्दा यो हालत छ, एउटा वार्ड सर्सर्ती हेर्दा यति उलटफेर भेटिन्छ भने समग्र अस्पतालका गतिविधि मिहीन पाराले हेर्यो भने के होला? एउटा अस्पताल बसाइमा एउटा परिवारले अनाहक घरवार गुमाएकोे हेर्नुपर्यो भने नियमित र मिहीन पाराले यसको अध्ययन गर्यो भने कस्तो नतिजा आउला?

***

नेपालमा पढेका विद्यार्थीले नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरे भन्दैमा नेपालमा विश्वस्तरको मेडिकल शिक्षा छ, यसलाई सुधारका नाममा चलाउनु हुँदैन भन्नेहरुले जवाफ दिनु जरुरी छः यस्तो भयावह मेडिकल माल्प्राक्टिस उनीहरुका लागि स्वीकार्य हो कि हैन।

यदि हो भने, आज डाक्टर खोज्न अस्पताल पुग्ने र कसाइको जस्तो उपचार पाउने अनि शरीर र घरखेत गुमाउने आम मानिसलाई कसले न्याय दिने हो? समग्र चिकित्सा क्षेत्रलाई विश्वव्यापी रुपमा अपांग बनाउने गरी एन्टिबायोटिक दुरुपयोगको अवस्थाका लागि जिम्मेवार को हो?

आज १५० विद्यार्थी अट्ने लेक्चर हल र दुइटा माइकको भरमो १५० जनाको पूर्वाधार पुगेको छ भन्नेहरुले अहिले माथेमा समितिले विद्यार्थीको संख्या अधिकतम १०० तोकेकोमा कडा आपत्ति जनाइरहेका छन्। शुल्क अधिकतम ३५ लाख तोकेकोमा पनि आपत्ति जनाउँदै छन्।

तर यो समग्र प्रणाली मेडिकल कलेजको तीव्र नाफाका लागि मात्र बनेको हो कि प्रणालीभित्र स्वास्थ्य सेवाका लागि आउने मानिसहरुको स्वास्थ्यका लागि पनि कोही जिम्मेवार हुनुपर्छ? त्यो उपचार तजबीजका आधारमा भएर बिरामीलाई हानि पुगे पनि केही फरक नपर्ने हो? बिरामी खुशी र दुख लगायतका मानवीय भाव र संवेदना भएका अनि स्वाभिमान र आत्मसम्मान भएका मानव हुन् कि खाली अस्पतालका लागि एउटा अमूक आय स्रोत मात्र?

ज्ञान र सीपमा पछि परेका, वर्षौं जागिर नपाउने वा स्वयंसेवा गर्नुपर्ने वा अपमानजनक जागिरमा बस्नुपर्ने चिकित्सक र तिनका अभिभावकहरुको पनि हित हेरिनु पर्ने हो कि हैन?

मेडिकल काउन्सिलले परीक्षा लिएर चिकित्सकहरुलाई लाइसेन्स बाँड्ने गरेको त छ, तर जब मानिसको ज्यान र घरखेत नै उड्ने गरी माल्प्राक्टिस हुन्छ, उसलाई यसप्रति ध्यान दिने फूर्सद छैन।

त्यो किन भने, काउन्सिल प्रमुख आफैं राजनीतिक दलको कार्यकर्ता हुन्छ जसले पद पाउन नेताको जुत्तालाई चुम्बन गरेको हुनुपर्छ तर योग्य हुनुपर्दैन। उसको जीवनदाता मालिक दलको साक्षर सम्म भएको नेता हो जो आफू उपचारका लागि सिंगापुर वा टोकियो जान्छ, उसलाई आम मानिसको जति दुर्गति भए पनि फरक पर्दैन। उसले आफूलाई भोट दिएर सत्तामा पुर्याउने मानिसहरुको जीवनसित आफ्ना लागि केही धनको सौदाबाजी गर्नुमा केही गलत देख्दैन। त्यतिले मात्र नभएर उसलाई नियामक निकायको तेजोबध गर्दै आफैं मेडिकल कलेज खोलेर व्यापार समेत गर्नुछ।

मेडिकल कलेजले उसलाई मन्त्री हुनासाथ उपहार टक्र्याउँछ, चन्दा र स्थानीय भरौटेहरुलाई नियमित दिने रकमको त कुरै छैन। चन्दा पनि जसले धेरै दिन सक्छ, उसले पार्टीका तर्फबाट चुनावमा टिकट समेत पाउँछ। उता अस्पताल पुगेको निरीह बिरामीसित नेतालाई प्रसन्न पार्ने कुनै उपाय छैन।

उता दुर्घटनापछि पठाएको बिरामीपिच्छे हजारौं बक्सिस पाउने पुलिस र प्रत्येक बिरामी पुर्याएबापत कमिसन पाउने एम्बुलेन्स चालकसम्म सबै नाफै नाफामा छन् तर अनावश्यक रुपमा महंगा एन्टिबायोटिक र अरु औषधि चलाएकै कारण घरखेत बेच्ने बिरामीको पीडा कसैको सरोकारमा पर्दैन।

यता बिरामीको ज्यान र घरखेत उडिरहेको हुन्छ, उता काउन्सिलको पदाधिकारी पार्टीका लागि यति र उति कमाइदिन्छु भनेर हिसाब लगाइरहेको हुन्छ, विश्वविद्यालयको पदाधिकारी पार्टीको ठाडो आदेशमा आइओएमलाई बाइपास गर्दै आफैं नयाँ सम्बन्धन दिन टेण्डर खोल्छ।

अनपेक्षित रुपमा अस्पतालमा बिरामी मर्यो भने ‘सेन्सेसनल’ समाचारका लागि मिडियाको तँछाडमछाड हुन्छ तर सतहमुनि गएर ती समस्याको जड कारण पत्ता लगाउने इच्छाशक्ति, धैर्यता र क्षमता छैन।

***

आफ्नो पेशागत क्षेत्रको फोहर तन्ना सार्वजनिक ठाउँमा आएर धुने रहर कसैलाई हुँदैन। आफैं सक्रिय भएर पेशामा लागिरहेको अवस्थामा सकभर त्यसो नगरौं भनेर मैले कोशिस गरेको पनि हो तर अब स्थिति असह्य भइसकेको छ।

कि वार कि पार। सिंगो क्षेत्र सुधारका लागि कोसेढुंगा हुने गरी माथेमा समितिको प्रतिवेदन आएसँगै अब वार कि पारको स्थिति सिर्जना भएको छ। यो लडाइँमा दुइटा पक्षको कित्ताकाट समेत भइसकेको छ।

संघर्षको एउटा पक्ष छ, निजी मेडिकल कलेजहरुलाई नियमनको सट्टा साँठगाँठको प्रपञ्च मिलाउन नियामक निकायहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने राजनीतिज्ञहहरु,। एउटा प्रमुख दलका अध्यक्षले त प्रतिवेदन आएलगत्तै अप्रत्यक्ष रुपमा यसलाई लागू हुन नदिने कुराको सन्देश दिइसकेका छन्। तर विधिको शासनको सट्टा लुटतन्त्रको वकालत गर्नेमा उनी एक्लै छैनन्, अरु प्रमुख दलका विभिन्न तहका नेताहरु प्नि माथेमा प्रतिवेदन विरुद्ध खनिइसकेका छन्। यिनले राज्यका अंगहरुमा भर्ना गरेका पार्टी कार्यकर्ताहरु पनि हाकिमहरुका आदेश पालन गर्न तम्तयार छन्। अर्कोतिर यिनै नेताहरुले न्यायधीशका रुपमा नियुक्त गरेर पठाएका पार्टी कार्यकर्ताहरु कहिले यो विषयको मुद्दा पर्ला र कार्यक्षेत्र नाघ्दै विधिको शासनको धज्जी उडाउने फैसला दिउँला भनेर कुरेर बसेका छन्।

संघर्षको अर्को पक्ष छः दशकौंसम्म लगानीकर्ता–नियामक निकाय–पार्टी नेता–न्यायधीश कार्टेलको चर्तिकला हेरेर बस्न अभिशप्त भएका तर डा गोविन्द केसी नेतृत्वको आन्दोलनसँगै आवाज पाएको समग्र चिकित्सा क्षेत्र। करोडौं तिरेर ज्ञान र सीप पाउनबाट वञ्चित विद्यार्थीदेखि सम्मानजनक रोजगार नपाउने चिकित्सकसम्म, योग्यता र क्षमता पुगेर पनि दलको दलाली नगर्दा संस्थाहरुको नेतृत्वमा पुग्न नसक्नेहरु देखि समग्र अव्यवस्थाबाट विरक्त भएका सबै चिकित्सकहरुसम्म।

र यही पक्षमा अब मिसिनै पर्ने पक्ष होः चिकित्साका विद्यार्थी, तिनका अभिभावक र स्वास्थ्य सेवाग्राही आम मानिसहरु। अहिलेको अवस्थामा चरम उत्पीडित पनि यी तीन पक्ष नै छन्।

तत्काल क्षति भएजस्तो देखिने निजी मेडिकल कलेजहरुमध्ये पनि गुणस्तरमा विश्वास गर्ने कलेजहरु आफ्नो दीर्घकालीन हितका लागि अब पछिल्लो कित्तामा मिसिनुको विकल्प छैन। विशुद्ध साँठगाँठका आधारमा शुन्यप्रायः पूर्वाधार र जनशक्तिमा कार्यक्रम चलाइरहेका कलेजहरु भने पहिलो कित्तामा अडिग रहनु अनौठा हैन।

त्यसैले लामो समय चलेको स्वास्थ्य क्षेत्र बचाउने लडाइँमा अब अन्योलको अन्त भएर दुई ध्रुवीय संघर्ष शुरु भएको छ। हामीसित अब जम्मा दुई विकल्प छन्, तेस्रो विकल्प छैन।

यदि अहिले झैं आम बिरामीलाई भ्यागुता वा मुसा झैं अयोग्य चिकित्सकहरुको प्रयोगशाला बनाउन छाडिदिने हो भने यो प्रतिवेदनको कडा आलोचना गरौं, विवादमा तानौं, कार्यान्वयन हुन नदिऔं र यथास्थिति कायम राखौं। त्यति मात्र हैन, भोलि मेडिकल कलेजहरुले ३०० जना अट्ने लेक्चर हल र चर्को आवाज आउने स्पिकर राख्न सके भने ३०० विद्यार्थी नै लिन दिऊँ, आखिर एसएलसी र प्लस टु पास गर्ने विद्यार्थीहरुको संख्या बढ्दो छ। दलालहरुले जमिनको भाउ बढाइदिएसँगै सन्तानका लागि केही करोड खर्च गर्न सक्ने अभिभावकहरुको संख्या पनि बढ्दो छ। धेरै डाक्टर भएर देशलाई घाटा छैन, जागिर नपाए यस्तै भद्रगोल भएका अरु केही देशमा झैं डाक्टरहरुले मेडिकल काउन्सिलको लाइसेन्स बोकेर ट्याक्सी चलाउनेछन्, शिक्षित ट्याक्सीचालक भयो भने यात्रुहरुलाई पनि राहत नै हुन्छ। शुल्क अधिकतम भनेर नराखौं, न्यूनतम भनेर राखौं, १ करोड तिर्न नसक्ने सबैलाई एमबीबीएसबाट वञ्चित गरौं।

त्यसो नगर्ने हो भने माथेमा प्रतिवेदन अक्षरशः पालना गर्नुको विकल्प छैन। एमबीबीएसका लागि १०० र बीडीएसका लागि ५० अधिकतम संख्या हो। अहिले कमसल हालतमा जसोतसो चलिरहेका तर नियामक निकायहरुको निकम्मापनका कारण १५० विद्यार्थी लिएर भेडाबाख्रा झैं एउटै कक्षामा कोचेर पढाइरहेका कलेजहरुलाई एमबीबीएसका लागि ५० सिटमा झार्नुको विकल्प छैन। त्यसपछि प्रतिवेदनले भने झैं लगातार दुई वर्ष ७५ प्रतिशतभन्दा कम विद्यार्थी पास गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने व्यवस्था हुने हो भने मात्र योग्य विद्यार्थी मात्र भर्ना लिने र गुणस्तरीय शिक्षा दिने वातावरण बन्छ। नेपालमा पढ्न चाहने स्वदेशी र विदेशी विद्यार्थीलाई मात्र नभई विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई समेत अनिवार्य प्रवेश परीक्षा गर्नु, मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा र बोर्ड परीक्षामा एकद्वार नीति अपनाउनु जस्ता कदमले मेडिकल शिक्षाको गुणस्तर कायम राख्न थप भुमिका खेल्नेछन्।

अर्को शब्दमा, नेपालमा अहिलेसम्म जेलाई मेडिकल शिक्षा भनिएको छ, त्यसको उल्लेख्य हिस्सा मेडिकल शिक्षा नै हैन, नियामक निकायसँग मिलेर धनाढ्यहरुले गर्ने एक किसिमको दलाली हो। त्यो दलालीले मानिसहरुको स्वास्थ्य र ज्यान मात्र लिएको छैन, अनगिन्ती मानिसहरुको अनावश्यक रुपमा घरखेत उडाइदिएको छ। यसलाई भत्काएर सही अर्थको मेडिकल शिक्षा सिर्जना गर्नुको विकल्प छैन। माथेमा प्रतिवेदनले पुरानोलाई सजसाज गर्ने हैन कि त्यसलाई ध्वंश गरेर त्यसको जगमा नयाँ सिर्जना गर्ने परिकल्पना गरेको छ।

त्यो नयाँ अवस्था सिर्जना हुने दिन अब टाढा छैन। निर्णायक एक धक्का दिएर माथेमा प्रतिवेदन कार्यान्वयन गर्न राज्यलाई बाध्य गराउने हो भने केही वर्षमा नेपालमा दलालीको अन्त र मेडिकल शिक्षाको सिर्जना गर्नु सम्भव छ। त्यसो हुन सकेमा कुनै चिकित्सकले भविष्यमा डाक्टर भएकोमा ग्लानि र अपराधबोध गर्नुपर्ने छैन। तर त्यो अवस्था सिर्जना गर्नका लागि गोविन्द केसी नामक व्यक्ति जीर्ण शरीर लिएर छैठौंपटक अनशनमा बस्न पर्नु अनि हामी सबै किनारामा बसेर हेर्नु लज्जास्पद अवस्था हो।

आउनोस्, माथेमा प्रतिवदेन कार्यान्वयनका लागि आआफ्नो ठाउँबाट जे सकिन्छ, त्यही गरौं। आफ्नो केही करोड वा अरब आम्दानी र केही कार्यकर्ता व्यवस्थापनका लागि तीन करोड नेपालीको स्वास्थ्यमाथि खेलबाड गर्ने राजनीतिज्ञहरुलाई झुकाउनु मात्र छैन न्यायको कुर्सीमा बसेर अन्यायको खेती गर्ने छद्मभेषी पार्टी कार्यकर्ताहरुलाई पनि लज्जित तुल्याउनुछ, ता कि फेरि कहिल्यै यस्तो नहोस्।

हो, फेरि यस्तो कहिल्यै नहोस्।

लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।  उल्लिखित नेप्लिज इनिसिएटिभ फर प्रिभेंसन अफ एंटीमाइक्रोबिअल रेसिस्टेंस -निपार_ को ब्लग यहाँ पढ्न  सकिन्छ।  

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink